Wednesday, October 28, 2015

हुवेईका सबै गुणस्तरहीन ट्रान्सफर्मर प्रतिस्थापन गर्ने निर्णय

भीम गौतम /राजधानी
काठमाडौं, १० कात्तिक
चीनको हुवेई सनलाइट इलेक्ट्रिक कम्पनीद्वारा खरिद गरिएका सबै ट्रान्सफर्मरहरू प्रतिस्थापन गर्ने निर्णय भएको छ ।नेपाल विद्युत् प्राधिकरणले खरिद गरेका सबै ट्रान्सफर्मर प्रतिस्थापन गर्ने पत्र पठाएको हुवेईले ५५ थानबाहेक थप नपठाएपछि विद्युत् प्राधिकरण आर्बिटेसन (मध्यस्थकर्ता) गएकामा सबै प्रतिस्थापन गर्ने निर्णय गरेको हो । हुवेईद्वारा खरिद गरिएका ट्रान्सफर्मर गुणरस्तरहीन पाइएको यो प्रकरणमा तत्कालीन विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवसहित २१ कर्मचारी र २ हुवेईका प्रतिनिधिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकामा अदालतले दोषी ठह¥याउँदै २४ करोड धरौटी मागेको थियो ।
आर्बिटेसन टिमले दुई महिनाभित्र समय तालिका बनाएर नौ महिनाभित्र सबै प्रतिस्थापन गर्ने निर्णय गरेको विद्युत् प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका जिन्सी व्यवस्था महाशाखा प्रमुख नुतनदेव भट्टराईले भने । आर्बिटेसनमा प्राधिकरणको तर्फबाट किशोरबाबु अर्याल र हुवेईको तर्फबाट धु्रवराज भट्टराई आर्बिटेटर थिए । आर्बिटेसनको निर्णय हुवेईले कार्यान्वयन गरेमा प्रतिस्थापन हुन बाँकी १९ सय ४० ट्रान्सफर्मर नौ महिनाभित्र नेपाल भित्रने छन् । निर्णय नमानेमा विद्युत् प्राधिकरणले यस विरुद्ध अदालतमा जानुपर्ने अवस्था सिर्जना हुन सक्ने प्राधिकरणका एक अधिकारीले जानकारी दिए । हुवेईले २८ सेप्टेम्बर २०१२ मा ५५ थान प्रतिस्थापन गरेको थियो ।
गुणस्तरहीन ट्रान्सफर्मरमा पठाउने क्रममा भएको बदमासी स्वीकार्दै विद्युत् प्राधिकरणसमक्ष लिखित प्रतिबद्धता गरेपछि दुई वर्षअघिको सेप्टेम्बरमा प्राधिकरण सञ्चालक समितिले प्रतिस्थापन गर्ने निर्णय गरेको थियो । विद्युत् प्राधिकरणका अनुसार ट्रान्सफर्मर नेपाल पठाउने क्रममा बदमासी भएको स्वीकार्दै पछिल्लो पटक १९ अगस्ट र पुनः ११ सेप्टेम्बर २०१३ मा हुवेईले सबै ट्रान्सफर्मर प्रतिस्थापन गर्न प्राधिकरणमा पत्र लेखेको थियो । लिखित प्रतिबद्धताअनुसार सबै ट्रान्सफर्मर प्रतिस्थापन नगरेपछि विद्युत् प्राधिकरणले जनावरी २०१४ मा आर्बिटेसनमा जाने निर्णय
गरेको थियो ।
०६७ र ०६८ मा हुवेईमार्फत विश्व बंैकको सहयोगमा ७ सय ३५ थान तथा प्राधिकरणले १२ सय ६० थान ट्रान्सफर्मर खरिद गरेको थियो । खरिद गरिएका ट्रान्सफर्मर गुणस्तरहीन पाइएपछि त्यसबारे अनुसन्धान गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरेर भ्रष्टाचार गरेको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले तत्कालीन विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवसहित प्राधिकरणका २१ कर्मचारी र ठेकेदार कम्पनीका दुई प्रतिनिधिसँग अदालतले २५ हजारदेखि १७ करोड ५० लाख रुपैयाँसम्म धरौटी माग गरेको थियो । उनीहरूलाई यही अभियोगमा पक्राउ गरेकामा अधिकांश धरौटीमा रिहा भएका थिए । उनीहरूले यस विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेर हाल विचाराधीन
अवस्थामा छ ।
आयोगले ४१ करोड १८ लाख रुपैयाँ बराबर बिगो माग गर्दै ठेकेदार कम्पनीका प्रतिनिधिसहित २३ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकोमा अदालतले २४ करोड ४ लाखबराबरको धरौटी माग गरेको हो । विशेष अदालतले पहिलो चरणको ट्रान्सफर्मर खरिद सम्बन्धी मुद्दामा १५ जनालाई १६ करोड ६८ लाख ७५ हजार तथा दोस्रो चरणको खरिदमा ११ जनालाई ७ करोड ३५ लाख ७५ हजार बराबरको धरौटी मागेको हो । दुवै मुद्दामा हुवेई इलेक्ट्रिक कम्पनी चीनका महाप्रबन्धक हु जेन क्वाङग, प्राधिकरणका कार्यकारी निर्देशक एवं तत्कालीन महाप्रबन्धक रामेश्वर यादव र हुवेईका नेपाल एजेन्ट जु ई त्यानलाई छुट्टाछुट्टै धरौटी लिन विशेष अदालतले आदेश दिएको थियो । सबैभन्दा बढी क्वाङगसँग १७ करोड ५० लाख तथा सबैभन्दा कम प्राधिकरणका सहायक सरोज श्रेष्ठलाई २५ हजार रुपैयाँ धरौटी माग गरिएको छ । 
http://www.erajdhani.com/article/0832266001446001526

No comments: