Thursday, January 5, 2017

सय मेगावाटको लाइसेन्स अब विभागबाटै

    कारोबार संवाददाता  0 + -

काठमाडौंः ऊर्जा मन्त्रालयले जलविद्युत् आयोजनाको एक सय मेगावाटसम्मको अनुमतिपत्र (लाइसेन्स) अब विद्युत् विकास विभागबाटै दिनेगरी निर्देशिका बनाएको छ । विद्युत् नियमावली २०५० को चौथोे संशोधनअनुसार मन्त्रालयले नयाँ विद्युत् आयोजनाको अनुमतिपत्र सम्बन्धी निर्देशिका तयार गरेको हो । सरकारले गत असोजमा नियमावली संशोधन गरेको थियो । 
ऊर्जा मन्त्रालयले बुधबार निर्देशिका स्वीकृत गरेपछि विभागबाट एक सय मेगावाटसम्मका जलविद्युत् आयोजनाको लाइसेन्स वितरणको व्यवस्था कार्यान्वयन सहज भएको महानिर्देशिक नवीनराज सिंहले जानकारी दिए । 
“नियमावलीअनुसार निर्देशिका बनाएर ऊर्जा मन्त्रालयका सचिवमा रहेको अधिकार विभागका महानिर्देशकलाई दिइएको छ,” उनले भने, “यसले लाइसेन्स सम्बन्धी काम अघि बढाउन अझ सहज भएको छ ।”
यसअघि एक सय मेगावाटभन्दा माथिका आयोजनाको लाइसेन्सका लागि ऊर्जा सचिवस्तरबाटै निर्णय हुनुपर्ने व्यवस्था थियो । जलविद्युत् प्रवद्र्धकहरूले निवेदन दिएपछि विद्युत् विकास विभागबाट मन्त्रालय हुँदै फेरि विभागबाट लाइसेन्स दिँदा लामो समय लाग्ने र अनेक प्रक्रियागत झन्झट बेहोर्नुपर्ने अवस्थाको अन्त्यका लागि निर्देशिकाले सहज हुने विभागले जनाएको छ । 
विद्युत् विकास विभागमा लाइसेन्सका लागि कुनै प्रवद्र्धकले निवेदन दिएपछि विभिन्न शाखा हुँदै ऊर्जा मन्त्रालयका सम्बन्धित शाखा, सहसचिव, ऊर्जासचिव, कानुन उपसचिव र सहसचिव हुँदै फेरि ऊर्जासचिवसम्म फाइल पुगेर सदर भइ पुनः विद्युत् विभाग पुग्ने लामो प्रक्रियागत झन्झट थियो । 
नयाँ व्यवस्थाअनुसार, वहुउद्देश्यीय र जलाशययुक्त बाहेक एक सय मेगावाटसम्मको जलविद्युत् लाइसेन्स दिने अधिकार विद्युत् विकास विभागका महानिर्देशकलाई दिइएको छ ।
अब महानिर्देशकले जलविद्युत् लाइसेन्स वितरणदेखि खारेजीसम्मको अधिकार प्रयोग गर्न सक्नेछन् । लाइसेन्स सम्बन्धी ऐनको संशोधनपछि अन्य महत्वपूर्ण काममा सहभागी हुनुपर्ने ऊर्जा मन्त्रालयको कार्यबोझ समेत धेरै घट्ने अनुमान छ । 
हाल १ सय २० दिनभित्र पाउनुपर्ने लाइसेन्सका लागि पाँच वर्षसम्म लागेको भन्दै जलविद्युत् प्रवद्र्धकहरूले प्रक्रिया छोट्याउन माग गर्दै आएका थिए । उनीहरूले संशोधनले लाइसेन्स लिनका लागि मन्त्रालयसम्म धाउनुपर्ने र विभिन्न व्यक्तिलाई खुसी बनाउनुर्ने अवस्थाबाट केही हदसम्म मुक्ति पाएको बताएका छन् ।
http://www.karobardaily.com/news/70817

No comments: