Sunday, July 30, 2017

ठूला विद्युत्गृहको उत्पादन शतप्रतिशतभन्दा बढी

     भीम गौतम  http://www.karobardaily.com/news/81139 0 + -

समाचार प्रतिनिधी तस्विर
काठमाडौंः निर्माण सम्पन्न भएका ठूला जलविद्युत् गृहले शतप्रतिशतभन्दा बढी विद्युत् उत्पादन गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका ती ठूला विद्युत् गृहहरूले लक्ष्यभन्दा बढी अर्थात शतप्रतिशतभन्दा बढी उत्पादन गरेका हुन् । विद्युत् प्राधिकरणले हालसम्म ४ सय ६५ मेगावाट बराबरका १६ जलविद्युत् गृह निर्माण सम्पन्न गरेको छ ।
यसमध्ये सबैभन्दा ठूलो १ सय ४४ मेगावाटको कालीगण्डकी हो भने दोस्रोमा मध्यमस्र्याङ्दी ७० र तेस्रोमा मस्र्याङ्दी ६९ मेगावाट रहेको छ । गत आर्थिक वर्ष २०७३/०७४ मा यी तीनवटै विद्युत्गृहहरूले लक्ष्यभन्दा बढी विद्युत् उत्पादन गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार निर्माणसम्पन्न १६ गृहले २ हजार २ सय ८७ गिगावाट आवर उत्पादन गरेकोमा १ हजार ७ सय ६२ गिगावाट आवर विद्युत् सबैभन्दा ठूला कालीगण्डकी, मध्यमस्र्याङ्दी र मस्र्याङ्दी जलविद्युत् गृहले उत्पादन गरेका छन् ।
अघिल्लो आवमा २ हजार १ सय २२ गिगावाट आवर उत्पादन भएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष १ सय ६५ गिगावाट आवर उत्पादन वृद्धि भएको प्राधिकरणले जनाएको छ । 
अघिल्लो वर्षमा प्राधिकरणका सबै आयोजनाले लक्ष्यभन्दा कम मात्र उत्पादन गर्ने गरेकोमा गत वर्ष भने ठूला गृहले उत्पादन बढी गरेपछि लोडसेडिङ न्यूनीकरणमा समेत सहज भएको प्राधिकरणले जनाएको छ ।
“ठूला तीन जलविद्युत् गृहहरूले वार्षिक लक्ष्य, डिजाइन क्षमता र अघिल्लो वर्षका भन्दा बढी विद्युत् उत्पादन गरेका छन्,” प्राधिकरणको ठूला उत्पादन सञ्चालन तथा सम्भार विभागका प्रमुख मदन तिमल्सिनाले भने, “यसले लोडसेडिङ न्यूनीकरणमा पनि ठूलो सहयोग पु-याएको छ ।”
प्राधिकरणका अनुसार, बर्षभरिमा ८ सय ३६ गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको कालीगण्डकीले ८ सय ४२ गिगावाट आवर अर्थात १००.७६ प्रतिशत बढी उत्पादन गरेको थियो भने ४ सय ३२ गिगावाट आवर उत्पादन लक्ष्य राखिएको मध्यमस्र्याङ्दीले ४ सय ५५ गिगावाट आवर विद्युत् उत्पादन गरेको छ ।
जुन १०५.१४ प्रतिशत हो । त्यसैगरी ४ सय ५१ गिगावाट आवर उत्पादन गर्ने लक्ष्य राखेको मस्याङ्दीले ४ सय ६५ गिगावाट आवर अर्थात १०३.१७ प्रतिशत उत्पादन गरेको छ ।
त्यसैगरी, १४.८० मेगावाटको मोदीखोला जलविद्युत्ले ६८ गिगावाट उत्पादन गर्ने लक्ष्य राखेकोमा ७० गिगावाट आवर र १०.०५ मेगावाटको सुनकोशी जलविद्युत् आयोजनाले ४४ गिगावाट आवर उत्पादन गर्ने लक्ष्य राखेकोमा ४६ गिगावाट उत्पादन गरेको विद्युत् प्राधिकरणले जनाएको छ । 
प्राधिकरणले उचित व्यवस्थापनका साथ विद्युत् गृहहरू सञ्चालन गरेकोले उत्पादनमा वृद्धि भएको जनाएको छ । “हिउँदमा हुने लोडसेडिङको भयावह अवस्थालाई दृष्टिगत गरी संस्थालाई घाटा परोस् तर जनताले बिजुली पाऊन् भनेर हिउँदमा गरिने मर्मतसम्भारलाई बर्षामा सा-यौं भने पिकिङ खालका कालीगण्डकी र दुवै मस्र्याङ्दी गृहको उपयोग ग-यौं,” प्रमुख तिमल्सिनाले भने, “विद्युत् गृहहरूलाई पूर्ण रूपमा र उचित व्यवस्थापन गर्न सकेका कारण अघिल्लो वर्षभन्दा उत्पादन पनि बढी भयो ।”
 विद्युत् गृह         लक्ष्य (गिगावाट आवर)         उत्पादन (गिगावाट आवर) 
कालीगण्डकी         ८३६                        ८४२
मध्यमस्र्याङ्दी        ४३२                        ४५५
मस्र्याङ्दी            ४५१                        ४६५
मोदीखोला            ६८                        ७०
सुनकोसी             ४४                        ४६
स्रोतः नेपाल विद्युत् प्राधिकरण

No comments: