Saturday, October 3, 2015

पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय बहस सुरु

भीम गौतम /राजधानी
काठमाडौं, १४ असोज
भूकम्पपछिको पुनर्निर्माणका लागि दुईदिने अन्तर्राष्ट्रिय बहस सुरु भएको छ । ‘बनाऊ राम्रो बलियो’ का लागि भूकम्पपछिको पुनर्निर्माणका लागि एसिया र प्यासिफिक मुलुकका विज्ञहरूको सहभागितामा बहस सुरु भएको हो ।
राष्ट्रिय योजना आयोग, युनाइटेड नेसन्स इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया प्यासिफिक (युनेस्क्याप) र सार्क विपद् व्यवस्थापन केन्द्रको संयुक्त आयोजनामा आइतबारदेखि सुरु भएको बहसमा भूकम्पपछिको पुनरोत्थान, पुनर्निर्माण र पुनःस्थापनाबारे अनुभव आदानप्रदान र अभ्यासबारे छलफल हुनेछ ।
नेपालसहित भारत, पाकिस्तान, थाइल्यान्ड र इरानलगायतका राष्ट्रका विज्ञहरू सहभागी बहस भूकम्पपछिको नीति, संस्थागत संरचना र कार्यान्वयन पक्षमा केन्द्रित हुनेछ । विश्वमा भएका विपद्का घटनामध्ये ४० प्रतिशत एसिया र प्यासिफिक क्षेत्रमा मात्र हुने उल्लेख गर्दै बहसमा यसका चुनौती र अवसरहरूलाई केलाइनेछ ।
बहसको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले सामाजिक र आर्थिक पुनरोत्थान र विकास हुने गरी पुनर्निर्माण अघि बढाइने बताए । ‘परनिर्भताको अन्त्य गर्दै आर्थिक र सामाजिक पुनर्निर्माण र पुनःस्थापनालाई जोड दिएका छौँ ।’
उपाध्यक्ष पोखरेलले भने, ‘नवनेपाल निर्माणका लागि लगानी बढाउने, क्षमताको विकास गर्ने र सबै पक्षबीच समन्वय गरेर अघि बढ्ने अवसर आएको छ भने मानवीय स्रोत परिचालन, सहकार्य र समन्वय, स्रोत र सामग्रीको उपयोगजस्ता चुनौती छन् ।’
युनेस्यापकका सूचना, सञ्चार प्रविधि तथा विपद् जोखिम न्यूनीकरण विभागका निर्देशक सामरिका सिम्यिानेले पुनर्निर्माण गर्दा आर्थिक र सामाजिक पक्षमा जोड दिनुपर्ने बताए । कार्यक्रममा आयोगका सदस्य–सचिव सुरेशमान श्रेष्ठलगायतले नेपालको पुनर्निर्माण र यसका सम्भावनाबारे चर्चा
गरेका थिए ।
सार्क विपद् केन्द्रका निर्देशक सन्तोषकुमारले पुनर्निर्माण गर्दा संस्थागत संरचना, नीति र कार्यन्वयन पक्षलाई जोड दिनुपर्ने बताए । कार्यक्रममा नेपालको राष्ट्रिय योजना आयोगका सदस्य डा. गोविन्द नेपालले भूकम्पपछिका तत्कालीन राहत, उद्धार र पुनर्निर्माण नीति, भूकम्पपछिको क्षति आँकलन (पीडीएनए) प्रतिवेदन, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन, पुनर्निर्माण ऐनलगायतबारे चर्चा गरेका थिए ।
कार्यक्रममा इरानको रोड, हाउजिङ एन्ड अर्बान डेभलपमेन्ट रिसर्च सेन्टरका अध्यक्ष सेकारचिज्यादेह मोहमद, पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका सदस्य इसिक्यु अहमद, भारतको विहार राज्य विपद् व्यवस्थापन प्राधिकरणका उपाध्यक्ष अनिलकुमार सिन्हालगायतले आफ्नो देशमा भएको विपद्पछिको व्यवस्थापन अनुभवबारे चर्चा
गरेका थिए । सहभागी सबै राष्ट्र र विज्ञहरूले आफ्नो अनुभवहरू प्रस्तुत गर्ने बहसमा नेपालले पुनर्निर्माणबारे समेत छलफल हुने कार्यक्रम छ । 
http://rajdhani.com.np/article/0630070001443754880

No comments: