Sunday, May 25, 2014

भारतद्वारा विद्युत् प्रसारण तार परिवर्तनको स्वीकृति


भीम गौतम\राजधानी
काठमाडौं, ८ जेठ
    भारतले कटैया–कुसाहा प्रसारण लाइनको तार (कन्डक्टर) परिवर्तनका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ ।
    भारतले तेस्रो मुलुकको उत्पादन आयात गर्न दिने विशेष निर्णय गर्दै प्राधिकरणलाई बल्ल भारततर्फको प्रसारण लाइनको कन्डक्टर परिवर्तनका लागि स्वीकृति दिएको हो । भारतीय राजदूतावासले इमेलमार्फत स्वीकृति भएको प्राधिकरणलाई जानकारी गराएको छ । ‘भारतले तेस्रो मुलुकको उत्पादन आयात गर्ने गरी विशेष निर्णय गरेको छ,  ।’ प्राधिकरणका कार्यकारी निर्देशक अर्जुन कार्कीले भने, ‘यो स्वीकृतिसँगै भारततर्फको विहार राज्यसँग जोडिएको ३ किलोमिटर कन्डक्टर परिवर्तनको कार्य छिट्टै सुरु हुनेछ ।’
    भारतको अर्थ मन्त्रालयअन्तर्गतको सेन्ट्रल बोर्ड अफ एक्साइज एन्ड कस्टम ड्युटिजुले विशेष निर्णय गरेपछि कन्डक्टर निर्माणको बाटो खुलेको छ । प्राधिकरणले तेस्रो मुलुकको उत्पादन आयात गर्दा भारतलाई भन्सार भने तिर्नुपर्नेछ । लाइन निर्माण सुरु गरेको सात दिनभित्रै ३ किलोमिटर प्रसारण लाइनको कन्डक्टर सुदृढीकरणको कार्य सम्पन्न हुने प्राधिकरणले जनाएको छ । कन्डक्टरका लागि आवश्यक तार अमेरिकाबाट ल्याउनुपर्ने हुन्छ ।
    ३१ असारमै प्राधिकरणले स्वीकृतिका लागि भारत सरकारलाई पत्र पठाए पनि स्वीकृति पाएको थिएन । जसका कारण नेपालतर्फको कटैया–कुसाहा प्रसारण लाइनको १२ किलोमिटर कन्डक्टरको गत असोजमै सुदृढीकरण परिवर्तन गरिसके पनि भारततर्फको ३ किलोमिटर कन्डक्टर परिवर्तन हुन सकेको थिएन । प्राधिकरणले नै सो लाइन सुदृढीकरण गरे पनि त्यसका लागि आवश्यक उपकरण भारततर्फको क्षेत्रमा पु¥याउन तथा अन्य उपकरणहरू विभिन्न देशबाट आयात गर्नका लागि भारतको स्वीकृति आवश्यक थियो । ११ महिनादेखि भारत सरकार र प्राधिकरणबीच स्वीकृतिका लागि पत्राचार हुँदै आएको थियो ।
    कटैया–कुसाहा प्रसारण लाइनको सुदृढीकरणपछि हाल सो लाइनबाट ९० मेगावाट विद्युत् आयात भएकामा भारत सहमत भएमा १ सय ५० मेगावाटसम्म आयात गर्न सकिने प्राधिकरणले जनाएको छ । आगामी हिउँदमा दैनिक १४ घन्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरिरहेका बेला यो लाइनको सुदृढीकरणपछि दैनिक १२ घन्टामै लोडसेडिङ सीमित गर्ने प्राधिकरणको योजनामा सहयोग पुग्नेछ ।

No comments: