Saturday, February 4, 2017

सम्पदा पुनर्निर्माणमा ठेक्कापट्टा अन्त्य गरिने

     भीम गौतम    0 + -

फाइल फोटो
काठमाडौं:राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि ठेक्कपट्टा अन्त्य गर्ने भएको छ । ठेक्कापट्टा गर्दा पुरातात्विक सम्पदाको परम्परागत पहिचान र मौलिकता हराउने भन्दै यसको अन्त्य गरी प्राधिकरणले विकल्प अघि सार्ने भएको हो ।
सार्वजनिक खरिद ऐनअनुसार सस्तो मूल्यमा टेन्डर दिँदा गुणस्तरीय नहुने र परम्परागत पहिचानलाई आधार बनाएर पुनर्निर्माण हुने सम्भावना न्यून रहने भन्दै प्राधिकरण कार्यकारी समितिको बैठकले कार्यकारी सदस्य हरिराम पराजुलीको संयोजकत्वमा समितिसमेत गठन गरेको छ ।
सात दिनभित्र प्रतिवेदन दिने गरी ठेक्कापट्टाको विकल्पका लागि गठित समितिको प्रतिवेदनको आधारमा अब निर्माण हुने पुरातात्विक सम्पदाहरूको पुनर्निर्माण अघि बढाइने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले जानकारी दिए ।
“सबै पुरातात्विक नभई विशेष ऐतिहासिक महत्व बोकेका पुरातात्विक मठ, मन्दिर सम्पदाहरू ठेक्कापट्टामा दिँदा मौलिकता र पहिचान मेटिने भएकाले विकल्पको खोजी गर्न लागेका हौं, सबै होइनन् ।” उनले भने, “पुरातात्विक सम्पदा पुनर्निर्माणमा विरोध आएकाले यसको विकल्प खोज्न लागेका हौं ।” 
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को)ले नेपालको पुरातात्विक सम्पदाहरूको पुनर्निर्माणप्रति असन्तुष्टि जनाउँदै विरोध गरेको थियो ।
पुरातत्व विभागले विनाशकारी भूकम्पले भत्किएका तथा क्षतिग्रस्त भएका ४९ वटा सम्पदा पुनर्निर्माणका लागि ठेक्का दिएपछि युनेस्कोलगायत पुरातत्वविद्हरूले यसको विरोध गरेका थिए ।
पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्न सीपयुक्त जनशक्ति आवश्यक परे पनि ठेकेदार कम्पनीले त्यसो नगरेपछि यसबारे आलोचना हुँदै आएको छ । 
एकीकृत बस्ती निर्माणको टुंगो छिटै
प्राधिकरण कार्यकारी समितिको बैठकले भूकम्पबाट बढी क्षतिग्रस्त बस्ती स्थानान्तरणका लागि अध्ययन गर्न कार्यकारी सदस्य धु्रव शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ । 
ती क्षेत्रहरूको पुनर्वास गरी एकीकृत बस्ती निर्माणका लागि आवश्यक अध्ययन गरी सात दिनभित्र खाका तयार गर्ने गरी समिति गठन गरिएको हो ।
समितिले दिएको खाकाको आधारमा स्थानान्तरणको मापदण्ड तयार गरिने प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले जानकारी दिए । 
http://www.karobardaily.com/news/72681

No comments: