Wednesday, February 8, 2017

सिंहदरबारको मुख्य भवन नभत्काउने निश्चित


भीम गौतम
काठमाडौ, २५ माघ ।
एक बर्षभन्दा पुरानो सिंहदरबारको मुख्य भवनको पश्चिमतिरको भाग नभत्काउने निश्चित भएको छ ।
१२ बैशाख २०७२ मा गएको भुकम्पले मुल भवनको पश्चिमतिरको भाग क्षतिग्रस्त भएकोमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको निर्णयसँगै नभत्कने भएको हो । ऐतिहासिक धरोहर तथा एशियाकै उत्कृष्ट नमुना डिजाइनमा बनेको भवनको रुपमा लिइन्छ । तेस्रो राणा शासक वीर शम्शेरले बनाएको सो भवनमा भुकम्पअघि प्रधानमन्त्रीको कार्यालय, योजना आयोग, रक्षा मन्त्रालय लगायतका भवन रहेका थिए ।
मंगलबार बसेको प्राधिकरण कार्यकारी समितिले भवनको पुर्ननिर्माणको काम यथाशिघ्र सुरु गर्ने र यसका लागि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा सल्लाहकार र कार्यकारी सदस्य डा. हरिराम पराजुलीको संयोजकत्वमा समिति गठन गरेको छ । ‘ऐतिहासिक सम्पदा र मौलिकताको संरक्षण गर्ने गरी सिंहदरबारको मुल भवनको पश्चिमतिरको भाग रेक्टोफिटिङ (सवलीकरण) गर्न लागेका छौ ।’–प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने–‘एक साताभित्रै सिंहदरबार पुर्ननिर्माणका लागि काम अघि बढ्छ ।’ उनका अनुसारको भवनको डिजाइन लगायतका काम तुरुन्तै सुरु हुनेछ ।
सहरी विकास मन्त्रालयले यस अघि भत्काउनुपर्ने प्रतिवेदन दिएकोमा यसबारे विवाद थियो । भत्काउनुपर्ने प्रतिवेदन पुरातत्व विभागलाई पठाएपछि विभागले भत्काउन नहुने अडान लिएको थियो । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को)ले नेपालको पुरातात्विक सम्पदाहरूको पुनर्निर्माणप्रति असन्तुष्टि जनाउँदै विरोध गरेको थियो ।
प्राधिकरणका प्रवक्ता यमलाल भुसालका अनुसार, पुर्ननिर्माणका लागि गठित समितिमा पुरातत्व बिभागका प्रतिनिधी, प्राधिकरणका सहसचिव, शहरी बिकास मन्त्रालयका सहसचिवका साथै पुरातत्वविद्हरु रोहित रञ्जितकार, सन्तोष श्रेष्ठ र रविन्द्र पुरी सदस्य छन् । सल्लाहकार समितिमा भने पुरातत्वविद्, संरक्षणविद् लगायत रहेका छन् ।

No comments: