Thursday, February 9, 2017

पुनर्निर्माणको खर्च एक चौथाइमात्र

    कारोबार संवाददाता    0 + -

फाइल फोटो
काठमाडौं: चालू वर्षको ६ महिनाभित्र पुनर्निर्माणका लागि विनियोजित बजेटमध्ये एक चौथाइमात्र खर्च भएको छ । चालू वर्षका लागि १ खर्ब ६ अर्ब १४ करोड रुपैयाँ बजेट रहेकोमा २५ अर्ब ७८ करोड अर्थात् एक चौथाइमात्र खर्च भएको हो ।
बुधबार संसद्को सार्वजनिक लेखा समितिले आयोजना गरेको भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी छलफलमा प्राधिकरणका सचिव डा. सञ्जय शर्माले २५ अर्ब ७८ मध्ये २३ अर्ब ७५ करोड निजी आवास निर्माणका लागि खर्च भएको जानकारी दिए ।
उनका अनुसार, हालसम्म ७२ अर्ब ५२ करोड निकासा भएको छ भने अझै ३३ अर्ब ६० करोड निकासा हुन बाँकी छ । भूकम्प अतिप्रभावित ११ जिल्लाका ५ लाख ३१ हजार भूकम्प प्रभावितमध्ये ९० प्रतिशतसँग अनुदान सम्झौता भएको जानकारी दिँदै बैठकमा हालसम्म ४ लाख ५९ हजार ८ सयले पहिलो किस्ताको रकम पाएको र ७ सय २० ले मात्र दोस्रो किस्ताको रकम पाएको जानकारी दिइएको थियो ।
प्राधिकरणका अनुसार, १४ हजार भूकम्प प्रभावितले निजी घर निर्माण गरिसकेका छन् भने ३० हजार ६ सय २५ निर्माणको सुरुवातमा छन् । विभिन्न गैरसरकारी संघ÷संस्थाले १९ हजार २ सय ५६ निजी आवास निर्माणका लागि त्रिपक्षीय सम्झौता गरेको प्राधिकरणले जनाएको छ । 
बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले प्राविधिक जनशक्ति तथा पुनर्निर्माणका लागि ढुंगा, गिट्टीलगायतका अत्यावश्यक सामग्रीको अभाव रहेको जनाउँदै यी सबै समस्याको समाधानका लागि सार्थक प्रयास सुरु गरिएको जानकारी दिए ।
बैठकमा बोल्ने अधिकांश सांसदले पुनर्निर्माणको काम धिमा गतिमा अघि बढेको र भूकम्पपीडितले पीडादायी जीवन बिताउनुपरेको भन्दै आलोचना गरेका थिए । 
बैठकले भने भूकम्प प्रभावितलाई एक महिनाभित्र पहिलो किस्तावापतको अनुदान र आउँदो तीन महिनाभित्र दोस्रो किस्तावापतको रकम वितरण गरिसक्न निर्देशन दिएको छ ।
प्राधिकरणले पुँजीगत खर्चको ५ प्रतिशतमात्र खर्च गर्नु निराशाजनक भन्दै तत्काल पुँजीगत खर्च वृद्धि गर्न र यसका लागि सहयोग र समन्वय गर्न समितिले अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको छ । 
http://www.karobardaily.com/news/73038

No comments: