Thursday, June 22, 2017

पुनर्निर्माणमा स्थानीय जनप्रतिनिधि परिचालन गर्न परिपत्र

    कारोबार संवाददाता   http://www.karobardaily.com/news/80155 0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौं :राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणमा प्रभावित जिल्लाका स्थानीय जनप्रतिनिधिलाई परिचालन गर्न स्थानीय विकास मन्त्रालयलाई परिपत्र गरेको छ । 
प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकस्तरीय निर्णयबाट स्थानीय जनप्रतिनिधिलाई परिचालित गरी पुनर्निर्माण र पुनर्लाभमा सहजीकरण गरिदिने व्यवस्था मिलाउन परिपत्र गरेको हो । प्राधिकरणले हालै निर्वाचन भएका तथा हुन लागेका सबै भूकम्प प्रभावित जिल्लाका जनप्रतिनिधिलाई पुनर्निर्माणमा परिचालन गर्ने गरी परिपत्र गरेको प्राधिकरणका सहप्रवक्ता डा. भीष्मकुमार भुसालले जानकारी दिए । 
भुसालका अनुसार आवास अनुदानवापतको पहिलो किस्ता लिइसकेका भूकम्प प्रभावितले घरको जग राख्न बाँकी भएको भए, यही असार मसान्तभित्र जग राखी/प्लिन्थ लेभलसम्मको कार्य सम्पन्न गरी दोस्रो किस्ता दाबी गरिसक्ने वातावरण सिर्जना गराउन पनि परिपत्रमा आग्रह गरिएको छ ।
परिपत्रमा भनिएको छ, “सबै वडा पदाधिकारीलाई परिचालित गरी पुनर्निर्माण र पुनर्लाभमा सहकार्य, सहयोग र सहजीकरण गरिदिनुका साथै भूकम्पप्रभावित १७ जिल्लामा लाभग्राहीसँग अनुदान  सम्झौता अविलम्ब सम्पन्न गरी असार मसान्तसम्म पहिलो किस्ताको रकम वितरण गर्न अनुरोध गरिन्छ ।”
यसैगरी प्राधिकरणबाट गुनासो सुनुवाइमार्फत लाभग्राही सूचीमा परेका भूकम्प प्रभावितसँग अनुदान सम्झौता गरी गाउँपालिका तथा नगरपालिकाले अविलम्ब जिल्ला समन्वय समितिमा पठाउने र सो समितिले यसअगावै पठाइएको अख्तियारी रकमबाटै पहिलो किस्ताको रकम र उक्त रकम पाइसकेका लाभग्राहीलाई दोस्रो तथा तेस्रो किस्ताका लागि जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाइबाट  सिफारिस भइआएको अवस्थामा सोवापतको रकमसमेत भुक्तानी गर्ने व्यवस्था मिलाउनसमेत परिपत्र गरिएको सहप्रवक्ता भुसालले बताए । 

No comments: