Wednesday, January 18, 2017

भूकम्पपीडितलाई आजदेखि दोस्रो किस्ता वितरण

    कारोबार संवाददाता   + -

  ८० अर्ब माग

काठमाडौं: भूकम्पपछिको निजी आवास निर्माणका लागि सरकारले आज (बुधबार)देखि दोस्रो किस्ताको रकम वितरण गर्दैछ ।भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये पहिलो चरणमा सिन्धुली र मकवानपुर जिल्लाबाट दोस्रो किस्ताको रकम वितरण गर्न लागेको हो ।
प्रक्रिया पूरा गरेका भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम वितरणका गर्न लागिएको र यसका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पुनर्निर्माण प्राधिकरणका सह–प्रवक्ता डा. भीष्मकुमार भुसालले जानकारी दिए । “हालसम्म पहिलो चरणको प्रक्रिया पूरा गरेर २० हजारभन्दा बढी प्रभावितले दोस्रो किस्ताका लागि निवेदन दिइसकेका छन् ।”
उनले भने, “गोरखामा पनि छिट्टै सुरु गर्दैछांै, अन्य जिल्लामा पनि क्रमशः अघि बढाउनेछौं ।” उनका अनुसार, निजी आवाससम्बन्धी कार्यविधि अनुसार जग हाल्नेलगायतका प्रक्रिया पूरा गरेर सम्बन्धित प्राविधिकद्वारा प्रमाणीकरण गरिएका प्रभावितलाई मात्र दोस्रो चरणको किस्ता वितरण गरिनेछ । सिन्धुलीमा ७३ र मकवानपुरमा २ सयभन्दा बढी लाभग्राही दोस्रो किस्ताका लागि सिफारिस भएर आएको प्राधिकरणले जनाएको छ । 
प्राधिकरणका अनुसार, भूकम्प अतिप्रभावित १४ जिल्लामा ५ लाख ३१ हजार अनुदान लिन योग्य रहेकोमा हालसम्म ५ लाख १० हजार घरधुरीसँग अनुदान सम्झौता भइसकेको छ भने ४ लाख ७५ हजाभन्दा बढीले पहिलो किस्ताको रकम पाइसकेका छन् । 
दोस्रो किस्ताका लागि २८ अर्ब रुपैयाँ अर्थ मन्त्रालयमा मंगलबार नै माग गरिएको र दोस्रो किस्ता वितरण गर्न लागिएका जिल्लामा पहिलो किस्ताका लागि गएको रकमबाटै दोस्रो किस्ता वितरणका लागि अनुरोध गरिएको सह–प्रवक्ता डा. भुसालले जानकारी दिए । 
http://www.karobardaily.com/news/71703

No comments: