Sunday, February 26, 2017

सहुलियत ऋण नतिरे सरकारी सेवाबाट बञ्चित

   भीम गौतम   0 + -

फाइल फोटो
काठमाडौः भूकम्प प्रभावितले प्राप्त गर्ने सहुलियत ऋण समयमै चुक्ता नगरे सरकारी सेवाबाट बञ्चित गरिने भएको छ । भूकम्प प्रभावितलाई दिइने भनिएको तीन लाख ऋणसमेत लिन कठिन भइरहेको बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने कडाइ गर्ने तयारी गरेको हो । 
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले पुनर्निर्माणका लागि अन्तरनिकाय समन्वयबारे बोलाएको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले यस्तो प्रस्ताव राखेका थिए ।
ऋणको भाका नाघेपछि राहदानीलगायत स्थानीय निकायबाट गरिने सिफारिसमा रोक लगाउने तथा कुनै पनि सामाजिक सुविधाहरू नदिने गरी प्रस्ताव गरिएको छ । प्राधिकरणले ऋणको भाकाभित्र सोही घर र जग्गा बेचबिखन गर्न नपाउने गरी प्रस्ताव समेत गरेको छ ।
“तीन लाख रुपैयाँ सहुलियत ऋण लिएर नतिरी भाका नाघेमा सरकारी सेवाहरू समेत बञ्चित गरिने तयारी अघि बढाइएको छ,” प्राधिकरणका सहसचिव एवं प्रवक्ता यमलाल भुषालले भने । 
  • ऋण नतिरेसम्म घर, जग्गा बेच्न प्रतिबन्ध
  • सुकुम्बासीलाई जग्गा किन्न एक लाख
  • प्रभावितलाई स्वेच्छिक पुनस्र्थापना खुला
भूकम्प प्रभावितलाई नेपाल राष्ट्र बैंकले विपन्न वर्ग अन्तर्गत परिभाषित गरी बन्न लागेको घर र जग्गा धितो राख्नसक्ने व्यवस्था गर्न लागेको छ ।  “भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि, २०७३ को अनुसूचि १(१२) बमोजिमका जग्गामा बसोवास गर्ने भूकम्पपीडित लाभग्रहीको हकमा बन्न लागेको घर धितो राख्ने र वैंकलाई मान्य हुने आय आर्जनको सुनिश्चितता गरी गराई ल्याउनु पर्नेछ,” प्रस्तावमा भनिएको छ ।
जोखिम क्षेत्रमा रहेका सुकुम्वासीहरूलाई प्राधिकरणले सुरक्षित ठाउँमा जग्गा किन्नका लागि एकमुष्ठ एक लाख दिने तयारी समेत गरेको छ । सरकारी वन, सार्वजनिक स्थान र बाटोमा घर भई भूकम्पले क्षति भई लाभग्राहीको सूचिमा परेका र निज वा निजको श्रीमतीका नाममा अन्यत्र कतै जग्गा नभएको अवस्थामा हाल बसोबास गरिराखेको स्थानीय निकाय वा यससँग सीमाना जोडिएको स्थानीय निकाय भित्र सुरक्षित स्थानमा जग्गा एकमुष्ठ एक लाख दिने गरी गरिएको प्रस्तावमा एक लाख पाएपछि निजले बसेको स्थान छोड्नुपर्ने व्यवस्था समेत गर्न लागिएको छ । 
बस्ती स्थानान्तरण तथा पुनस्र्थापनाका सम्बन्धमा १० परिवारसम्म रहेको साना बस्तीका बासिन्दालाई स्वेच्छाले अन्यत्र जाने गरी कार्यक्रम ल्याउने तयारी प्राधिकरणले अघि बढाएको छ ।
स्वेच्छाले अन्यत्र जाँदा हाल बसोबास गरिराखेको स्थानीय निकाय वा यससँग सीमाना जोडिएको स्थानीय निकाय भित्र सुरक्षित स्थानमा जग्गा किन्न एकमुष्ठ एक लाख दिने व्यवस्था समेत प्राधिकरणले गर्न लागेको जनाएको छ । अन्यत्र जान नचाहने १० भन्दा बढी घर परिवार भएमा प्राधिकरण आफैंले पुनर्निर्माण तथा पुनस्र्थापना कार्य गर्ने समेत प्रस्तावमा उल्लेख छ । 
http://www.karobardaily.com/news/73419

चुहावट साढे ३ प्रतिशत घट्यो

     भीम गौतम    0 + -

फाइल फोटो
काठाण्डौं: नेपाल विद्युत् प्राधिकरणको ग्राहक तथा वितरण निर्देशनालयले ३.६३ प्रतिशत चुहावट घटाएको छ । विद्युत् प्राधिकरणको २५.७८ प्रतिशत चुहावटमध्ये ग्राहक तथा वितरण निर्देशनालयको २०.३८ प्रतिशत रहेकोमा ६ महिनाकै अवधिमा यति धेरै अप्राविधिक (चोरी) चुहावट घढेको हो ।
विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार, ग्राहक तथा वितरण निर्देशनालयमा २०.३८ प्रतिशत चुहावट रहेकोमा १७.७५ प्रतिशतमा घटेको छ ।
आव २०७२/०७३ मा ८ अर्ब २० करोड रुपैयाँ बराबर चुहावट भएकोमा ६ अर्ब बराबरको चुहावट हुने गरेको छ । विद्युत् प्रणालीमा ५१ सय गिगावाट आवर बिजुली उपलब्ध रहेकोमा १३ सय १५ युनिट चुहावट छ । 
विद्युत् प्राधिकरणका अनुसार, ग्राहक तथा वितरण निर्देशनालयअन्तर्गतको विराटनगर क्षेत्रीय कार्यालयमा १९.७८ प्रतिशत चुहावट रहेकोमा १६.७ प्रतिशत, जनकपुरमा ५२.२३ प्रतिशतबाट ३८.६१ प्रतिशत र हेटौंडामा १७.६४ प्रतिशत रहेकोमा १४.७९ प्रतिशतमा झरेको छ ।
त्यसैगरी काठमाडौं क्षेत्रीय कार्यालयमा ११.३१ प्रतिशत रहेकोमा ११.३७ प्रतिशत पुगेको छ भने पोखरामा १४.३८ प्रतिशतबाट १४.१६ प्रतिशत, नेपालगञ्जमा १५.६३ प्रतिशत रहेकोमा १४.८४, बुटवलमा १८.८७ प्रतिशत रहेकोमा १६.१२ र अत्तरिया क्षेत्रीय कार्यालयमा १३.२५ प्रतिशत रहेकोमा १३.३१ प्रतिशतमा झरेको विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको तथ्यांकअनुसार, चुहावट बढी रहेकोमा जनकपुरमा १४ प्रतिशत घटेको छ भने काठमाडांैमा बढेको छ । पछिल्लो तीन महिना यता विशेष चुहावट नियन्त्रण अभियानसमेत गरिरहेको प्राधिकरणले चालू वर्षभित्र ३.५ प्रतिशत चोरी चुहावट घटाउने उद्देश्य राखेको छ ।
प्राधिकरणमा वितरणका साथै प्रसारण, उत्पादनलगायतका निर्देशनालयमा समेत चुहावट हुने गरेको छ । पछिल्लो समयमा विद्युत् प्राधिकरणले सञ्चालन गरेको चुहावट नियन्त्रणअन्तर्गत हालसम्म करिब ५० करोड असुल गरिसकेको छ ।
प्राधिकरणको प्रणालीमा कुल २ सय मेगावाट चुहावट हुने गरेको तथ्यांक छ । चालू आवभित्र चुहावट साविकको २५.७८ प्रतिशतबाट २२.२८ प्रतिशतमा झार्ने लक्ष्य छ । प्राधिकरणले प्रत्येक क्षेत्रीय कार्यालय र त्यस मातहतका वितरण केन्द्रलाई लक्ष्य दिएर अभियान अघि बढाएको छ ।
प्राधिकरणले काठमाडांै, जनकपुर, विराटनगर, बुटवल, पोखरा, नेपालगन्ज र अत्तरिया क्षेत्रीय कार्यालयमा अहिले चुहावट न्यूनीकरण अभियान अघि बढाएको छ ।
प्राधिकरणसँग प्राविधिक र अप्राविधिक चुहावटको एकिन तथ्यांक नभए पनि करिब १७ प्रतिशत अप्राविधिक र ८ प्रतिशतभन्दा बढी चोरी चुहावट हुने गरेको अनुमान छ । हाल एक प्रतिशत मात्रै चुहावट घटाउन सके ५ करोड युनिट बिजुली जोगिने प्राधिकरणले जनाएको छ ।
क्षेत्रीय कार्यालय            हाल (प्रतिशत)         घटेको (प्रतिशत)
विराटनगर                    १९.७८            १६.७
जनकपुर                    ५२.२३             ३८.६१ 
हेटौंडा                        १७.६४            १४.७९
काठमाडांै                    ११.३१             ११.३७ 
पोखरा                        १४.३८             १४.१६
नेपालगन्ज                    १५.६३            १४.८४
बुटवल                    १८.८७        १६.१२ 
अत्तरिया                    १३.२५        १३.३१
स्रोत : नेपाल विद्युत् प्राधिकरण
http://www.karobardaily.com/news/73385

Saturday, February 25, 2017

प्रधानमन्त्रीको बेवास्ताले जलस्रोत परिषद् अलपत्र

    भीम गौतम    0 + -

फाइल फोटो
काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहालले बेवास्ता गर्दा उच्चस्तरीय राष्ट्रिय जलस्रोत परिषद् अलपत्र परेको हो । १९ वर्षदेखि निष्क्रिय झण्डै चार महिनाअघि (कात्तिक ११मा) परिषद्लाई सक्रिय गराउने निर्णय मन्त्रिपरिषद्ले गरे पनि प्रधानमन्त्रीले आफ्नै निर्णय कार्यान्वयनमा बेवास्ता गर्दा अलपत्र परेको हो ।
जलस्रोत क्षेत्रमा नयाँ नीति निर्माण गर्ने तथा दलीय सहमतिको वातावरण निर्माण गर्ने उद्देश्यले स्थापित परिषद् बैठकका लागि उनले समय नदिँदा हालसम्म यसको बैठकसमेत बस्न सकेको छैन । 
जलस्रोत क्षेत्रमा नयाँ मन्त्रीसँगै नयाँ योजना ल्याउने प्रचलनका कारण निष्क्रिय बनेको परिषद्लाई सक्रिय गराउन विगतको परम्परा तोड्दै ऊर्जामन्त्री जनार्दन शर्मा सक्रिय भएका थिए ।
ऊर्जामन्त्री शर्माकै पहलमा यसलाई सक्रिय गराउन लागिए पनि प्रधानमन्त्रीले समय दिएका छैनन् । “जलस्रोत क्षेत्रमा धेरै विवाद र समस्या देखिन थालेपछि र यसलाई हटाएर ऊर्जासँग सम्बन्धित आयोजनालाई तीव्रता दिन ऊर्जामन्त्रीले प्रयास गरेर सक्रिय गराउन लाग्नुभएको थियो,” जल तथा ऊर्जा आयोग सचिवालयका एक उच्च अधिकारीले भने, “आफैंले गरेको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीले अहिलेसम्म बैठकका लागि समयसम्म दिनुभएको छैन् ।”
सचिवालय स्रोतका अनुसार पटकपटक प्रधानमन्त्रीलाई समयका लागि पत्र पठाइसकिएको छ तर उनले यसलाई खासै महत्व दिएका छैनन् । आयोग सचिवालयका सचिव मधुसुदन अधिकारी भने छिट्टै परिषद्को बैठक बस्न लागेको बताउँछन् ।
“परिषदको बैठक छिट्टै बस्ने गरी तयारी अघि बढाएका छौं,” उनले भने । आयोगका अनुसार, २०४९ मा गठित परिषद्को बैठक अन्तिम पटक ०५४ मा बसेको थियो । स्थापनापछि जम्मा तीन पटक मात्रै बैठक बसेको परिषद्लाई गत ११ कात्तिकमा मन्त्रिपरिषद् बैठकले पुनः सक्रिय बनाउने निर्णय गरेको थियो ।
अहिलेको संरचनाअनुसार पुनर्गठन गरेर सक्रिय बनाउन लागिएको सो बैठक फेरि अनिश्चित बनेको छ । जलविद्युत्बारे नीति निर्धारण गर्नुका साथै साझा धारणा बनाउने, जलस्रोतको बाँडफाँड र व्यवस्थापन गर्ने लगायतका कार्य गर्ने गरी परिषद् गठन गरिएको हो ।
यसमा  प्रधानमन्त्री अध्यक्ष, ऊर्जामन्त्री उपाध्यक्ष तथा सिँचाई, खानेपानी तथा सरसफाई, संघीय मामिला तथा स्थानीय विकास, कृषि विकास, कानुन, उद्योग, जनसंख्या तथा वातावरण र विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री, ती मन्त्रालयका सचिव तथा प्रमुख प्रतिपक्षी दल, ऊर्जा राज्यमन्त्री, कृषि तथा जलस्रोत समिति सभापति सदस्य रहने व्यवस्था छ ।
यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिवलगायतका सदस्य रहनेछन् । परिषदमा संसद्को पहिला दलबाट ४, दोस्रो दलबाट ३, तेस्रोबाट २ तथा बाँकी दलहरूबाट १÷१ जना सदस्य रहने व्यवस्था छ । 
http://www.karobardaily.com/news/73326

Thursday, February 23, 2017

अरुण तेस्रोलाई भारत सरकारबाट ९१ अर्ब बजेट

     कारोबार   0 + -

फाइल फोटो
काठमाडौँ: भारतको सतलज कम्पनीले नेपालमा निर्माण गर्न लागेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि भारत सरकारले ९१ अर्ब बजेट स्वीकृत गरेको छ ।
भारतीय सरकारी कम्पनी सतलजलाई आयोजना निर्माणका लागि अनुमति दिँदै भारतीय सरकारले सो बजेट स्वीकृत गरेको हो ।
भारत निर्यात गर्ने गरी संखुवासभामा निर्माण हुने यो आयोजनाको बजेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भारतीय मन्त्रिपरिषदको बुधबार बसेको बैठकले स्वीकृत गरेको हो ।
“अरुण तेस्रो आयोजना निर्माणका लागि भारतीय सरकारले ९१ अर्ब रुपैयाँ स्वीकृत गरेको छ,” कम्पनीका नेपाल प्रतिनिधि हरिराम सुवेदीले भने ।
८ बर्ष अघि विश्वव्यापी खुल्ला प्रतिष्पर्धाबाट अरुण तेस्रो आयोजनाको अनुमति पाएको सतलज र लगानी बोर्डबीच साढे दुई बर्ष अघि आयोजना विकास सम्झौता (पीडीए) भएको थियो । 
http://www.karobardaily.com/news/73764

लगानी बोर्डलाई टेर्दैनन् मन्त्रालय

    भीम गौतम   0 + -

फाइल फोटो
काठमाडौंः विभिन्न मन्त्रालयले लगानी बोर्डलाई परियोजना बैंकमा समावेश गर्न लागिएका प्रस्तावित आयोजनाहरूको विस्तृत विवरण दिन अटेर गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षमा २४ पुसमा बोर्डद्वारा प्रस्ताव गरिएका १ सय २२ परियोजनाहरूको सूची तयार गरेर अन्तिम रूप दिनका लागि सम्बन्धित मन्त्रालयमा पठाए पनि ती मन्त्रालयहरूले भने बोर्डलाई अटेर गरेका हुन् ।
आगामी साता हुन लागेको लगानी सम्मेलनमा प्रस्तुत गर्ने गरी बोर्डले तयारी अघि बढाए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनबाहेक अन्य मन्त्रालयले हालसम्म अन्तिम रूप दिएका छैनन् ।
“ऊर्जा, उद्योग, वातावरण, कृषि, भौतिक पूर्वाधार तथा यातायात, आपूर्ति, शिक्षा, स्वास्थ्य लगायतका मन्त्रालयले अहिलेसम्म विस्तृत विवरण उपलब्ध गराएका छैनन्,” लगानी बोर्ड स्रोतले भन्यो, “तीनपटक ताकेता पत्र पठाए पनि त्यसलाई अटेर गरेका छन्, उनीहरूले नपठाउँदा प्रधानमन्त्रीको अध्यक्षतामा गरेको निर्णय समेत कार्यान्वयन हुन सकेको छैन ।” 
बोर्ड बैठकले पहिचान भएका परियोजनाहरू सम्बन्धित मन्त्रालयसँग समन्वय गरी लगानीकर्ताको उपयोगका लागि वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरे पनि हालसम्म अधिकांश मन्त्रालयले पठाएका छैनन् ।
लगानी बोर्डले २० भन्दा बढी राष्ट्रका २ सयभन्दा बढी बाह्य प्रतिनिधिको सहभागितामा हुन लागेको सम्मेलनको अवसरमा त्यसलाई सार्वजनिक गर्ने योजना बनाए पनि असफल हुने अवस्था सिर्जना भएको छ ।
तर, बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी मन्त्रालयहरूले परियोजना पठाउने क्रम जारी रहेको बताउँछन् । “सम्बन्धित मन्त्रालयहरूबाट आउँदैछन्, यसलाई अन्तिम रुप दिएर सार्वजनिक गर्नेछौं,” उनले भने ।
उनका अनुसार पर्यटन मन्त्रालयले पहिचान गरेर पठाएकाबाहेक थप ५ परियोजनाको विवरण समेत पठाएको छ । लगानी बोर्डले एक बर्ष अघिदेखि परियोजना बैकको प्रस्ताव अघि बढाएकोमा बल्ल १ सय २२ परियोजना पहिचान गरेर सम्बन्धित मन्त्रालयमा पठाएको थियो ।
ती सम्भाव्यता अध्ययन भइसकेका र हुने चरणमा रहेका परियोजनाहरू हुन् । बोर्डका अनुसार जलविद्युत्तर्फ नौ, प्रसारण लाइनतर्फ सात, पर्यटनतर्फ ११, कृषितर्फ दुई, यातायात पूर्वाधारतर्फ ३४, विशेष आर्थिक क्षेत्रतर्फ १३, पेट्रोलियम पाइपलाइनतर्फ तीन, खनिज तथा खानीतर्फ तीन, बैक तथा वित्ततर्फ एक, शिक्षा र स्वास्थ्यतर्फ २१, सुक्खा बन्दरगाहतर्फ पाँच, सूचना प्रविधितर्फ तीन, स्मार्ट सिटीतर्फ आठ, उत्पादनतर्फ दुई, बैकिङ तथा विमातर्फ दुई र वैकल्पिक ऊर्जातर्फ एक परियोजना पहिचान गरिएको छ ।
“लगानी सम्मेलनअघि नै सम्बन्धित मन्त्रालयले थप विवरण पठाएर प्रस्तुत गर्न सकिन्छ भन्नेमा बोर्ड बिश्वस्त छ,” प्रवक्ता मधु भेटुवालले भने । यसअघि बोर्डले सार्वजनिक निजी साझेदारी (पीपीपी) तथा निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडेलमा अघि बढाउने गरी विस्तृत अध्ययन भएका आठ ठूला परियोजनाहरू छनोट गरिसकेको छ ।स्वदेशी तथा विदेशीहरूलाई लगानी गर्नका लागि परियोजना अभाव भइरहेको भन्दै चिन्ता जनाइएका बेला बोर्डले ती आयोजनाहरूलाई आर्थिक रुपमा लगानीयोग्य परियोजनाका रुपमा छनोट गरेको हो । 
http://www.karobardaily.com/news/73736

Wednesday, February 22, 2017

जलविद्युत् क्षेत्रमा अवसरै अवसर

      -

तस्विर : कारोबार
नेपालमा जलविद्युत्को विकास सुरु भएको १ सय ५ वर्ष पुगे पनि उत्पादन भने ९ सय मेगावाटको हाराहारीमा छ । जलविद्युत् उत्पादनको प्रशस्त सम्भावना भएर पनि नेपालले ठूलो फड्को मार्न सकेको छैन ।
जलविद्युत् विकासको पछिल्लो विकास सकारात्मक दिशातर्फ उन्मुख छ । तिहारपछि उपत्यकावासीले लोडसेडिङ भोग्नुपरेको छैन भने उपत्यकाबाहिर पनि तुलनात्मक रूपमा लोडसेडिङ कम छ ।
अघिल्लो वर्षभन्दा चालू वर्षको ६ महिनामै १ सय १५ मेगावाट विद्युत् थपिएको छ भने उत्पादन बढ्ने क्रम जारी छ । भारतबाट आयातीत बिजुलीसमेत ४ सय मेगावाट पुगिसकेको छ ।
नेपाल विद्युत् प्राधिकरणको समुचित व्यवस्थापनका कारणले अहिले लोडसेडिङ हटेसँगै जलविद्युत् आयोजनाप्रति नै सकारात्मक धारणाको पनि विकास हुँदै गएको छ । जलविद्युत् आयोजनामा लगानी गर्न सर्वसाधारणको आकर्षण बढ्दो छ ।
जलविद्युत् आयोजनामा सेयर हाल्नका लागि प्रतिस्पर्धा बढेको छ । जलविद्युत् क्षेत्रलाई जति प्राथमिकता दिइएको भनिए पनि आयोजना निर्माण गर्न धेरै समस्या छन् । ती समस्याको समाधान गर्न ऊर्जा मन्त्रालयले प्रयास गरिरहेको बताउँदै आएको छ, तर सबै समस्या समाधान भइसकेका छैनन् ।
नेपालको जलविद्युत् क्षेत्रको सम्भावना, यसमा देखिएका समस्या र चुनौती तथा समाधानका लागि भएका प्रयासबारे कारोबारकर्मी भीम गौतमले ऊर्जाक्षेत्रमा सरोकार राख्ने विज्ञ तथा प्रवद्र्धकहरूसँग गरेको कुराकानी :
स्वच्छ ऊर्जामा नेपाल विश्वकै ब्रान्ड बन्न सक्छ
डा. स्वर्णिम वाग्ले
सदस्य
राष्ट्रिय योजना आयोग

भौतिक पूर्वाधारको विकास गर्दा विशेष गरी पाँचवटा उपक्षेत्रलाई हेर्नुपर्छ । ऊर्जा, सडक, विमानस्थल र पर्यटन, सिँचाइ र खानेपानी तथा सूचना पूर्वाधार (आईसिटी) मा ठूला परियोजना निर्माण गर्न सकिने अवस्था छ । 
ऊर्जामा सोलार, वायुको कुरा गरिरहेका छौं, तर ९५ प्रतिशत त जलविद्युत् नै हो । जलविद्युत्बाट घर–घरमा बिजुली आउने मात्र होइन, यसको अरू धेरै महŒव पनि छ । औद्योगीकरणमा पनि सहयोग गर्छ । जीडीपी १० प्रतिशतबाट ५ प्रतिशतमा घटेको अवस्था छ ।
ऊर्जालाई मैले कसरी हेरिरहेको छु भने यसले नेपाललाई ब्रान्डिङ गराउँछ । मेड इन शतप्रतिशत कार्बनमुक्त नेपाल बनाउन सकियो भने जलवायु परिवर्तनको जमानामा धेरै महŒवपूर्ण हुन्छ ।
कार्बन फाल्नैपर्ने कुरा हो । शतप्रतिशत स्रोत स्वच्छ ऊर्जा भयो भने जति उत्पादन हुन्छन्, तिनमा मेड इन जिरो कार्बन नेपाल बनाउन सकियो भने धेरै प्रगति गर्न सकिन्छ । यो नेपालको ब्रान्ड विश्वकै उत्कृष्ट बन्न सक्छ ।
भारतमा ८० प्रतिशत ऊर्जा उत्पादन कोलबाट हुन्छ । अमेरिकामा पनि यस्तै छ । नेपाललाई भने प्रकृतिले यस्तो सम्पदा दिएको छ कि शतप्रतिशत कार्बनमुक्त स्वच्छ ऊर्जा उत्पादन गर्न सम्भव छ । समृद्धिको आधार पनि यही हुन्छ ।
यसका लागि लघुदेखि ठूला जलविद्युत् आयोजनासम्म निर्माणको काममा तीव्रता दिनुपर्छ ।गोर्खा, जुम्ला, मुस्ताङमा यस्ता लघुजलविद्युत् आयोजना निर्माण भइरहेका छन् । अहिले सय मेगावाट क्षमतासम्मका जलविद्युत् आयोजना नेपाली आफैंले निर्माण गर्न सक्ने भएका छन् ।
सय मेगावाटभन्दा ठूला आयोजनामा ठूला–ठूला वैदेशिक लगानी ल्याउनु आवश्यक छ । ऊर्जा सम्मेलनमा १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरिएको छ, यसलाई सार्थक बनाउन लाग्नैपर्छ ।
२ नम्बर प्रदेशबाहेक बाँकी ६ प्रदेशमा जलविद्युत्को सम्भावना छ । विद्युत् उत्पादन अभियानलाई सशक्त रूपमा लानैपर्छ । समृद्धिको आधार नै जलविद्युत् हो । 

ठूला आयोजनामा विदेशी लगानीकर्ता आकर्षित गर्नुपर्छ

श्रीरञ्जन लाकौल
पूर्वसचिव

जलविद्युत् विकासका लागि ठूला लगानीकर्तालाई आकर्षित गर्न सक्नुपर्छ । सरकारले गरेको सीमित लगानीबाट ठूला–ठूला जलविद्युत् आयोजना निर्माण हुन सक्दैनन् । अहिले भारतबाट आयातीत बिजुलीमा भर पर्नुपर्ने अवस्था सीमित समयका लागि मात्र हो ।
दीर्घकालीन रूपमा विद्युत्मा आत्मनिर्भर हुन ठूला परियोजना निर्माण गनैपर्छ । १ सय मेगावाटसम्मका आयोजना निर्माणका लागि स्वदेशी लगानी पर्याप्त छ, तर त्योभन्दा ठूला आयोजना निर्माणका लागि विदेशी लगानी आकर्षिक गर्नतिर लाग्नुपर्छ । 
अहिले जलविद्युत् विकासका लागि जग्गा प्राप्तिको समस्या छ । लगानी सहज रूपमा जुट्न सकेको छैन । वनको समस्या छ । सरकारी स्तरमा हुने ढिलासुस्ती पनि समस्या छ ।
यसकारण कर्मचारीतन्त्रले दिने सेवालाई समेत प्रभावकारी बनाउनु आवश्यक छ । विगतको तुलनामा जलविद्युत् आयोजनामा बन्द, हड्ताल कम भए पनि पूर्ण रूपमा रोकिएको छैन । यसमा पनि सुधार गर्नुपर्ने अवस्था छ ।
डलर भुक्तानीको जोखिमको समस्या छ । जलविद्युत् आयोजनामा आवश्यक टर्बाइन, जेनेरेटर, कन्ट्रोलरलगायतका अधिकांश उपकरण विदेशबाट आउने गरेका छन् । कुल जलविद्युत् लागतमध्ये ६० प्रतिशत डलरमा उपकरण गर्नुपर्ने अवस्था छ । 
अहिले स्वदेशी लगानीमा २ हजार मेगावाटबराबरका आयोजना निर्माणाधीन छन् । यी अधिकांश क्षमताको हिसाबले १ सय मेगावाटभन्दा कम छन् । अहिले ९ सय मेगावाटका अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।
भारतीय लगानी रहेका यी आयोजना निर्माणमा भइरहेको प्रगतिलाई विदेशी लगानीकर्ताले चासोका साथ हेरेका छन् । यी आयोजना समयमै निर्माण सम्पन्न गरेमा पनि विदेशी लगानी थप आकर्षित गर्न सहज हुन्छ । विदेशी लगानीकर्ता आफ्नो फाइदाका लागि नेपालमा लगानी गर्न आउने हुन् ।
उनीहरूका लागि के–के अवरोध र समस्या छन्, त्यो फुकाएर उचित वातावरण बनाउनुपर्छ । स्वदेशी लगानीका आयोजनामा देखिएका समस्या पनि समाधान गर्न सरकारले अग्रसरता लिनु जरुरी छ ।
स्वदेशी र विदेशी लगानीमा बढीभन्दा बढी आयोजना निर्माण गर्न सकेमा यसले नेपालको समग्र विकासमा सकारात्मक असर पार्छ ।

जलविद्युत् विकासमै केन्द्रित हुनुपर्छ

प्रबल अधिकारी
प्रवक्ता
नेपाल विद्युत् प्राधिकरण

जलविद्युत्को विकासका लागि विभिन्न सुधार आवश्यक छ । पहिलो त नीतिगत सुधार गर्नुपर्नेछ । वित्तीय व्यवस्थापनका लागिसमेत सहज वातावरण निर्माण गर्नुपर्छ । यसका लागि सहुलियत ऋणको व्यवस्था गर्नुपर्छ ।
हाइड्रोलोजीबारे विस्तृत अध्ययन अघि बढाएर मात्र आयोजना निर्माण गर्नु उपयुक्त हुन्छ । वातावरणीय र सामाजिक मुद्दालाई समेत सम्बोधन गर्नु छ । अहिले जलविद्युत् आयोजना निर्माणमा ढिलाइ हुनुको कारकका रूपमा यसलाई लिइन्छ ।
जलविद्युत् आयोजना निर्माण हुने बेसिन वाइज क्षेत्रमा सडकलगायतका पूर्वाधार विकास गर्न सरकारले पहल गर्नुपर्छ । पहिल्यै ती क्षेत्रका सडक पहुँचलगायतका पूर्वाधार विकास गर्न सकियो भने जलविद्युत् आयोजना छिटो बनाउन सकिन्छ ।
यसले आयोजनाको लागत घटाउन सक्छ । लागत र समय घटाउन सकियो भने जलविद्युत् आयोजनाका लागि ठूलो उपलब्धि हुन्छ । समयमै जलविद्युत् आयोजना निर्माणका लागि जनशक्ति र लगानी बढाउनुपर्छ । 
प्रसारणलाइन निर्माणका लागि जग्गा प्राप्ति र अधिग्रहण समस्याका रूपमा देखिएको छ । कानुनका कारणले ठेक्कापट्टामा पनि समस्या छ । जग्गा अधिग्रहण गरिसकेर मात्र ठेक्कापट्टा गर्ने व्यवस्था गर्न सकियो भने जलविद्युत् आयोजना विकासका लागि सहज वातावरण निर्माण हुन सक्छ ।
यही कारणले २२० केभीको खिम्ती–ढल्केबर, थानकोट–चापागाउँ प्रसारणलाइन निर्माणमा धेरै समस्या देखिएको थियो । निजी प्रवद्र्धकले सरकारी प्रक्रियागत झन्झट भयो भनिरहेका छन् । नीतिगत व्यवस्थाले कतिपयमा समस्या छ । यसमा समेत पुनर्विचार गर्नुपर्छ ।
वातावरण अध्ययनमा समेत लामो समय लाग्ने अवस्था छ । एउटै कुराको स्वीकृतिका लागि विभिन्न निकायमा धाउनुपर्ने अवस्था छ । आयोजना स्वीकृतिका लागि धेरै निकाय धाउनुपर्ने अवस्थाको अन्त्य गरेर छिटो स्वीकृति दिने व्यवस्था गर्नुपर्छ । यसलाई वैज्ञानिक बनाउनुपर्छ । 
अहिले विकास र वातावरण एक–अर्काका लागि समस्याका रूपमा देखिएका छन् । जलविद्युत् विकास पहिलो अनि मात्र वातावरणको कुरा पछि आउने हो, तर यहाँ त उल्टो छ ।
अल्पविकसित राष्ट्रमा विकास महŒवपूर्ण हुनुपर्ने हो, तर वातावरणका कुराले धेरै समस्या छ । अहिले त जलविद्युत् विकासमै केन्द्रित हुनुपर्छ । उचित वातावरण भएमा उत्पादन बढेर अझ विद्युत्मा सहज स्थिति आउँछ ।

प्रतिबद्धताअनुसार सरकारले सहुलियत दिएको छैन

डा. सुवर्णदास श्रेष्ठ
सल्लाहकार संयोजक
इप्पान

जलविद्युत् उत्पादन सडकपछिको मुख्य पूर्वाधार हो । सन् १९९० पछि नेपालमा जलविद्युत्को क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई खुला गरेपछि अहिले निजी क्षेत्रसमेत धेरै अगाडि बढेको छ ।
अहिलेको नेपाल विद्युत् प्राधिकरणको व्यवस्थापनले गरेको प्रयासकै कारण काठमाडौं उपत्यका लोडसेडिङमुक्त बनेको छ । यो सम्भव हुनुको पछाडि निजी क्षेत्रबाट उत्पादन भएको बिजुलीकै कारण हो । चालू वर्षमा मात्र निजी क्षेत्रमा १ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन भएको छ । 
अहिले केही प्रसारणलाइन पनि बनेका छन् । प्रसारणलाइन निर्माण गर्नु नेपालको सबैभन्दा ठूलो चुनौतीका रूपमा देखिएको छ । जलवायु परिवर्तन, नियमित वर्षामा आएको फेरबदललगायतका कारणले जलविद्युत् उत्पादनमा घटबढ भएको छ ।
तर, अघिल्लो वर्ष सरकारले ल्याएको ऊर्जा संकटकाल कार्ययोजना र अहिलेका ऊर्जामन्त्री जनाद्र्धन शर्माले ल्याएको ३७ बुँदे कार्ययोजनाले धेरै कुरा समेटेको छ । यो आएपछि आंशिक रूपमा मात्र विद्युत् खपत गर्ने नेपाल विद्युत् प्राधिकरणको निर्णय परिवर्तन भएर अहिले लिनैपर्ने व्यवस्था छ ।
हाइड्रोलोजी जरिवाना पनि हटेको छ, तर विगतमा सरकारले प्रतिबद्धता जनाएअनुसार सहुलियत दिइएको छैन ।केही जलविद्युत् आयोजनालाई अहिलेको खरिद दर दिने जस्ता निर्णय कार्यान्वयन हुन सकेका छैनन् ।
यी घोषणालाई कार्यान्वयन गरेर सरकारले निजी क्षेत्रलाई लगानीका लागि उत्साहित बनाउनुपर्छ । अहिले जग्गा अधिग्रहण, वनको जग्गा लिजमा लिने, रूख कटान गर्नेलगायतमा देखिएको समस्या समाधान गर्नुपर्छ ।
नेपाल राष्ट्र बैंकले ८० प्रतिशतसम्म पुनर्वित्तीय व्यवस्थापन गर्न सक्ने भए पनि यसलाई २५ प्रतिशतमा झारेपछि समस्या छ । पछिल्लो समयमा सर्वसाधारणको सेयर जलविद्युत् आयोजनामा बढेसँगै बाधा अवरोधमा पनि कमी आएको छ ।
तर, लोडसेडिङ अन्त्यले यस्तो वातावरण बनाएको हो । सरकारले निजी क्षेत्रको जलविद्युत् प्रवद्र्धनका लागि जलविद्युत् आयोजना निर्माण हुने क्षेत्रसम्म पहुँच मार्ग बनाएर अझ सहज वातावरण बनाउनुपर्छ । निजी क्षेत्रले पनि अनावश्यक बहाना बनाएर आयोजनामा ढिलाइ गर्नु हुँदैन ।
विकास पहिला कि वातावरण ?
नेपालको पूर्वाधार क्षेत्रमा एउटा प्रश्न सबैभन्दा जल्दोबल्दो रूपमा उठ्ने गरेको छ— विकास पहिला कि वातावरण ? अधिकांश विकसित राष्ट्रले पहिला विकासका पूर्वाधार बनाए, उद्योगधन्दा खोले, देशलाई सम्पन्न बनाए अनि वातारणीय कुरा उठाए ।
तर, नेपालमा विकास र वातावरण दुवै पक्षको विकास सँगसँगै अघि बढाउने अवधारणा अघि बढेको छ, जुन व्यावहारिक देखिँदैन । अहिले जलविद्युत् आयोजनालगायतका अधिकांश विकास–निर्माणमा बाधकका रूपमा यही वातावरण पक्ष देखिएको छ ।
ठूला पूर्वाधार निर्माणका अधिकांश फाइल वन र वातावरण मन्त्रालयमा गएर अड्किएका छन् । प्रारम्भिक, वातावरण प्रभाव मूल्यांकनबारेको नेपालको नीति यति बलियो छ कि त्यहाँ विकास–निर्माण पूरा गर्न महाभारत छ । 
विकसित राष्ट्रद्वारा प्रवद्र्धित र उनीहरूको अवधारणालाई बढी महत्व दिने विभिन्न दातृ निकायले बनाइदिएको त्यही नीतिले नेपालका अधिकांश ठूला पूर्वाधार निर्माणमा समस्या देखिएको छ । यसको समाधान नगरी ठूला पूर्वाधार निर्माण गर्न कठिन छ ।
नेपालमा निर्माणाधीन अधिकांश जलविद्युत् आयोजनाले पनि यही समस्या भोगिरहेको छ । वनक्षेत्रको सरकारी जग्गा प्राप्ति, जग्गा प्राप्ति गरेपछि त्यसको सट्टामा त्यति नै जग्गा किनेर एक रूख बराबर २५ बिरुवा रोप्नुपर्ने, ७५ रोपनी जग्गा लिजमा लिन नपाइनेलगायतका व्यवस्था मात्र होइन, वातावरण अध्ययनको स्वीकृति पाउनका लागि विकासकर्ताले पाउने हैरानी सबैभन्दा ठूलो समस्याका रूपमा देखिएको छ ।
सबै पूर्वाधारको विकास भइसकेका र संख्यात्मकभन्दा गुणात्मक विकासमा जोड दिने अवस्थामा पुगेका मुलुकका लागि वातावरणीय पक्ष महŒवपूर्ण हुन्छ । तर, नेपालजस्तो अल्पविकसित राष्ट्रका लागि विकसित राष्ट्रका नियम, कानुन, नीति र कार्यान्वयन कार्यविधिलाई अघि बढाउँदा समस्या आउने निश्चित छ ।
अहिले नेपालले यही भोगिरहेको छ । वातावरण पक्षलाई महत्व दिनु हुँदैन भन्ने कुरा होइन, तर विकसित राष्ट्रको जस्तो नीति विकास निर्माणको अधिकांश पहुँच नपुगेको नेपालजस्तो मुलुकमा उपयुक्त हुनै सक्दैन ।
पहिला विकासको पहुँच पु-याएपछि वातावरण पक्षको सुधारका लागि अघि बढ्दा उपयुक्त हुन्छ । तर, अहिले त विकासभन्दा अगाडि वातावरण पक्ष आउने गरेकाले अधिकांश ठूला पूर्वाधार विकासका काम ओझेलमा परेका छन् ।
कमसे कम विकास पूर्वाधारको पहुँच नपु¥याउँदासम्म वातावरणीय पक्षलाई कम महत्व दिएर विकासलाई दु्रत गतिमा अघि बढाउनु आवश्यक छ । विशेष गरी विदेशी दातृ निकायले ऋण तथा अनुदान दिएका आयोजनामा राखिने वातावरणको कडा सर्तका कारण आयोजनाको लागत र समय दुवै दोब्बर भएका उदाहरण छन् ।
खिम्ती–ढल्केबर प्रसारणलाइन निर्माणका लागि १९ वर्षसम्म लाग्नु पनि यही कारणले हो । निर्माण हुन लागेको १२ सय मेगावाटको बूढीगण्डकीलगायतका अधिकांश आयोजनाले पनि यही समस्या भोग्ने अवस्था छ ।
यसकारण नेपालको माटोसुहाउँदो नीति निर्माण गरेर विकासलाई अघि बढाउनुपर्छ । मन्त्रिपरिषद्ले गरेको निर्णय वन तथा वातावरण मन्त्रालयले कार्यान्वयन गर्न वर्षौं लगाएका उदाहरण छन् ।
अहिले पनि वन तथा वातावरणको स्वीकृतिका कारण ठूला पूर्वाधार आयोजनाले समस्या भोगिरहेका छन् । वातावरणीय पक्षमा कम क्षति हुने गरी पहिला विकास निर्माणलाई तीव्रता दिनु आवश्यक छ । पहिला वातावरण कुरा गरेर नेपाललाई उच्च वृद्धिदरको विकासमा लैजान असम्भवजस्तै छ । 
    
ऊर्जा विकासको सम्भावना
नेपालका ६ हजार नदीनालालाई अधिकतम उपयोग गर्ने हो भने पनि १ लाख मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन गर्न सकिन्छ । तर, उत्पादन १ हजार मेगावाट पनि छैन । जलविद्युत्बाहेक नेपालमा सौर्य (सोलार), वायु ऊर्जाको सम्भावना पनि उत्तिकै छ ।
तर, सम्भावनाअनुसारको उत्पादन हुन सकेकै छैन । ऊर्जा सडकपछिको सबैभन्दा ठूलो पूर्वाधार हो । ऊर्जाबिना कुनै पनि पूर्वाधारको विकास हुन सक्दैन । छिमेकी मुलुक भारत र चीनले औद्योगिक क्षेत्रमा ठूलो फड्को मारेर विश्वकै आर्थिक रूपमा प्रभावशाली देशका रूपमा आफूलाई चिनाइरहेका बेला नेपालको अवस्था भने दयनीय बन्दै छ ।
आयात मात्र ८ खर्ब रुपैयाँको हाराहारीमा पुगिसकेको छ भने उत्पादित वस्तुको संख्या घट्दो छ । पेट्रोल, डिजेल, विद्युत् र विद्युतीय सामग्रीको आयात मात्र वर्षको १ खर्ब ५० अर्ब रुपैयाँको हाराहारीमा पुग्न लागिसकेको छ । यसले ऊर्जामा समेत परनिर्भरता बढेको देखाउँछ ।
नेपालमा ऊर्जा विकासको प्रशस्त सम्भावना छ । सरकारले उचित वातावरण निर्माण गरेमा, विद्यमान प्रक्रियागत झन्झट हटाएमा र जलविद्युत् प्रवद्र्धकहरूले पनि इमानदारीका साथ जलविद्युत् आयोजनाहरू निर्माण गरेमा धेरै जलविद्युत् आयोजना निर्माणको सम्भावना छ ।
अहिले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) भएका आयोजना मात्र झन्डै ३ हजार मेगावाटबराबरका छन् । निर्माणका लागि अघि बढेका आयोजना १० हजार मेगावाटभन्दा बढीका छन् ।
नेपाल र भारत दुवै देशले संयुक्त रूपमा अघि बढाउनुपर्ने १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी, ६४ सय ८० मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चामा छन् ।
बूढीगण्डकी, नलसिंहगाढ, सुनकोसी दोस्रो र तेस्रो, तमोर, दूधकोसीलगायतका जलाशययुक्त आयोजना पनि निर्माणका लागि अघि बढाउने तरखरमा सरकार छ । ऊर्जा मन्त्रालयले नेपालको पानी, जनताको लगानी भनेर अभियान पनि सुरु गरेको छ ।
पछिल्लो समयमा जलविद्युत् आयोजनामा शेयर हाल्नेको भीड बढेको छ । सर्वसाधारणमा सेयरप्रति बढेको चाख र सहभागिताको कारण नै भन्नुपर्छ, पहिलाजस्तो जलविद्युत् आयोजनामा अनावश्यक अवरोध र हड्ताल कम हुन थालेको छ ।
यी सबै अवस्थालाई हेर्ने हो भने नेपालमा जलविद्युत् विकासको सम्भावना प्रशस्त छ । यसका लागि इमानदार र जलविद्युत् बुझेको नेतृत्वको खाँचो छ । अहिले काठमाडौं उपत्यका लोडसेडिङमुक्त भएको छ भने उपत्यकाबाहिर एकदम न्यून मात्र लोडसेडिङ छ ।
भारतबाट आयातीत बिजुली र आन्तरिक रूपमा चुस्त व्यवस्थापनबाटै यो सम्भव भएको हो । तर, उत्पादन बढाउन नसक्ने हो भने भविष्यमा फेरि लोडसेडिङ बढ्ने सम्भावना टरिसकेको छैन ।
१ सय ४४ मेगावाटको कालीगण्डकी निर्माण सम्पन्न भएपछि नेपाल विद्युत् प्राधिकरणले विद्युत्को खपत बढाउन सार्वजनिक रूपमा विज्ञापन गर्नुपरेको थियो, तर पछि लोडसेडिङ दैनिक १८ घण्टासम्म पनि पुग्यो ।
मुख्य कुरा, उत्पादन बढाउनु नै हो । यसका लागि सरकार, निजी क्षेत्र, समुदाय र प्रभावित क्षेत्रका बासिन्दाको सामूहिक प्रयास र सहकार्य आवश्यक छ । त्यसका साथसाथै राजनीतिक नेतृत्व र सरकारी निकायको पहल अघि बढाउनु आवश्यक छ । 
http://www.karobardaily.com/news/73701
 

Tuesday, February 21, 2017

‘ठूला पूर्वाधार बनाउन पीपीपी नै उपयुक्त’

    भीम गौतम   0 + -

काठमाडौ: मुलुकमा ठूला पूर्वाधार आयोजना निर्माण गर्न सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेल नै उपयुक्त रहेको विज्ञहरूले औंल्याएका छन् ।
पीपीपी मोडल विकसित र विकासोन्मुख राष्ट्रहरूमा समेत सफल प्रयोग भइसकेकाले नेपालले पनि अपनाउँदा उपयुक्त हुने उनीहरूको जिकिर छ । नेपाल उद्योग परिसंघले सरकारको सहकार्यमा आयोजना गरेको दोस्रो पूर्वाधार सम्मेलन २०१७ मा अधिकांश सहभागीले पीपीपी मोडलमै जोड दिएका हुन् ।
सोमबार सम्पन्न सम्मेलनमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले विश्व र क्षेत्रीय दृष्टिकोणले सफल पीपीपी मोडेलबारे चर्चा गदै दुई छिमेकी राष्ट्र भारत र चीनमा समेत यही मोडेल सफल भएको उल्लेख गरे ।
एसियाली पूर्वाधार अभाव (ग्याप) परिपूर्ति गर्न ८८ ट्रिलियन डलर लगानीको आवश्यक रहेको आँकडा उनले प्रस्तुत गरे ।  “दक्षिण एसियामा नेपालले पीपीपी मोडेलमा ठूला पूर्वाधार बनाउन सकेको छैन तर यो मोडेल नेपालका लागि समेत उपयुक्त देखिएको छ,” उनले भने ।
उनका अनुसार, भारतमा मात्र विमानस्थल, फोहोर व्यवस्थापन, सहरी सार्वजनिक यातायात, ऊर्जा, लोकमार्ग लगायत १ हजार ४ सय ३६ पूर्वाधारका परियोजना पीपीपी अघि बढाएको छ भने चीनले पीपीपी सेन्टर नै स्थापना गरेको छ ।
पीपीका फाइदा
  • जोखिम न्यूनीकरण
  • लागतमा कमी
  • क्षमता र व्यवस्थापनमा विज्ञता
  • सिर्जनशीलताको अभिवृद्धि
  • भ्रष्टाचार न्यूनीकरण
  • दक्षतापूर्ण सञ्चालन र मर्मत
डा. शर्माले पीपीपी मोडेलबाट आयोजना निर्माण गर्न सकेमा पूर्वाधार आयोजनामा हुने जोखिम न्यूनीकरण, लागतमा कमी, उपयुक्त क्षमता र व्यवस्थापन विज्ञतामा वृद्धि, सिर्जनशीलताको अभिवृद्धि, भ्रष्टाचार न्यूनीकरण, दक्षतापूर्ण सञ्चालन र मर्मतजस्ता फाइदा पुग्नसकिने बताए ।
“पीपीपी मोडेल अघि बढाउनका लागि पूर्वाधार निर्माणका लागि नीति निर्माण र प्रारुप निर्माण, लगानी वृद्धि, समन्वय र सहजीकरण, परियोजना व्यवस्थापनमा क्षमता अभिवृद्धि लगायतमा जोड दिनु आवश्यक छ,” उनले भने ।
यस्तै, पूर्वअर्थमन्त्री डा. रामशरण महतले निजीसँगै पूर्वाधार विकासमा सहकारी जस्ता सामुदायिक निकायहरूलाई समेत सहभागी गराउन सक्नुपर्ने बताए ।
“पीपीपी मोडेलबाट पूर्वाधार बनाउँदा उत्पादन र सेवाको क्षेत्रमा समेत दक्षता ल्याउन सकिन्छ, यसका लागि कानुनी सहजतादेखि निर्माण व्यवस्थापनमा समेत विशेष ध्यान दिनु आवश्यक छ,” उनले भने ।
इजरायलको एलआर ग्रुप अन्तर्गतको कृषि विभागका कार्यकारी निर्देशक सीबी हर्मनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बढाउन कृषि पूर्वाधारको पनि महत्वपूर्ण योगदान रहनसक्ने बताए ।
यस्तै, चन्द्रागिरी हिल्स प्रालिका निर्देशक हेमराज ढकालले पूर्वाधारको उचित विकास गर्न सके पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्नसक्ने धारणा राखे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, सरकारका प्रतिनिधिलगायतको सहभागितामा पूर्वाधार विकासमा विभिन्न ६ सेसनमा दुई दिनसम्म भएको पूर्वाधार सम्मेलनमा नेपालको आर्थिक समृद्धिको लागि पूर्वाधार विकासको विकल्प नभएको भन्दै यसका लागि सरकार र निजी क्षेत्रका साथै स्वदेशी, विदेशी लगानी प्रवद्र्धनको लागि अग्रसर हुनुपर्नेमा जोड दिइएको थियो । 
सरकार र निजी क्षेत्रसँगसँगैः निधि 
गृहमन्त्री विमलेन्द्र निधिले नेपालको पूर्वाधार विकासका लागि सरकार र निजी क्षेत्रसँगसँगै अघि बढ्नुपर्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित पूर्वाधार सम्मेलनको समापनका बोल्दै उनले आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नका लागि सरकार र निजी क्षेत्रको सहकार्य अघि बढाउनुपर्ने बताएका हुन् ।
संख्यात्मक र गुणात्मक दुवै पूर्वाधार विकासको आवश्यकता रहेको बताउँदै उनले निजी क्षेत्रले लगानी गर्नका लागि उपयुक्त वातावरण निर्माण गरिरहेको बताए । “सरकारले पूर्वाधार लगानीका लागि उपयुक्त वातावरण र सुरक्षाको व्यवस्था गर्छ, यसका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ,” उनले भने । 
मुख्यसचिव डा. सोमलाल सुवेदीले आर्थिक वृद्धिदर हासिका लागि पूर्वाधार लगानी बढाउनुपर्ने उल्लेख गर्दै यसका लागि गुणात्मक व्यवस्थापनको खाँचो रहेको बताए ।
परिसंघका अध्यक्ष हरिभक्त शर्माले आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आय कम भएको मुलुकमा आर्थिक समृद्धि र शान्तिपूर्ण नेपाल निर्माणका लागि पूर्वाधार क्षेत्रमा ठूलो पुँजी लगानीको आवश्यकता रहेको बताए ।
सम्मेलनका परिसंघले काठमाडौ उपत्यकालाई लोडसेडिङमुक्त र उपत्यकाबाहिर लोडसेडिङ न्यूनीकरणका लागि ठूलो योगदान दिएको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पूर्वाधार क्षेत्रको उत्कृष्ट व्यक्तिको रुपमा सम्मान गरेको छ ।
पूर्वाधार परियोजनाबारे अवधारणा ल्याउने स्नेहा मेहतालाई उत्कृष्ट तथा निर्मला सुवाललाई फष्र्ट रनरअप र सुवास रिजाललाई सेकेन्ड रनरअपको रुपमा सम्मानित गरिएको थियो ।
मेहताको काठमाडौको मनोरेलबारेको अवधारणा उत्कृष्ट भई एक लाख तथा निर्मलाको रोपवे र रिजालको पूर्वाधार जनशक्तिबारेको परियोजनाले नगद ५०÷५० हजार रुपैयाँ नगद पुरस्कार समेत पाएको थियो । 
http://www.karobardaily.com/news/73624

Monday, February 20, 2017

ऊर्जा कार्ययोजना कार्यान्वयन भएन

     कारोबार संवाददाता    0 + -

फाइल फोटो
काठमाडौंः आउँदो १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ठीक एक वर्षअघि सरकारले ल्याएको ऊर्जा संकटकाल कार्ययोजना कार्यान्वयन गर्न सरकार असफल देखिएको छ ।
गत वर्षको फागुन ८ मा मन्त्रिपरिषद्बाट पारित राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्रसहितको कार्ययोजना समयभित्र कार्यान्वयन गर्न सरकार असफल देखिएको हो ।
सरकार परिवर्तन भए लगत्तै विगतलाई विर्सने प्रवृत्तिको अन्त्य भई एक वर्षको अवधिमा अधिकांश बुँदा कार्यान्वयनको चरणमा भने छन् । कार्ययोजनामा ऊर्जा क्षेत्रको समग्र विकासलाई लक्षित गरी ९९ बुँदै स्पष्ट कार्यतालिकासहितको कार्ययोजना सार्वजनिक गरिएको थियो ।
ऊर्जा मन्त्रालयका अनुसार, ९९ बुँदामध्ये १३ बुँदा कार्यान्वयन भएका छन् भने अन्य कार्यान्वयनको चरणमा छन् । कार्ययोजना लागू भएलगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि तत्कालीन ऊर्जा मन्त्री टोपबहादुर रायमाझी समेतले ऊर्जा क्षेत्रमा उथलपुथलको सुरुवात भएको बताएका थिए ।
झण्डै ५ महिना अघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि उपत्यकामा तिहारपछि र उपत्यकाबाहिर केही लोडसेडिङ घटेको छ भने विगतमा ऊर्जा मन्त्री फेरिने वित्तिक्कै नयाँ कार्ययोजना ल्याएर पुरानोलाई विर्सने प्रवृत्ति रहेकोमा नयाँ आएका ऊर्जा मन्त्री जनार्दन शर्माले भने त्यस परम्परालाई तोडेर संकटकाल कार्ययोजनाको कार्यान्वयनमा जोड दिएका छन् ।
उनले ल्याएको ३७ बुँदे कार्ययोजनामा समेत यसको कार्यान्वयनमा जोड दिइएको छ । नयाँ ऊर्जा मन्त्री शर्माले पहिलाको कार्यायोजनाको स्वामित्व लिएका थिए । त्यसपछि धेरै काम भने अघि बढेको देखिएको छ ।
तत्कालीन ऊर्जा सचिव तथा हाल शान्ति तथा पुर्ननिर्माण मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा भने अधिकांश बुँदा कार्यान्वयनको क्रममा रहेको बताउँछन् । “समयभित्रै सबै कुरा अघि नबढे पनि केही महत्वपूर्ण बुँदा कार्यान्वयनन भइसकेको छ भने अधिकांश प्रक्रियामै छन्,” उनले भने, “यसलाई उपलब्धी रुपमा लिनुपर्छ, अब पनि कार्यान्वयन हुँदै जान्छन् ।”
कार्ययोजनासहित ल्याइएको ऊर्जा संकटकालका ९९ बुँदे कार्ययोजनामा ६० भन्दा बढी बुँदा तीन महिनभित्रै पूरा गर्ने उल्लेख थियो तर अधिकांश पुरा भएनन् । कार्ययोजना कार्यान्वयनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको ऊर्जा संकटकाल विधेयक हालसम्म पनि संसदमा पेश गरिएको छैन । 
http://www.karobardaily.com/news/73517

Friday, February 17, 2017

वन मन्त्रालयले प्रधानमन्त्रीकै निर्देशन मानेन

     भीम गौतम   + -

फाइल फोटो
काठमाडौः अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि आवश्यक सरकारी जग्गा उपलब्ध गराउन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको निर्णय कार्यान्वयन गर्न वन मन्त्रालयले अटेर गरेको छ ।
९ सय मेगावाटको यो आयोजनाका लागि जग्गा उपलब्ध गराउन प्रधानमन्त्री नेतृत्वको लगानी बोर्डले गरेको निर्णय वन मन्त्रालयले कार्यान्वयन गर्न आनाकानी गरेको हो ।
सरकारी क्षेत्रमा पर्ने वन र राष्ट्रिय निकुञ्जको जग्गा अरुण तेस्रोलाई समयमा उपलब्ध गराउन नसकेर समस्या भएको छ । प्रधानमन्त्री दाहालको अध्यक्षतामा बसेको लगानी बोर्डले गत पुस २४ मा दुई महिनाभित्र जग्गा उपलब्ध गराउन निर्देशन दिएको थियो ।
तर दुई महिनाभित्र जग्गा उपलब्ध गराउन नसक्ने भन्दै वनले लगानी बोर्डलाई पत्र पठाएको छ । “दुई महिनाभित्र सरकारी वन उपलब्ध गराएर हस्तान्तरण गर्नुपर्नेमा कार्यविधि बनाउन लागेकोले ढिलाइ हुने भन्दै वन मन्त्रालयले पत्र पठाएको छ,” लगानी बोर्डका एक अधिकारीले भने, “प्रधानमन्त्रीले गरेको निर्णय वन मन्त्रालयले मान्दैन र अटेर गर्छ भने कसरी नेपालमा जलविद्युत््को विकास हुन्छ भन्ने प्रश्न उठेको छ ।”
बोर्डकै सहसचिव एवं प्रवक्ता मधु भेटुवालले भने बोर्डको निर्देशनअनुसार समयमै काम गर्न वन मन्त्रालय प्रतिवद्ध भएकोले अरुण तेस्रोको जग्गाको स्वीकृति आउने आशा व्यक्त गरे । 
सन् २०१४ को नोभेम्बरमा बोर्ड र अरुण तेस्रोको प्रवद्र्धक सतलज कम्पनीले गरेको आयोजना विकास सम्झौता (पीडीए) अनुसार २१ म्हिनाभित्र उपलब्ध गराउने गरी सम्झौता भए पनि हालसम्म सरकारले जग्गा उपलब्ध गराउन नसकेको छैन ।
आयोजना एक दिन मात्र ढिला हुँदा पनि करोडौं क्षतिपूर्ति तिर्नुपर्ने अवस्था भए पनि वन मन्त्रालयले भने विभिन्न बहानामा वन क्षेत्रको जग्गा उपलब्ध गराउन आलटाल गर्दै आएको छ ।
पछिल्लोपटक प्रधानमन्त्रीले दुई महिनाभित्र सवै प्रक्रिया पूरा गरेर जग्गा नै हस्तान्तरण गर्न निर्देशन दिए पनि वन क्षेत्रको जग्गा अन्य प्रयोजनका लागि प्रयोग गरिने कार्यविधि २०६३ को पहिलो संशोधन २०७३ ल्याउन लागेको र त्यो आएपछि मात्र दिन सकिने भन्दै पत्र पठाएपछि अहिले बोर्ड निरीह बनेको छ । 
दुई दिनअघि नेपाल र भारतबीच भएको विद्युत्् व्यापार सम्झौता (पीटीए) कार्यान्वयनका लागि गठित सचिवस्तरीय संयुक्त स्टेरिङ कमिटी (जेएससी) बैठकमा समेत नेपाल यही कारण लज्जित हुनुपरेको अधिकारीहरू बताउँछन् ।
भारतीय पक्षले सरकारले जग्गा उपलब्ध नगराएर असहयोग गरेको भन्दै बैठकमा यो विषय सूचीकृत गर्न खोजेपछि यो बोर्डको मामिला भन्दै नेपाली पक्ष पन्छिएको थियो ।
वन मन्त्रालयले मन्त्रिपरिषद्ले जनाएको प्रतिवद्धता पूरा नगरेर समानान्तर सरकारको व्यवहार देखाएपछि के कारणले भएन भनेर भारतीय पक्षले प्रश्न उठाउँदा लज्जित हुनुपरेको थियो,” बैठकका एक सहभागीले भने ।
वन मन्त्रालयका सहसचिव एवं प्रवक्ता पेम कँडेलले कार्यविधि तयार गरिएको र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि जग्गा उपलब्ध गराउन सहज हुने बताउँछन् ।
“बोर्डको निर्देशनअनुसार नै छिट्टै कार्यविधि ल्याएर अरुण तेस्रोको लागि वनको जग्गा उपलब्ध गराउने विषय स्वीकृति हुनसक्छ,” उनले भने ।
बोर्डका अधिकारीहरू भने कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएर रुख कटानको अनुमति दिन, त्यसको निरीक्षण लगायतका कार्य गर्नका लागि अझै लामो समय लाग्ने भएकोले यसका कारण पीडीएअनुसार नेपालले भारतीय कम्पनी सतलजलाई करोडौं क्षतिपूर्ति तिर्नुपर्ने अवस्था आउनसक्ने बताउँछन्  । 
http://www.karobardaily.com/news/73426

Wednesday, February 15, 2017

बोर्डले छान्यो आठ ठूला परियोजना

    भीम गौतम    0 + -

फाइल फोटो
काठमाडौंः लगानी बोर्डले सार्वजनिक निजी साझेदारी (पीपीपी) तथा निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडेलमा अघि बढाउनका लागि आठ ठूला परियोजनाहरू छनोट गरेको छ ।
विस्तृत अध्ययन भइसकेका यी आयोजनाहरू लगानीयोग्य भन्दै छनोट गरिएको हो । स्वदेशी तथा विदेशी लगानीकर्ताले लगानीयोग्य परियोजना अभाव भइरहेको भन्दै चिन्ता जनाइरहेका बेला बोर्डले यी परियोजना छनोट गरेको हो ।
परियोजना बैंक स्थापनाको प्रक्रिया अघि बढाएको बोर्डले अध्ययन भइसकेका र तत्काल लगानी गर्न तयार पाँच सडक पूर्वाधारसहितका आठ परियोजनाहरू छनोट गरेको हो ।
बोर्डका प्रमुख  कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार बोर्डले परियोजना बैक अन्तर्गत १ सय २२ परियोजनाको पहिचान गरिसकेको छ र यसको विषयमा थप अध्ययन भइरहेको छ ।
“अध्ययन अघि बढीसकेका ८ परियोजनालाई क्रमशः विश्वव्यापी प्रतिस्पर्धा गरी पीपीपी मोडेलमा अघि बढाउनेछौं,” उनले भने ।  यी परियोजनाहरूलाई स्वदेशी तथा विदेशी लगानीकर्ताहरूले लगानीका लागि आउने गरी सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरी बोर्डले प्रक्रिया अघि बढाउन लागेको छ ।
लगानी बोर्ड बैठकबाट स्वीकृत भइसकेका ती आठ परियोजनाहरूलाई क्रमशः निर्माणका लागि विश्वव्यापी प्रतिस्पर्धामा लैजाने तयारी भएको बोर्डका सहसचिव एवं प्रवक्ता मधु भेटुवालले जानकारी दिए । 
बोर्डका अनुसार झण्डै साढे २० खर्ब लागत रहेका ती आठ आयोजनामध्ये पाँचवटा पूर्वाधार, एक जलविद्युत्, एक रासायनिक र एक अन्तर्राष्ट्रिय विमानस्थल परियोजना रहेका छन् ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बुट तथा बाँकी पीपीपी मोडेलमा बनाउन सकिने बोर्डले छनोट गरेको परियोजनाहरूको प्रतिवेदनमा उल्लेख छ । छनोट परियोजनामा २२ अर्ब ७० करोड रुपैयाँ लागत अनुमान गरिएको भारतसँग जोड्ने पूर्व–पश्चिम रेलमार्ग छ ।
यस्तै, ५ खर्ब ४७ अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरिएको काठमाडौं उपत्यका मेट्रो     र ३४ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको काठमाडौ–कुलेखानी–हेटौडा सुरुङमार्ग     छन् ।
यस्तै, काठमाडौ–पोखरा रेलमार्ग तथा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग पनि लगानीयोग्य परियोजनाको रुपमा पहिचान गरिएको छ । तामाकोसी तेस्रो, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलसमेत बोर्डले लगानीयोग्य आयोजनाका रूपमा छनोट गरेको छ । 
सम्भाव्यता अध्ययन सकिएको ७७.२८ किलोमिटरको काठमाडौ उपत्यका मेट्रो सातदोबाटो–रत्नपार्क–नारायण गोपालचोक, कीर्तिपुर–कालीमाटी–नयाँ बानेश्वर–अन्तर्राष्ट्रिय विमानस्थल, रिङरोड, स्वयम्भू–डिल्लीबजार–बौद्ध तथा धोबीघाट–सिंहदरबार–नक्साल–गोंगबुसम्म चल्नेगरी निर्माणको प्रस्ताव गरिएको छ ।
आठ ठूला परियोजना र लागत
पूर्व–पश्चिम रेलमार्ग                              २२ अर्ब ७० करोड
काठमांडौ उपत्यका मेट्रो                        ५ खर्ब ४७ अर्ब १० करोड
तामाकोसी तेस्रो                                    १ खर्ब
काठमाडौं कुलेखानी हेटौडा सुरुङमार्ग        ३४ अर्ब ८० करोड
काठमाडौ–पोखरा रेलमार्ग                        ३ खर्ब ५५ अर्ब ७० करोड
रासायनिक मल कारखाना                         ६० अर्बदेखि १३० अर्बसम्म
पूर्वपश्चिम विद्युतीय रेलमार्ग                        ३ खर्ब
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल                      ६ खर्ब ५६ अर्ब ५० करोड    
                                          स्रोतः लगानी बोर्ड                        

डीपीआर सकिएको ५५ किलोमिटर लामो काठमाडौ–कुलेखानी–हेटौडा सुरुङमार्ग हाल पीपीपी मोडेलमा अघि बढाउने तयारी भइरहेको छ । सम्भाव्यता अध्ययन भइसकेको १ सय ८७ किलोमिटर लामो पोखरा–काठमाडौ रेलमार्ग पनि पीपीपी मोडेलमा अघि बढाउने योजना बोर्डको छ ।
सम्भाव्यता अध्ययन सकिएको ९ सय ४५ किलोमिटरको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग पनि पीपीपी मोडेलमा अघि बढाउने योजना बनाएको बोर्डले भारतसँग जोड्ने १ सय १३ किलोमिटरको पूर्व–पश्चिम रेलमार्ग अत्तरिया, नेपालगञ्ज, भैरहवा, वीरगञ्ज, जनकपुर र बिराटनगर छुनेगरी निर्माण गर्न लागिएको छ ।
सो परियोजनाको पनि सम्भाव्यता अध्ययन सकिएको छ । निजगढमा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बुट मोडलमा निर्माण गर्ने लक्ष्य छ भने यो परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन भइसकेको छ । दोलखामा निर्माण हुने तामाकोसी तेस्रो तथा धनुषाको ढल्केवरमा प्रस्ताव गरिएको रासायिक मल कारखानाको समेत सम्भाव्यता अध्ययन भइसकेको छ । लगानी बोर्डले एक बर्ष अघिदेखि परियोजना बैकको प्रस्ताव अघि बढाएकोमा बल्ल १ सय २२ परियोजना पहिचान भएको जनाएको छ ।
 यी परियोजनामध्ये सम्भाव्यता अधययन र अध्ययनको चरणमा रहेका जलविद्युततर्फ नौ, प्रसारणलाइनतर्फ सात, पर्यटनतर्फ ११, कृषितर्फ २, यातायात पूर्वाधारतर्फ ३४, विशेष आर्थिक क्षेत्रतर्फ १३, पेट्रोलियम पाइपलाइनतर्फ ३, खनिज तथा खानीतर्फ ३, बैक तथा वित्तीयतर्फ एक, शिक्षा र स्वास्थ्यतर्फ २१, सुक्खा बन्दरगाहतर्फ ५, सूचना प्रविधितर्फ ३, स्मार्ट सिटीतर्फ ८, उत्पादनतर्फ २, बैकिङ तथा बिमातर्फ २ र वैकल्पिक उर्जातर्फ एक परियोजना पहिचान गरिएको जनाएको छ ।
पहिचान गरिएका परियोजनालाई बोर्डले सम्बन्धित मन्त्रालयमा थप विवरण मागी पठाएको र आउने क्रम जारी रहेको प्रवक्ता भेटुवालले जानकारी दिए । 
http://www.karobardaily.com/news/73309

लोअर मोदीको सुरुङ ‘ब्रेक थु्र’

     कारोबार संवाददाता    0 + -

फाइल फोटो

असारभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौंः पर्वतमा निर्माण भइरहेको २० मेगावाटको लोअर मोदी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सम्पन्न (ब्रेक थु्र) भएको छ । दुई अडिट टनेल खनेर ६ ठाउँबाट खनिएको ४ किमि २० मिटर लामो सुरुङको निर्माण कार्य सम्पन्न भएको हो ।
मनाङ ट्रेड लिंक प्रालि मुख्य प्रवद्र्धक रहेको आयोजनाको मुख्य कार्यको रूपमा रहेको सुरुङ निर्माण कार्य सकिएको र कंक्रिटिङको काम भएको आयोजनाका प्रबन्धक पवनकुमार यादवले जानकारी दिए ।
“सुरुङमा स्वीजिङ (खुम्चिने) समस्या आएको थियो भने अधिकांश रकको अवस्था कमजोर थियो तर मुख्य सुरुङको काम सकिएको छ,” उनले भने । आयोजनाका अनुसार, साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिले सुरुङ निर्माण कार्यको जिम्मा लिएको थियो । 
आयोजना प्रमुख यादवका अनुसार, हालसम्म आयोजनाको समग्र काम ८० प्रतिशत सकिएको छ । जसमध्ये बाँध क्षेत्रको ९०, विद्युत्गृहको ४० र इलेक्ट्रिमेकानिकलको ८० प्रतिशत प्रगति भएको छ ।
चालू वर्षको अन्तिम अर्थात् आगामी असारभित्र निर्माण सम्पन्न गरी साउनदेखि व्यापारिक रूपमा विद्युत् उत्पादन गर्ने गरी आयोजनाको काम अघि बढेको कम्पनीका अध्यक्ष पशुपति मुरारकाले जानकारी दिए । 
२०६९ बाट निर्माण सुरु भएको आयोजनाको लागत ४ अर्ब रुपैयाँ अनुमान गरिएको छ । सुक्खा याममा १९.९३ गिगावाट आवरसहित आयोजनाबाट वार्षिक ११७.९९ गिगावाट घन्टा विद्युत् उत्पादन हुने आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको नेतृत्वमा नौ बैंकको ७४ प्रतिशत लगानी छ भने इक्वेटी (स्वँपुजी) मा नेपालका प्रतिष्ठित व्यापारी र चर्चित हाइड्रो सोलुसन्स, केएल दुगड, मुरारका, देवेनरा र शंकर गु्रपको लगानी छ ।
आयोजना सम्पन्न भएपछि स्थानीयलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत सेयर दिइने आयोजनाका प्रवद्र्धक ज्ञानेन्द्रलाल प्रधानले जानकारी दिए । पोखराबाट पर्वत जाने सडक छेऊमा निर्माण हुने आयोजनाबाट उत्पादित बिजुली ४.२ किमि दुरीको १३२ केभी प्रसारणलाइनबाट मोदी सबस्टेनमा जोडिने आयोजनाले जनाएको छ । 
http://www.karobardaily.com/news/73327