४० मेगावाट थपियो, फागुनसम्ममा १ सय ८० मेगावाट थपिने
काठमाडौंः नेपालको आन्तरिक उत्पादन कमजोर भएपछि भारतबाट विद्युत् खरिद बढेसँगै यहाँको विद्युतीय प्रणालीमा भारतीय हिस्सा बढी हुने भएको छ । हिउँद याममा नेपालको जलसतह घटेसँगै उत्पादन आधाले घट्ने गर्छ ।
यहाँको आन्तरिक माग पूरा गर्न भारतबाट विद्युत् आयात बढ्दो छ । अघिल्लो वर्षको हिउँदमा यसै समयमा भारतबाट नेपालले २ सय ७६ मेगावाट आयात गरेको थियो, अहिले ३ सय ५५ मेगावाट पुगेको छ ।
अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रणालीका भएकाले आगामी माघदेखि विद्युत् प्रणालीमा भारतीय बिजुलीको हिस्सा बढी हुन लागेको हो । नेपाल विद्युत् प्राधिकरणको लक्ष्यअनुसार आगामी माघ÷फागुनमा भारतको आयातीत बिजुली हिस्सा विद्युत् प्रणालीमा ५ सय ३५ मेगावाट नाघ्नेछ भने नेपालको विद्युतीय हिस्सा चार सय मेगावाटमा झर्नेछ ।
हाल भारतबाट ३ सय १५ मेगावाट बराबर आयात भएकोमा ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रशारण लाइनबाट १ जनवरी २०१७ को मध्यरातदेखि ४० मेगावाट थपिएको छ ।
“अब फेब्रुअरीदेखि ढल्केबरबाट थप ४० मेगावाट थपिनेछ, आगामी हिउँदभित्रै टनकपुरबाट थप ४० तथा रक्सौल–परवानीपुर र कटैया–कुसाहाबाट ५०/५० मेगावाट थपिनेछ,’ विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने, “नेपालका अधिकांश जलविद्युत् आयोजना आरओआर भएकाले माघ÷फागुनमा नेपालको उत्पादन घटेर चार सय मेगावाटमा झर्ने अनुमान गरेका छौं ।”
प्राधिकरणको विवरणअनुसार यो हिउँदभित्र विद्युत् प्रणालीमा नेपालको भन्दा भारतको १ सय ३५ मेगावाट बढी हुनेछ । “अहिले दुई हजार मेगावाट बराबरका जलविद्युत् आयोजनाहरु निर्माण भइरहेका छन्, स्वदेशी उत्पादन पनि बढ्छ भन्ने आशा गरौं,” अधिकारीले भने, “यद्यपि नेपालको उत्पादन नबढेसम्म भारतबाट थप विद्युत् ल्याउने हो, ढल्केबर सबस्टेसन बनेपछि त्यही लाइनबाट मात्र ६ सय मेगावाटसम्म ल्याउन सकिन्छ ।”
विद्युत् प्राधिकरणको तथ्यांकअनुसार अहिलेको समयमा गत वर्ष निजी क्षेत्रबाट उत्पादित विद्युत् १ सय २२ मेगावाट रहेकोमा अहिले २ सय मेगावाट पुगेको छ । विद्युत् प्राधिकरणको उत्पादन २ सय २२ मेगावाट रहेकोमा ३ सय ५० मेगावाट छ ।
भूकम्पको कारणले गत वर्ष केन्द्रीय ग्रीडबाट झण्डै एक सय ५० मेगावाट बिच्छेद भएकोमा अधिकांश पुनर्निर्माण भइसकेको थिएन भने यस वर्ष ६० मेगावाटबाहेक केन्द्रीय ग्रीडमा जोडिसकेको छ ।
प्राधिकरणका अनुसार हाल १३ सय मेगावाटबराबर माग रहेकोमा ४ सय मेगावाट अभाव छ भने गत वर्ष ६ सय ७५ मेगावाट बराबर विद्युत् अभाव रहेको थियो । यस वर्ष भने प्राधिकरणले विद्युत् व्यस्थापन गरेर तिहारपछि काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएको छ भने उपत्यकाबाहिर पनि लोडसेडिङलाई न्यूनमात्र गरेको छ ।
प्रवक्ता अधिकारी सकेसम्म माघ÷फागुनमा समेत लोडसेडिङमुक्त गर्ने गरी विद्युत् प्राधिकरण व्यवस्थापनले चुहावट नियन्त्रणका साथै विदेशबाट आयात गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको कार्य दु्रतगतिमा गरिरहेको बताउँछन् । गत वर्षभन्दा अधिकांश जलविद्युत् आयोजनाहरूको उत्पादन औसत रूपमा बढी देखिएकोले पनि लोडसेडिङमुक्त अभियानमा सहयोग पुगेको उनको तर्क छ ।
भारतबाट ५ सय ३५ सय मेगावाट आयात गर्दा आयातीत बिजुलीको मूल्यमात्र चालू वर्षमा झण्डै ३५० अर्ब नाघ्ने अनुमान प्राधिकरणको छ । गत वर्ष प्राधिकरणले १६ अर्बबराबरको विद्युत् आयात गरेको थियो भने चालू वर्षमा दोब्बरभन्दा बढी बिजुली आयात गर्ने योजना प्राधिकरणको छ ।
http://www.karobardaily.com/news/70546
No comments:
Post a Comment