फाइल फोटो
असारभित्र सम्पन्न गर्ने लक्ष्य
काठमाडौंः पर्वतमा निर्माण भइरहेको २० मेगावाटको लोअर मोदी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सम्पन्न (ब्रेक थु्र) भएको छ । दुई अडिट टनेल खनेर ६ ठाउँबाट खनिएको ४ किमि २० मिटर लामो सुरुङको निर्माण कार्य सम्पन्न भएको हो ।
मनाङ ट्रेड लिंक प्रालि मुख्य प्रवद्र्धक रहेको आयोजनाको मुख्य कार्यको रूपमा रहेको सुरुङ निर्माण कार्य सकिएको र कंक्रिटिङको काम भएको आयोजनाका प्रबन्धक पवनकुमार यादवले जानकारी दिए ।
“सुरुङमा स्वीजिङ (खुम्चिने) समस्या आएको थियो भने अधिकांश रकको अवस्था कमजोर थियो तर मुख्य सुरुङको काम सकिएको छ,” उनले भने । आयोजनाका अनुसार, साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिले सुरुङ निर्माण कार्यको जिम्मा लिएको थियो ।
आयोजना प्रमुख यादवका अनुसार, हालसम्म आयोजनाको समग्र काम ८० प्रतिशत सकिएको छ । जसमध्ये बाँध क्षेत्रको ९०, विद्युत्गृहको ४० र इलेक्ट्रिमेकानिकलको ८० प्रतिशत प्रगति भएको छ ।
चालू वर्षको अन्तिम अर्थात् आगामी असारभित्र निर्माण सम्पन्न गरी साउनदेखि व्यापारिक रूपमा विद्युत् उत्पादन गर्ने गरी आयोजनाको काम अघि बढेको कम्पनीका अध्यक्ष पशुपति मुरारकाले जानकारी दिए ।
२०६९ बाट निर्माण सुरु भएको आयोजनाको लागत ४ अर्ब रुपैयाँ अनुमान गरिएको छ । सुक्खा याममा १९.९३ गिगावाट आवरसहित आयोजनाबाट वार्षिक ११७.९९ गिगावाट घन्टा विद्युत् उत्पादन हुने आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको नेतृत्वमा नौ बैंकको ७४ प्रतिशत लगानी छ भने इक्वेटी (स्वँपुजी) मा नेपालका प्रतिष्ठित व्यापारी र चर्चित हाइड्रो सोलुसन्स, केएल दुगड, मुरारका, देवेनरा र शंकर गु्रपको लगानी छ ।
आयोजना सम्पन्न भएपछि स्थानीयलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत सेयर दिइने आयोजनाका प्रवद्र्धक ज्ञानेन्द्रलाल प्रधानले जानकारी दिए । पोखराबाट पर्वत जाने सडक छेऊमा निर्माण हुने आयोजनाबाट उत्पादित बिजुली ४.२ किमि दुरीको १३२ केभी प्रसारणलाइनबाट मोदी सबस्टेनमा जोडिने आयोजनाले जनाएको छ ।
http://www.karobardaily.com/news/73327
No comments:
Post a Comment