Thursday, June 29, 2017

बल्ल भूकम्प प्रतिरोधात्मक भवन संहिता परिमार्जन सुरु

     भीम गौतम  http://www.karobardaily.com/news/803400 + -

समाचार प्रतिनिधि तस्विर

१८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौं : सहरी विकास मन्त्रालयले २३ वर्ष पुरानो राष्ट्रिय भवन संहिता (एनबीसी) अन्तर्गत भूकम्प प्रतिरोधात्मक संहिता (सेस्मिक) परिमार्जन सुरु गरेको छ । 
२०४५ सालमा भूकम्प गएपछि त्यसको ६ वर्षपछि भूकम्पबाट भवनहरू क्षति नहुने गरी सेस्मिकसँग सम्बन्धित राष्ट्रिय संहिता–१०५ बनाएको सरकारले बल्ल परिमार्जन सुरु गरेको हो ।
२३ वर्षपछि भूकम्पप्रतिरोधी विभिन्न प्रविधिहरू आए पनि र अधिकांश संरचना भूकम्पप्रतिरोधी बनाउन नसक्दा दुई वर्षअघि गएको भूकम्पबाट नौ हजारभन्दा बढीले ज्यान गुमाउनु परे पनि मन्त्रालयले भने बल्ल सुरु गरेको हो ।
“भूकम्प गएको लगत्तै संहिता परिमार्जन अघि बढ्नुपर्ने हो तर ढिलो भए पनि सुरु भएको छ ।” सहरी विकास मन्त्रालय केन्द्रीय कार्ययोजना कार्यान्वयन इकाइका उप–परियोजना निर्देशक परिच्छित कडरियाले भने, “१८ महिनाभित्र संहिता परिमार्जन गरिसक्ने लक्ष्यसहित सुरु भएको छ ।”
सेस्मिक कोड बनाउनका लागि मन्त्रालयले पुल्चोक इन्जिनियरिङ संस्थानका प्राध्यापक डा. प्रेमनाथ मास्के र अन्तर्राष्ट्रिय विज्ञ डा. राजेश ढकाल सम्मिलित विज्ञ टोली तथा सहरी विकास मन्त्रालयको मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल बनाएको छ ।
पुरानो संहिता साँघुरो रहेकाले सानो भूकम्प आउँदा नभत्किने, मध्यम आउँदा चर्किने मात्र र ठूलो हुँदा पनि भवनहरू नष्ट र मानवीय क्षति नहुने गरी देशको अर्थतन्त्रले धान्ने गरी र भारत, पाकिस्तानजस्ता देशमा जस्तो गुणस्तरीय हुने गरी फराकिलो बनाउन लागिएको कडरियाले जानकारी दिए । संहिता तयार भएपछि मन्त्रीस्तरीय निर्णय गरी सबै निकायमा भवन निर्माण गर्दा अनिवार्य रूपमा लागू गर्ने लक्ष्य मन्त्रालयको छ ।
केन्द्रीय कार्ययोजना इकाइका निर्देशक टपेन्द्रबहादुर खड्काले भूकम्पपछि भूकम्प प्रभावित ३१ जिल्लाका साढे ७ लाख निजी घरका साथै अन्य ४ लाख भवन निर्माणको चरणमा रहेका हालसम्म ९० हजारले मात्र घर निर्माण गरिरहेको भन्दै ती भवनहरू भूकम्पप्रतिरोधी बनाउनका लागि संहिता निर्माणमा जोड दिइएको बताए ।
उनका अनुसार, हालसम्म ५ लाख ४४ हजार भूकम्प प्रभावित मात्र सूचीकृत भएका छन् भने ४४ हजारले दोस्रो किस्ताका लागि प्रमाणीकरण गरिएको छ । केन्द्रीय आयोजना इकाइका स्टक्चरल इन्जिनियर विपिन गौतमले सहरी विकास मन्त्रालयले पहिला भवनका १७ डिजाइन सार्वजनिक गरेकोमा फेरि गत फागुन (मार्च) मा फेरि १२ प्रविधिका १७ डिजाइन सार्वजनिक गरिएको बताए ।
भूकम्पप्रतिरोधी रूपमा भवन बनाउनका लागि हालसम्म मन्त्रालयले सुक्खा ढुंगा, ढुंगामाटो, काठ, फलाम, ढलानलगायत गरी ८० भन्दा बढी डिजाइनहरू सार्वजनिक गरेको जनाएको छ । बुधबार सहरी मन्त्रालयको केन्द्रीय कार्ययोजना कार्यान्वयन इकाइ र नेपाल इन्जिनियर्स एसोसियनले भूकम्पप्रतिरोधी भवनहरू निर्माणका लागि संहिता १०५ को परिमार्जनबारे छलफल कार्यक्रम पनि आयोजना गरेको थियो ।
कार्यक्रममा मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले भवन संहितामा परिवर्तन गरेर बलियो र भूकम्पप्रतिरोधी भवन निर्माणका लागि कोड निर्माण गर्न लागिएको बताए ।
कार्यक्रममा विज्ञ विष्णु पाण्डेले सेस्मिक कोडबारेको अन्तर्राष्ट्रिय अभ्यास, गोर्खा भूकम्पले सिकाएको पाठबारे अन्तर्राष्ट्रिय विज्ञ डा. राजेश ढकाल, कोड परिवर्तनको आवश्यकताबारे विज्ञ डा. प्रेमनाथ मास्केले प्रस्तुतीकरण गर्दै भविष्यमा भूकम्पबाट ठूलो क्षति नहुने गरी संहिता निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । 

No comments: