Saturday, December 31, 2016

माथिल्लो त्रिशुली–१ को आयोजना विकास सम्झौता

    भीम गौतम    0 + -

फाइल फोटो
काठमाडौंः आयोजना विकास सम्झौता (पीडीए) का लागि निवेदन दिएको चार वर्षपछि ऊर्जा मन्त्रालय र २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ को प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीबीच सम्झौता भएको छ । 
हालै विद्युत् ऐन २०४९ को दफा ३५ बमोजिम मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि बिहीबार ऊर्जा मन्त्रालयमा मन्त्रालय र कम्पनीबीच सम्झौता भएको हो । मन्त्रालयका सहसचिव दिनेश घिमिरे र कम्पनीका तर्फबाट बो सेउकिले हस्ताक्षर गरेको सम्झौतापत्रमा बुट मोडलबाट अघि बढाइने आयोजनाको वित्तीय व्यवस्थापन दुई वर्षभित्र र निर्माण पाँच वर्षभित्र सक्ने उल्लेख छ । 
सम्झौताबमोजिम उत्पादनको अनुमति पाएपछि प्रवद्र्धक कम्पनीले आयोजना निर्माण र सञ्चालनका लागि ३५ वर्षको अवधि प्राप्त गर्ने उल्लेख छ । सम्झौतापत्रमा आयोजनाको अनुगमन, वातावरण तथा सामाजिक विकास, काबु बाहिरको परिस्थिति तथा जोखिम व्यवस्थापनबारे उल्लेख छ । सम्झौतापत्रमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले १० प्रतिशतसम्म सेयर लगानी गर्न पाउने व्यवस्थासमेत गरिएको छ । 
प्रवद्र्धक कम्पनीले विदेशी लगानीमार्फत अघि बढाउन लागेको आयोजनामा दक्षिण कोरियाको सरकारी स्वामित्वको कोरिया साउथ इस्ट कम्पनीको ५२, कोरियाली कम्पनी डालिम इन्डस्ट्रिजको १६ र क्यायोङ कन्ट्रक्सनको १० प्रतिशत सेयर छ । अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी) को १२ प्रतिशत सेयर रहेको सो कम्पनीमा विकेश प्रधानांगको १० प्रतिशत सेयर छ ।
पीडीए कार्यान्वयन गर्दा सरकारका विभिन्न निकायले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने भन्दै कार्यान्वयन सहजीकरणका लागि ऊर्जामन्त्रीको संयोजकत्वमा एक उच्चस्तरीय समन्वय समितिसमेत सरकारले गठन गरिसकेको छ । 
पहिलोपटक नेपालमा दक्षिण कोरियाको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा निर्माण हुन लागेको सो आयोजना सन् २०१४ को अक्टोबरमा सुरु गरेर पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि ढिलाइ हुँदै आएको थियो । 
पीडीएमा ढिलाइ हुँदा विद्युत् खरिद सम्झौता (पीपीए) र उत्पादन लाइसेन्स प्राप्तिमा समेत ढिलो भएको आयोजनाले जनाएको छ । कम्पनीले डलरमा पीपीए माग गरेपछि यसका विवाद हुँदै आएको थियो । 
पे ब्याक पिरियडसम्म डलरमा पीपीए गर्ने निर्णय यसअघि ऊर्जा मन्त्रालयले गरे पनि सो कम्पनीसँग प्राधिकरणले कसरी गर्ने भन्ने टुंगो भने लागिसकेको छैन । झण्डै ६० अर्ब लागत अनुमान गरिएको आयोजना रसुवा जिल्लाको मैलुङमा निर्माण हुनेछ ।
http://www.karobardaily.com/news/70455

तामाकोसीको सेयर कार्यकर्तालाई दिन लागेको भन्दै आपत्ति

     कारोबार संवाददाता    0 + -

फाइल फोटो
काठमाडौः स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसीको सेयर माओवादी कार्यकर्तालाई दिन लागेको भन्दै दोलखाका सांसदहरूले आपत्ति जनाएका छन् ।
 
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी एमालेबाट प्रतिनिधित्व गर्ने तीन सांसद पशुपति चौलागार्इं, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले द्वन्द्वपीडितको नाममा सरकारले माओवादी कार्यकर्तालाई सेयर दिन लागेको भन्दै आपत्ति जनाएका हुन् । 
नेपाल विद्युत् प्राधिकरणले लगानी गरेको ११ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर द्वन्द्वपीडित, लडाकु र सहिद परिवारलाई निःशुल्क दिने तयारी भएकाले यस्तो कार्य नगर्न सरकारको ध्यानाआकर्षण गराएका छन् ।  
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको ऐन, कानुन, सेयर वितरण प्रक्रिया र त्यसको मापदण्ड, सरकारी ऋण लगानीको प्रक्रिया र अन्य वित्तीय संस्थासँग लगानी गर्दा भएको करार सम्झौतासमेत ख्याल नगरी सेयर दिन लाग्नु गलत भएको भन्दै कार्यकर्ता पोस्ने गरी गैरकानुनी काम कारबाही गरेको उनीहरूको आरोप छ । 
तामाकोसीमा प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, राष्ट्रिय बिमा संस्थानको २, नागरिक लगानी कोषको २ प्रतिशत स्वामित्व छ भने लगानीकर्ता कम्पनीका कर्मचारीको ३.८, सञ्चयकर्ताको १७.२, ऋण दिने संस्थाका कर्मचारीको २.८, सर्वसाधारणको १५ र दोलखावासीको १० प्रतिशत हुने गरी सेयर लगानी गर्ने गरी तय गरिएको छ ।
http://www.karobardaily.com/news/70456

Thursday, December 29, 2016

राजनीतिक प्रभावमा जलविद्युत्मा भ्रष्टाचारः प्रतिवेदन

     भीम गौतम    0 + -

फाइल फोटो
काठमाडौंः राजनीतिक प्रभावमा जलविद्युत् क्षेत्रमा भ्रष्टाचार हुने गरेको तथ्य सार्वजनिक भएको छ । 
जलविद्युत्मा परियोजना पहिचान र छनोट प्रक्रियादेखि नै अपारदर्शिता देखिएको भन्दै ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको प्रतिवेदनले राष्ट्रिय बजेटमा समेत राजनीतिक प्रभाव देखिने तथ्य औंल्याएको हो । 
जलविद्युत् आयोजनाको निर्माण, उत्पादन, सञ्चालन, खरिद, मर्मतलगायतमा समेत भ्रष्टाचार हुने गरेको प्रतिवेदनमा उल्लेख छ । जलविद्युत् क्षेत्रमा नीतिगत भ्रष्टाचार मौलाएको भन्दै प्रतिवेदनले आयोजनाको अध्ययन, अन्वेषण र योजना बनाउँदा गलत हाइड्रोलोजिकल तथ्यांकको उपयोग गरिएको समेत देखाएको छ । 
अन्योलपूर्ण र अस्पष्ट विद्युत् खरिद सम्झौता (पीपीए) निर्देशिका र पीपीए गर्दा पारदर्शिता नहुनुका साथै निर्माण, खरिद र कार्यान्वयनमा गलत दाबी हुनु, स्थानीयवासीको अनावश्यक माग, प्राधिकरण प्रमुख र सञ्चालकहरू भेदभावपूर्ण तरिकाले छनोट गर्नुजस्ता कार्यले भ्रष्टाचार बढाउन सहयोगीको भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ । 
ट्रान्सपरेन्सी इन्टरनेसनलका उपाध्यक्ष डा. रामदयाल राकेशले संक्रमणकालीन राजनीतिलाई देखाएर जलविद्युत् क्षेत्रमा नीतिगत भ्रष्टाचार मौलाएको र यसमा राजनीति प्रभाव बढ्दै गएको बताए । 
“जलविद्युत् क्षेत्रमा संक्रमणकाललाई देखाएर अनावश्यक राजनीतिक प्रभाव बढेको छ, नीतिगत निर्णयको आधारमा भ्रष्टाचार बढेको छ ।” उनले भने, “जलविद्युत् आयोजनाको अनुमतिपत्र होल्ड गर्ने प्रवृत्ति बढाएको छ, यसले नेपालमा भएको प्राकृतिक स्रोतको अनावश्यक दुरुपयोग बढेको छ ।”
प्रतिवेदनमा गलत विवरणको आधारमा पैसा खर्च हुनु र यसमा उच्चस्तरीय कर्मचारीतन्त्रको पनि सहभागिता हुनुजस्ता कारण देखाउँदै आर्थिक अनुदानमा गलत प्राथमिकता दिनु, सीमित कम्पनीलाई सहभागी गराउनु जस्ता कारण पनि जलविद्युत् क्षेत्र पारदर्शी हुन नसकेको ठहर गरिएको छ । 
वातावरणीय अध्ययनमा शोषण हुने गरेको उल्लेख गर्दै जग्गा प्राप्ति र मुआब्जा वितरणमा असमानता हुने गरेको उल्लेख गर्दै प्रतिवेदनमा निजी क्षेत्रको सवालमा लामो र अपारदर्शी सरकारी प्रक्रियाका साथै उच्चस्तरीय प्रतिबद्धताको अभाव र सरकारी निकायबीचमा समन्वय अभावलाई मुख्य समस्याको रूपमा देखाइएको छ । 
बैंकको वित्तीय व्यवस्थापन गर्ने सन्र्दभमा समेत कार्यक्षेत्रबारे ज्ञान र अनुभव कम हुनु, गलत मूल्य संयन्त्र हुनु, बैंक र वित्तीय संस्थाबीच अनावश्यक प्रतिष्पर्धा बढ्नु, अनावश्यक स्वार्थको टकरावलगायतलाई भ्रष्टाचारको कारणको रूपमा लिइएको छ । 
मध्यमस्र्याङ्दी, कालीगण्डकी जस्ता आयोजनामा अपारदर्शी तवरले कामअघि बढाउँदा समय र लागत थपिएको तथा ट्रान्सफर्मर प्रकरणमा ठूलो अनियमिता देखिएको भन्दै तामाकोसी तेस्रोबाट नर्बेजियन कम्पनीले हात झिक्नुमा पनि  कर्मचारी संयन्त्र र प्राविधिक पक्ष जिम्मेवार रहेको प्रतिवेदनमा उल्लेख छ । 
तल्लोस्तरको गुणस्तरीय वस्तु र सेवा, विदेशी र घरेलु लगानीकर्तालाई निरुत्साहित गरिनु लगायतले पनि जलविद्युत् क्षेत्रमा समस्या रहेको उल्लेख गर्दै पीपीएको व्यवस्थालाई पारदर्शी बनाउन, सरकारले जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन, खरिद प्रक्रिया र मर्मतलगायतलाई व्यवस्थित गर्न तथा जलविद्युत् क्षेत्रमा पारदर्शितालाई बढावा दिन सुझावसमेत दिइएको छ ।
http://www.karobardaily.com/news/70382

Tuesday, December 27, 2016

ऊर्जामा समस्यै समस्या

   भीम गौतम   0 + -

फाइल फोटो
काठमाडौः ऊर्जा मन्त्रालय आफैंले ऊर्जा क्षेत्रमा समस्यै समस्या रहेको देखाएको छ । मन्त्रालयले सोमबार आयोजना गरेको चालू आवको प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा यस्तो समस्या देखाएको हो । मन्त्रालयको तर्फबाट सहसचिव प्रवीणराज अर्यालले प्रस्तुत गरेको प्रतिवेदनमा १६ समस्या र चुनौती देखाइएका छन् । 
समाधानका उपायसहितको प्रतिवेदनमा अधिकांश समस्याको समाधान ऊर्जा मन्त्रालय र सरकारका अन्य निकायहरूले पूरा गर्नसक्ने उल्लेख छ । 
भूकम्पका कारण निर्माण कार्य अवरुद्ध तथा निर्मित संरचनाहरूमा समेत क्षति पुगेकाले भूकम्पपछिको पुनर्निर्माण गर्न समस्या रहेको बताउँदै प्रतिवेदनमा आर्थिक वर्ष २०७२/०७३ को विद्युत् प्राधिकरणअन्तर्गत गर्नुपर्ने पुनर्निर्माणसम्बन्धी कार्यका लागि राष्ट्रिय योजना आयोगबाट कार्यक्रम स्वीकृत भए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बजेट खर्च अख्तियारी नदिएकाले कार्य सुरु नभएको उल्लेख छ । 
चालू वर्षका लागि तय गरिएको कार्यक्रमसमेत हालसम्म प्राधिकरणबाट स्वीकृति प्राप्त नभएको उल्लेख छ । जलाशय क्षेत्रभित्र परेका अन्य पूर्वाधार आयोजनाहरू र जलविद्युत् आयोजनास्थलको संरक्षण गर्दै आयोजना निर्माण गर्नुपर्नेमा सो मापदण्ड बने पनि कार्यान्वयन नभएको, सरकारले विगतमा घोषणा र प्रतिबद्धता जनाए अनुसारको सुविधाहरू विद्युत् उत्पादन कम्पनीहरूलाई प्रदान गर्ने निर्णय समयमै कार्यान्वयन नहुँदा उत्पादन कम्पनीहरू प्रोत्साहित नभई विद्युत् विकासमा प्रतिकूल प्रभाव परेको जस्ता समस्या र चुनौती रहेको प्रतिवेदनले देखाएको छ । 
भर्खरमात्र अर्थ मन्त्रालयले भ्याट छुटवापत प्रतिमेगावाट ५० लाख दिने निर्णय भने गरेको छ तर कार्यान्वयन भैसकेको छैन । 
प्रतिवेदनमा अधिकांश प्रसारण लाइनमा जग्गा प्राप्ति सबैभन्दा ठूलो समस्याको रुपमा रहेको देखाइएको छ । 
२२० केभीको कालीगण्डकी करिडोर, १३२ केभीको कुश्मा–तल्लो मोदी लगायतका प्रसारण लाइनमा समेत जग्गा अधिग्रहणको समस्या रहेको उल्लेख गर्दै प्रतिवेदनमा प्रसारण लाइन विस्तार, जग्गा अधिग्रहण र मुआब्जा वितरणका लागि भू–उपयोग कानुन लागू गर्ने, उपयोग गर्न नमिल्ने खण्डीकृत जग्गा खरिद गर्ने वा मुआब्जा दिने, तारमुनिको जग्गाको मुआब्जा प्रतिशत बढाउने, भाडाको व्यवस्था गर्नेलगायतको समाधानका उपायसमेत सुझाइएको छ । 
बैठकमा ऊर्जामन्त्री जनार्दन शर्माले ऊर्जा क्षेत्रको गेयर थिचे पनि बाटो बाँगोटिंगो भएकाले अपेक्षाकृत प्रगति हुन नसेको बताउँदै सिधा बाटो बनाउन आग्रह गरे ।
http://www.karobardaily.com/news/70237

तीन महिनामा ६ सय मेगावाटका विद्युत् लाइसेन्स खारेज

    भीम गौतम  0 + -

काठमाडौंः सरकारले पछिल्लो तीन महिनामा ६ सय मेगावाट बराबरका ९ जलविद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले आयोजनाको काम निर्धारित समयमै अघि नबढाउने ९ आयोजनाको लाइसेन्स खारेज गरेको हो । 
यसअघि जलविद्युत् आयोजनाको लाइसेन्सका लागि दरखास्त दिएर वर्षौंसम्म खोला ओगट्ने प्रवृत्ति थियो । 
विद्युत् नियमावली २०५० को चौथो संशोधन गरिएपछि अनुमति र खारेजीको प्रक्रिया सँगसँगै अघि बढेको छ । असोजमा गरिएको संशोधनले विद्युत् विभागका महानिर्देशकलाई १ सय मेगावाटसम्मको जलविद्युत् लाइसेन्स अनुमतिपत्र दिने अधिकार दिएको छ । 
लाइसेन्स लिएर खोला ओगट्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने र जलविद्युत् आयोजना बनाउन चाहनेहरूलाई प्रोत्साहनका लागि सहजीकरण गर्ने अभियान अघि बढाइएको विभागले जनाएको छ । विभागले अनुमतिपत्र खारेजीसँगै लाइसेन्सका लागि निवेदन परेका आयोजनाहरूलाई दु्रत गतिमा लाइसेन्स दिनसमेत थालेका छ । 
विभागका अनुसार, ३ महिनामै ४ सय ४१ मेगावाट बराबरका नयाँ ४४ जलविद्युत् आयोजना र १९ प्रसारण लाइनलाई अनुमतिपत्र दिइएको छ । विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार यो अवधिमा ९ जलविद्युत् आयोजनाको लाइसेन्स खारेजसमेत गरिएको छ ।
विभागले तीन महिनाको अवधिमा १ सय ९५ मेगावाट बराबरका १६ जलविद्युत् आयोजनाको विद्युत् उत्पादनको सर्भेक्षण तथा सौर्य ऊर्जा (सोलार)तर्फ नेपाल विद्युत् प्राधिकरणका लागि २० मेगावाटको तीन, निजी क्षेत्रका लागि ५५.५ मेगावाट बराबरका १५ र अन्य ५.५ मेगावाट बराबरका ६ आयोजनाको सर्भेक्षण अनुमतिपत्र दिएको छ । 
विभागका अनुसार, १८ मेगावाटको एक बायोमास ऊर्जाका लागि एक निजी क्षेत्रलाई सर्भेक्षण लाइसेन्स दिन प्रक्रिया अघि बढेको छ । 
विभागले तीन महिनामा १ सय ६५ मेगावाटका चार जलविद्युत् आयोजनालाई विद्युत् उत्पादनको लाइसेन्स दिइएको छ भने १ सय ४२ मेगावाटको ५ जलविद्युत् आयोजनाको सर्भेक्षण अनुमतिपत्रको दरखास्तका साथ राखेर २ करोड ४० लाख फिर्ता गरेको छ । 
विभागका अनुसार, १७ प्रसारणलाइनलाई सर्भेक्षण  र २ प्रसारण लाइनलाई निर्माण लाइसेन्ससमेत जारी गरिएको छ । विभागका अनुसार, खारेज हुने ९ जलविद्युत् आयोजनाहरूमा २ सय ६४ मेगावाटको अरुण–४, ४४ मेगावाटको सिवुवाखोला, ३० मेगावाटको नासिन खोला, ८९ मेगावाटको दामन अरुण, ९५ मेगावाटको घुन्सा, १५ मेगावाटको मिडिल लिखु, ५ मेगावाटको बूढीगंगा–१ लगायत छन् ।
http://www.karobardaily.com/news/70255

Sunday, December 25, 2016

भारतबाट १६० मेगावाट विद्युत् आयात गर्ने सम्झौता

    कारोबार संवाददाता  0 + -

काठमाडौंः नेपाल विद्युत् प्राधिकरण र भारतको एनभीभीएनबीच सन् २०१७ को मेसम्म थप १६० मेगावाट विद्युत् आयात गर्ने सम्झौता भएको छ । 
हाल ८० मेगावाट विद्युत् आयात गर्दै आएको प्राधिकरण र एनभीभीएनबीच थप ८० मेगावाट ल्याउन पूरक विद्युत् खरिद सम्झौता (पीपीए) भएको हो । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुणकुमार गर्गबीच सम्झौतामा हस्ताक्षर भएको छ । 
हाल खरिद गरेको ८० मेगावाट विद्युत् यही डिसेम्बरसम्म ल्याउनका लागि सम्झौता भएकोमा यसलाई निरन्तरता र थप ८० मेगावाट आगामी मेसम्म ल्याउने गरी पूरक पीपीए भएको विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । उनका अनुसार, आगामी जनवरीदेखि थप ४० मेगावाट र फेब्रुअरीदेखि थप ४० मेगावाट विद्युत् आयात हुनेछ । 
मुज्जफ्फरपुर–ढल्केबर अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने सो बिजुलीको प्रतियुनिट ३.६० भारतीय रुपैयाँ रहेको छ । 
“आयात गर्ने ४० मेगावाटको बिजुली तत्कालका लागि काठमाडांै नआई हेटांैडासम्म आउने तथा खिम्ती–ढल्केबर प्रसारण लाइन बनेपछि ८० मेगावाटसम्म लामोसाँघुहुँदै काठमाडौं ल्याउन सकिन्छ ।” उनले भने, “खिम्ती–ढल्केबर प्रसारण लाइन अन्तिम चरणमा छ, यसले काठमाडौंलाई लोडसेडिङमुक्त र उपत्यकाबाहिरलाई न्यूनीकरण गर्न सहयोग पुग्छ ।”
प्राधिकरणका अनुसार, खिम्ती–ढल्केबर तथा स्युचाटार–कुलेखानी प्रसारण लाइन निर्माण सम्पन्न नभएसम्म काठमाडौंमा विद्युत् ल्याउन नसक्ने भएकाले पुसभरि काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाउन सकिने भए पनि माघमा विद्युत् उत्पादन कम भएमा लोडसेडिङमुक्त अभियानलाई निरन्तरता दिन कठिन छ तर छिट्टै खिम्ती–ढल्केबर सम्पन्न भएमा केही राहत मिल्नेछ । 
कटैया–कुसाह र परावनीपुर–रक्सौलमा १३२ केभी प्रसारण लाइन निर्माण भइरहेकाले सम्पन्न भएपछि मात्र दुई लाइनबाट थप १ सय मेगावाट आयात गर्ने लक्ष्य प्राधिकरणले राखेको छ । प्रसारण लाइन सम्पन्न भएमा भारतीय कम्पनीसँग पीपीए गरिने प्रवक्ता अधिकारीले जानकारी दिए । 
खुल्ला बजारबारे छलफल
भारतको नयाँ दिल्लीमा आयोजना गरेको २ दिने साउथ एसिया इनर्जी इन्ट्रिगेटेड इनह्यान्सिङ पावर मार्केट (दक्षिण एसिया ऊर्जा विद्युत् बजार अभिवृद्धिका लागि एकीकृत प्रयास) बारेको सम्मेलनमा विद्युत् खुल्ला बजारबारे छलफल भएको छ । 
सम्मेलनमा प्रमुख वक्ताको रूपमा बोल्दै ऊर्जा सचिव अनुपकुमार उपाध्यायले उत्पादित बिजुली बेच्नका लागि दक्षिण एसियाभित्र खुल्ला बजारको आवश्यकता रहेको बताएका थिए । भारत भ्रमणमा रहँदा ऊर्जा सचिव उपाध्याय र भारतीय विद्युत् मन्त्रालयका सचिव पीके पुजारीबीच नेपाल र भारतबीच ऊर्जा व्यापार, पूर्वाधार विकास र विद्युत् व्यापारबारे छलफल भएको थियो । 
सम्मेलनमा आउँदो जनवरीमा काठमाडौंमा हुन लागेको नेपाल–भारत संयुक्त सचिवस्तरीय बैठकमा अन्य प्रसारण लाइनबाट थप बिजुली ल्याउने विषयमा समेत छलफल भएको थियो । 
पञ्चेश्वरको बजेट २९ करोड ५० लाख
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अघि बढाउन गठित पञ्चेश्वर विकास प्राधिकरणका लागि २९ करोड ५० लाख रुपैयाँ बजेट पारित गरिएको छ ।
प्राधिकरण गर्भेनिङ कमिटीको बैठकले आगामी सन् २०१७ का लागि बजेट पारित गरेको हो । सो बजेट पञ्चेश्वर बहुउेद्दश्यीय आयोजनाको हाइड्रोलोजी र भूकम्पीय डाटा कलेक्सनका साथै पञ्चेश्वर र रुपालीगाढमा पुल बनाउन र प्रशासनिक खर्चका लागि विनियोजन गरिएको छ । 
बैठकले सन् २०१५ को छ महिना र २०१६ को पञ्चेश्वरको लेखा परीक्षण भारतले र सन् २०१७ को महालेखा परीक्षकको कार्यालयल गर्ने गरी निर्णय पनि गरेको छ । परीक्षणको क्रममा दुवै देशका अधिकारीको समेत प्रतिनिधित्व हुनेछ ।
http://www.karobardaily.com/news/70100

Thursday, December 22, 2016

‘इन्जिनियर पुनर्निर्माणमा नफर्किए कारबाही’

     कारोबार संवाददाता    + -

फाइल फोटो
काठमाडौंः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सामूहिक राजीनामा दिएका इन्जिनियरहरूलाई पुनर्निर्माणको काममा फर्किन आग्रह गर्दै नफर्किए कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । 
प्राधिकरणले बुधबार विज्ञप्ति जारी गरी पुनर्निर्माणको कार्यलाई अघि बढाउन र जिम्मेवारीपूर्वक आ–आफ्नो कार्य क्षेत्रमा गई सहरी विकास मन्त्रालयअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाईसँग समन्वय गरी काम गर्न सम्बन्धित सबै इन्जिनियरलाई निर्देशन समेत दिएको छ । 
सेवा सुविधा दिनेगरी सबै प्रक्रिया अघि बढिसकेको अवस्थामा भूकम्प प्रभावित जनताको संवेदनामाथि खेल्दै पुनर्निर्माणमा अवरोध सिर्जना गरिरहे कानुनअनुसार कारबाही हुनेसमेत विज्ञप्तिमा उल्लेख छ ।  
‘भूकम्प प्रभावित जनताले सरकारले उपलब्ध गराउने पहिलो किस्ता रकम प्राप्त गरी निजी घर पुनर्निर्माण गर्ने क्रम द्रुत गतिमा अघि बढिरहेको र सुविधासम्बन्धी निर्णय कार्यान्वयन प्रक्रियामा गइसकेको अवस्थामा सुविधाको माग राखी आन्दोलन गर्नु कुनै पनि कोणबाट जायज हुँदैन’ विज्ञप्तिमा भनिएको छ । 
‘२०७३ साल कात्तिक १० गते बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकबाट पुनर्निर्माण कार्यमा विभिन्न गाविस एवं नगरपालिकामा खटिएका जनशक्तिलाई नतिजाप्रति उत्साहित बनाउन नीजहरूको कार्य सम्पादन नतिजासमेतका आधारमा बढीमा ७५ प्रतिशतसम्मको कार्य सम्पादन प्रोत्साहन भत्ता उपलब्ध गराउने र सोसम्बन्धी मापदण्ड प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं अर्थ मन्त्रालयसँगको समन्वयमा निर्धारण गर्ने व्यवस्था मिलाउने निर्णय  भइसकेको छ ।
निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पुनर्निर्माण प्राधिकरण र अर्थ मन्त्रालयबीच छलफल भई आवश्यक कार्य सम्पादन मापदण्ड तयारीसहित प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै यसबारे बुधबार  नेपाल इन्जिनियर्स एसोसियसनसँग समेत छलफल गरेको जनाएको छ । 
पुनर्निर्माणको काम अघि बढाउन सरकारले  २७ सय प्राविधिक करारमा नियुक्त गरेको थियो । त्यसमध्ये १३ सयले राजीनामा दिएका हुन् । यसअघि २ सय ५० जना इन्जिनियरले राजीनामा दिइसकेका छन् ।
http://www.karobardaily.com/news/69935

बूढीगण्डकी आयोजनामा अख्तियारको हस्तक्षेप

     भीम गौतम   0 + -

फाइल फोटो
काठमाडौः मुलुककै ऊर्जा उत्पादनमा रणनीतिक महत्व बोकेको बहुचर्चित बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपले प्रभावित हुने भएको छ । 
तत्काल निर्माण अघि बढाउन सकिने विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको बूढीगण्डकी आयोजनालाई असर गर्ने गरी क्षमता विस्तारबारे अनुसन्धानका नाममा अख्तियारले हस्तक्षेप गरेको हो । कुनै पनि जलविद्युत् आयोजनामा क्षमता वृद्धि प्राविधिक विषयमात्रै भएकाले अख्तियारको चासो अस्वाभाविक मानिएको छ । 
पहिलाको सम्भाव्यत्ता अध्ययनका क्रममा ६ सय मेगावाटको रूपमा अघि बढाउनका लागि प्रस्ताव गरिएकोमा डीपीआरका आधारमा बूढीगण्डकी जलविद्युत् विकास समितिले एक हजार दुई सय मेगावाट उत्पादन गर्नेगरी आयोजना अघि बढाउने निर्णय गरेको थियो । 
“डीपीआरलाई आधार मानेर विकास समितिले एक हजार दुई सय मेगावाट बनाउने निर्णय गरेको छ, देशको आवश्यकताको आधारमा यो निर्णय सही हो,” ऊर्जा मन्त्रालयका एक अधिकारीले भने, “प्राविधिक कुरामा आयोजना निर्माणलाई प्रभावित बनाउने गरी अख्तियारले अनुसन्धान गर्नु जायज छैन, क्षमता घटाएको भए यसमा चासो दिनुको अर्थ हुन्थ्यो तर बढेको छ ।” 
परामर्शदाताले दिएको विकल्पका आधारमा उत्कृष्ट विकल्प छानिएकोमा अख्तियारले छानबिन आयोजना अवरुद्ध गर्ने मनसायले प्रेरित रहेको देखिएको ती अधिकारीको भनाइ छ । अख्तियारले बूढीगण्डकीबारे अनुसन्धान सुरु गरिएको जनाएको छ । अख्तियारका सहसचिव एवं प्रवक्ता गणेशराज कार्की भने अनुसन्धान टुंगिएपछि मात्र अख्तियारमा विचाराधीन मुद्दाहरूबारे बताउन सकिने बताए । “अख्तियारमा अनुसन्धान भइरहेको विषयबारे मैले बोल्न मिल्दैन, बूढीगण्डकीबारे छानबिन भए नभएकोबारे मैले पनि बुझ्नुपर्छ,” उनले भने । 
छ सय मेगावाटको क्षमतालाई एक हजार दुई सय मेगावाट पु¥याइएकोबारे अख्तियारले बूढीगण्डकी विकास समिति तथा नेपाल विद्युत् प्राधिकरणसँग विवरणहरु मागेर छानबिन अघि बढाएको हो । विकास समितिमा हस्तान्तरण हुनुअघिका सबै विवरणहरू प्राधिकरणले अख्तियारमा दिइसकेको प्राधिकरणका एक अधिकारीले जानकारी दिए । 
उनका अनुसार, बूढीगण्डकीको फाइल अख्तियारले मागेपछि प्राधिकरणमा खैलाबैल्ला मच्चेको थियो । समितिका केही अधिकारीहरूलाई बोलाएर अख्तियारले सोधपुछसमेत गरिसकेको छ । 
बूढीगण्डकी आयोजनालाई कम्पनी मोडेलमा लाने गरी ऊर्जा मन्त्रालयले प्रस्ताव बढाइसकेको छ । बूढीगण्डकी निर्माण सम्पन्न भएपछि मात्र विद्युत्मा नेपाल आत्मनिर्भर बन्ने भन्दै यसको निर्माण कार्य तीव्र र स्वदेशी लगानीमा गर्नुपर्नेबारे बहस भइरहेका बेला प्राविधिक विषयमा अख्तियार छिरेपछि अहिले निर्माणका अवरुद्ध हुने संकेत देखिएको छ । 
परामर्शदाता फ्रान्सको ट्र्याकबेल कम्पनीले डीपीआरको प्रतिवेदन दिँदा सुरुङसहितका साथै भूमिगत विद्युत्गृह रहनेगरी सुरुङविहीन रूपमा आयोजनाको काम अघि बढाउन सक्ने विकल्प दिएको थियो । तत्कालीन अवस्थामा भूमिगत विद्युत्गृहसहित एक हजार दुई सय मेगावाटमा आयोजना बनाउन सकिने विकल्पलाई उत्तम भन्दै विकास समितिले निर्णय गरेको थियो । 
“प्राकृतिक रूपमा बूढीगण्डकीको क्षमता र मुलुकको आवश्यकतालाई मध्यनजर राखेर १ हजार २ सय मेगावाटलाई उत्तम विकल्पको रूपमा अघि सारेर निर्णय गरेका हौं,” विकास समितिका अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाले भने, “पानी खेर नजाने गरी डिजाइन गरिएको छ, क्षमता नबढाएको भए पानी खेर फाल्नुपर्ने अवस्था आउँथ्यो ।” उनका अनुसार, देशको हिउँद र वर्षाको पिक तथा हिउँदको विद्युत् मागलाई आधार बनाएर क्षमता बढाइएको छ । 
परामर्शदाताले दिएको पहिलो डिजाइन प्रतिवेदनमा दिइएको तीन विकल्पहरू पहिलो आयोजनाको बाँधभित्रै विद्युत्गृह बनाउन सकिने, दोस्रो १.५ किलोमिटरको छोटो सुरुङमार्ग र तेस्रो विकल्पको रूपमा ९ किलोमिटरको लामो सुरुङमार्ग थियो । 
प्रतिवेदनमा परामर्शदाताले दिएको बाँधभित्रै विद्यृत्गृह बनाउन सकिने पहिलो प्रस्तावलाई सात कारणले उत्तम विकल्प भएको उल्लेख गरेको थियो । भौगोलिक, भौगौर्भिक, हाइड्रोलोजी, निर्माणसम्बन्धी, लागत फाइदा विश्लेषण, रि–रेगुलेटिङ बाँध र वातावरणीय प्रभावको कारणले पहिलो विकल्पलाई उत्तम रहेको समितिले ठहर गरेको थियो । 
वित्तीय व्यवस्थापनपछि ७७ महिनाभित्र निर्माण पूरा हुनसक्ने आयोजनाका लागि २ खर्ब ५९ अर्ब रुपैयाँ रहेको छ । आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि आयोजनाले प्रक्रिया अघि बढाइसकेको छ भने हाल रहेको विकास समिति वा कम्पनी मोडेल कुन जाने हो भनेर टुंगो नलागेको कारण वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने अझै निर्णय हुन सकेको छैन । 
बूढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन सकिए एक लाखभन्दा बढीले रोजगार पाउने र एक खर्ब ५० अर्ब बराबर आम्दानी थपिएर यसले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सात प्रतिशतसम्म योगदान दिनसक्ने अध्यक्ष डा. देवकोटा बताउँछन् ।
http://bit.ly/2icNsXy

Wednesday, December 21, 2016

मुआब्जा निर्धारणमा 'मोडल' बन्दै अरुण तेस्रो

    भीम गौतम  0 + -

खाँदबारीः नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको सबैभन्दा चुनौतीपूर्ण विषय थियो– मुआब्जा निर्धारण । तर, आयोजनाले जनसहभागितात्मक मोडलमा मुआब्जा निर्धारण गरेपछि छोटो समयमै जग्गा प्राप्त गर्न सफल भएको छ । ठूला परियोजनाका लागि यो उदाहरणीय मोडल बन्नसक्ने देखिएको छ । 
सरकारले एकतर्फी मुआब्जा निर्धारण गर्ने र त्यसमा प्रभावितले असहमति जनाएर अवरोध गरेका कारण वर्षौंसम्म आयोजना अघि बढ्न नसक्ने प्रवृत्ति ठूलो समस्या बनिरहेको छ । तर मुलुककै ठूलो यो योजनामा भने छोटो समयमै आयोजनाका लागि जग्गाको मुआब्जा निर्धारण र वितरणमा सफलता मिलेको छ । 
अनावश्यक राजनीतिक हस्तक्षेप र बाह्य चलखेलका कारण २२ वर्षअघि रद्ध भएको अरुण तेस्रोको जग्गा प्राप्तिलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ । 
जग्गाको मुआब्जा निर्धारणमा समस्याकै कारण काठमाडौं उपत्यकाको वितरणको लागि महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ निर्माण सुरु भएको २० वर्षमा र भारतबाट विद्युत् आयातका लागि अत्यावश्यक २२० केभीको खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माण सुरु भएको १० वर्षमा समेत निर्माण पूरा हुन सकेको छैन । 
यस्तै, १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा निर्धारण भएपछि त्यसप्रतिको असन्तुष्टिका कारण अहिले ठूलो समस्या सिर्जना भएको छ । अरुण तेस्रोमा देखिएको सफलतालाई अन्य क्षेत्रमा निर्माण हुने जलविद्युत्, सडकलगायतका आयोजनामा समेत नमुनाको रूपमा उपयोग गर्न सकिने समेत देखिएको छ ।
गत असारमा मात्र जग्गाका लागि सार्वजनिक सूचना जारी गरेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले मंसिरसम्मा ९४ प्रतिशतलाई जग्गाको मुआब्जा वितरण गरिसकेको छ । 
स्थानीय समुदायको सहभागिता र आयोजना प्रवद्र्धकसँगको समन्वयमा आफ्नो संयोजकत्वमा रहेको समितिले मुआब्जा निर्धारण गरेर प्रवद्र्धक कम्पनीले अधिकांश मुआब्जा वितरण गरिसकेको संयोजक एवं प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए । 
‘‘आयोजनाको जलविद्युत् प्रवद्र्धकसँगको समन्वय तथा प्रभावितको सहभागितामा दर्जनौंपटक छलफल गरेर जनसहभागित्मक मोडेलमा मुआब्जा निर्धारण गर्‍यौं, यसबाट प्रभावित पनि खुसी भएका छन्,” उनले भने, “प्रभावितहरु खुसी भएकै कारण अहिले ९४ प्रतिशतले मुआब्जा बुझिसकेका छन्, प्राविधिक समस्याले केही बाँकी छन् ।” 
उनका अनुसार, मुआब्जा निर्धारणको क्रममा सामूहिक र व्यक्तिगत गरी ५० पटकभन्दा बढी छलफल र अन्तरक्रिया गरिएको थियो । 
जग्गा प्राप्ति ऐन २०३४ र २०७१ मा बनेको कार्यविधिको आधारमा परियोजनाबाट प्रभावित दिदिङ, नुम, पावाखोला, पाथीभरा, मकालु र याफू गरी ६ गाविसका २ सय ६९ घरधुरीका प्रभावित ३ सय ९१ कित्ता अर्थात् ४९ हेक्टर जग्गाका लागि प्रतिरोपनी ८ लाख २५ हजारदेखि १२ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरिएको थियो । 
कुल ८ लाख २५ हजारबाहेक बारीलाई थप १०, अलैंचीबारी र खेतलाई थप १५ प्रतिशतसम्म थपका मुआब्जा निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयले घर गोठ, खेत, पाखोबारी, अलैचीखेतीको जग्गालगायतलाई आधार बनाएर जग्गाको मुआब्जा निर्धारण गरिएको छ । 
विगत तीन वर्षसम्म यताको प्रचलित जग्गाको मूल्यमा प्रभावितहरूका लागि आयोजनाको प्रवद्र्धक भारतको एसजेभीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रालि थप ६५ प्रतिशत दिन सहमत गराएर जग्गाको मुआब्जा निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । 
मुआब्जा निर्धारण समितिले एसियाली विकास बैक (एडीबी) को अन्तरराष्ट्रिय पुनर्वास तथा पुनःस्थापना नीति र निर्देशिकालाई आधार बनाएर जग्गा प्राप्तिको काम अघि बढाएको थियो । 
प्रचलित मूल्यभन्दा तीन सय प्रतिशतसम्म बढी मुआब्जा चाहिने भन्दै प्रभावितले माग गरेका थिए तर उनीहरू मुआब्जा समितिले पटक पटक छलफल गरेर मुआब्जा निर्धारणका आधारहरू देखाएपछि उनीहरू सहमत भएका थिए । 
प्रतिपरिवार २७ हजारदेखि ३ करोड ६१ लाख रुपैयाँसम्म जिल्ला प्रशासन कार्यालयबाट प्रभावितले मुआब्जा बुझिसकेका छन् । एसजेभीएनका परामर्शदाता मधुकर खड्काले ३० दिनमै ९४ प्रतिशत मुआब्जा वितरण सम्पन्न गरिनुले स्थानीयवासी समेत मुआब्जा निर्धारणबाट खुसी भएको दाबी गरे । 
नुम गाविसका पूर्वउपाध्यक्ष प्रेमबहादुर राईले मुआब्जा निर्धारण न्यायोचित भएकाले अधिकांशले बुझिसकेको र यसले आयोजना अघि बढ्नेमा ढुक्क भएको बताए । 
चैतदेखि निर्माण सुरु
आयोजनाले आगामी चैतदेखि निर्माण कार्य सुरु गर्ने भएको छ । पहुँच मार्गको निर्माण कार्य सुरु गरिसकेको आयोजनाको प्रवद्र्धक भारतको एसजेभीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रालिले आगामी चैतदेखि निर्माण सुरु गर्ने भएको हो । कम्पनीका अनुसार, यसका लागि टेन्डर आह्वान गर्ने लगायतका कार्य अघि बढिसकेको छ । 
तत्कालीन एमाले नेतृत्व सरकारको एक पत्रको कारण १८ साउन २०५२ मा विश्व बैंकले अरुण तेस्रोबाट सधैंका लागि हात झिकेपछि ९ वर्षअघि विश्वव्यापी खुल्ला प्रतिस्पर्धामार्फत कम्पनीले अनुमतिपत्र (लाइसेन्स) पाएको थियो । 
दुई वर्षअघि मात्र आयोजना विकास सम्झौता (पीडीए) भएपछि अघि बढेको आयोजनाले चैतअघि नै वित्तीय व्यवस्थापन सम्पन्न गरेर आयोजना अघि बढाउने निर्णय गरेको छ ।
http://bit.ly/2ieDrFi

Tuesday, December 20, 2016

प्रसारणलाइनमा ऊर्जाकै अवरोध

     भीम गौतम   0 + -

फाइल फोटो
राष्ट्रिय योजना आयोगले प्रशारण लाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिने गरी ल्याएको नीति कार्यान्वयन गर्न उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरण  अवरोधक बनेको छ । 
सरकारले अघि सारेको ११ औ त्रिबर्षीय योजनामै नीजि क्षेत्रलाई प्रशारण लाइन निर्माणको जिम्मा दिने गरी नीति बनाएपनि उर्जा मन्त्रालय र विद्युत प्राधिकरणकै अवरोधक बनेको हो । सरकारले समयमै प्रशारण लाइन बनाउन नसकेर बर्षामा विजुली खेर जान थालेपछि सरकारले नीजि क्षेत्रलाई पनि प्रशारण लाइनमा सहभागी गराउने अवधारणा अघि बढाएको थियो । 
मन्त्रालय र प्राधिकरणका अधिकारीहरुबीचको पटक पटकको छलफलमा सकारात्मक भएर अघि बढ्ने बताएपनि प्रशारण लाइन निर्माणको जिम्मा नीजि क्षेत्रलाई दिने नितीलाई कार्यान्वयन नगरेर अनिर्णयको बन्दी बनाएपछि हालसम्म नीजि क्षेत्रले प्रशारण लाइन बनाउन सकेको छैन । दीपेन्द्रबहादुर क्षेत्री योजना आयोगको उपाध्यक्ष हुँदा यसलाई विशेष पहल गरेर अघि बढाइएको थियो । तत्कालीन उपाध्याय क्षेत्री विद्युत माफियाहरु त्था विद्युत विकास विभाग र प्राधिकरणका अधिकारीहरुले निर्णय कार्यान्वयन गर्न वेवास्ता गर्दा अहिलेसम्म नीजि क्षेत्रलाई प्रशारण लाइन निर्माण गर्न दिने निर्णय कार्यान्वयन हुन नसकेको बताए । ‘विद्युत प्राधिकरणले समयमै प्रशारण लाइन बनाउन नसकेपछि नीजि क्षेत्रलाई दिने गरी नीति अघि बढाईएको थियो, प्राधिकरण र मन्त्रालयका अधिकारीहरुले छलफलमा अघि बढाउने भनेका थिए तर अहिलेसम्म पाउन सकेका छैनन् ।’–उनले भने–‘जलविद्युतका माफियाहरुको चलखेलले नीजि क्षेत्रलाई अझैसम्म प्रशारण लाइन बनाउन दिइएको छैन । 
उर्जा मन्त्रालयका अधिकारीहरु भने नीजि क्षेत्रलाई प्रशारण लाइन बनाउनका लागि मन्त्रालय सकारात्मक रहेको र यसको लागि कार्यदल बनाए अघि बढाईएको बताउँछन् । ‘राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणामा पनि नीजि क्षेत्रलाई प्रशारण लाइनको निर्माण जिम्मा दिने उल्लेख छ, यसका लागि कार्यदल बनेको छ ।’–उर्जा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता दिनेश घिमिरेले भने–‘कार्यदलले दिने प्रतिवेदनको आधारमा प्रशारण लाइन नीजि क्षेत्रलाई दिनेबारे प्रकृया अघि बढ्छ ।’
उर्जा मन्त्रालयले सह–सचिव प्रवीणराज अर्यालको संयोजकत्वमा नीजि क्षेत्रलाई प्रशारण लाइन दिनेबारे कार्यदल बनाएको छ । कार्यदलमा रहेका विद्युत प्राधिरकणका उपकार्यकारी निर्देशकद्धय शेरसिंह भाट र सुरेन्द्रराज राजभण्डारीले प्राधिकरणबाटै राजीनामा दिएपछि अहिले समितिको पूर्णता समेत पाएको छैन तर अर्याल कार्यदलले प्रारम्भिक प्रस्ताव तयार गरिसकेको र विश्व बैकले यसबारे अध्ययन गरिरहेकोले त्यो प्रतिवेदनलाई समेत आधार बनाएर कार्यदलले प्रतिवेदन तयार गर्ने गरी अघि बढेको बताउँछन् । 
योजना आयोगले नीजि क्षेत्रलाई प्रशारण लाइनको जिम्मा दिने उल्लेख गरेपछि चार बर्ष अघि हिमालय उर्जा विकास कम्पनी लिमीटेडले कोरिडोर वेसका जलविद्युत आयोजनालाई लक्षित गरी खिम्तीदेखि गज्याङसम्मको १३२ केभीको ३० किलोमिटर प्रशारण लाइन बनाउनका लागि निवेदन दिएको थियो । विटी मोडेलमा बनाउने गरी निवेदन दिएर प्रकृया अघि बढेको सो प्रशारण लाइन ४६ करोड ५० लाखमा बनाउने गरी विद्युत प्राधिकरणमा प्रस्ताव समेत गरेको थियो तर प्राधिकरण सञ्चालक समितिले निर्णय नगर्दा अहिलेसम्म कार्यान्वयन भएको छैन । ‘योजना आयोगको नीतिकै आधारमा प्रशारण लाइन निर्माणको जिम्मा लिन लामो समय संघर्ष गर्यौ तर प्राधिकरणको सञ्चालक समितिकै अवरोधक बन्यो ।’–कम्पनीका प्रबन्धक प्रकाश दुलालले भने–‘तत्कालीन अवस्थामा उर्जा मन्त्रालयले बनाएको कार्यदल र प्राधिकरण सञ्चालक समिति सदस्य नेतृत्वको कार्यदलले पनि बनाउन मिल्ने प्रतिवेदन दिएको थियो तर अन्त्यमा प्राधिकरण सञ्चालक समितिले दिएन ।’ उनका अनुसार, कार्यदलले प्रतिवेदन दिएपनि उर्जा मन्त्रालयका अधिकारीहरुको पहलको कमी पनि नीजि क्षेत्रले पाउन नसक्नुको कारण बन्यो ।’ कम्पनीले प्रशारण लाइन बनाउनका लागि प्राविधिक र वित्तिय प्रस्ताव समेत गरेको थियो । सो प्रस्तावबारे अध्ययन गर्न तत्कालीन सञ्चालक समिति सदस्य विवेक तातेडको संयोजकत्वमा समिति गठन गरेर समितिले प्रस्ताव उपयुक्र्त भएको प्रतिवेदन समेत दिएको थियो । ‘सार्वजनिक खरिद ऐन र आर्थिक नियमावली देखाएर नीजि क्षेत्रलाई दिनबाट बञ्चित गरियो, १ सय मेगावाटभन्दा माथिको विद्युत खरिद सम्झौता (पीपीए) नेगोशेसनमा गर्ने प्राधिकरणले १० बर्षका लागि नीजि क्षेत्रलाई दिन चाहेन ।’–प्रबन्धक दुलालले भने–‘प्राधिकरण नीजि क्षेत्रलाई प्रशारण लाइन चाहादैन ।’ उनका अनुसार, ४६ करोड ५० लाख रुपैयाँमा बनाउन कम्पनीले प्रस्ताव गरेपनि अहिले भने १ अर्ब ५ करोडमा सो प्रशारण लाइन बनाउन प्राधिकरणले टेण्डर आह्वान गरेको छ । कम्पनीलाई दिएको भए ५५ करोड सरकारले बच्ने दाबी उनको छ । तर उर्जा मन्त्रालयका अधिकारीहरु विद्युत प्राधिकरणले दिने पैसाले नीजि क्षेत्रले प्रशारण लाइन बनाउने भएकोले यसमा प्राधिकरणको आर्थिक नियमावली आकर्षित हुने भएकोले सो शंसोधन नगरी नीजि क्षेत्रलाई बनाउन दिन असम्भव रहेको बताउँछन् । 
http://www.karobardaily.com/news/69778

Friday, December 16, 2016

ऊर्जा सम्मेलनमा सहुलियतको घोषणा

     भीम गौतम   0 + -

काठमाडौंः सरकारले जलविद्युत् क्षेत्रको विकासका लागि निजी प्रवद्र्धकहरुलाई प्रोत्साहनसहितका सहुलियत कार्यक्रम घोषणा गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले बिहीबारदेखि काठमाडौमा आयोजना गरेकोे ऊर्जा सम्मेलनको उद्घाटनका क्रममा सरकारले यस्तो घोषणा गरेको हो । इप्पानले १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने सरकारी घोषणालाई बल प्रदान गर्न कार्यक्रम आयोजना गरेको हो । 
कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले उत्पादक कम्पनीहरुलाई प्रतिमेगावाट ५० लाख रुपैयाँ भ्याट छुट दिने लगायतका सहुलियत कार्यक्रम घोषणा गरेका हुन् । केही वर्षअघि नै सरकारले यो घोषणा गरे पनि कार्यान्वयन भएको थिएन । अर्थ मन्त्रालयले समेत यसबारे निर्णय भैसकेको जनाएको छ । 
मन्त्री शर्माले अबदेखि विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पीपीए) गर्दा ‘टेक एण्ड पे’ (अर्थात निजी कम्पनीहरुले उत्पादन गरेको विद्युत् आवश्यक परे खरिद गर्ने, नपरे नगर्नेसम्बन्धि व्यवस्था) हटाउने घोषणा गरे । प्राधिकरणले सन् २०१९ पछि वर्षायाममा विद्युत् खेर जाने भन्दै ‘टेक एण्ड पे’ को सट्टा ‘टेक अर पे’ (अर्थात उत्पादित विद्युत् प्राधिकरणले किन्नैपर्ने) व्यवस्था गर्ने घोषणा सम्मेलनमा गरिएको छ । 
टेक अर पे को व्यवस्थाले यस क्षेत्रमा ढुक्क भएर लगानी गर्ने वातावरण सिर्जना हुने बताउँदै  प्राधिकरणले बिजुली नकिन्ने हो कि भन्ने त्रासबाट मुक्त हुन आग्रह गरे । “१० हजार मेगावाट होइन, २० हजार मेगावाट विजुली उत्पादनका लागि सरकार अघि बढ्नेछ,” उनले भने, “अबदेखि सरकारले एक सय मेगावाटभन्दा साना जलविद्युत् आयोजनामा हात हाल्दैन र यस्ता जलविद्युत् आयोजना निर्माणको सम्पूर्ण जिम्मेवारी निजी क्षेत्रलाई दिइनेछ ।” 
ऊर्जा मन्त्रालयको ‘नेपालको पानी जनताको लगानी’  कार्यक्रम अन्तर्गत सरकारी स्वामित्वको जलविद्युत उत्पादन कम्पनीमा निजी ऊर्जा उत्पादक कम्पनीहरुले पनि संस्थागत सेयर हाल्न पाउने व्यवस्था गर्ने घोषणा मन्त्री शर्माले गरेका छन् । 
जलविद्युत्मा गरिने लगानीको व्याजदर घटाउन पहल गर्ने, ऊर्जा संकककाल कार्ययोजनालाई विद्युत् प्राधिकरणले अनुमोदन गर्ने,  ‘पोष्ट रेट’ को विषयमा गरिएको व्यवस्थाको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लगायतका घोषणा मन्त्री शर्माले गरे । यस्तै, भारतसँग यसअघि गरिएको विद्युत व्यापार सम्झौता कार्यान्वयनको विषयमा भारत सरकारसँग तत्काल वार्ता लगायतका नीतिगत कार्य अघि बढाइने उनले घोषणा गरे ।   
दुई दिनसम्म चल्ने सम्मेलनमा सम्मेलनमा नेपाल लगायत भारत, चीन, कोरिया, जापान, नर्बे, अमेरिका, बेलायत, अष्ट्रेलियाका विज्ञहरुसहित परामर्शदाताहरु सहभागि छन् । ६ सय प्रतिनिधि सहभागि कार्यक्रममा इप्पान अध्यक्ष खड्गबहादुर विष्टले जलविद्युत् क्षेत्रमा उचित लगानीको वातावरण निर्माण गरेर १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्य पूरा गर्नका लागि सरकार, निजी क्षेत्र र लगानीकर्ताहरुबीच सहकार्य जरुरी रहेको बताए । 
निर्देशिकाको गलत व्याख्या गरियोः भारतीय राजदूत
भारतीय राजदूत रणजीत रायले भारतले हालै ल्याएको अन्तरदेशीय विद्युत् व्यापार निर्देशिकाको गलत रुपमा व्याख्या भएको गुनासो गरेका छन् । रेले नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता (पीटीए) कार्यान्वयनका लागि अघि बढ्ने क्रममा निर्देशिका आएको दाबी गर्दै गलत व्याख्या भइरहेको बताए । 
“एउटा आधा गिलास पानीलाई आधा खाली भन्ने कि आधा भरिएको भन्ने भनाइजस्तै गलत रुपमा भएको छ, यसले वातावरण विगार्दैनm” उनले भने । 
लगानीका लागि उचित वातावरण र सुरक्षाः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले जलविद्युत् क्षेत्रमा लगानीका लागि उचित वातावरण र सुरक्षाको व्यवस्था सरकारले गर्ने बताएका छन् । ऊर्जा क्षेत्रमा रहेका नीतिगत, कानुनी तथा प्राविधिक समस्या समाधान गर्न सरकार लागिपरेको उल्लेख गर्दै उनले स्वदेशी र विदेशी लगानीकर्ताका लागि सबै उचित वातावरण सरकारले निर्माण गर्ने बताएका हुन् ।
सरकारले केही ठूला आयोजनाको निर्माण सुरु गर्ने तयारी अघि बढाएको उल्लेख गर्दै उनले निजी क्षेत्रलाई समेत प्रोत्साहन दिएर सरकारले ढुक्क भएर लगानी गर्ने वातावरण निर्माण गर्ने बताए ।
http://www.karobardaily.com/%E0%A4%8A%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%BE-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AE%E0%A5%87%E0%A4%B2%E0%A4%A8%E0%A4%AE%E0%A4%BE-%E0%A4%B8%E0%A4%B9%E0%A5%81%E0%A4%B2%E0%A4%BF%E0%A4%AF%E0%A4%A4%E0%A4%95%E0%A5%8B-%E0%A4%98%E0%A5%8B%E0%A4%B7%E0%A4%A3%E0%A4%BE

Thursday, December 15, 2016

जलविद्युत्मा विदेशी लगानी चुनौतीपूर्ण

     भीम गौतम   0 + -

फाइल फोटो
एक साताअघि मात्र छिमेकी राष्ट्र भारतले नेपालमा उत्पादित विजुलीका लागि सहज बजार उपलब्ध गराउन असम्भव सर्तहरू राखेर अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका ल्यायो ।
भौगोलिक तथा प्राविधिक रूपमा नेपालको एक मात्र विजुली बजार भारत भएकाले नेपालको जलविद्युत्को बजार पनि त्यही हो । नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता (पीटीए) कार्यक्रमका क्रममा नेपाल र भारत सरकार तथा नीजि क्षेत्र–नीजि क्षेत्रबीच खुल्ला र सहज पहुँचको माग भइरहेका बेला आएको यो निर्देशिकाले ठूला आयोजना निर्माणको भविष्य अन्योलमा पारेको छ । 
सरकारले जलविद्युत् क्षेत्रमा बढी भन्दा बढी वैदेशिक लगानी भित्र्याउने योजना राखे पनि नयाँ निर्देशिकाले ठूलो जोखिम देखाएको छ । भारतले यही निर्देशिकाका आधारमा नियमनको व्यवस्था गर्ने भएकाले यसलाई सच्चाउन कुटनीतिक पहल गर्नु आवश्यक छ । 
निर्देशिकामा नेपाललगायतका देशमा उत्पादित बिजुली भारतले आयात गर्न सरकार वा भारतीय सरकारी वा निजी कम्पनीको कम्तिमा ५१ प्रतिशत लगानी हुनुपर्ने उल्लेख छ । 
त्यसैगरी भारतमा बिजुली बेच्न इच्छुक देशका ‘लाइसेन्स होल्डर’ कम्पनीमा समेत भारतका विद्युत् व्यापार कम्पनीको कम्तिमा ५१ प्रतिशतसम्म स्वामित्व हुनुपर्ने व्यवस्था निर्देशिकामा छ । त्यसैगरी भारतीय कम्पनीले तोकेको निकायसँग स्वीकृति लिएर मात्र भारतमा विद्युत् निर्यात गर्न सकिने उल्लेख छ । 
एक वर्षअघिको पुसमा बिजुली बजारको सुनिश्चित नभएपछि नर्वेली कम्पनी स्ट्याटक्राफ्टले ६ सय ५० मेगावाटको तामाकोसी–३ जलविद्युत् आयोजनाबाट हात झिक्यो ।  विद्युत् बिक्रीका लागि पर्याप्त पूर्वाधार नभएको भन्दै १ अर्ब १० करोड रूपैयाँ खर्च गरिसकेको कम्पनीले हात झिकेपछि नेपालमा विदेशी लगानीका आयोजनाको विजुली बेच्न कठिन रहेको तर्क गरिएको थियो । 
हालै भारतले नयाँ निर्देशिका जारी गरेपछि विजुली बजारको संकटकै कारण समस्या परेकाले जलविद्युत् आयोजनाबाट हात झिकेको भन्ने भनाईमा सत्यता देखिएको छ । 
यसैगरी गत ३ असोजमा भारतीय कम्पनी जीएमआर प्रवद्र्धक रहेको ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको मिति सकियो ।
१ खर्ब १५ अर्ब रूपैयाँको लागतमा आयोजना निर्माण गर्न लागेको जीएमआरले एक वर्ष म्याद थप्नका लागि निवेदन दिइसकेको भए पनि लगानी बोर्डको बैठक बस्न नसक्दा यसको निर्णय हुन सकेको छैन । यस्तै अवस्था छ– ९ सय मेगावाटको अरुण तेस्रोको पनि । 
पबवद्र्धक एसजेभीएन कम्पनीले पनि एक वर्ष म्याद थपका लागि निवेदन दिइसकेको छ, तर यसबारे पनि बोर्डले निर्णय गर्न सकेको छैन । अरुण तेस्रोको लागत ६७ अर्ब रूपैयाँ अनुमान गरिएको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको बैठक झन्डै पाँच महिनादेखि बस्न सकेको छैन । एफडीआई लगानी हुने यी आयोजनाले केही काम अघि बढाए पनि वित्तीय व्यवस्थापनको समय थप नहुँदा समस्या परेको छ । 
यसैगरी बहुचर्चित ७५० मेगावाटको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना अघि बढाउन चिनियाँ कम्पनीले अलमल गर्नुको कारणका रूपमा बजारको सुनिश्चितता नहुनुलाई लिइने गरिएको छ । 
निर्माण सम्पन्न भएपछिको सम्भावित विजुली बजारको अभावलाई दृष्टिगत गरी प्रवद्र्धक चीनको थ्री गर्जेजको सहायक कम्पनी सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसनले आयोजना अघि बढाउन अलमल गरेको हो । अनौपचारिक छलफलका क्रममा भारतले पश्चिम सेतीको विजुली नकिन्ने संकेत दिएपछि बारम्बार लगानी बोर्डले आयोजना अघि बढाउन पत्र पठाउँदा पनि वेवास्ता गरेर आयोजनालाई अलमलाउने काम गर्दै आएको छ । 
नेपाल विद्युत् प्राधिकरणको २५ प्रतिशत र चिनियाँ कम्पनीको ७५ प्रतिशत सेयर रहने आयोजनाको लागत १ खर्ब ६० अर्ब रूपैयाँ अनुमान गरिएको छ । १७ फागुन २०६८ सालमा ऊर्जा मन्त्रालय र चिनियाँ कम्पनीबीच पश्चिम सेती अघि बढाउने सम्झौता भएको थियो । सम्झौता भएको एक वर्षभित्रै प्राधिकरण र चिनियाँ कम्पनीको संयुक्त कम्पनी स्थापना गरेर अघि बढ्ने उल्लेख भए पनि हालसम्म कुनै काम अघि बढेको छैन । 
१६ वर्षसम्म अस्ट्रेलियाको स्नोइ माउन्टेन्स इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (स्मेक) ले लाइसेन्स ओगटेर निर्माण हुन नसकेको सो आयोजना सम्झौता भएको साढे चार वर्ष नाघिसक्दा पनि अघि बढ्न सकेको छैन ।
भौगोलिक तथा प्राविधिक रूपमा नेपालको एक मात्र विजुली बजार भारत भएकाले नेपालको जलविद्युत्को बजार पनि त्यही हो । नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता (पीटीए) कार्यक्रमका क्रममा नेपाल र भारत सरकार तथा नीजि क्षेत्र–नीजि क्षेत्रबीच खुल्ला र सहज पहुँचको माग भइरहेका बेला आएको यो निर्देशिकाले ठूला आयोजना निर्माणको भविष्य अन्योलमा पारेको छ । 
यसैगरी रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजना विगत चार वर्षदेखि आयोजना विकास सम्झौता (पीडीए) कुरिरहेको छ । कोरियन कम्पनीले निर्माण गर्न लागेको सो आयोजनाको लागत ५३ अर्ब ९० करोड छ । उर्जा मन्त्रालयले पीडीएको काम अन्तिम चरणमा रहेको देखाएको छ । 
माथिका यी केही उदाहरणले पनि के देखाउँछ भने नेपालमा जलविद्युत् आयोजनाको लगानी भिœयाउन धेरै चुनौती छन् । अझ भर्खरै भारतले विजुली किन्नका लागि कडा सर्त राखेपछि जलविद्युत्मा लगानी गर्नु चुनौतीपूर्ण छ । नेपाल र भारतबीच पीटीए तथा सार्क राष्ट्रभित्र विजुलीको पहुँच खुल्ला गर्ने गरी सार्क पीटीएमा सम्झौता भए पनि भारतले जारी गरेको नयाँ निर्देशिकाले एफडीआई ल्याउन चुनौती देखाएको छ । 
उर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरे नेपाल र भारतबीच हुने उर्जासँग सम्बन्धित बैठकमा विद्युत् व्यापारको कुरा उठाउने बताउँछन् । “पीटीएकै भावनाअनुसार भारतले आन्तरिक रूपमा निर्देशिका बनाएको छ, अब भविष्यमा यसको कार्यान्वयनका लागि विभिन्न चरणमा नेपाल र भारतबीच वार्ता हुँदा हामी अहिलेका प्रावधानबारे कुरा उठाउँछौं,” उनी भन्छन् । 
गत वर्ष नेपाल र भारतले संयुक्तरूपमा तयार गरेको अन्तरदेशीय प्रशारण लाइन गुरुयोजनामा भने आगामी चार वर्षपछि अर्थात् सन् २०२१/०२२ देखि ५७ सय मेगावाट विजुली भारतलाई बिक्री गर्ने तथा आगामी सन् २०३५ सम्ममा २५ हजार मेगावाटसम्म बिक्री गर्न सक्ने उल्लेख छ । गुरुयोजनामा भने २०२५ भित्र थप ६१ जलविद्युत् आयोजना निर्माण सम्पन्न भई १३ हजार २ सय मेगावाट बेच्ने अन्तरदेशीय गुरुयोजनामा उल्लेख छ । 
यो लक्ष्यभित्र नेपालका ठूला आयोजनाको रूपमा लिइने १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी र ३२ सय ४० मेगावाटको पञ्चेश्वर बहुद्देश्यीय आयोजना भने समावेश छैनन् ।
नयाँ निर्देशिका यी आयोजना अघि बढाउनका लागि समेत बाधक देखिएको छ । भारतले जारी गरेको निर्देशिकाले भारतीय कम्पनीबाहेकले नेपालमा जलविद्युत् निर्माण गर्न नसक्ने अवस्था सिर्जना भएकाले अन्य देशबाट आउन सक्ने सम्भावित वैदेशिक लगानी आउन नसक्ने र उनीहरूले ठूला आयोजना निर्माण गर्न सक्ने सम्भावना नरहेको नीजि प्रवद्र्धकहरू बताउँछन् । 
“भारतबाहेकका अन्य देशका कम्पनी तथा नेपाली नीजि प्रवद्र्धकको भारतीय विजुली बजारमा पहुँच एकदम कमजोर हुने देखिएको छ,” स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष खड्गबहादुर विष्टले भने “अब भारतसँग खुल्ला रूपमा किनबेच गर्नुभन्दा ठूला जलविद्युत् आयोजना निर्माण सँगसँगै विद्युत् खपत बढाउन विशेष अभियान सञ्चालन गर्नु आवश्यक देखिएको छ ।”
दुई देशबीच सुमधुर सम्बन्ध बनाएर कूटनीतिक पहलमार्फत् विद्युत् व्यापारका लागि सहज वातावरणका लागि अझै सरकारले पहल गर्ने ठाउँ भने बाँकी रहेको उनको तर्क छ । 
नेपालको पानी अधिकतम उपयोग गर्दा दुई लाख मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने अवस्था रहे पनि हाल ९ सय मेगावाट उत्पादन भइरहेको छ भने विद्युतको माग १५ सय मेगावाटको हाराहारीमा मात्र छ । क्षमताका हिसाबले नेपालले हालसम्म एक प्रतिशत पनि उत्पादन गर्न सकेको छैन । 
भविष्यमा नेपालबाट भारतमा विजुली बेचेर अर्बौं कमाउने सपना छ । यसका लागि अर्बौं वैदेशिक लगानी आवश्यक पर्छ तर पछिल्लो समयमा विकसित अवस्थाले एफडीआई आउनु धेरै चुनौतीपूर्ण देखिएको छ । 
विद्युत् व्यापारका लागि उर्जा मन्त्रालयले विद्युत् व्यापार कम्पनी स्थापना गर्ने र यसका लागि नियमन आयोगमार्फत नियमन निकाय गठनको प्रक्रिया अघि बढाएको छ । उर्जा मन्त्रालयका अनुसार, दुवै स्वीकृतिका लागि अर्थ मन्त्रालय पुगेर अड्किएका छन् । 
बिजुली बेच्नका लागि नेपाल र भारतबीच अत्यावश्यक पर्ने क्रसबोर्डर ट्रेडिङ रेगुलेसन मेकानिज्म, ट्रान्समिसन संरचना, क्रस बोर्डर इन्भेस्टमेन्ट मोडालिटी, क्रस बोर्डर क्यापासिटी बुकिङ, बिजुलीको बजार र मूल्यलगायतबारे अझै अनिश्चितता छ । दुई देशबीच विद्युत् प्रणाली सिंक्रोनाइज (ग्रिड आबद्धता) समेत नभएकाले समस्या छ ।
http://www.karobardaily.com/%E0%A4%9C%E0%A4%B2%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4%E0%A5%8D%E0%A4%AE%E0%A4%BE-%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A5%80-%E0%A4%B2%E0%A4%97%E0%A4%BE%E0%A4%A8%E0%A5%80-%E0%A4%9A%E0%A5%81%E0%A4%A8%E0%A5%8C%E0%A4%A4%E0%A5%80%E0%A4%AA%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%A3

बूढीगण्डकीबाट खुल्न सक्छ समृद्धिको ढोका

     भीम गौतम    0 + -

बहुचर्चित १ हजार २ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनालाई मुलुककै गतिशील आर्थिक केन्द्र बनाउन सकिने देखिएको छ । यो आयोजना स्वदेशी उत्पादनबाटै लोडसेडिङ अन्त्यका लागि सबैभन्दा उपयुक्त मानिएको छ । यही आयोजना र आसपासको क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विस्तारसँगै सिँचाइ प्रणालीबाट कृषिजन्य उत्पादन बढाई गतिशील आर्थिक क्षेत्र बनाउन सकिने सरोकारवाला बताउँछन् । 
“मुलुकको आर्थिक समृद्धिका लागि आवश्यक जलविद्युत्, पर्यटन र कृषि तीनै क्षेत्रमा बूढीगण्डकी जलाशययुक्त आयोजनालाई उपयोग गर्न सकिन्छ”, बूढीगण्डकी जलविद्युत् विकास समितिका अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटा भन्छन्, “बूढीगण्डकी बनाउँदा धेरै फाइदा छ, बहूद्देश्यीय ढंगले अघि बढाउनु जरुरी छ ।”
समितिले जलविद्युत्सँगै बूढीगण्डकी करिडोर विकास प्राधिकरणसम्बन्धी अवधारणासमेत अगाडि सारेको छ । “पुष्पलाल मध्य–पहाडी लोकमार्गले छुने, पोखरा–चितवनजस्ता पर्यटकीय क्षेत्र तथा उत्तर र दक्षिणको बीचमा पर्ने बूढीगण्डकी करिडोरलाई नेपालको एक महत्वपूर्ण आर्थिक केन्द्रका रूपमा विकास गर्ने सम्भावना प्रशस्त छ ।”
प्राधिकरण गठन गरेर बहुउपयोगी रूपमा बूढीगण्डकी करिडोरलाई अगाडि बढाउन सके १ हजार २ सय मेगावाटको जलाशययुक्त आयोजनासँगै यस क्षेत्रलाई पर्यटकीय केन्द्रका साथै जलाशय वरिपरि आधुनिक बस्ती अनि यातायात सञ्जाल विकास गर्न सकिने अवस्था छ । 
बूढीगण्डकी करिडोरमा बसोबास गर्नेहरुका लागि चाहिने भौतिक तथा सामाजिक पूर्वाधार विकासका साथै बंैकिङ, बन्द व्यापारजस्ता आर्थिक केन्द्रहरूको स्थापना र विकास गरी युवा वर्ग रोजगारी प्रवद्र्धन कार्यक्रम अगाडि बढाउन सकिने अवधारणामा उल्लेख छ ।
बूढीगण्डकी आयोजनाको जलाशयमा सञ्चित पानीको बहुउपयोग, पानीजन्य तथा अन्य उद्योग खोल्न प्रोत्साहन, एकीकृत जलाधार विकास कार्यक्रम सञ्चालन गर्नेजस्ता योजना पनि अगाडि सारिएको छ । यो आयोजनालाई बहूद्देश्यीय बनाउन सकिए १ लाखभन्दा बढीले रोजगारी पाउने र १ खर्ब ५० अर्ब रुपैयाँबराबर आम्दानी थपिई यसले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ७ प्रतिशतसम्म योगदान दिन सक्ने देवकोटा बताउँछन् । 
यस्तै, अवधारणामा बूढीगण्डकी जलाधार क्षेत्रको संरक्षण गरी भूक्षयबाट रोके यसबाट जलविद्युत् आयोजनाको जलाशयमा आउने सेडिमेन्ट पनि कम हुने र कृषि उत्पादन पनि बढ्ने उल्लेख छ । बूढीगण्डकीलाई गतिशील आर्थिक क्षेत्र बनाउनका लागि जलविद्युत् विकास कम्पनीका साथै बूढीगण्डकी करिडोर बस्ती एवं पूर्वाधार, पर्यटन, आर्थिक र जलस्रोत एवं जलाधार विकास निर्देशनालय बनाउन पनि प्रस्ताव गरिएको छ । 
आयात प्रतिस्थापन
बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न सके हाल भारतबाट आयातीत डिजेलमा एकतिहाइ तथा ग्यास पूरै विस्थापन गर्न सकिने अवस्था छ । भारतबाट दैनिक २ सय ५० मेगावाट विद्युत् आयात भइरहेको छ भने आगामी हिउँदमा ३ सय मेगावाट थप्ने लक्ष्य छ । डिजेलका लागि बर्सेनि ५० अर्बभन्दा बढी र ग्यासका लागि ६२ अर्ब रुपैयाँ भारत जाने गरेको छ । 
बूढीगण्डकी आयोजना निर्माणपछि विद्युत् आयातसमेत प्रतिस्थापन भई परनिर्भरता अन्त्य हुनेछ । “बूढीगण्डकी निर्माणपछि जलविद्युत्, कृषि र पर्यटन क्षेत्रको ठूलो विकाससँगै भारतबाट आयातीत बिजुली त विस्थापन हुने नै छ”, देवकोटा भन्छन्, “त्यसपछि एकतिहाइ डिजेल र पूरै एलपीजी ग्यास विस्थापन हुनेछ ।”
जलाशयमा डुंगा
बूढीगण्डकी करिडोर पर्यटन विकास बोर्ड गठन गरी जलाशयमा डुंगा खियाउने, ससाना जहाज चलाउने, पृथ्वी राजमार्गबाट बाँधस्थलसम्म सटल बस सेवा, काठमाडौंको नागढुंगाबाट जलाशयनजिकको उपयुक्त स्थानसम्म केबलकार सञ्चालन, ग्रिन एरियामा रिसोर्ट, पार्क, पिकनिक स्थल निर्माण, यसको वरिपरिका क्रियाकलाप तथा नजिकका हिमाल देख्न सकिने स्थानमा ‘भ्यू टावर’ निर्माणको व्यवस्था गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने पनि अवधारणामा उल्लेख छ ।
मनास्लु, गणेश हिमालजस्ता साहसिक पर्यटनसँग यस क्षेत्रलाई जोड्ने, पदमार्ग निर्माण गर्ने, यो क्षेत्र रमणीय हुने भएकाले खेलकुद, शैक्षिक एवं स्वास्थ्य पर्यटनको सम्भाव्य विकासमा लाग्नेजस्ता कार्य अगाडि बढाउनुपर्ने पनि उनले अवधारणामा समेटेका छन् । पर्यटन क्षेत्रमा मात्र वर्षको प्रत्यक्ष ५ अर्ब र अप्रत्यक्ष २५ अर्ब रुपैयाँ थप आम्दानी हुने विकास समितिको अनुमान छ । 
ऐतिहासिक संग्रहालय
भीमसेन थापा, लखन थापाको जन्मस्थलको पुनर्निर्माणका साथै उनीहरूले बनाएका सत्तल, पाटीपौवाको संरक्षण, ऐतिहासिक संग्रहालय निर्माण, जलाशयबाहिरका मठमन्दिर, गुम्बा, मस्जिदको संरक्षण गर्नेजस्ता कार्यले पर्यटन क्षेत्रका रूपमा बूढीगण्डकी करिडोरको विकास गर्न सकिने उनको तर्क छ । 
१ सय वर्षका लागि आधुनिक बस्तीहरू बसाउने उल्लेख गर्दै ४ लाख जनसंख्यालाई लक्ष्य गरी योजनाबद्ध रूपमा जलाशय वरपर बस्ती विकास योजना अघि बढाउनुपर्ने देवकोटाको भनाइ छ । 
व्यापारिक केन्द्र
बूढीगण्डकी आयोजनालाई विशेष आर्थिक क्षेत्रको विकास गर्नुपर्ने उल्लेख गर्दै देवकोटा बैंकिङ तथा सपिङ सेन्टरहरू स्थापना गर्ने बताउँछन् । बूढीगण्डकी करिडोरभित्र मुलुक र र विदेशमा व्यापारका लागि नेसनल ट्रेड सेन्टर, इन्डिया ट्रेड सेन्टरका साथै चाइना ट्रेड सेन्टरजस्ता विशेष व्यापारिक केन्द्र स्थापना गर्ने पनि योजना छ । उद्योग बन्द व्यापारबाट मात्र ५० अर्ब आम्दानी बढ्ने अनुमान छ । 
सिँचाइको फाइदा
बूढीगण्डकी आयोजनाको जलाशयमा सञ्चित पानीलाई बहुउपयोगमा ल्याई चितवन तथा नवलपरासीमा सिँचाइ गर्नुका साथै जल यातायात सञ्चालन, माछापालन तथा तल्लो र माथिल्लो क्षेत्रमा अध्ययन गरी जलविद्युत् आयोजना बनाउनुपर्ने अवधारणा अगाडि सारिएको छ । 
बूढीगण्डकी जलाशयमा भएको पानीबाट १ लाख हेक्टर जमिनमा सिँचाइ भई वार्षिक २५ अर्ब आम्दानी हुने समितिले जनाएको छ । मिनरल वाटर उत्पादन उद्योग, आल्मुनियम उद्योग तथा कृषि, फलफूल, पशु, माछामासु र औषधिजन्य उद्योग स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ । माछापालनबाट मात्र बर्सेनि २५ करोड आम्दानी हुने अनुमान छ । 
स्वदेशी लगानीमै सम्भव    
बूढीगण्डकी आयोजनाका लागि २ खर्ब ५९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आठ वर्षका लागि आवश्यक सो रकम सरकारबाट प्रतिवर्ष २० अर्बका दरले १ खर्ब ६० अर्ब, आयोजनाका प्रभावितलाई जग्गाको मुआब्जा एवं नगदबापत र गोरखा, धादिङ, नुवाकोट, चितवन र नवलपरासीका जनताबाट सेयरबाट २०/२० अर्ब तथा आयोजनामा कार्यरत कर्मचारी, मजदुर र स्थानीय निकायको सेयरबाट ५/५ अर्ब रुपैयाँ लगानी जुटाउन सकिने अवस्था छ । 
त्यसैगरी, वित्तीय संस्थाहरूबाट वर्षको ५ अर्बको दरले ४० अर्ब, विप्रेषणबाट प्राप्त रकममध्ये कुलको १ प्रतिशतका दरले बर्सेीन १० अर्बका दरले ८० अर्ब, गैरआवासीय नेपाली (एनआरएन) बाट ५ अर्ब तथा नपुगे १५ अर्बजति ऋणमार्फत जुटाएर आयोजना बनाउन सकिने उल्लेख छ । भूकम्पबाट यथाशीघ्र पुनर्वास र पुनःस्थापनाका लागि चालू वर्ष र आगामी वर्षका लागि ३०÷३० अर्ब रकम जरुरी भएको समितिले जानकारी दिएको छ ।
मुआब्जा निर्धारण
बूढीगण्डकी जलविद्युत् विकास समिति तथा स्थानीय सरोकार समितिको समन्वय र सल्लाहमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट संयोजकत्वको समितिले आयोजना प्रभावितका लागि हालै मुआब्जा निर्धारण गरेको छ । प्रतिरोपनी बढीमा ८ लाख ३५ हजार र कम्तीमा ५ लाख ३५ हजार रुपैयाँसम्म मुआब्जा तोकिएको छ । 
समितिका अनुसार आयोजनाबाट गोरखातर्फ ३० हजार ७८ रोपनी र धादिङतर्फ २८ हजार ७५ रोपनी जग्गा डुबानमा पर्छ । यो तथ्यांकमा लालपुर्जा नभएको, ऐलानी, गुठीलगायत जग्गा समावेश नगरिएको समितिले जानकारी दिएको छ । त्यस्तो जग्गा ७ हजार रोपनी हुन सक्ने अनुमान गरिएको छ । 
सन् २०१४ मै निर्माण थालेर सन् २०२२ सम्ममा पूरा गर्ने लक्ष्य निर्धाण्रण गरिए पनि ढिलाइ भइरहेको समितिले जनाएको छ । सरकारले आर्थिक व्यवस्थापनसहितको स्पष्ट मोडल तयार गरे आयोजनाको निर्माण कार्य तत्काल हुने देखिएको छ ।
http://www.karobardaily.com/%E0%A4%AC%E0%A5%82%E0%A4%A2%E0%A5%80%E0%A4%97%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A4%95%E0%A5%80%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%96%E0%A5%81%E0%A4%B2%E0%A5%8D%E0%A4%A8-%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%9B-%E0%A4%B8%E0%A4%AE%E0%A5%83%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A5%8B-%E0%A4%A2%E0%A5%8B%E0%A4%95%E0%A4%BE