समाचार प्रतिनिधि तस्विर
काठमाडौंः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई पुनर्निर्माणको अवधारणाका सम्बन्धमा विस्तृत जानकारी दिने भएको छ ।
पुनर्निर्माणको काम स्थानीय तहमार्फत दू्रतगतिमा अघि बढाउने योजनामा रहेको प्राधिकरणले यसका लागि जनप्रतिनिधिलाई सम्पूर्ण जानकारी दिने योजना बनाएको छ । दोस्रो चरणको स्थानीय निर्वाचन नभइसके पनि भूकम्पबाट बढी क्षती भएकामध्ये अधिकांश स्थानमा भने पहिलो चरणमै निर्वाचन सम्पन्न भइसकेको छ ।
स्थानीय निकायको अभावमा पुनर्निर्माणले गति लिन नसकेको बताइरहेका बेला पुनर्निर्माण प्राधिकरणले नवनिर्वाचत नगरपालिका र गाउँपालिका प्रमुख/उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरूलाई पुनर्निर्माणको प्रकृया, यसको नीति, कार्यविधि, निर्देशिकालगायतका सम्बन्धमा बुझाउन लागेको हो ।
“स्थानीय निकायका जनप्रतिनिधिलाई पुनर्निर्माणबारे विस्तृत रूपमा जानकारी दिन लागेका छौं,” प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा. डा. गोविन्द पोख्रेलले भने, “म आफैं शुक्रबार गोरखा जिल्लाका नगरपालिकाका मेयर, उपमेयर लगायतलाई अभिमूखीकरण गर्न जाँदैछु भने अन्य जिल्लाहरूमा पनि यसलाई दूुतगतिमा अघि बढाउने योजनामा छौं ।”
उनले पुनर्निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन विशेष योजना ल्याउन लागिएको जानकारी पनि दिए । प्राधिकरणले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा प्राधिकरण र गाउँपालिकाहरूमा जिल्लास्थित प्राधिकरण कार्यालयमार्फत पुनर्निर्माण प्रक्रिया र यसका विधि, कार्यविधि र निर्देशिकाबारे जानकारी गराउने योजना बनाएको छ ।
त्यसका लागि प्राधिकरणको तर्फबाट कार्यकारी सदस्य, प्राधिकरणका अधिकारीहरूका साथै पुनर्निर्माणको काम सहज गराउन स्थानीय निकायका जनप्रतिनीधिहरूसँग खटिएका प्राविधिहरूलाई समन्वय गरी खटाउन लागेको छ ।
स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएकोले उनीहरूलाई पुनर्निर्माणबारे बुझाएर द्रूतगतिमा बढ्न सक्ने कार्यकारी अधिकृत पोखरेल बताउँछन् ।
“कतिपय हामीले पुनर्निर्माणबारे जानकारी दिइसकेका राजनीतिक दलका प्रतिनिधिले चुनाव जित्नु भएकोले काम अघि बढाउनका लागि धेरै समस्या त छैन तर पनि उहाँहरूलाई स्पष्ट जिम्मेवारी दिएर पुनर्निर्माणलाई तीव्रता दिन लागेका छौं,” पोखरेलले भने ।
प्राधिकरणका अनुसार अधिकांशले पहिलो किस्ताको रकम लगे पनि घर निर्माण सुरु नगरेकोले उनीहरूलाई घर निर्माणका लागि वातावरण बनाउनेबारे छलफल समेत अघि बढाइएको छ ।
साविकका स्थानीय निकायमा गएको रकम भूकम्पप्रभावितलाई ऋणको रूपमा उपलब्ध गराउने र दोस्रो किस्ताका लागि पु¥याउनुपर्ने प्रक्रिया पूरा गरेपछि प्राधिकरणले थप रकम दिएर त्यहाँबाट तिर्ने गरी प्रक्रिया अघि बढाउन लागेको प्राधिकरणले जनाएको छ ।
“पहिलो किस्ता लगेर घर निर्माणको प्रक्रिया सुरु नभएकोले प्रभावितसँगको पैसा अभावलाई दृष्टिगत गरी सुरुमा स्थानीय निकायले ऋणस्वरूप दिने र त्यो रकम प्राधिकरणले प्रक्रिया पूरा गरेपछि तिरिदिने गरी छलफल अघि बढाएका छौ,” उनले भने ।
प्राधिकरणका अनुसार हालसम्म ७ लाख २४ हजार ९ सय भुकम्प प्रभावितको पहिचान भएकोमा ५ लाख ७९ हजार ६ सय ८९ ले अनुदान सम्झौता गरेका छन् भने ५ लाख ६० हजार १ सय ४३ प्रभावितले पहिलो किस्ता रकम लगेका छन् ।
दोस्रो किस्ताको रकम लाने प्रभावित १३ हजार ५ सय १२ र तेस्रो किस्ताको रकम ११ सय ६३ प्रभावितले मात्र लगेको प्राधिकरणले जनाएको छ ।
http://www.karobardaily.com/news/79331
No comments:
Post a Comment