Thursday, June 1, 2017

पुनः सर्वेक्षणका लागि महिला इन्जिनियर जिल्लामा

     0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौं: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राही सूचीमा पर्न नसकेका भूकम्प प्रभावितको पुनः सर्वेक्षणका लागि १३ जना महिला इन्जिनियर खटाएको छ । 
पहिलो चरणमा नुवाकोट र दोलखाको स्थलगत निरीक्षण गरी पुनर्संरचनाका लागि प्राधिकरणले बुधबारदेखि ती महिला इन्जिनियर खटाएको हो ।
फू लाभग्राही सूचीमा नपरेको गुनासो गरेपछि खटाइएका इन्जिनियरले गुनासो सम्बोधन गर्न पुनःजाँच तथा पुनःसर्वेक्षण गर्नेछन् । “इन्जिनियरहरूले करिब एक हजार बढी घरको निरीक्षण गरी लाभग्राही सूचीमा नपर्नुका कारण र उनीहरूको वास्तविक अवस्थाबारे जानकारी लिनेछन्,” प्राधिकरणका सूचना व्यवस्थापन महाशाखा प्रमुख मनोहर घिमिरेले भने । 
घर भत्किएर पनि लाभग्राही सूचीमा पर्न नसकेको गुनासो विभिन्न जिल्लाबाट आएपछि त्यसलाई सम्बोधन गर्ने प्रयासमा प्राधिकरणले पहिलो चरणमा इन्जिनियरलाई जिल्लामा पठाएको हो ।
प्राधिकरणमा बुधबार आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेल, सचिव सर्वजीतप्रसाद महतो, कार्यकारी सदस्य डा. हरिराम पराजुली लगायतले जिल्ला जान लागेका इन्जिनियरलाई बिदाई गरेका थिए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले भूकम्पका कारण प्रभावित बनेका कतिपय परिवारका जायज गुनासोसमेत सम्बोधन हुन नसकेकाले वास्तविक प्रभावितहरूको अवस्था बुझेर आउन इन्जिनियरलाई निर्देशन दिएका थिए ।
इन्जिनियरले ल्याउने विवरणलाई आधार मानेर प्राधिकरणले पुनःजाँच तथा पुनःसर्वेक्षण गर्दा प्रभावित देखिएमा उनीहरूलाई लाभग्राही सूचीमा समावेश गरिने जनाएको छ । 
http://www.karobardaily.com/news/79341

No comments: