Tuesday, February 14, 2017

ग्रिड कम्पनीले ठूला प्रशारण लाइन बनाउने

     भीम गौतम   0 + -

फाइल फोटो

कार्यक्षेत्रबारे भने अझै अन्योल

काठमाडौं: राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले २२० केभीभन्दा माथिका ठूला प्रसारणलाइन परियोजना निर्माण गर्ने भएको छ । 
नेपाल विद्युत् प्राधिकरणले मात्र प्रसारणलाइन निर्माण गरिरहेकोमा सरकारले छुट्टै स्थापना गरेको कम्पनीले ठूला प्रसारणलाइन निर्माण गर्ने भएको हो । विद्युत् प्राधिकरणको प्रसारणलाइन र आयोजना व्यवस्था विभागले प्रसारणलाइन निर्माणको कार्य अघि बढाइरहेका बेला प्राधिकरण र कम्पनीको कार्यक्षेत्रबारे अन्योल छ ।
तर, कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवालीले २२० केभी, ४ सय केभी र ७ सय ६५ केभीका प्रसारणलाइन अब कम्पनीमार्फत अघि बढाइने जानकारी दिए ।
“१३२ केभीभन्दा ठूला प्रसारणलाइन अब कम्पनीले निर्माण अघि बढाउँछ,” उनले भने, “आगामी वर्षदेखि ठूला प्रसारणलाइन आयोजनाको निर्माण कार्य कम्पनीमार्फत अघि बढ्नेछन् ।”
पछिल्लो समयमा जलविद्युत् आयोजना निर्माण सम्पन्न भए पनि प्रसारणलाइनको समस्या भने देखिँदै आएको छ । विद्युत् प्राधिकरणले सुरु गरेका अधिकांश आयोजना अलपत्र परेपछि सरकारले प्रसारणलाइन कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो ।
५ वर्षअघि तत्कालीन सरकारले ग्रिड कम्पनी स्थापना गर्ने निर्णय गरेपछि डेढ वर्षअघि मात्रै सबै प्रक्रिया पूरा गरेर स्थापना भएको थियो । विद्युत् प्राधिकरण र कम्पनीको कार्यक्षेत्रबारे अन्योल रहेपछि स्थापना भएको कम्पनीको प्रमुख कार्यकारी अधिकृत १३ पुस ०७३ मा मात्र नियुक्त भएका थिए ।
अहिले पनि विद्युत् प्राधिकरण र कम्पनीले कस्ता प्रसारणलाइन आयोजना निर्माण गर्ने भन्नेमा अन्योल छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवाली भने विद्युत् प्राधिकरणले १३२ केभीसम्म मात्र प्राधिकरणले बनाउने र ठूलो आयोजना कम्पनीले मात्र निर्माण गर्ने दाबी गर्छन् ।
“अहिले विद्युत् प्राधिकरणले निर्माण गरिरहेका आयोजनाबाहेक नयाँ बन्ने ठूला आयोजना अब कम्पनीले बनाउँछ,” उनले भने, “विद्युत् प्राधिकरण र कम्पनीबीच सहजीकरण गरेर अघि बढिन्छ, यसमा विवाद आउँदैन ।”
कम्पनी भर्खर मात्र गठन भएकाले तत्काल अघि बढाउने आयोजनाहरू विद्युत् प्राधिकरण वा कम्पनी के मार्फत अघि बढाउने भन्ने अन्योलता भने रहेको छ ।
“गठन गरेको कम्पनीले सबै प्रसारणलाइन आयोजना अघि बढाउनुपर्ने हो, तर केही स्रोत साधनदेखि जनशक्ति छैन,” ऊर्जा मन्त्रालयका एक अधिकारीले भने, “एकैपटक कम्पनीले दिने अवस्था छैन, तर कानुनअनुसार गठन भइसकेकाले नदिने भन्ने कुरा पनि हुँदैन ।”
अहिले कार्यालय र जनशक्ति व्यवस्थापन गरिहेको ग्रिड कम्पनीले चालू वर्षभित्रै ठूला प्रसारणलाइनका आयोजनाको पहिचान गरेर आगामी वर्षदेखि काम अघि बढाउने जनाएको छ ।
१ अर्ब रुपैयाँ चालू पुँजी रहेको कम्पनीमा २५ प्रतिशत रकम जम्मा तत्काल गर्ने र त्यो रकम प्रसारणलाइन आयोजनाको पहिचानमा खर्च गर्ने योजना छ । दातृ निकायबाट आउने रकमसमेत अब कम्पनीमार्फत खर्च हुने आशा कम्पनीको छ ।
५/१० वर्षपछि विद्युत् प्राधिकरणको प्रसारणलाइनसमेत हस्तान्तरण भएर आउने र देशको प्रसारणलाइन निर्माण गर्ने एउटै कम्पनी हुने अपेक्षा ग्रिड कम्पनीले गरेको छ ।
http://www.karobardaily.com/news/73208

No comments: