Wednesday, July 5, 2017

मुग्लिन—नारायणघाट सडक खण्डमा राति सवारी नचलाउन विकास समितिको निर्देशन

     कारोबार संवाददाता   http://www.karobardaily.com/news/80482 0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौं : संसद्को विकास समितिले मुिग्लन—नारायणघाट सडक खण्डमा रातिको समयमा सवारी साधन नचलाउन गृह मन्त्रालयलगायतका निकायलाई निर्देशन दिएको छ । 
समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा सडकको निरीक्षण गरी तयार गरेको प्रतिवेदन मंगलबार बैठकबाट पारित गर्दै समितिले यस्तो निर्देशन दिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरू सहभागी बैठकले सडक खण्डको थप सुरक्षाको प्रवद्र्धन गर्न, वर्षायामको समयसम्म करिब डेढ महिना रातिको समयमा सवारी आगमनलाई निषेध गर्न, वैकल्पिक मार्गको प्रयोग गर्न र सम्भव भए राति पनि सडक विस्तारको काम गर्न तथा जोखिमयुक्त बस्तीहरूलाई स्थानान्तरण गर्न वा तत्काल वैकल्पिक व्यवस्थापन गर्न सरकार, गृह मन्त्रालय तथा भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देश दिएको छ ।
प्रतिवेदनमा समेत पहिरो गइरहेका एवं अझ जाने सम्भावना भएको उल्लेख गर्दै राति सवारी साधन नचलाउन निर्देश गरिएको छ । समितिका सभापति अधिकारीले सम्भावित जोखिमलाई दृष्टिगत गरी रातिको समयमा यातायात सञ्चालन नगर्न तथा सो समयको उपयोग गर्दै निर्माणाधीन सो सडक दु्रतगतिमा अघि बढाउन निर्देश गरिएको जानकारी दिए ।
बैठकमा सो सडक आयोजना प्रमुख संजय श्रेष्ठले राति यातायात बन्द गरेर सडक निर्माणलाई तीव्रता दिने तयारी अघि बढेको बताए । बैठकमा सांसद गणेश पहाडी, जनार्दन ढकाल, तुलसा रानालगायतले सडक सुधारलाई तुरुन्त बढाउन सार्थक पहल गर्नका लागि सुझाव दिएका थिए । 
सडक विस्तारमा १६ नगरपालिकाले सहयोग गर्ने
बैठकमा भौतिक मन्त्रालयका सचिव देवेन्द्र कार्कीले अदालतको आदेशका कारण कलंकी–नागढुंगा, चाहबिल–साँखुलगायतका सडक विस्तारमा समस्या देखिएको बताएका थिए ।
काठमाडांै उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले काठमाडांै उपत्यकाको सडक विस्तारका लागि १८ नगरपालिकामध्ये १६ ले सहयोग गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै सडक विस्तारसम्बन्धी १८४ मुद्दा रहेकोमा ३९ वटामा अदालतले मुद्दामा आदेश जारी गरेको जानकारी दिएका थिए । 
बैठकद्वारा पारित समितिको प्रतिवेदनमा मुग्लिन—नारायणघाट सडक खण्डका लागि आवश्यक निर्माण सामग्री, मेसिन तथा औजार र जनशक्तिजस्ता अत्यावश्यक कुराहरु कुनै पनि कारणबाट कुनै पनि अवस्थामा अभाव हुन नदिने वातावरण बनाउन सम्बद्ध निकायलाई निर्देश दिँदै सडक खण्ड निर्माणमा देखिएका विद्युत् पोल, पाइपलाइन, वन जंगलजस्ता समस्या यथाशीघ्र समाधान गर्न जिल्ला प्रशासन कार्यालयका साथै सरोकारवाला निकायको ध्यानाकर्षण पनि गराएको छ । 
जोखिम बस्ती स्थानान्तरण गर्नुपर्ने
मुग्लिन—नारायणघाट सडक खण्डमा यातायात÷सवारी साधन सञ्चालनको क्रममा यात्रुहरुको सडक सुरक्षा नियमित र भरपर्दाे बनाउने कार्यलाई प्राथमिकताका साथ गर्न गराउन तथा पुल निर्माणका सम्बन्धमा ४ वटा पुलहरूको निर्माणका प्रक्रियालाई छिटो टुंग्याई कार्यान्वयनमा ल्याउन र बाँकी पुलहरूको डाइभर्सनलगायतका आवश्यक कार्यहरू व्यवस्थित रूपमा यथाशीघ्र कार्य अगाडि बढाउन पनि समितिले निर्देश गरेको छ ।
पारित प्रतिवेदनमा सुरक्षाको दृष्टिले मुग्लिन—नारायणघाट सडक खण्डको पहिरो जाने जोखिम क्षेत्रमा सडकको साइटमा अवस्थित घर, टहरा र बस्तीलाई स्थायी रूपमै बस्ती स्थानान्तरण गर्न यथाशीघ्र आवश्यक कार्य अगाडि बढाउन तथा देखिएका समस्या समाधान गर्न आवश्यक छलफलको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा क्षेत्रीय प्रहरी इकाइ, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र सरोकारवाला सम्बद्धबीच एक समिति यथाशीघ्र गठन गर्न पनि निर्देश गरेको छ ।
पारित प्रतिवेदनमा मुग्लिन–नारायणघाट सडक खण्डको अहिले भइरहेको इस्टिमेट र डिजाइनिङमा भविष्यमा सडकको सुरक्षाका लागि थप के के गर्न आवश्यक छ, त्यस्ता विषयलाई १५ दिनभित्र प्रतिवेदन तयार गरी समितिमा पेश गर्न मुग्लिन—नारायणघाट सडक आयोजनालाई समिति ध्यानाकर्षण तथा निर्देश गरेको छ । 
पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति
समितिको प्रतिवेदनमा त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक विस्तार आयोजनाअन्तर्गत कलंकी–नागढुंगा सडक खण्ड विस्तार गर्ने कार्य केही स्थानीयबासीले सर्वोच्च अदालतमा गरेको उजुरीबाट उक्त सडक खण्डको विस्तार गर्ने कार्य विगत १५/१६ महिनादेखि अवरुद्ध हुँदै आएकोमा उपत्यका प्रवेशको अति महत्वपूर्ण एवं अत्यधिक चाप रहेको यस सडक खण्डको विस्तारमा देखिएको अवरोधका कारण समग्र उपत्यका नै प्रभावित हुन गएको देखिएकाले सर्वोच्च अदालतको आदेशको उच्च सम्मान गर्दै, पीडितहरुलाई कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराई उक्त सडक खण्डको विस्तार कार्यलाई सम्भावित उपाय पत्ता लगाई तत्काल अगाडि बढाउन पनि समितिले निर्देश गरेको छ । 

No comments: