Tuesday, January 31, 2017

पुनर्निर्माण गर्न सेनादेखि विद्यार्थीसम्म

   भीम गौतम/गोपाल संग्रौला    0 + -

फाइल फोटो
काठमाडौंः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी फागुनदेखि भूकम्पपछिको निजी आवास निर्माणका लागि नेपाली सेनादेखि विद्यार्थीसम्म परिचालन गर्ने भएको छ । 
भूकम्प अतिप्रभावित जिल्लामा निजी आवास निर्माणका लागि दक्ष जनशक्ति अभाव भएपछि नेपाली सेना, सशस्त्र प्रहरीसहित प्राविधिक र इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थी परिचालन गर्न लागेको हो ।
“धेरै प्रभावितले पहिलो किस्ताको रकम पाइसकेकाले अहिले निजी आवास निर्माणका लागि जागरण र उत्साह बढाउन सेनालगायतलाई गाउँमा डकर्मी, सिकर्मी उत्पादन गर्ने गरी परिचालन गर्न लागेका छौं ।”
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले भने, “आगामी फागुनदेखि पुनर्निर्माणलाई गति दिन दक्ष जनशक्ति उत्पादन गर्ने गरी परिचालन गर्न लागेका हांै ।” 
पुनर्निर्माणका लागि ६० हजार दक्ष जनशक्ति आवश्यक पर्ने भए पनि हालसम्म २० हजारलाई मात्र विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले तालिम दिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार, १४ जिल्लामा ६ लाख २६ हजार ३६ जना सरकारको अनुदान पाउने सूचीमा छन् । प्राधिकरणका अनुसार, निजी घर पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका ५ लाख ५० हजार २ सय ४१ घरधनीमध्ये मंगलबारसम्म ५ लाख १० हजार १ सय ३० ले पहिलो किस्ताको रकम प्राप्त गरेका छन् ।
त्यसैगरी हालसम्म ७ सय २० जना प्रभावितले मात्र दोस्रो किस्ताको रकम लिएका छन् । पहिलो किस्ताको रकम लिएका प्रभावितलाई थप जागरुक बनाउन दक्ष जनशक्ति अभाव भएकाले सेनादेखि विद्यार्थीसम्म परिचालन गर्न लागेको प्राधिकरणले जनाएको छ । 
प्राधिकरणका अनुसार, ओखलढुंगा, सिन्धुली र रामेछापमा डकर्मी, सिकर्मी तालिमका लागि तालिम प्राप्त सेना परिचालन गर्न लागिएको छ । यसका लागि सेनाले मंगलबारदेखि आन्तरिक तालिम सुरु गरेको छ भने २१ माघदेखि एक हप्ते तालिम सुरु गर्न लागेको छ ।
सैनिक प्रवक्ता ताराबहादुर कार्कीले पुनर्निर्माणको क्रममा निजी आवास निर्माणका लागि सेनाहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम दिएर उनीहरूमार्फत गाउँ गाउँमा डकर्मी, सिकर्मीहरू तालिम दिन लागिएको जानकारी दिए । 
प्राधिकरणले पोखरा विश्वविद्यालयअन्तर्गत स्नात्तक तहको सिभिल इन्जिनियरिङ अध्ययन सकेका विद्यार्थीलाई पुनर्निर्माणका लागि परिचालन गर्न लागेको छ । प्राधिकरणले सोमबार विश्वविद्यालयलाई पत्र लेख्दै एक महिनाभित्र सहभागी गराउन अनुरोध गरेको छ ।
स्वयं सेवकको रूपमा खटिने इन्जिनियरिङका विद्यार्थीलाई एक हप्ते तालिम दिएर मासिक १५ देखि १८ हजार रुपैयाँसम्म दिने निर्णय गरिएको प्राधिकरणका सहप्रवक्ता डा. भीष्म भुसालले जानकारी दिए । अन्य विश्वविद्यालयका इन्जिनियरिङ अध्ययन सकेका विद्यार्थीलाई समेत परिचालन गर्ने प्राधिकरणको योजना छ । 
त्यसैगरी प्राधिकरणले रसुवामा सशस्त्र प्रहरीलाई तालिम दिएर डकर्मी सिकर्मी उत्पादनका लागि परिचालन गर्ने योजना बनाएको छ । यसबारे सशस्त्र प्रहरीसँग छलफल अघि बढेको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी प्राधिकरणले भूकम्प प्रभावित १७ जिल्लामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) इलेक्ट्रिसियन र स्नात्तक तह सकेका विद्यार्थीलाई समेत परिचालन गर्न लागेको छ ।
हाल सर्भेक्षणअघि बढेका जिल्लामा सीटीईभीटीका विद्यार्थी परिचालनबारे प्राधिकरणसँग छलफल अघि बढेको निमित्त सदस्य–सचिव रमेश बखतीले जानकारी दिए ।
उनका अनुसार, सीटीईभीटीले भूकम्प प्रभावित क्षेत्रका ५ सय विद्यार्थीलाई पुनर्निर्माणका लागि दक्ष तालिम दिन छात्रवृत्तिको व्यवस्था गरेको छ भने मागको आधारमा जनशक्ति तयारसमेत गरिरहेको छ । 

No comments: