Sunday, January 6, 2013

सिंहदरबार झन् जादै जान्न

भीम गौतम
‘नमस्कार बाबुराम सर †’ यसो भन्दै आफ्ना अगाडि जम्लाहात जोड्ने मान्छे थुप्रै भेटेका छन् उनले । त्यसैले नौला मान्दैनन् यस्ता प्रश्नलाई । मुसुक्क मुस्काउँछन् अनि प्रस्ट्याउन थाल्छन्– ‘म बाबुराम होइन, शिवप्रसाद हुँ ।’ मानिसहरूको दोष होइन, उनलाई देखेर झुक्किनु । किनकि उनी छन् नै दुरुस्तै प्रधानमन्त्री डा. बाबुराम भट्टराईजस्तै । अनुहार मात्रै होइन, हँसाइ अनि लवाइ पनि उस्तै । बोलीचाली र हाउभाउ पनि फरक छैन । उनी बाबुराम नभएको थाहा पाउनासाथ मानिसहरू छोटो शिष्टाचार पालना गर्दै आफ्नै बाटो तेर्सिन्छन् । उनीचाहिँ मनभरि भ्रातृत्वको आत्मीय तरंग छचल्काउन थाल्छन्– ‘आखिर यो पनि मेरो दाइको सफलता पो हो त, मानिसहरू उहाँलाई सम्मानित नजरले चिन्छन्, त्यसैले त मलाई देखेर झुक्किन्छन् ।’
हो, प्रम डा. बाबुराम उनका सहोदर दाजु हुन् । यहाँ आफ्नो पार्टीको नेता प्रधानमन्त्री हुँदा कार्यकर्ताको फाइँफुर्ती सुरु हुन्छ । आफन्तको त झन् कुरै नगरौँ । प्रधानमन्त्रीको नाम बेचेर अनेकौँ लाभ हत्याउने दाउ हेर्छन् । तर, शिव पृथक् लाग्छन् । नेपाल प्राधिकरणको सामान्य जागिरमै सन्तुष्ट छन् । न बालुवाटार धाउँछन् न त सिंहदरबार । सत्ताधारीको मान्छे हुनेबित्तिकै हाकिमलाई नटेर्ने, सकेसम्म कार्यालय नै नजाने, गए पनि घाम तापेर जागिर पचाउने प्रवृत्ति वैरी रहेछ शिवप्रसादको । त्यसैले त रत्नपार्कस्थित केन्द्रीय कार्यालयको मिटर रिडिङ शाखाको चिसो कोठामा शरीर खियाइरहेका भेटिन्छन् दिनहुँ । त्यही हो उनको सर्वोच्च संसार, जसले उनको जीविकाको मेलो जुटाइदिन्छ ।
लामै समय भइसक्यो डा. बाबुराम प्रमको कुर्सीमा बसेको । तर, शिवप्रसाद कामविशेषले बाहेक प्रम कार्यालय र बालुवाटार पुगेका कुनै प्रसंग रहेनछन् । दाजुभाइको भेट मुस्किलले चाडपर्वमा मात्र कहिलेकाहीँ हुँदो रहेछ । ‘एकपटक प्राधिकरणको कामविशेषले राष्ट्रिय योजना आयोगमा जाँदा प्रम कक्षमा पुगेको छु, घरपरिवारको जमघट हुँदा दुईपटक बालुवाटार पनि पुगेँ होला,’ शिव सुनाउँछन्, ‘मलाई प्रधानमन्त्री कार्यालयका धेरैले चिन्दैनन्, सिंहदरबार पुगेर दाइलाई भेटेको रेकर्डै छैन ।’
कतिलाई लाग्न सक्छ, सायद दाजुभाइबीच फाटो रहेछ । तर, यसो होइन, अगाध श्रद्धा अनि माया गर्छन् उनी आफ्ना दाइलाई । सम्बन्ध आत्मीयतापूर्ण रहेको बताउँछन् । ‘मसँग जे छ त्यसैमा सन्तुष्ट छु त दाइलाई किन करकर गरिरहनु । फेरि दाइको जिम्मेवारी राष्ट्र हेर्नु हो, जनता हेर्नु हो । हामी आफन्तले त उहाँको यो जिम्मेवारीलाई सहज पो पारिदिनुपर्छ । उहाँको प्रधानमन्त्रीत्वकाल सबैखाले दोषबाट मुक्त रहोस् भन्ने कामना गर्छु म । राष्ट्रप्रति आफ्नै खाले जिम्मेवारी मेरो पनि छ, त्यसैमा व्यस्त छु,’ उनी सुनाउँदै छन्, ‘दाइले मबाट अपेक्षा गर्नुभयो भने जस्तोसुकै सहयोग गर्न तयार छु, तर आफ्नै स्वाभिमानमा बाँच्नुपर्छ भन्ने मलाई लाग्छ ।’
पाँच वर्षको अन्तर छ यी दाजुभाइबीच । बाबुराम ५७ वर्षका, शिव ५२ वर्षका । शिव अहिले सहायक प्रशासन अधिकृत छन् । राजनीतिका माहिर खेलाडी बाबुराम प्राधिकरणको मातृनिकाय ऊर्जा मन्त्रालयका प्रमुख पनि हुन् । २०४१ सालमा चौथो तहबाट जागिर प्रवेश गरेका शिव २०४७ साल र त्यसपछि १२ वर्षे सेवाको आधारमा स्वत: बढुवा हुँदै सहायक अधिकृतसम्म पुगेका हुन् । दाइ आफ्नो जागिरलाई पायक पर्ने मन्त्रालयको प्रमुख हुँदा पनि उनले अहिलेसम्म आफ्नो बढुवा गरिदिन भनेका रहेनछन् । ‘मैले अहिलेसम्म दाइलाई मेरो बढुवा गरिदिनुपर्‍यो भनेको छैन, भन्दिनँ पनि । आफ्नो पेसामा म आफैँ सक्षम छु,’ उनले प्रस्ट्याए, ‘अरू मान्छेका लागि पनि दाइसँग भनसुन गर्ने छैन म । उहाँकहाँ धाएर अनावश्यक तनाब दिइरहनु हुन्न । राष्ट्रको विकास गर्छु भनेर हिँडेकालाई डिस्टर्ब गर्नु हुन्न । उहाँ पहिले प्रम त्यसपछि मात्र हाम्रो आफन्त ।’
त्यसो त डा. बाबुरामलाई पत्नी हिसिला यमीको दबाबमा आएर नातावाद कृपावादलाई प्रश्रय दिएको आरोप पनि लाग्ने गरेको छ । हिसिलाले थुप्रै ठाउँमा आफ्ना दिदीबहिनीलाई नियुक्त गराएकी छन् । ‘हावा नचली पात हल्लिँदैन,’ सहरमा मानिसहरू कुरा काट्छन्, ‘विद्वान् बाबुरामको लोकप्रिय साख गिराउनमा उनकै पत्नीको सबैभन्दा ठूलो हात छ ।’ तर, यी आरोपहरूबीच शिवको नाम कहिल्यै मुछिँदैन, उनी त आफ्ना दाजुलाई सकेसम्म यस्ता आरोपबाट बचाउने कामना पो गरिरहन्छन् । त्यसो त आफैँ सक्षम छ शिवको परिवार पनि । कानुनमा स्नातक गरेका छन् उनले । पत्नी दुर्गा पद्मकन्या क्याम्पसमा पढाउँछिन् । छोरा प्रेरितले काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेका छन्, अहिले बेरोजगारै छन् । छोराका लागि पनि दाइसँग भनसुन गरेका छैनन्, शिवले । ‘रुने, कराउने गरे भन्दैमा कसैको नाजायज फाइदाका लागि काम गरिदिनु हुन्न । दशकौँ गरेको संघर्ष र लडाइँ देश र जनताका लागि हो भन्ने भुल्नुहुन्न । माओवादीको त्यही सिद्धान्तको कार्यकर्ता भएका नाताले परिवर्तन नातागोताका लागि होइन, देश, समाज र जनताका लागि हुनुपर्छ भन्ने मेरो चिन्तन र मान्यता हो,’ उनी भन्छन्, ‘छोरालाई पनि प्रस्ट सुझाब छ मेरो, भनसुनबाट होइन क्षमता देखाएर खानुपर्छ जागिर ।’ चाकडी गरेर अघि बढ्नुमा हीनताबोध लाग्दो रहेछ उनलाई, चाहे आफ्नै दाजुको किन नहोस् ।
उनी पनि सुन्छन् दाइमाथि लागेका आरोपहरू । कसैकसैले भन्छन् रे, ‘भाउजूले तपाईंका दाइलाई बिगार्नुभयो †’ तर, शिव यी कुरामा विश्वास गर्दै गर्दैनन् । भन्छन्, ‘कुनै पनि नारीले आफ्नो श्रीमान्को कुभलो गरौँ, उसको साख गिराऔँ भन्ने सोच्दैनन् ।’ बरु दाजुको स्वभाव अलि भावुक खाले भएकाले नातागोता तथा रोइकराइ गर्नेहरूका सामु पग्लिएको हुन सक्ने अनुमान गरे । ‘त्यही भावुक पनका कारण रोइकराइ गर्ने नातागोताका अगाडि अलि नरम हुनुभएको हो कि ? तर, त्यत्रो युद्ध गरेर आएको मान्छे स्वार्थवश खसालिएका आँसुका सामुन्ने पग्लनु हुन्न । देश, जनता र समाजका हितमा लाग्नुपर्छ ।’
दाइसँग अनुहार मिलेकै कारण माओवादीको सशस्त्र युद्धका बेला धेरै दु:ख भने पाएका छन् शिवले । २०५२ सालमा माओवादीले भूमिगत आन्दोलन गरिरहँदा उनी कोटेश्वरस्थित दाइको घरमा बसेर प्राधिकरणको नोकरी भ्याइरहेका थिए । घरमा दैनिकजसो राति १२ बजे प्रहरीले ढोका ढकढक्याएर दु:ख दिनु त सामान्य नै थियो । दाइ युद्धमा होमिएकै कारण कोटेश्वर, तीनकुने, महेन्द्र पुलिस क्लब, हनुमानढोका, बालाजु, सोह्रखुट्टेका प्रहरी चौकीमा थुनिनुपरेका धेरै घटना उनीसँग ताजै छन् । केही ठाउँमा २/४ घन्टा त, केही ठाउँमा २/४ दिन थुनिएका उनी एकपटक त डेढ महिनासम्म जेल बसेका थिए । २०५५ सालमा थापाथली क्याम्पसमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको कार्यक्रम थियो । शनिबारको बिदा भएकाले शिव पनि त्यहाँ गए । त्यहीँबाट पक्राउ गरेर उनलाई प्रहरीले डेढ महिना थुनेको थियो । बाबुरामसँग अनुहार मात्र मिलेको र प्राधिकरणमा जागिरे रहेको सार्वजनिक भएपछि भने उनले पछिल्लो समयमा कम दु:ख पाए । ‘दाइ राजनीतिमा र म जागिरमा भए पनि द्वन्द्वका बेला ठूलो त्रासमा बाँचियो, अनाहकमा मरिएला भन्ने ठूलो डर थियो, अझ दाइहरूको टाउकाको मूल्य तोकेको बेलामा त ठूलै अप्ठेरो बेहोर्नुपर्‍यो,’ उनी सुनाउँछन् ।
सशस्त्र द्वन्द्वका बेला कैयौँ नकारात्मक कुरा गर्थे मानिसहरू । विद्वान् बाबुरामले पनि हिंसाको बाटो अँगालेछन् भनेर कुरा काट्थे । तर, आफूले दाजुका बारेमा कहिल्यै नकारात्मक कुरा नसुनेको उनी बताउँछन् । दाइले लिएको बाटो गलत छ भन्ने उनलाई कहिल्यै लागेन रे † उनी आफैँ पनि पहिल्यैदेखि वामपन्थी आन्दोलनमा सक्रिय भएकाले संघर्षात्मक आन्दोलनबाट नै परिवर्तन सम्भव छ भन्ने मान्यता राख्थे ।
गोर्खाको खोप्लाङदेखि सशस्त्र द्वन्द्व अनि प्रधानमन्त्रीको कुर्सीसम्म पुग्दा आफ्ना दाइको सरल जीवनशैलीबाट विशेष प्रभावित छन् उनी । २८ वर्षदेखि प्राधिकरणमा जागिर खाइरहेछन् । पियनदेखि कार्यकारी निर्देशकसम्म सबैसँग आफ्नो समानखाले सम्बन्ध र व्यवहार रहेको उनी बताउँछन् । सम्झिए– ‘आमा पनि सधैँ साधारण जीवनयापन गर्नु भन्नुहुन्थ्यो ।’
दाह्री पाल्ने र काट्ने संयोग पनि एउटै परेको छ दाजुभाइबीच । पहिले दाजुभाइले नै दाह्री पालेका थिए । २०६१ साल फागुनमा आमा बित्दा शिवले दाह्री काटे, केही समयपछि शान्तिपूर्ण राजनीतिमा आएका बाबुरामले पनि त्यसै गरे । आज दुवै जना दाह्री पाल्दैनन् । परिस्थिति फेरिइसक्यो । ऊ बेलाका बाबुरामको परिचयले आज थुप्रै शक्तिशाली हाँगाबिँगा थपिसक्यो । उनलाई पछ्याउने र रानो माहुरीलाई जसरी घेर्नेहरूको बाक्लै जमात बनेको छ । शिवरामको हकमा भने प्राधिकरणको जागिरे अवधि र आफ्नै उमेर मात्र बढिरहेको छ । उनका अघिपछि लाग्ने व्यक्ति निकै कम छन् । तर, स्वाभिमान र आत्मपहिचानमा बाँच्ने दृढता र आदर्श भने कसैको भन्दा कम छैन । उनी शक्तिको होइन, सकारात्मकता अनि दायित्वको पुजारी बन्न रुचाउँछन् । अनि आफ्ना दाजुलाई आगाध स्नेह पनि गर्छन् । त्यसैले त कामना गर्छन्– दाजुलाई सधैँ सबैले मन पराइरहुन् अनि प्राधिकरणको गेटबाट निस्कनासाथ श्रद्धापूर्वक मानिसहरूले उनलाई भनुन्, ‘नमस्कार बाबुराम सर †’

1 comment:

Anonymous said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन