फाइल फोटो
काठमाडौंः आयोजना विकास सम्झौता (पीडीए) का लागि निवेदन दिएको चार वर्षपछि ऊर्जा मन्त्रालय र २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ को प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीबीच सम्झौता भएको छ ।
हालै विद्युत् ऐन २०४९ को दफा ३५ बमोजिम मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि बिहीबार ऊर्जा मन्त्रालयमा मन्त्रालय र कम्पनीबीच सम्झौता भएको हो । मन्त्रालयका सहसचिव दिनेश घिमिरे र कम्पनीका तर्फबाट बो सेउकिले हस्ताक्षर गरेको सम्झौतापत्रमा बुट मोडलबाट अघि बढाइने आयोजनाको वित्तीय व्यवस्थापन दुई वर्षभित्र र निर्माण पाँच वर्षभित्र सक्ने उल्लेख छ ।
सम्झौताबमोजिम उत्पादनको अनुमति पाएपछि प्रवद्र्धक कम्पनीले आयोजना निर्माण र सञ्चालनका लागि ३५ वर्षको अवधि प्राप्त गर्ने उल्लेख छ । सम्झौतापत्रमा आयोजनाको अनुगमन, वातावरण तथा सामाजिक विकास, काबु बाहिरको परिस्थिति तथा जोखिम व्यवस्थापनबारे उल्लेख छ । सम्झौतापत्रमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले १० प्रतिशतसम्म सेयर लगानी गर्न पाउने व्यवस्थासमेत गरिएको छ ।
प्रवद्र्धक कम्पनीले विदेशी लगानीमार्फत अघि बढाउन लागेको आयोजनामा दक्षिण कोरियाको सरकारी स्वामित्वको कोरिया साउथ इस्ट कम्पनीको ५२, कोरियाली कम्पनी डालिम इन्डस्ट्रिजको १६ र क्यायोङ कन्ट्रक्सनको १० प्रतिशत सेयर छ । अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी) को १२ प्रतिशत सेयर रहेको सो कम्पनीमा विकेश प्रधानांगको १० प्रतिशत सेयर छ ।
पीडीए कार्यान्वयन गर्दा सरकारका विभिन्न निकायले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने भन्दै कार्यान्वयन सहजीकरणका लागि ऊर्जामन्त्रीको संयोजकत्वमा एक उच्चस्तरीय समन्वय समितिसमेत सरकारले गठन गरिसकेको छ ।
पहिलोपटक नेपालमा दक्षिण कोरियाको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा निर्माण हुन लागेको सो आयोजना सन् २०१४ को अक्टोबरमा सुरु गरेर पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि ढिलाइ हुँदै आएको थियो ।
पीडीएमा ढिलाइ हुँदा विद्युत् खरिद सम्झौता (पीपीए) र उत्पादन लाइसेन्स प्राप्तिमा समेत ढिलो भएको आयोजनाले जनाएको छ । कम्पनीले डलरमा पीपीए माग गरेपछि यसका विवाद हुँदै आएको थियो ।
पे ब्याक पिरियडसम्म डलरमा पीपीए गर्ने निर्णय यसअघि ऊर्जा मन्त्रालयले गरे पनि सो कम्पनीसँग प्राधिकरणले कसरी गर्ने भन्ने टुंगो भने लागिसकेको छैन । झण्डै ६० अर्ब लागत अनुमान गरिएको आयोजना रसुवा जिल्लाको मैलुङमा निर्माण हुनेछ ।
http://www.karobardaily.com/news/70455
No comments:
Post a Comment