Monday, January 16, 2017

उपत्यकाको फोहर व्यवस्थापनका लागि वार्ता सुरु

     भीम गौतम   0 + -

काठमाडौंः काठमाडौंको एकीकृत फोहर मैला व्यवस्थापन परियोजनाअघि बढाउनका लागि विकासकर्तासँग परियोजना विकास सम्झौता (पीडीए) वार्ता सुरु भएको छ । 
लगानी बोर्डको ऐन र नियमावलीअनुसार पीडीएका लागि विकासकर्ताले तिर्नुपर्ने ०.२ प्रतिशत शुल्क तिर्नुपर्नेबारेको विवादका कारण ६ महिनादेखि अघि बढ्न नसकेको वार्ता बल्ल सुरु भएको हो । हालै बसेको बोर्ड बैठकले परियोजनाका लागि तिर्नुपर्ने शुल्कको प्रावधान स्थगन गरी वार्ताअघि बढाउने निर्णय गरेको थियो ।
परियोजना तीन प्याकेजमा अघि बढ्न लागेकोमा पहिलो प्याकेजअघि बढाउनेबारे वार्ताअघि बढेको बोर्डका सहसचिव एवं प्रवक्ता मधु भेटुवालले जानकारी दिए । “फोहर व्यवस्थापन परियोजनाअघि बढाउनका लागि विकासकर्तासँग मोडालिटीबारे कुरा अघि बढेको छ ।” उनले भने, “विकासकर्तासँग फोहर व्यवस्थापनवापतको उठाउनु पर्ने शुल्क, समयलगायतका पक्षबारे टुंगो लागेपछि निर्माणको काम अघि बढ्नेछ ।”
पहिलो प्याकेजमा काठमाडांै महानगरपालिका र वरपरका नगरपालिकाको फोहर व्यवस्थापनको परियोजना अघि बढ्न लागेको छ । फिनल्यान्डको कम्पीनीकेसन र नेपालको अर्गानिक भिलेजले संयुक्त रूपमा गठन गरेको नेपवेस्टले अघि बढाउन लागेको आयोजनाको लागत ६ अर्ब रुपैयाँ छ ।
बोर्डका अनुसार, प्याकेज नं १ मा मात्र प्रतिदिन १ हजार मेट्रिक टन फोहर संकलन हुनेछ भने टेकुमा फोहर संकलन गरी त्यसको प्रशोधन र व्यवस्थापन नुवाकोटको बञ्चरेडाँडामा हुनेछ । सरकारले २ वर्षमा निर्माण सम्पन्न हुने गरी २२ वर्षका लागि कम्पनीलाई निर्माणको जिम्मेवारी दिए पनि वार्ताअघि बढ्न सकेको थिएन । वार्ता सफल भएपछि तत्काल निर्माणको कामअघि बढ्ने परियोजनाले जनाएको छ ।
परियोजनाको निर्माण कार्य सकिएपछि फोहरबाट ७ मेगावाटसम्म बिजुली उत्पादनका साथै अर्गानिक मल र बायोग्याँस उत्पादन गर्न सकिने अनुमान परियोजनाको छ । प्याकेज नं १ को वार्ता सफल भएपछि बोर्डले प्याकेज नं २ र ३ को कार्य अघि बढाउन लागेको छ ।
प्याकेज नं २ मा ललितपुर र कीर्तिपुर तथा प्याकेज नं ३ मा भक्तपुर क्षेत्रको फोहोर एकीकृत रूपमा व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ । बोर्डका अनुसार, ललितपुर तथा भक्तपुरका लागि भारतीय कम्पनी ग्रीन भ्याली नामक कम्पनीले आयोजना निर्माण गर्न लागेको छ ।   
http://www.karobardaily.com/news/71549

No comments: