–कार्बन उत्सर्जन गरेवापत १० करोड आम्दानी हुने
भीम गौतम\राजधानी
काठमाण्डौं, २७ बैशाख । कार्बन उत्सर्जन न्यूनीकरण गरेको भन्दै नेपालमा निर्माण भएका ६० हजार वायोग्याँस प्लान्ट संयुक्त राष्ट्र संघको स्वच्छ विकास संयन्त्र (सीडीएम)मा दर्ता भएका छन् ।
जलवायु परिवर्तनका लागि संयुक्त राष्ट्र संघीय खाका महासन्धी अन्तर्गतको संयन्त्रको सचिवालयमा शुक्रबार मात्र ६० हजार वायोग्याँस प्लान्ट दर्ता भएको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको जलवायु एवं कार्बन युनिटका प्रमुख एवं सहायक निर्देशक राजु लौडारीले जानकारी दिए । ‘८ मे मात्र नेपालमा निर्माण सम्पन्न भएका ६० हजार वायोग्याँस प्लान्ट कार्यक्रमगत रुपमै स्वच्छ विकास संयन्त्रमा दर्ता भएका छन् ।’–उनले भने–‘पहिला छुट्टाछुट्टै रुपमा वायोग्याँस परियोजना दर्ता गर्ने गरिएकोमा अब कार्यक्रमगत रुपमै दर्ता सुरु भएको छ, अब निर्माण हुने सबै संयन्त्रमा समावेश हुनेछन् ।’
उनका अनुसार, सो परिणामको वायोग्याँस प्लान्टमार्फत १ लाख ६० हजार टन कार्बन उत्सर्जन न्यूनीकरण भई नेपालले १० करोड रुपैयाँ आम्दानी गर्नेछ । संयन्त्रमा दर्ता भएपछि सचिवालयमार्फत प्रमाणित भएपछि कार्बन उत्सर्जन वापतको रकम नेपालले पाउनेछ । एउटा वायोग्याँसबाट एक बर्षको तीन टन कार्बन विर्सजन गर्नेछ ।
८ मे २०१४ मा १९ हजार ९ सय २७, १९ हजार ९ सय ५९ र १९ हजार ९ सय ७० वायोग्याँस प्लान्ट कार्यक्रमात्मक गत रुपमा संयन्त्रको सचिवालयमा दर्ता भएकोे छ । हालसम्म १ लाख ४० हजार प्लान्ट संयन्त्रमा दर्ता भैसकेको छ । ३१ जनवरी २०१३ मा पहिलोपटक संयन्त्रमा वायोग्याँस प्लान्ट दर्ता भएको थियो । पहिला परियोजनात्मक रुपमा संयन्त्रमा दर्ता हुने भएपनि अहिले कार्यक्रमात्मक रुपमा दर्ता भएपनि नेपालमा निर्माण भएका सबै वायोग्याँस प्लान्टहरु संयन्त्रमा दर्ता हुने केन्द्रले जनाएको छ ।
विश्वका ठूला उद्योगधन्दा, कलकारखाना लगायत सञ्चालन गर्ने राष्ट्रहरुले कार्बनडाई अक्साईडको उत्पादन गर्ने गरेकोमा ती राष्ट्रले कार्बन विर्सजन गर्ने राष्ट्रलाई पैसा तिर्नुपर्ने व्यवस्था संयुक्त राष्ट्र संघको संयन्त्रमार्फत गरिएको छ । स्वच्छ उर्जा उत्पादन गर्ने राष्ट्रहरुले सो रकम पाउनेछन् भने बढी कार्बन उत्पादन गर्ने विकसित राष्ट्रहरुले त्यो रकम तिर्नुपर्ने व्यवस्था गरएको छ ।
नेपालले वायोग्याँसका साथै लघु जलविद्युत, सुधारिएको चुल्हो र घट्टमार्फत उर्जा उत्पादन गरे वापत सो रकम पाउनका लागि प्रकृया अघि बढाएको छ । ४ सय ५० लघु जलविद्युत आयोजना समेत संयन्त्रको सचिवालयमा दर्ता भैसकेका छन् भने २२ हजार सुधारिएको चुल्हो र २२ सय सुधारिएको घट्ट समेत संयन्त्रमा दर्ता हुने प्रकृयामा छन् । लघु जलविद्युतको संयन्त्रमा दर्ता भएर प्रमाणित गर्ने अन्तिम चरणमा पुगेको केन्द्रले जनाएको छ ।
नेपालमा तीन लाख घरधुरीमा वायोग्याँस, आठ लाख घरधुरीमा सुधारिएको चुल्हो र ३५ सय घरधुरीले सोलार कुकर निर्माण भैसकेको छ । २० बर्षअघिदेखि प्रवद्र्धन केन्द्रले स्वच्छ उर्जा अर्थात नवीकरणीय उर्जाको प्रवद्र्धन सुरु गरेर निर्माण द्रुतगतिमा अघि बढेपनि सन् २०१० देखि मात्र स्वच्छ संयन्त्रमा दर्ता हुन सुरु गरेको हो ।
No comments:
Post a Comment