Wednesday, August 26, 2020

अब स्वचालित स्मार्ट विद्युत् मिटर

https://www.karobardaily.com/news/76543

भाद्र १०, २०७७ बुधबार

भीम गौतम

तारैतारले जेलिएको हेर्दामा पनि झुत्रे लाग्ने थोत्रा र पुरानो मिटरले करोडौं खर्चेर बनाइएका घरको शोभा नै घटाएको आम उपभोक्ताको गुनासो अब सम्बोधन हुने भएको छ । एकातिर करेन्ट लाग्ने जोखिम, अर्कोतिर पाहुना आउँदा पनि अशोभनीय र लाजमर्दो । अधिकांश प्रत्येक घरको मूल ढोकासँगै रहने बिजुली मिटर यस्तो अव्यवस्थित छ कि घरभित्र छिर्ने हरेकको आँखा पहिले यहीँ पर्छ । तर, अब यस्तो अस्तव्यस्त बिजुलीको मिटर अन्त्य गरेर नेपालमा बिजुलीको स्मार्ट मिटर जडानका लागि नेपाल विद्युत् प्राधिकरण कस्सिएको छ ।
नेपालमा पनि स्वचालित स्मार्ट बिजुली मिटर जडानको काम सुरु भइसकेको छ । विकसित राष्ट्रहरूमा जस्तै अब नेपालका घरघरमा पनि स्मार्ट बिजुली मिटर देख्न पाइने छ । दुई साताअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–९ को वडा कार्यालय मन्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको औपचारिक शुभारम्भ गरिसकेका छन् । स्मार्ट मिटरलाई क्रमशः देशभर पु-याउने लक्ष्य प्राधिकरणको छ । एसियाली विकास बैकले सहुलियतपूर्ण ऋणमा अघि बढाइएको स्मार्ट मिटर जडान गर्न भने प्राधिकरणले कुनै शुल्क नलिने र निःशुल्क रुपमै ग्राहकको घरघरमा जडान गर्ने प्राधिकरणले जनाएको छ ।
विश्वका अधिकांश विकसित मुलुकले स्मार्ट मिटर उपयोगमा पनि ल्याइसकेका छन् । तर, नेपालमा भने भर्खर मात्र सुरु भएको छ । यसले घरमा आउने पाहुनालाई मात्र होइन, अहिले पुराना मिटरको अस्तव्यस्त भएका प्रत्येक उपभोक्ताको घरको शोभासमेत बढाउँछ । देख्नेलाई मात्र होइन, स्मार्ट मिटर काममा पनि आधुनिक र धेरै अगाडी छ । अहिले घरसम्ममै पुगेर थाहा पाउनुपर्ने इलेक्ट्रिक ऊर्जाको खपत, भोल्टेज स्टर, करेन्ट र पावर फ्याक्टरका सूचना रेकर्ड गरी ग्राहक र प्राधिकरण दुवैलाई मिटर खपतको अवस्था जानकारी गराउने र सूचना आदानप्रदान गर्ने यो स्वचालित मिटरबाट एक क्लिकमा थुप्रै सेवाहरूको सुचना आदानप्रदान गर्न सक्छ ।
आजको प्रविधि सबै विद्युत्मा निर्भर रहेको र डिजिटल संसारमा छिटो छरितो दिनु र लिनु आवश्यक भएकोले स्मार्ट त्यसका लागि सबैभन्दा उपयुक्त मानिन्छ । प्राधिकरणका अनुसार, ग्राहक आफू जुनसुकै ठाउँमा हुँदा पनि घरको खपत तथा विद्युत् सम्बन्धी अन्य जानकारी पाउन सकिने र घरमा भएका बिजुलीका उपकरणहरूलाई ग्राहकले खपत अनुसार नियन्त्रण गर्न सकिने यो स्मार्ट मिटरपछि खपत नियन्त्रण, गुनासोका साथै कति खपत भयो भनेर मिटर रिडरलाई कुर्नु पर्दैन । मिटरलाई रिमोट सिष्टमबाट पुनः सुचारु गर्न सकिन्छ भने बिजुली सुविधा अवरुद्धको जानकारी हुनासाथ छिट्टै मर्मत कार्य पनि हुन्छ । स्मार्ट मिटरबाट प्राप्त जानकारीलाई सदुपयोग गरी वातावरणमैत्री बन्न सकिने सो मिटरमा विद्युत् सूचना मोबाइल एप्लिकेसन, मोबाइल एसएमएस वा वेब पोर्टलबाट नै थाहा पाउन सकिन्छ । सरकार, प्राधिकरण र मिटर निर्माताले मिटर डाटाको सुरक्षा सुनिश्चित गरेकोले स्मार्ट सेवा प्रवाहकारी समेत हुनेछ ।
प्राधिकरणका अनुसार, स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने छैन । विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुनसक्ने हुँदा केन्द्रबाटै मिटर रिडिङ गर्न सकिने र बिल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै काट्न सकिने छ । मिटर रिडिङको कारणले हुने विद्युत्् चुहावट नियन्त्रण हुने छ । कसैले मिटर बाइपास गरी विद्युत् चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुने छ । स्मार्ट मिटरमा एकीकृत लोडमात्र प्रयोग गर्न पाउने गरी सेटिङ गर्न सकिने हुँदा डिमाण्ड चुहावट नियन्त्रण हुन्छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्मार्ट मिटरले विद्युत् वितरणलाई अहिलेभन्दा विकसित रुपमा अघि बढाउन सकिने र रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा २ हजार ५ सय देखि ३ हजारसम्म कर्मचारीको खर्च कम हुने बताउँछन् ।
“स्मार्ट मिटरमा हरेक घण्टाको महसुल फरक–फरक कायम गर्न सकिने हुँदा पिक, अफ पिक र नर्मल समयमा ग्राहकको फरक–फरक महसुल तोक्न सकिने छ, साथै अब चाँडै वर्षायाममा बढी विद्युत् उत्पादन हुँदैछ, त्यसको खपत बढाउन सस्तो महसुल कायम गर्न सकिन्छ भने हिउँदयामको महसुल पनि फरक तोक्न सकिने छ,” घिसिङ भन्छन्, ‘‘स्मार्ट मिटरमा पोष्टपेड र प्रिपेड दुवै फङ्सन हुने हुँदा ग्राहकको इच्छाअनुसार पोष्टपेड र प्रिपेड शुल्क जम्मा गर्न सकिने छ, ग्राहकले जुनसुकै ठाउँबाट अनलाइन बिल भुक्तानी गर्नसक्ने हुँदा सजिलो पनि हुन्छ ।’
मन्त्रालयले दुई वर्षअघि श्वेतपत्रमार्फत पाँच वर्षभित्र स्मार्ट ग्रिड र मिटर गर्ने घोषणा गरेको थियो भने एक वर्षअघि विद्युत् प्राधिकरणले पनि डिजिटल प्राधिकरणको अवधारणा अघि सारेको थियो । श्वेतपत्र ल्याएको दुई बर्षपछि र डिजिटल प्राधिकरण घोषणा गरेको एक बर्षपछि स्मार्ट मिटर जडान सुरु भएको हो । प्राधिकरणले पहिलो चरणमा देशभरका ८ हजार २ सय २२ टाइम अफ डे (टीओडी) मिटरहरूलाई स्मार्ट बनाइसकेको छ । हाल करिब पहिलो चरणमा रत्नपार्क र महाराजगंज वितरण केन्द्रअन्तर्गतका ग्राहकहरूको सिंगल फेज र थ्रि फेज गरी करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिन लागेको छ । दोस्रो चरणमा देशभरका करिब १ लाख २५ हजार थ्रि फेज होल करेन्ट मीटरहरूलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने काम भइरहेको छ । यस्ता करिब १८ हजार मिटर भने जडान भइसकेको र ६० हजार मिटर जडान भइरहेको छ प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले काठमाडौं उपत्यकामा हाल रहेका करिब ४ लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्न बोलपत्र प्रक्रिया अगाडि बढाएको छ । करिब ५० लाख ग्राहक रहेको प्राधिकरणले मुलुकभरका सबै ग्राहकको मिटरलाई स्मार्ट बनाउने गरी कार्यक्रम अगाडि बढाएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

No comments: