भीम गौतम\राजधानी
काठमाण्डौं, २२ बैशाख । आइतबार र सोमबार काठमाण्डौ र आसपासका क्षेत्रमा ठूलो पानी बर्सियोे तर त्यही पानी नेपालको एक मात्र जलाशययुक्त कुलेखानी जलविद्युत आयोजनाको लागि निष्ठुरी बन्यो ।
दैनिक १२ घण्टाको लोडसेडिङ गरेर आलोचना खेपिरहेको नेपाल विद्युत प्राधिकरणको मेरुदण्डको रुपमा लिइने कुलेखानी जलाशययुक्त आयोजना क्षेत्रमा पानी नपरेर निष्ठुरी बनेको हो । कुलेखानी जलाशयमा जति पानी भरिन्छ, त्यसकै आधारमा लोडसेडिङ पनि निर्धारण हुने भएकोले बैशाखको बर्षा लोडसेडिङ न्यूनीकरणका लागि महत्वपूर्ण मानिन्छ ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार, काठमाण्डौ क्षेत्रमा आइतबार २४ बर्ष यतानै सबैभन्दा बढी ३२ दशमलब ५ मिलिमिटर पानी परेको थियो भने सोमबार ६ दशमलब ८ मिलिमिटर पानी पर्यो । तर काठमाण्डौं जलमग्न हुँदा पनि कुलेखानीमा भने पानीनै परेन ।
प्राधिकरण अधिकारीका अनुसार, काठमाण्डौमा दुई दिनसम्म ठूलो बर्षा भएपनि कुलेखानी क्षेत्रमा भने खास बर्षानै भएन । ‘काठमाण्डौमा यति ठूलो पानी पर्यो तर कुलेखानी क्षेत्रमा पानी परेन ।’–प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रले भने ।
ठूलो बर्षा भएपछि लोडसेडिङको कारणले आलोचित बनेका प्राधिकरणका कर्मचारीहरुको ध्यान कुलेखानी जलाशयतिर तानिन्छ, आइतबार र सोमबार प्राधिकरणका धेरै कर्मचारीले कुलेखानी जलाशयका कर्मचारीहरुस“ग कति पानी पर्यो भनेर सोधिरहे तर नपरेको बताएपनि धेरै निराश पनि बने । कुलेखानी जलाशय क्षेत्रमा कार्यरत कर्मचारीहरुका अनुसार, पानी जम्मा नहुने बज्रवाराही क्षेत्रमा ठूलो पानी पर्यो तर नजिकैको कुलेखानीमा पानी जम्मा हुने पालुङ, सिम भज्याङ, चन्द्रागिरी, थाखेल क्षेत्रमा खासै पानी परेन ।
कुल सात सय मेगावाट क्षमता भएकोमा ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी दोस्रो मात्र जलाशययुक्त आयोजना छन् । हिउँदमा कुल उत्पादन क्षमताको एक तिहाई मात्र उत्पादन हुने हुनाले लोडसेडिङ घटाउने मेदरुण्डको रुपमा लिने गरिएकोले यसलाई सबैभन्दा महत्वपूर्ण आयोजनाको रुपमा हेरिन्छ । जति पानी बढी पर्यो, त्यतिनै जलाशय भरिने र लोडसेडिङ घटाउन सहयोग पुर्याउने हुनाले पानी परेपछि प्राधिकरणका कर्मचारीहरु खुशी हुने गरेका छन् तर आइतबार र सोमबार काठमाण्डौमा भएको ठूला बर्षा कुलेखानीका लागि निष्ठुरी बनेपछि कर्मचारीहरु समेत निराश बनेका छन् ।
गत कार्तिकसम्ममा कुलेखानी जलाशय भरिएर १५ सय ३० मिटर पुगेपनि हिउँदभरि अहिले घटेर पानीको सतह १५ सय १० मिटरमा झरेको छ । पालुङ, चलेख, चित्लाङ, सिमखोला, काल्ची खोला, सेती खानी लगायतका ९ खोला खोल्साबाट आएको पानी कुलेखानीमा जम्मा हुने गरेको छ ।
No comments:
Post a Comment