Friday, December 2, 2016

भूकम्प प्रभावितद्वारा आवास निर्माण सुरु

r    कारोबार संवाददाता    + -

फाइल फोटो
काठमाडौंः भूकम्प प्रभावितले आवास पुनर्निर्माण सुरु गरेका छन् । भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका ५ लाख ३१ हजार प्रभावितमध्ये १६ हजार घरधुरीले आवास पुनर्निर्माण सुरु गरेका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले भूकम्प प्रभावितले आवास पुनर्निर्माण सुरु गरेको जानकारी दिए । 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार ५ लाख २७ हजार ४६६ घरधनीसँग अनुदान सम्झौता भैसकेको छ भने ४ लाख ४४ हजार ४५२ घरधनीको बैंक खातामा पहिलो किस्तावापत ५० हजार रुपैयाँ जम्मा भइसकेको छ । 
सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार मंसिर १५ गतेसम्म भूकम्प अतिप्रभावित ११ जिल्लामध्ये सिन्धुपाल्चोकमा १६ सय २३, धादिङमा २१ सय ६५, काभ्रेमा १ हजार ४, नुवाकोटमा ४३ सय ३०, गोरखामा १२ सय ७१ र दोलखामा २८ सय ९० घरको पुनर्निर्माण सुरु भएको छ । 
यस्तै रामेछापमा ८ सय ५१, सिन्धुलीमा १२६, मकवानपुरमा ६१२, ओखलढुंगामा ४७३ र रसुवामा ५१६ घर पुनर्निर्माण सुरु भैसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ५३ हजार ४२५ घरधनीसँग अनुदान सम्झौता भएको छ । 
कर्मचारीलाई ७५ प्रतिशत भत्ता
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले पुनर्निर्माणमा खटिने प्राविधिकसहितका कर्मचारीलाई ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । 
बैठकले पुनर्निर्माण कार्यमा गाविस एवं नगरपालिकामा खटिएका जनशक्तिलाई उत्साहित बनाउन र नीजहरूको कार्य सम्पादन नतिजाका आधारमा बढीमा ७५ प्रतिशतसम्मको प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । सोसम्बन्धी मापदण्ड प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं अर्थ मन्त्रालयसँगको समन्वयमा निर्धारण गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । 
सेवा सुविधाको माग गर्दै इन्जिनियरहरूले काम प्रभावित गरेपछि गतअसोज ८ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ र इन्जिनियर प्रतिनिधिहरूबीच वार्ता भई सहमति भएपछि इन्जिनियहरु आफ्नो कार्य क्षेत्रमा फर्किएका थिए ।
गतकात्तिक १० गतेको निर्देशक समितिको निर्णयअनुसार पुनर्निर्माणमा खटिने कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन आवश्यक सूचकहरू तर्जुमा प्रक्रियामा रहेको प्रवक्ता थपलियाले जानकारी दिए । 
घर पुनर्निर्माणको कामलाई स्थानीयस्तरमा अभियानका रूपमा अघि बढाउन आ–आफ्नो कार्य क्षेत्रमा रही जिम्मेवारी पूरा गर्न प्राधिकरणले अनुरोध गरेको छ । भूकम्प प्रभावित धेरै जिल्लामा प्राविधिक नगएको गुनासो आएको छ भने हालसम्म २२० प्राविधिकले राजीनामा दिइसकेका छन् ।
http://www.karobardaily.com/%E0%A4%AD%E0%A5%82%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AA-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AD%E0%A4%BE%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A4%A6%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%86%E0%A4%B5%E0%A4%BE%E0%A4%B8-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%BE%E0%A4%A3-%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A5%81

No comments: