Sunday, July 23, 2017

चिनियाँ कम्पनीद्वारा ढल्केबर सबस्टेसनको काम बन्द

    भीम गौतम    0 http://www.karobardaily.com/news/80952+ -

समाचार प्रतिनिधि तस्विर

मन्त्री सामु गरेको प्रतिबद्धता कागजमै सीमित

काठमाडौं : भरतपुर–वर्दघाट प्रसारण लाइनको ठेक्का तोडेको प्रतिशोधमा चिनियाँ कम्पनीले भारतबाट थप बिजुली ल्याउनका लागि अत्यावश्यक २२० केभीको ढल्केबर सबस्टेसनको काम बन्द गरेको छ । 
ठेकेदार सेन्टरल चाइना पावर ग्रिड इन्टरनेसनल कम्पनी (सीसीपीजी) भरतपुर–वर्दघाट प्रसारण लाइनमा निर्माणमा ढिलाइ गरेपछि नेपाल विद्युत् प्राधिकरणले ठेक्का तोडेकोमा सोही कम्पनी ठेकेदार रहेको सबस्टेसन निर्माणकार्य बिहीबारदेखि बन्द गरेको हो ।
नेपालको विद्युत् आवतजावतका लागि महत्वपूर्ण मानिएको भरतपुर–वर्दघाट प्रसारणलाइन चार वर्षअघि सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर ७५ किमि लामो सो प्रसारणलाइन ठेकेदार कम्पनीले विगत १९ महिनादेखि बेवास्ता गर्दै आएको थियो ।
१ अर्ब १० करोडमा ठेक्का सम्झौता गरेको भरतपुर–वर्दघाटमा सीसीपीजीले राखेको करिब २० करोड पर्फर्मेन्स ग्यारेन्टी पनि जफत गर्ने निर्णय गरेकोमा बुधबारमात्र बैंकले जफत गरिसकेको छ । 
जेठ अन्तिम साता प्राधिकरणले ठेक्का तोडेपछि चिनियाँ कम्पनी त्यसविरुद्ध अदालत गएको छ तर अन्तिम निर्णय आइसकेको छैन । अदालतको आदेश नआई  प्रसारण लाइनमा भएको विवादलाई लिएर सबस्टेसनको काम बन्द गरेपछि सबस्टेसन निर्माणमा झन अन्योलता थपिएको आयोजनाले जनाएको छ ।
“एउटा प्रसारणलाइन निर्माणमा देखिएको विवादलाई लिएर त्यसको प्रतिशोधमा अर्को सबस्टेसन निर्माणमा चिनियाँ कम्पनीले बिहीबारदेखि काम बन्द गरेको छ ।” सबस्टेसन परियोजना प्रमुख राधेशरण महतोले भने, “ढल्केबर सबस्टेसनको काम अघि बढाउन गत शनिबारदेखि ढल्केबर–हेटौंडा प्रसारण लाइनको तार हटाउन विद्युत् सटडाउन (बन्द) गर्ने योजना रहेकोमा पनि ठेकेदार कम्पनीले काम मानेन ।”
ठेकेदार कम्पनीले काम रोक्ने चेतावनीसँगै बिहीबारदेखि काम बन्द गरेपछि बिहीबार दिनभर प्राधिकरण र कम्पनीका अधिकारीबीच छलफल भएको थियो । विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण लाइनका उपकार्यकारी निर्देशक राजीव शर्मालगायत छलफलमा ठेकेदार कम्पनीले जफत रकम फिर्ता गर्नुपर्ने लगायतका माग राखे पनि कुनै निक्र्योलमा पुगेन । 
११ महिनाअघि अर्थात् भदौको पहिलो साता ठेकेदार कम्पनीले तीन महिनाभित्र सबस्टेसनको काम पूरा गर्ने प्रतिबद्धता जनाएको थियो तर सम्पन्न हुनुपर्ने मितिको समय सात महिना नाघिसक्दा पनि प्रतिबद्धता कागजमै सीमित बनेको छ ।
अघिल्लो वर्षको भदौ पहिलो साता तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको उपस्थितिमा ठेकेदार कम्पनीले गत मंसिर (डिसेम्बर) सम्म सम्पन्न गर्ने प्रतिबद्धता जनाएकोमा कागजमै सीमित बनेको हो ।
त्यो बेला ठेकेदार कम्पनीका प्रतिनिधि फाङले मन्त्री सामु समयमै बनाउने प्रतिबद्धता लिखित रूपमै जनाएका थिए भने सबस्टेसन परियोजना प्रमुख राधेशरण महतोले समस्या समाधान गरिदिने प्रतिबद्धता लिखित रूपमै जनाएका थिए । 
समयमै प्रसारणलाइन नबनेपछि प्राधिकरणले अगस्टसम्म सम्पन्न गर्ने गरी समय सारेको थियो तर त्यो समयभित्र पनि पूरा नभएपछि फेरि अक्टोबरसम्मका लागि अन्तिम मिति तोकेको छ ।
विवादको कारणले काम बन्द गरेपछि आयोजना निर्माणकार्यमा झन अन्योलता थपिएको छ । समयमै ढल्केबर सबस्टेसन नहुँदा दुई अस्थायी रूपमा ट्रान्फर्मर राखेर नेपालले भारतबाट विद्युत् आयात गरिरहेको छ ।
एउटा अस्थायी ट्रान्सफर्मरका लागि एक करोड ३० लाख तथा अर्को अस्थायी ट्रान्सफर्मरका लागि १ करोड २५ लाख भाडा तिरेर आयात गर्नुपरेको प्राधिकरणले जनाएको छ । गत हिउँदमा यी दुई अस्थायी ट्रान्सफर्मरमार्फत १४५ मेगावाट आयात गरिरहेकोमा हाल भने एक सय मेगावाटमात्र आयात भइरहेको प्राधिकरणले जनाएको छ ।
“सबस्टेसन नबन्दा करोडौंको घाटा छ, फेरि बन्द गरेपछि ठूलो समस्या परेको छ, चिनियाँ कम्पनीको यो बदमासीका कारण फेरि सबस्टेसनको ठेक्का तोड्नुपर्ने होकि भन्ने अवस्थामा पुगेका छौं,” प्राधिकरणका एक उच्च अधिकारीले भने । 

No comments: