Tuesday, June 6, 2017

धुर्मुस सुन्तलीको ‘मिनी नेपाल’ अवधारणा

     भीम गौतम   0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौः भूकम्पपछि एकीकृत सामूहिक वस्ती निर्माण गरेर ख्याती कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले ‘मिनी नेपाल’को योजना अघि सारेको छ ।
चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले गठन गरेको फाउन्डेसनले हिमाल, पहाड र तराईलाई प्रतिनिधित्व गराउने गरी एकीकृत वस्तीको रूपमा ‘मिनी नेपाल’ को अवधारणा अघि सारेको हो ।
‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल, नमूना नेपाल’ भन्ने नाराका साथ फाउण्डेसनले सोमबार सार्वजनिक गरेको एकीकृत नेपालको परियोजनामा सबै भाषा, संस्कृति र सभ्यता झल्कने गरी ७५ जिल्लाकै प्रतिनिधित्व हुने एकीकृत वस्ती विकास गर्ने उल्लेख छ । 
काभ्रेको पहरीगाउँ, सिन्धुपाल्चोकको गिरानचौर र महोत्तरीको बर्दिबासस्थित मुसहर एकीकृत वस्ती निर्माणमा सफल भएको फाउन्डेसनको यो चौथो योजना हो ।
“५ अर्बको लागतमा विभिन्न जातजाती, भेषभूषा र संस्कृति झल्कने गरी ७५ जिल्ला सबैलाई समेटेर साझा एकीकृत बस्ती निर्माण गर्ने योजना बनाएका छौं, ”फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले भने, “एउटै कमाउन्डभित्र सबै सुविधा र हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने पूर्वाधारहरू बन्नेछन् ।”
फाउन्डेसनका अनुसार, ५ सयदेखि एक हजार रोपनी जग्गामा बन्ने एकीकृत वस्तीमा पशुपतिनाथ मन्दिर, लुम्बिनी, मुक्तिनाथ, वौद्ध स्तूप, धरहरा भ्यू टावर, हिमाली श्रृंखला र तराईको झल्झल्को दिनेसहितका पूर्वाधारहरू निर्माण हुनेछन् ।
जातजातीको पहिचान झल्कने गरी निजी घर निर्माण हुने एकीकृत वस्तीभित्र विद्यालय, स्वास्थ्य चौकी, खेल मैदान लगायत बनाउने योजना पनि फाउन्डेसनको छ ।
कुन स्थानमा एकीकृत वस्ती बनाउने भन्ने टुंगो नलागेको भए पनि फाउन्डेसनले काठमाडौं, ललितपुर, काभ्रे, भक्तपुर, मकवानपुर वा अन्य कुनै सबैलाई पायक पर्ने गरी ठाउँको खोजी गरिरहेको जनाएको छ । 
अध्यक्ष कट्टेलले जग्गा प्राप्ति र वित्तीय व्यवस्थापन भएपछि शिलान्याश कार्यक्रम गरी निश्चित समयभित्र सम्पन्न गर्ने बताए । “नेपालमा ३ करोडभन्दा बढी जनसंख्या छ, प्रतिव्यक्ति दुई सय सहयोग आए पनि ६ अर्ब रकम संकलन हुन्छ, अहिले विदेशी भूमिमा ४० देखि ४५ लाखजति नेपाली छन्, उनीहरूबाट प्रतिव्यक्ति २ हजार मात्र सहयोग गरेमा पनि ८ देखि ९ अर्ब सहयोग उठ्छ,” उनले भने, “चुप लागेर बस्नुको सट्टा आँट गरे सम्भव छ ।”
फाउण्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)ले जोखिम मोलेर नयाँ योजना अघि सारे पनि त्यो सम्भव हुने बताइन् । “सबै नेपालीलाई एक ठाउँमा जोड्ने हाम्रो सपना हो, यो पूरा हुन्छ,” उनले भनिन् । 
नमूना नेपाल अवधारणा सार्वजनिक कार्यक्रममै अल्का अस्पतालको तर्फबाट अभियानका लागि २५ लाख दिने घोषणा अस्पतालका अध्यक्ष कुमार थापा र १० लाख दिने घोषणा मुक्तिनाथ बैकका अध्यक्ष भरत ढकालले गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव डा. भीष्मकुमार भुषालले नयाँ एकीकृत वस्ती बनाउने योजनामा कर्मचारीतन्त्र, राजनीतिक नेतृत्व सबैबाट सहयोग हुने बताउँदै प्राधिकरणले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । यस्तै, भूमिसुधारसचिव कृष्णप्रसाद देवकोटाले जग्गा प्राप्तिका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 
कार्यक्रममा पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालले ठूलो छाती हुनेले मात्र जोखिम उठाउने उल्लेख गर्दै धुर्मुस सुन्तलीको अभियानले नेपाल र नेपालीबीचको भावनात्मक सम्बन्ध जोड्न सहयोग गर्ने बताए । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ठूलो सपना पूरा गर्न सरकारले जग्गा दिएर सहयोग गर्नुपर्ने बताए ।
http://www.karobardaily.com/news/79608

No comments: