फाइल फोटो
काठमाडौंः लगानी बोर्डले सार्वजनिक निजी साझेदारी (पीपीपी) तथा निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडेलमा अघि बढाउनका लागि आठ ठूला परियोजनाहरू छनोट गरेको छ ।
विस्तृत अध्ययन भइसकेका यी आयोजनाहरू लगानीयोग्य भन्दै छनोट गरिएको हो । स्वदेशी तथा विदेशी लगानीकर्ताले लगानीयोग्य परियोजना अभाव भइरहेको भन्दै चिन्ता जनाइरहेका बेला बोर्डले यी परियोजना छनोट गरेको हो ।
परियोजना बैंक स्थापनाको प्रक्रिया अघि बढाएको बोर्डले अध्ययन भइसकेका र तत्काल लगानी गर्न तयार पाँच सडक पूर्वाधारसहितका आठ परियोजनाहरू छनोट गरेको हो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार बोर्डले परियोजना बैक अन्तर्गत १ सय २२ परियोजनाको पहिचान गरिसकेको छ र यसको विषयमा थप अध्ययन भइरहेको छ ।
“अध्ययन अघि बढीसकेका ८ परियोजनालाई क्रमशः विश्वव्यापी प्रतिस्पर्धा गरी पीपीपी मोडेलमा अघि बढाउनेछौं,” उनले भने । यी परियोजनाहरूलाई स्वदेशी तथा विदेशी लगानीकर्ताहरूले लगानीका लागि आउने गरी सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरी बोर्डले प्रक्रिया अघि बढाउन लागेको छ ।
लगानी बोर्ड बैठकबाट स्वीकृत भइसकेका ती आठ परियोजनाहरूलाई क्रमशः निर्माणका लागि विश्वव्यापी प्रतिस्पर्धामा लैजाने तयारी भएको बोर्डका सहसचिव एवं प्रवक्ता मधु भेटुवालले जानकारी दिए ।
बोर्डका अनुसार झण्डै साढे २० खर्ब लागत रहेका ती आठ आयोजनामध्ये पाँचवटा पूर्वाधार, एक जलविद्युत्, एक रासायनिक र एक अन्तर्राष्ट्रिय विमानस्थल परियोजना रहेका छन् ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बुट तथा बाँकी पीपीपी मोडेलमा बनाउन सकिने बोर्डले छनोट गरेको परियोजनाहरूको प्रतिवेदनमा उल्लेख छ । छनोट परियोजनामा २२ अर्ब ७० करोड रुपैयाँ लागत अनुमान गरिएको भारतसँग जोड्ने पूर्व–पश्चिम रेलमार्ग छ ।
यस्तै, ५ खर्ब ४७ अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरिएको काठमाडौं उपत्यका मेट्रो र ३४ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको काठमाडौ–कुलेखानी–हेटौडा सुरुङमार्ग छन् ।
यस्तै, काठमाडौ–पोखरा रेलमार्ग तथा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग पनि लगानीयोग्य परियोजनाको रुपमा पहिचान गरिएको छ । तामाकोसी तेस्रो, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलसमेत बोर्डले लगानीयोग्य आयोजनाका रूपमा छनोट गरेको छ ।
सम्भाव्यता अध्ययन सकिएको ७७.२८ किलोमिटरको काठमाडौ उपत्यका मेट्रो सातदोबाटो–रत्नपार्क–नारायण गोपालचोक, कीर्तिपुर–कालीमाटी–नयाँ बानेश्वर–अन्तर्राष्ट्रिय विमानस्थल, रिङरोड, स्वयम्भू–डिल्लीबजार–बौद्ध तथा धोबीघाट–सिंहदरबार–नक्साल–गोंगबुसम्म चल्नेगरी निर्माणको प्रस्ताव गरिएको छ ।
आठ ठूला परियोजना र लागतपूर्व–पश्चिम रेलमार्ग २२ अर्ब ७० करोड
काठमांडौ उपत्यका मेट्रो ५ खर्ब ४७ अर्ब १० करोड
तामाकोसी तेस्रो १ खर्ब
काठमाडौं कुलेखानी हेटौडा सुरुङमार्ग ३४ अर्ब ८० करोड
काठमाडौ–पोखरा रेलमार्ग ३ खर्ब ५५ अर्ब ७० करोड
रासायनिक मल कारखाना ६० अर्बदेखि १३० अर्बसम्म
पूर्वपश्चिम विद्युतीय रेलमार्ग ३ खर्ब
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ६ खर्ब ५६ अर्ब ५० करोड
स्रोतः लगानी बोर्ड
डीपीआर सकिएको ५५ किलोमिटर लामो काठमाडौ–कुलेखानी–हेटौडा सुरुङमार्ग हाल पीपीपी मोडेलमा अघि बढाउने तयारी भइरहेको छ । सम्भाव्यता अध्ययन भइसकेको १ सय ८७ किलोमिटर लामो पोखरा–काठमाडौ रेलमार्ग पनि पीपीपी मोडेलमा अघि बढाउने योजना बोर्डको छ ।
सम्भाव्यता अध्ययन सकिएको ९ सय ४५ किलोमिटरको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग पनि पीपीपी मोडेलमा अघि बढाउने योजना बनाएको बोर्डले भारतसँग जोड्ने १ सय १३ किलोमिटरको पूर्व–पश्चिम रेलमार्ग अत्तरिया, नेपालगञ्ज, भैरहवा, वीरगञ्ज, जनकपुर र बिराटनगर छुनेगरी निर्माण गर्न लागिएको छ ।
सो परियोजनाको पनि सम्भाव्यता अध्ययन सकिएको छ । निजगढमा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बुट मोडलमा निर्माण गर्ने लक्ष्य छ भने यो परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन भइसकेको छ । दोलखामा निर्माण हुने तामाकोसी तेस्रो तथा धनुषाको ढल्केवरमा प्रस्ताव गरिएको रासायिक मल कारखानाको समेत सम्भाव्यता अध्ययन भइसकेको छ । लगानी बोर्डले एक बर्ष अघिदेखि परियोजना बैकको प्रस्ताव अघि बढाएकोमा बल्ल १ सय २२ परियोजना पहिचान भएको जनाएको छ ।
यी परियोजनामध्ये सम्भाव्यता अधययन र अध्ययनको चरणमा रहेका जलविद्युततर्फ नौ, प्रसारणलाइनतर्फ सात, पर्यटनतर्फ ११, कृषितर्फ २, यातायात पूर्वाधारतर्फ ३४, विशेष आर्थिक क्षेत्रतर्फ १३, पेट्रोलियम पाइपलाइनतर्फ ३, खनिज तथा खानीतर्फ ३, बैक तथा वित्तीयतर्फ एक, शिक्षा र स्वास्थ्यतर्फ २१, सुक्खा बन्दरगाहतर्फ ५, सूचना प्रविधितर्फ ३, स्मार्ट सिटीतर्फ ८, उत्पादनतर्फ २, बैकिङ तथा बिमातर्फ २ र वैकल्पिक उर्जातर्फ एक परियोजना पहिचान गरिएको जनाएको छ ।
पहिचान गरिएका परियोजनालाई बोर्डले सम्बन्धित मन्त्रालयमा थप विवरण मागी पठाएको र आउने क्रम जारी रहेको प्रवक्ता भेटुवालले जानकारी दिए ।
http://www.karobardaily.com/news/73309
No comments:
Post a Comment