Saturday, July 8, 2017

माथिल्लो कर्णालीको विजुली बेच्न वंगलादेशसँग सम्झौता



निर्माणमा स्वदेशी उद्योगलाई अवसर दिने जीएमआर प्रस्ताव
भीम गौतम
काठमाण्डौ, २१ असार । 
भारतीय कम्पनी जीएमआरले निर्माण गरिरहेको नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विजुली वंगलादेशमा बेच्ने गरी समझदारी भएको छ । 
माथिल्लो कर्णाली जलविद्युतमार्फत उत्पादन भएको विजुली भारत हुँदै वंगलादेशमा बेच्ने गरी भारतीय एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन) लिमीटेडमार्फत वंगलादेशलाई बेच्ने समझदारी भएको हो । जीएमआरका चिफ अपरेसनल अफिसर हरविन्दर मनोजाले ४ सयदेखि ५ सय मेगावाट विजुली वंगलादेश सरकारलाई बेच्ने समझदारी भएको जानकारी दिए । ‘वंगलादेशलाई ४ सयदेखि ५ सय मेगावाटसम्म विजुली बेच्ने गरी प्रारम्भिक समझदारी भएको छ, वंगलादेशको टोली छिट्टै माथिल्लो कर्णालीको भ्रमण गरेपछि विद्युत खरिद सम्झौता (पीपीए) पनि हुनेछ ।’–उनले भने । जीएमआर र एनएनभीआरबीच भएको समझदारी अनुसार वंगलादेश विजुली लैजाने योजना राखेको आयोजनाले भारतकै हरियानमा तीन सय मेगावाट बराबर विजुली बेच्ने समझदारी भएको छ तर यसको पीपीए हुन बाँकी छ । 
बुधबार लगानी बोर्ड र जीएमआरले संयुक्त रुपमा राजधानीमा आयोजना गरेको माथिल्लो कर्णाली निर्माणमा नेपालका उद्योगधन्दाहरुको अवसरबारेको कार्यक्रममा मनोचाले माथिल्लो कर्णाली असफल भएमा नेपाल–भारतबीचको वैदेशिक लगानी (एफडीआई) अघि बढ्न नसक्ने बताए । नेपाल र भारतबीच भएको ऊर्जा व्यापार सम्झौता (पीटीए) अनुसारका अन्तरदेशीय व्यापारबारे स्पष्ट नीति बन्न बाँकी रहेको, वन क्षेत्रमा जग्गा प्राप्तिमा ढिलाई लगायतका केही समस्या रहेको भन्दै उनले सार्क राष्ट्रबीचको पीटीए कार्यान्वयनका लागि अघि बढ्न अझ सहज हुने बताए ।
कार्यक्रममा जीएमआरले माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि आवश्यक सिमेन्ट, स्टील, ढुंगा, वालुवा लगायतका निर्माण सामग्रीहरुका साथै  कानुनी सहायकता, परामर्शदाता लगायतको स्वदेशी जनशक्ति उपलब्धताबारे प्रस्ताव समेत गरेको थियो । माथिल्लो कर्णाली निर्माणका लागि ठेक्कामा सहभागी भारत, चीन, साउदी अरबिया लगायतका देशक ठेकेदार कम्पनीका प्रतिनीधिहरु समेत सहभागी कार्यक्रममा जीएमआरका चिफ अफिसर मनोचाले उपलब्ध हुने सामग्रीहरु ीनर्माणका लागि उपयोग गर्ने बताएका थिए । कार्यक्रममा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धुर्व थापा, स्टील उत्पादक संघका अध्यक्ष साइल अग्रवाल, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन, नेपाल बैकर्स एशोसियसनका अध्यक्ष अनिलकुमार शाहले आयोजना निर्माणका लागि आवश्यक सामग्री तथा त्यसका लागि लगानी गर्न तयार रहेको बताएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले जलविद्युत आयोजना निर्माण गर्दा उद्योग व्यवसायको वृद्धिदेखि देशको दिगो आर्थिक विकासमा समेत सहयोग हुने बताइन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले आयोजना निर्माणका लागि स्थानीय ५ हजारभन्दा बढीले रोजगारी पाउने बताउँदै ठूलो उद्योग, सेवा, कानुनी र इन्जिनियरिङ सेवामा समेत स्वदेशीलाई अधिकत्तम उपयोग गर्न सकिने बताए । लगानी बोर्डका सह–सचिव मधुप्रसाद भेटुवालले आयोजना निर्माण गर्दा स्थानीय स्रोत साधनको अधिकत्तम उपयोग गर्नुपर्ने बताए । 

No comments: