भीम गौतम
काठमाडौ, ५ माघ । सरकारले निर्णय फेर्दा भुकम्प पीडितका लागि खरिद गरिएको ५० हजार वण्डल जस्ता नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममै थन्किएको छ ।
१२ बैशाख २०७२ मा भुकम्प गए लगत्तै तत्कालीन सरकारले गरेको मन्त्री परिषदबाट निर्णयबाट खरिद गरिएको यति धेरै जस्ता गोदाममै थन्किएको हो । तत्कालीन स्वर्गीय शुशील कोइराला नेतृत्वको सरकारले तत्कालीन अवस्थामा अस्थायी आवासका लागि जस्ता दिने निर्णय गरेको थियो ।
भुकम्पबाट क्षतिग्रस्त घरहरु पुर्ननिर्माणका लागि समय लाग्ने भएकोले तत्काल अस्थायी आवासका लागि भन्दै प्रति भुकम्पपीडितहरुलाई दुई बण्डल जस्ताका साथै क्षतिग्रस्त विद्यालय र स्वास्थ्य चौकीको अस्थायी भवनका लागि जस्ता आवश्यक भन्दै मन्त्री परिषदले निर्णय गरेर निर्देशन दिएपछि कर्पोरेसनले ५० हजार बण्डल जस्ता खरिद गरेको थियो तर पछि भुकम्पपीडितलाई जस्ताको सट्टा १५ हजार नगद दिने निर्णय सरकारले गरेको थियो । झण्डै ३० करोड लगानीमा खरिद गरिएका जस्तापाता डेढ बर्षदेखि गोदाममै थन्किएको कर्पोरेसनकी महाप्रबन्धक उर्मिला श्रेष्ठले जानकारी दिइन् । ‘सरकारले निर्णय गरेर खरिद गरेपनि त्यसको उपयोग गर्न नसक्दा गोदाममै थन्किएको छ, यसको उपयोगका लागि पटक पटक सरकारलाई भनेपनि हालसम्म उपयोग भएको छैन ।’
खरिद गरिएका अधिकांश जस्तापाता कर्पोरेसनको वीरगञ्जस्थित गोदाममै थन्किएको छ भने केही थोरी बण्डल जस्तापाता मात्र तत्कालीन अवस्थामा केही जिल्लाका स्थानीय विकास अधिकारीले माग गरेपछि दिइएको कर्पोरेसनका अधिकारीहरुले जनाएका छन् । ‘एक÷दुई बण्डल जस्ता मात्र तत्कालीन कुनै जिल्लाका स्थानीय विकास अधिकारीले मागेकोले दियौ, नत्र सबै गोदाममै थन्किएको छ ।’–कर्पोरेसनका एक अधिकारीले भने–‘कर्पोरेसनले ९÷१० प्रतिशत व्याजमा ऋण लिएर किनेको जस्तापाता थन्किएको थन्किएकै छ तर संस्थाले व्याजवापत मात्र ३÷४ करोड घाटा बेहोर्नुपरेको छ ।’
तत्कालीन अवस्थामा क्षतिग्रस्त सरकारी विद्यालय र स्वास्थय केन्द्रहरुको अस्थायी भवनका लागि कर्पोरेसनले खरिद गरेका जस्तापाता उपयोग गर्नुपर्ने भएपनि हालसम्म माग समेत गरेका छैनन् भने सरकारले पनि यी जस्तापाता उपयोग गर्न सकेको छैन । कर्पोरेसनले सरकारी निकायबाहेक बजारमा लगेर विक्री गर्न नसक्ने भएकोले पनि त्यसै थन्काएर राख्नुपरेको गुनासो महाप्रबन्धक श्रेष्ठको छ । जस्तापाता गोदाममै थन्किएर अलपत्र परेपछि कर्पोरेसनले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, आपुर्ति मन्त्रालय, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय लगायतलाई पटक पटक जस्तापाताको उपयोग गर्न पत्र लेखिसकेको छ तर सरकारले यसलाई व्यवस्थापन गर्न सकेको छैन । केही महिना अघि सरकारले भुकम्पपछिको पुर्ननिर्माणका लागि आवश्यक सामग्रीहरुको बैक बनाउने बताएपछि कर्पोरेसनले काभ्रे, नुवाकोट र मकवानपुरमा यसका लागि गोदाम निर्माण गर्ने प्रकृया पनि अघि बढाएको थियो । नुुवाकोटमा नगरपालिकाको जग्गाका साथै काभ्रे र मकवानपुरमा कर्पोरेसनकै जग्गामा गोदाम बनाएर सामग्री वितरण गर्ने लक्ष्य राखेपनि त्यो अघि बढ्न सकेको छैन ।
पुर्ननिर्माण प्राधिकरणले पुर्ननिर्माणका लागि विभिनन सामग्रीहरुको अभाव रहेको बताईरहेका बेला सरकारी निकायको रुपमा रहेको कर्पोरेसनमै सामान डेढ बर्षदेखि स्टक हुँदा पनि त्यसको उपयोग गर्न सकेको छैन । यसको कारणले कर्पोेरेसनको आर्थिक अवस्थामा समेत असर देखिन थालेको छ । यसबारे कर्पोरेसनका अधिकारीहरुलेले पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेललाई भेटेर स्टक सामानको उपयोगका लागि अनुरोध गरेपनि यसको समाधानका लागि ठोस कार्य भएको छैन ।
No comments:
Post a Comment