फाइल फोटो
काठमाडौंः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सामूहिक राजीनामा दिएका इन्जिनियरहरूलाई पुनर्निर्माणको काममा फर्किन आग्रह गर्दै नफर्किए कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
प्राधिकरणले बुधबार विज्ञप्ति जारी गरी पुनर्निर्माणको कार्यलाई अघि बढाउन र जिम्मेवारीपूर्वक आ–आफ्नो कार्य क्षेत्रमा गई सहरी विकास मन्त्रालयअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाईसँग समन्वय गरी काम गर्न सम्बन्धित सबै इन्जिनियरलाई निर्देशन समेत दिएको छ ।
सेवा सुविधा दिनेगरी सबै प्रक्रिया अघि बढिसकेको अवस्थामा भूकम्प प्रभावित जनताको संवेदनामाथि खेल्दै पुनर्निर्माणमा अवरोध सिर्जना गरिरहे कानुनअनुसार कारबाही हुनेसमेत विज्ञप्तिमा उल्लेख छ ।
‘भूकम्प प्रभावित जनताले सरकारले उपलब्ध गराउने पहिलो किस्ता रकम प्राप्त गरी निजी घर पुनर्निर्माण गर्ने क्रम द्रुत गतिमा अघि बढिरहेको र सुविधासम्बन्धी निर्णय कार्यान्वयन प्रक्रियामा गइसकेको अवस्थामा सुविधाको माग राखी आन्दोलन गर्नु कुनै पनि कोणबाट जायज हुँदैन’ विज्ञप्तिमा भनिएको छ ।
‘२०७३ साल कात्तिक १० गते बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकबाट पुनर्निर्माण कार्यमा विभिन्न गाविस एवं नगरपालिकामा खटिएका जनशक्तिलाई नतिजाप्रति उत्साहित बनाउन नीजहरूको कार्य सम्पादन नतिजासमेतका आधारमा बढीमा ७५ प्रतिशतसम्मको कार्य सम्पादन प्रोत्साहन भत्ता उपलब्ध गराउने र सोसम्बन्धी मापदण्ड प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं अर्थ मन्त्रालयसँगको समन्वयमा निर्धारण गर्ने व्यवस्था मिलाउने निर्णय भइसकेको छ ।
निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पुनर्निर्माण प्राधिकरण र अर्थ मन्त्रालयबीच छलफल भई आवश्यक कार्य सम्पादन मापदण्ड तयारीसहित प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै यसबारे बुधबार नेपाल इन्जिनियर्स एसोसियसनसँग समेत छलफल गरेको जनाएको छ ।
पुनर्निर्माणको काम अघि बढाउन सरकारले २७ सय प्राविधिक करारमा नियुक्त गरेको थियो । त्यसमध्ये १३ सयले राजीनामा दिएका हुन् । यसअघि २ सय ५० जना इन्जिनियरले राजीनामा दिइसकेका छन् ।
http://www.karobardaily.com/news/69935
No comments:
Post a Comment