नौ बर्ष अघिनै ‘गोरु बत्ती’ पेटेन्ट राइट
भीम गौतम
काठमाडौ, २९ जेठ
युवाहरु मिलेर सामन्य प्रविधिमा नेपालमै गोरु दाँई गरी विजुली निकालेर गाउँ झिलिमिलि पार्ने योजना अधुरो बनेको छ ।
छिमेकी राष्ट्र भारतमा स्वामी रामदेव र उनका सहयोगी आचार्य बालकृष्णले गोरुमार्फत विजुली निकाल्ने (वुल पावर) योजनाले चर्चा पाईरहेको बेला नेपालमै ९ बर्ष अघि दाँई गरेर विजुली निकाल्ने योजना बनेपनि हालसम्म अधुरै बनेको हो । बारा जिल्लाको बारागढी गाउँ पालिका–१ घर भई हाल पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका उपप्रशिक्षक रहेका रमेश चौधरीले प्रविधिको नाम ‘गोरु बत्ती’ राखेर २०६५ साल चैत्र ९ गते उद्योग मन्त्रालयमा मौलिक अधिकार सुरक्षित (प्याटर्न राईट) का लागि निवेदन दिएका थिए । गोरु, रागा, गाई, साँढे, खच्चड, गधा लगायतका घरपालुवाको उपयोग गरेर विद्युत शक्ति उत्पादन गर्ने गरी उनले योजना अघि बढाउनका लागि यो तत्कालीन अवस्थमा दुई हजार रुपैयाँ तिरेर अधिकार सुरक्षित गरेका थिए तर उनको त्यो योजना अझै अधुरो छ । ‘घरपालुवा जनावरहरु उपयोग गरेर विजुली निकाल्ने र विकट गाउँमा विजुली बाल्ने योजना अघि सारेर प्याटन राईट पनि लिएको थिएँ ।’–चौधरीले भने–‘विशेष गरी गोरु दाँई गरेर विजुली निकाल्ने योजना थियो तर अन्य निकायबाट उचित सहयोग नपाउँदा र विदेशबाट आयातित सोलारको डोमिनेट बढ्दा समस्या भयो ।’ उनका अनुसार, गोरुबाट दाँई गरेर विजुली निकाल्ने भनेर अधिकार सुरक्षित गर्न जाँदा उद्योग विभागका कर्मचारीहरु समेत हाँसेका थिए ।
छिमेकी राष्ट्र भारतमा स्वामी रामदेवको समूहले तीन घण्टामा गोरु दाँई गरेर २.५ किलोवाट निकाल्न सकिने भन्दै अनुसन्धान गरिरहेको बेला चौधरी लगायतले आफ्नै खर्चमा गरेको अध्ययनले भने एक हल गोरुलाई ६–९ बजेसम्म दाँई गर्दा तीन घरलाई टेलिभिजनसहित बत्ती आवश्यकता पुर्ति हुने गरी अध्ययन गरेका थिए । अध्ययनले गोरुलाई दाँई गर्दा विद्युतको भोल्टेज कम नहुने गरी गोरुको गति बढाउने मिल्ने गरी प्रविधि विस्तार गर्ने अध्ययनले देखाएको थियो । २०५९÷०६० सालमा चौधरी लगायत पारस पौडेल, सुरज कार्कीले यसरबारे ललितपुरका विभिन्न गाउँ पुगेर यसबारे अध्ययन गरेका थिए । तत्कालीन अवस्थामा इन्जिनियरिङ अध्ययन संस्थानमा पढाउने प्राध्यापक भक्तबहादुर आलेले घाँसपात, रुख, विरुवा, जनावार लगायतमार्फत मेकानिकल पावर उत्पादनका लागि अध्ययन गर्न भनेपछि उनीहरुले यसबारे अध्ययन अघि बढाएको र सम्भव छ भन्ने देखिएपनि अघि बढाउन नसकिएको उनी बताउँछन् । ‘त्यो बेला वैकल्किप उर्जा प्रवद्धर्नन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान लगायतलाई पनि यसबारे जानकारी दिएको थिए, त्यो बेला सस्तोमा सोलार आएपछि यो अघि बढेन, व्यक्तिगत रुपमा अघि बढाउन पनि कठिन थियो ।’–उनले भने–‘अझै विकट क्षेत्रमा जहाँ कृषि पेशामा बढी निर्भर छन्, दिनभरि जोत्ने गोरुलाई अर्को दिन पनि जोत्न सक्ने गरी विजुली उत्पादनमा उपयोग गर्न सकिने अवस्था छ ।’ नेपाल विद्युत प्राधिकरणको तथ्यांक अनुसार, अझै करिब ३० प्रतिशत नेपाली विद्युतको पहुँचबाट बञ्चित छन् ।
साधारण र नेपाली मौलिक किसिमको प्रविधिको रुपमा रहेको एउटा उपकरण उपयोग गर्ने तथा यसमा एउटा डाईनामो (डीसी उत्पादन गर्ने यन्त्र) अथवा एउटा जेनेरेटर (एसी उत्पादन गर्ने यन्त्र) वा दुवै उपयोग गरेर विजुली निकाल्ने योजना बनेको ‘गोरु बत्ती’ योजनामा उल्लेख थियो ।
No comments:
Post a Comment