काभ्रेको भम्लुटारका भूकम्पपीडित । तस्बिर: भीम गौतम
काभ्रे: विनासकारी भूकम्पको २२ महिनापछि प्रभावित जिल्लाका पीडितले दोस्रो किस्ताको अनुदान लिने तयारी गरिरहँदा काभ्रेका दुई गाविसमा भने पहिलो किस्ता समेत पुग्न सकेको छैन ।
भौगोलिक रूपमा राजधानी काठमाडौं जिल्ला सदरमुकाम धुलिखेलबाट नजिकै रहे पनि भुम्लुटार र फलाँटे गाविसका पीडित पहिलो किस्ताकै अनुदान पर्खिरहेका छन् ।
निजी आवास निर्माणका लागि सरकारले अनुदान वितरण सुरु गरेको ११ महिना भइसक्दा पनि यी गाविसमा अनुदान पुग्न नसक्नुले राज्यको कमजोरी स्पष्ट देखिएको छ ।
चार दशकअघि भुम्लुटार र फलाँटे गाविसको सीमा विवादले नापीको टोली आएर पनि नापी गर्न नसकेपछि स्थानीयले हालसम्म लालपुर्जा पाउन सकेका छैनन् ।
चार दशकअघि भुम्लुटार र फलाँटे गाविसको सीमा विवादले नापीको टोली आएर पनि नापी गर्न नसकेपछि स्थानीयले हालसम्म लालपुर्जा पाउन सकेका छैनन् ।
लालपुर्जा नै नभएपछि स्थानीयले अनुदान पाउन नसकेका हुन् । लालपुर्जा नहुँदा फलाँटे र भुम्लुटार गाविसका सबै प्रभावितहरूलाई पहिलो वितरण गर्न नसकिएको काभ्रेका स्थानीय विकास अधिकारी टेकराज निरौला बताउँछन् । फलाँटेमा ३ सय ६७ र भुम्लुटार गाविसमा ५ सय ९३ भूकम्पप्रभावित छन् ।
“भूकम्पपछि सरकारले दिने भनेको राहत अहिलेसम्म पाउन सकेका छैनौं,” भुम्लुटारका स्थानीय सन्तोष लामा भन्छन्, “टहरामा बिजोगसँग बस्नुपरेको छ, कहिले घर बनाउने ठेगान छैन ।” सरकारले समयमै सार्थक पहल नगर्दा लालपुर्जा र पहिलो किस्ताको अनुदान पाउन नसकेको गुनासो फलाँटेका नवीन खरेलको छ । “न भूकम्पपछिको अनुदान पाइयो, न लालपुर्जा नै, ठूलो पीडा खेपेर बस्नुपरेको छ,” उनले भने ।
रसिदको भरमा जग्गाको कारोबार गरेका दुई गाविसका बासिन्दाले लालपुर्जा नहुँदा अनुदान मात्र होइन, सरकारी निकायबाट पाउने अन्य सेवासुविधा र बैकबाट ऋणसमेत पाउन सकेका छैनन् । लालपुर्जा दिनका लागि सरकारले दुई वर्ष अघिदेखि प्रक्रिया अघि बढाए पनि हालसम्म कसैले पाउन सकेका छैनन् ।
यी गाविस काठमाडौंबाट ६१ र धुलिखेलबाट ३१ किलोमिटर नजिक छन् । भूकम्पबाट घर भत्किएपछि टहरामा बस्दै आएका अधिकांश अधिकांश वृद्धवृद्धा अहिले विरामी परेका छन् । भुम्लुटार गाविस–७ का ६५ वर्षीय गुञ्जमान तामाङ चिसोले विरामी भएर थला परे र अस्पताल गएर उपचारै गर्नुप¥यो ।
“चिसोले निमोनिया भएर झन्डै मरेको, बल्ल बाँचेर आइयो, फेरि त्यही चिसो टहरामा बस्नुको विकल्प छैन,” उनले गुनासो पोखे, “सरकारबाट हालसम्म पहिलो किस्ता त पाएको छैन, घर कहिले बन्ला र पीडा हट्ला ?” यस्तै पीडा छ स्थानीय ६९ बर्षीय मीठु उप्रेतीको ।
हरेक रात र बिहानको जस्ताको टहराबाट आएको चिसोले उनी बिरामी परेकी छिन् । “जस्ताबाट आउने चिसोले कठ्यांग्रिएर बस्नुपरेको छ, रात बिताउन मुस्किल छ, उनले भनिन्, “खोई घर कहिले बन्ला र मरिएला जस्तो पो भएको छ ।”
http://www.karobardaily.com/news/72351
No comments:
Post a Comment