Tuesday, January 31, 2017

४० हजार भूकम्प प्रभावित पहिलो किस्ता पाउन बाँकी

     कारोबार संवाददाता    0 + -

फाइल फोटो
  • ९३ प्रतिशतले पाए पहिलो किस्ता 
  • दोस्रो किस्ता पाउने ७ सयमात्र
काठमाडौं: भूकम्प अतिप्रभावित १४ जिल्लाका ४० हजार १ सय ११ जना भूकम्प प्रभावितले पहिलो किस्ता रकम पाउन अझै बाँकी छ । ११ महिनाअघि सरकारले भूकम्प प्रभावितलाई पहिलो किस्ताको ५० हजार रुपैयाँ नगद अनुदान वितरण सुरु गरेकोमा अनुदान सम्झौता गरेमध्ये यति संख्याले रकम पाउन नसकेका हुन् ।
१४ जिल्लामा ६ लाख २६ हजार ३६ जना सरकारको अनुदान पाउने सूचीमा छन् । प्राधिकरणका अनुसार, निजी घर पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका ५ लाख ५० हजार २ सय ४१ घरधनीमध्ये मंगलबारसम्म ५ लाख १० हजार १ सय ३० ले पहिलो किस्ताको रकम प्राप्त गरेका छन् ।  
सिन्धुपाल्चोकमा अनुदान सम्झौता गरेका ७४ हजार ९ सय २४ घरधनीमध्ये ७४ हजार ९  सय १२, ओखलढुंगामा १८ हजार ३ सय १, नुवाकोटमा ६० हजार ४ सय ७४, रामेछापमा ३९ हजार ७ सय ५९, दोलखामा ४७ हजार ७९ ले अनुदान प्राप्त गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ । 
यस्तै गोरखामा ५२ हजार ६ सय ७५, काभ्रेमा ५९ हजार ७ सय ५१, रसुवामा ८ हजार ८ सय ४८, सिन्धुलीमा २६ हजार १ सय ६२, धादिङमा ५२ हजार ९ सय १७ र मकवानपुरमा १९ हजार ९ घरधनीले पहिलो किस्ताको अनुदान रकम प्राप्त गरेका छन् ।  
काठमाडौं, ललितपुर र भक्तपुरमा अनुदान सम्झौता सम्पन्न गरेका ७१ हजार ६ सय ८३ घरधनीमध्ये ५० हजार २ सय ४३ ले पहिलो किस्ताको अनुदान प्राप्त गरिसकेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।
पहिलो किस्ताको अनुदान पाएर मापदण्डअनुसार घरको जग निर्माण गरेका ७ सय २० घरधनीले दोस्रो किस्तावापतको एक लाख ५० हजार रुपैयाँ प्राप्त गरिसकेका छन् ।
सचिवद्वारा थप सुविधा माग
भूकम्प प्रभावित क्षेत्रमा काम गर्ने गाविस सचिवहरूले थप सेवा सुविधाको माग गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा ज्ञापनपत्र बुझाएका छन् । 
गाविस सचिवहरूको हकहित संरक्षण केन्द्रले सेवा सुविधा वृद्धिको माग गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा केन्द्रले माग पूरा नगरे आज (बुधबार)देखि काम ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।
ज्ञापनपत्र बुझ्दै डा. पोखरेलले दोस्रो किस्ताका लागि १२ अर्ब रुपैयाँ निकासा गरिरहेको भन्दै काम ठप्प पार्दा भूकम्पपीडितलाई असर पर्ने भएकाले तत्काल आन्दोलन नगर्न आग्रह गरेका थिए । 
http://www.karobardaily.com/news/72561

No comments: