२८ अषाढ, २०७४ ११:४६ बिहान भीम गौतम http://www.karobardaily.com/news/80654 0 + -
समाचार प्रतिनिधि तस्विर
२०७३ मा सुरु गरेर २०७६ मा सम्पन्न गर्ने लक्ष्य असफल
काठमाडौं: ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले निर्माण गर्न लागेको २० मेगावाटको बूढीगंगा जलविद्युत् आयोजना निर्माणमा ढिलाइ भएको छ ।
२०७३ सालमा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न गरेर २०७६ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना निर्माणमा ढिलाइ भएको हो । दुई वर्षअघि नै डीपीआर सम्पन्न भई काम सुरु हुनुपर्ने भए पनि हालसम्म डीपीआरको अध्ययनसमेत सम्पन्न भएको छैन ।
गत मार्चमै परामर्शदाता कम्पनी स्मेकले डीपीआर सम्पन्न गर्नुपर्ने भए पनि समयमै सम्पन्न नगरेपछि फेरि ६ महिना थपिएको छ । डीपीआर पूरा नहुँदा बूढीगंगा जलविद्युत् आयोजना निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख श्यामकुमार यादव बताउँछन् ।
“परामर्शदाता कम्पनीले डीपीआर निर्माणमा ढिलाइ गरेका कारण आयोजना निर्माण सुरु गर्न ढिलाइ भएको छ ।” उनले भने, “आयोजनाको लगानी जुटिसकेकाले डीपीआर सक्ने बित्तिक्कै ठेक्कापट्टाको काम सुरु हुन्छ ।”
आगामी सेप्टेम्बरभित्र डीपीआर सम्पन्न गरेर अर्को आर्थिक वर्ष २०७५/०७६ देखि निर्माण सुरु गर्ने लक्ष्य आयोजनाको छ । डीपीआरमा ढिलाइ हुँदा आयोजनाको निर्माण सुरु गर्ने मिति एक वर्षपछि सरेको प्रमुख यादव बताउँछन् ।
अछाम र बाजुरा जिल्लाको दोसाँधमा बन्ने जलविद्युत् आयोजना निर्माणका लागि अछामको हात्तीकोट, बाँध रहेको बुढाबगर र विद्युत्गृह रहेको हात्तीकोटको जग्गा अधिग्रहण गर्ने काम अन्तिम चरणमा पुगिसकेको छ भने पहुँचमार्गको पनि समस्या छैन ।
प्रसारण लाइनसहित ६ अर्ब लागत रहेको आयोजनाका लागि कुवेत कोषबाट १.८ अर्ब तथा साउदी कोषबाट ३ अर्ब सहयोग प्राप्त भएको छ भने सरकारले आयोजनाका लागि १.२ अर्ब लगानी गर्न लागेको छ । साउदी फन्ड फर अबर इकोनोमिक डेभलपमेन्ट र कुवेत फँड फर अबर इकोनोमिक डेभलपमेन्टसँग आयोजनामा लगानी गर्न ऋण सम्झौतासमेत भइसकेको छ ।
५.६ किलोमिटरको सुरुङ बनाउनुपर्ने आयोजनाबाट वार्षिक रूपमा १ सय ६.२८ गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । यहाँ उत्पादित बिजुली १३२ केभीको प्रसारण लाइनमार्फत अछाम–डोटी–सुर्खेत हुँदै कैलालीको पलमानपुरमा आएर जोडिनेछ ।
६ घण्टासम्म पिकिङ दिन सक्ने आयोजनालाई आकर्षक आयोजनाको रूपमा लिइने गरिन्छ । २५ मिटर उचाइको बाँधभन्दा माथि ३ किमि लामो र ८.४६ हेक्टरको जलाशय निर्माण हुने आयोजनामा सुक्खा याममा ४ घण्टा र बिहान २ घण्टा गरी ६ घण्टा उच्च क्षमतामा विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जनाएको छ ।
No comments:
Post a Comment