Thursday, November 26, 2015

पुनर्निर्माणका लागि ४९ अर्बको बजेट सिलिङ

भीम गौतम /राजधानी
काठमाडौं, ९ मंसिर
राष्ट्रिय योजना आयोगले भूकम्पपछिको पुनर्निर्माणका लागि विभिन्न मन्त्रालयलाई ४९ अर्ब ३३ करोड रुपैयाँबराबरको बजेट सिलिङ तोकेको छ । पुनर्निर्माण प्राधिकरणमार्फत खर्च गर्ने गरी चालु आर्थिक वर्षको बजेटमा समावेश ७४ अर्ब बजेट छुट्ट्याएकोमा सरकारले हालै प्राधिकरण गठन नभएसम्मका लागि आयोगलाई जिम्मा दिएपछि बजेटको सिलिङ तोकिएको हो ।
‘आयोगले पुनर्निर्माणका लागि ४९ अर्ब ३३ करोडबराबरको बजेट सिलिङ तोकेको छ,’ आयोगका सहसचिव गोपीनाथ मैनालीले राजधानीसँग भने, ‘सिलिङअनुसार बजेट तथा कार्यक्रम बनाएर २० मंसिरभित्र अनिवार्य रूपमा आयोगबाट स्वीकृति लिनसमेत निर्देशन
दिइएको छ ।’
योजना आयोगले भूकम्पपछिको क्षति आँकलन (पीडीएन) प्रतिवेदनमा उल्लेख भएअनुसारका अधिकांश क्षेत्र सिलिङले समेटेको छ । सरकारले चालु आर्थिक वर्षमा ७४ अर्ब पुनर्निर्माण कोषमार्फत तथा १७ अर्ब सरकारका विभिन्न मन्त्रालयमार्फत खर्च गर्ने गरी तोकेको थियो ।
राजनीतिक खिचातानीका कारण पुनर्निर्माण प्राधिकरण गठन नभएर एक चौमासिक बित्दासमेत पुनर्निर्माणका कार्यक्रम अघि बढ्न सकेको छैन । यस्तै, विभिन्न मन्त्रालयलाई छुट्ट्याइएको रकमसमेत खर्च हुन सकेको छैन ।
एक चौमासिक सकिसकेको जनाउँदै आयोगले ७४ अर्बमध्ये ४९ अर्बको मात्रै बजेटको सिलिङ तय गरेको हो । ७४ अर्बमध्ये १६ अर्ब र बाँकी दाताहरूको ऋण तथा अनुदानबाट खर्च गर्ने योजना भए पनि हालसम्म दाताहरूसँग सरकारले प्रतिबद्धता रकमबारे छलफल अघि बढाउन सकेको छैन ।
योजना आयोगका अनुसार सिलिङबमोजिम सबैभन्दा बढी सहरी विकास मन्त्रालयलाई २५ अर्ब रुपैयाँ छुट्ट्याइएको छ । सरकारी आवास र खानेपानीसहित भूकम्पपीडितलाई सरकारले दिने अनुदानसमेत यही मन्त्रालयमार्फत अघि बढ्नेछ । त्यसैगरी, सिलिङमा शिक्षा र कृषि मन्त्रालयलाई ३÷३ अर्ब, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई २ अर्ब ३० करोड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलाई २ अर्ब, ऊर्जालाई १ अर्ब ३० करोड, वनलाई १ अर्ब ४० करोड र नवीकरणीय ऊर्जाका लागि ४० करोड रुपैयाँबराबरको बजेट विनियोजन
गरिएको हो ।
आयोगले पुँजीगत खर्च बढी र चालु खर्चलाई कम गर्ने गरी तथा भ्रमणलगायतका खर्चालु कार्यक्रम नगर्नसमेत निर्देशन दिएको सहसचिव मैनालीले जानकारी दिए । ‘कुनै मन्त्रालयले सिलिङअनुसारको बजेट खर्च गरेमा थप बजेटको अभाव हुन नदिने गरी अघि बढाएका छांै,’ उनले भने, ‘प्राधिकरण गठन भएलगत्तै आयोगले सबै कार्यक्रम तथा बजेट हस्तान्तरण गर्नेछ ।’ गत ६ असारमा सरकारले ल्याएको पुनर्निर्माण अध्यादेश समयभित्र पारित नभएर खारेज भएपछि सरकारले असोजको पहिलो साता संसद्मा पुनर्निर्माण विधेयक पेस गरेको थियो ।
हाल सो विधेयक संसद्को विधायन समितिमा सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका सभासद्हरूको विवादका कारण अड्किएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले अध्यादेश खारेज भए पनि सोहीअनुसार नियुक्त प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. गोविन्द पोखरेललाई नै निरन्तरता दिनुपर्ने अडान लिइरहेको छ भने सरकारको नेतृत्व गरेको दल एमाले सो प्रस्ताव सुन्नसमेत तयार छैन । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सत्ता साझेदार एमालेको कडा आपत्तिका बाबजुद पोखरेललाई सीईओ नियुक्ति गरेका थिए ।
कांग्रेसले अहिले पनि पुरानै नियुक्तिलाई यथावत् राख्नुपर्ने बताएपछि विवाद बढेको हो । जसका कारण पुनर्निर्माण विधेयक नै अनिश्चित बनेको छ ।
पुनर्निर्माण प्राधिकरणमार्फत कार्यक्रम अघि बढाउँदा खरिद प्रक्रिया, जग्गा प्राप्ति र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) लगायतलाई निष्क्रिय बनाउने कारण छिटो–छरितो काम हुने भए पनि आयोगमार्फत अघि बढाउँदा झन्झटिलो भई समयमै पुनर्निर्माणका कार्य अघि बढाउन समस्या रहेको आयोगका एक अधिकारी बताउँछन् । हाल भारतले गरेको अघोषित नाकाबन्दीका कारण सहज आपूर्ति नभइरहेका बेला यसले पुनर्निर्माणमै असर पर्ने देखिएको छ ।
http://www.rajdhani.com.np/article/0968526001448499183

Tuesday, November 24, 2015

नाकाबन्दी नलम्ब्याउन व्यवसायीको आग्रह

दीर्घकालीन समाधान आवश्यक  अर्थमन्त्री

राजधानी समाचारदाता
काठमाडौं, ७ मंसिर
नाकाबन्दी, सीमामा अवरोध तथा तराईमा जारी बन्द अझै लम्बिएमा उद्यमी व्यवसायी पलायन हुनुपर्ने स्थिति आउने चेतावनी व्यवसायी तथा विज्ञहरूले दिएका छन् । ३ महिनादेखिको नाकाबन्दी र बन्दहडतालका कारण तराई क्षेत्रमा रहेका २ हजार २ सय कलकारखाना तथा व्यवसाय बन्द रहेको र सीमापारी रोकिएका हजारौं ट्रक तथा कन्टेनरको बिलम्ब शुल्क तथा जरिवाना तिर्नका लागि ठूलो रकम खर्चिनुपर्ने भएपछि व्यवसायीको धैर्यको बाँध फुट्नै लागेको उनीहरुको भनाइ छ ।
अर्थ मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘नाकाबन्दीले अर्थतन्त्रमा पारेको असर’ अन्तरक्रियामा बोल्दै उनीहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा महासंघका अध्यक्ष पशुपति मुरारकाले १ खर्बभन्दा बढीको सामान सीमापारी रोकिएको बताउँदै उद्योग व्यवसाय धराशायी अवस्थामा पुगेको बताए । । ‘करिब ३ लाख रुपैयाँ पर्ने कन्टेनरको बिलम्ब शुल्क नै ७ देखि ८ लाख रुपैयाँ पुगेको छ । कतिपय कच्चा पदार्थ र खाद्य सामग्री नष्ट भएका वा बिग्रेका छन् । नाकाबन्दीको १ सय दिनमा नेपाली उद्योग÷ व्यवसायमा मात्रै २ खर्ब रुपैयाँभन्दा बढीको नोक्सान भएको छ ।’ उनले भने, ‘बन्द उद्योगले तलब र बैंकको ब्याजदर तिर्न पनि व्यवसायीलाई अप्ठ्यारो परेको छ ।’ उनले नाकाबन्दी र बन्द अवरोधका कारण मुलुकभर कालोबजारी मौलाएको र त्यसले अर्थतन्त्रमा गम्भीर असर पारिरहेको उनको भनाइ थियो ।
पूर्व अर्थसचिव रामेश्वर खनालले कानुनी रूपमा व्यापार व्यवसाय गर्नेहरू धराशायी हुने र कालोबजारी गर्नेहरू मौलाउने अवस्था आउनु विडम्बनापूर्ण भएको बताउँदै उद्यमीहरूलाई पलायन हुनबाट रोक्नका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरे । ‘नाकाबन्दीले अर्थतन्त्रमा भूकम्पले भन्दा ठूलो धक्का दिएको छ । तर, अझै पनि सरकारले त्यसको उपचारबारे प्रस्ट धारणा ल्याउन सकेको छैन,’ उनले भने । नेपालमा कालोबजारीको आकार दैनिक १ खर्ब रुपैयाँबराबर पुगेको भन्दै उनले आमजनतालाई आश्वस्त पार्नका लागि सरकारले कालोबजारी तत्कालै नियन्त्रण गर्नुपर्ने उनले बताए ।
पूर्व मुख्यसचिव डा. विमल कोइरालाले सरकार राजस्वमुखी भएको आरोप लगाए । एफएनसीसीआईका उपाध्यक्ष किशोर प्रधानले कालोबजारीलाई पूर्ण नियन्त्रण गर्नका लागि त्यसमा संलग्नलाई कडा कारबाही गर्न माग गरे । त्यस्तै, एफएनसीसीआईअन्तर्गतको ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले नेपाल आत्मनिर्भर हुने मुख्य क्षेत्र ऊर्जा नै भएकाले यसअघि घोषणा गरेका कार्यक्रम कार्यान्वयन गर्न अर्थ मन्त्रालयले ढिलो गर्न नहुने बताए ।
भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाका अनुसार राजस्व संकलनको अवस्था ज्यादै निराशाजनक छ । भैरहवा पारी ३ हजारभन्दा बढी र मेची भन्सार पारी १ सय २५ ट्रक तथा कन्टेनर रोकिएको र वीरगन्ज पारी त झन् १० किलोमिटरभन्दा बढी नेपाल भित्रिने ट्रक र कन्टेनरको ताँती लागेको उनले जानकारी दिए । त्यसैगरी, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले बन्दहडतालका कारण लगानीको वातावरण बिग्रँदा बैंकमा तरलता थुप्रिएको बताए ।
कार्यक्रममा उपस्थित सभासद्हरूले नाकाबन्दी र हडताल राजनीतिक समस्या भएकाले त्यसलाई वार्ता र सहमतिको बाटोबाट समाधान गर्न सुझाएका थिए । व्यवस्थापिका–संसद्अन्तर्गतको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले ऊर्जा नेपालको ठूलो सम्भावनाको क्षेत्र भएको बताए । नेपालमा जलविद्युत् आयोजना तथा प्रसारण लाइनको विकासमा अरू नभई सरकार नै बाधक भएको आरोप लगाउँदै उनले जलविद्युत् विकासमा देखिएका अवरोध हटाउनका लागि तत्कालै काम गर्न पनि सुझाए ।
व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिका सभापति रवीन्द्र अधिकारीले पनि ऊर्जाको विकासमा सरकार उदासीन भएको गुनासो गरे । सिंहदरबारमा सौर्य ऊर्जाका लागि घोषणा गरेको परियोजना वर्षौं बित्दा पनि कार्यान्वयन हुन नसकेको उनले बताए । व्यवस्थापिका–संसद्अन्तर्गतकै उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति भीष्मराज आङदेम्बेले सामाजिक सद्भाव नबिग्रिने गरी अहिलेको समस्याको समाधान खोज्न आग्रह गरे ।
व्यवसायीले कर छुट गर्न गरेको मागको सम्बोधन गर्दै राजस्व सचिव राजन खनालले अहिले राज्य पनि अप्ठ्यारोमा परेको भन्दै कर छुट नै दिन नसकिने तर अन्य सहुलियतका व्यवस्था गर्न सरकार तयार रहेको बताए । अर्थमन्त्री विष्णु पौडेलले समस्या समाधानका लागि सरकार तत्पर रहेको र त्यसका लागि सम्पूर्ण सरोकारवालासँग संवाद र छलफल गर्न चाहेको बताए ।
नाकाबन्दी नेपालीले कल्पनै गरेको समस्या भन्दै उनले यसअघिका नाकाबन्दीमा दीर्घकालीन समाधान नखोज्दा नेपाली जनताले पटकपटक दुःख पाउनुपरेको उनको भनाइ थियो । कालोबजारी नियन्त्रण गर्न सरकार तत्पर रहेको र त्यसका लागि आवश्यक कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै सेजनका अध्यक्ष गोकर्ण अवस्थीले अर्थतन्त्रको अवस्था जर्जर बन्दै गएको बताए ।
http://rajdhani.com.np/article/0373428001448343890

‘पुनर्निर्माण विधेयक सहमतिमा ल्याऊ’

काठमाडांै\रास— संसद्को विकास समितिले पुनर्निर्माण विधेयकलाई राजनीतिक सहमतिको आधार छिटो संसद्बाट पारित गर्न निर्देशन दिएको छ । सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलबीच राजनीतिक खिचातानीका कारण संसद्को विधायन समितिबाट पारित हुन नसकेको सो विधेयक पारित गरी पुनर्निर्माण अघि बढाउन निर्देश दिएको हो ।
गत ६ असारमा आएको भूकम्पपछिको पुनर्निर्माण अध्यादेश संसद् सुरु भएको ६० दिनभित्र पारित नभएर खारेज भएपछि असोजको पहिलो साता विधेयक प्रस्तुत गरेकामा हाल संसद्को विधायन समितिबाट पारित भएर संसद्मा टेबल हुन सकेको छैन । पुनर्निर्माण विधेयकमा ढिलाइ गर्दा भूकम्पपछिको पुनर्निर्माणमा समस्या परेको भन्दै समितिको बैठकमा अधिकांश सभासद्हरुले छिटो पारित गरेर अघि बढाउन आग्रह गरेका थिए ।
बैठकमा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले सरकार विधेयक तुरुन्तै पारित गर्ने पक्षमा रहेको बताउँदै नाकाबन्दीपछिको असर र यसबाट सिर्जित समस्या समाधानका लागि छिट्टै श्वेतपत्र जारी गर्न लागेको जानकारी दिए । बैठकमा केही सभासद्ले पुनर्निर्माण विधेयक विचाराधीन अवस्थामा रहेका बेला यसको जिम्मा राष्ट्रिय योजना आयोगलाई दिएकामा आलोचना गरेपछि अर्थमन्त्री पौडेलले पुनर्निर्माण प्राधिकरणको विकल्पमा आयोगलाई जिम्मा नदिएको र पारित नभएसम्मका लागि पुनर्निर्माण नरोक्नका लागि तत्कालका लागि दिएको स्पष्ट पारे ।
आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले पुनर्निर्माण विधेयक छिटो अघि नबढाए दाताले प्रतिबद्धता गरेको सहयोग नआउने अवस्था रहेको भन्दै छिटो अघि बढाउन आग्रह गरे । ५ महिना बित्न लाग्दासमेत पुनर्निर्माणका लागि छुट्याएको ७४ अर्ब बजेट कार्यान्वयन गर्न कार्यक्रम बनाउन नसकिएको बताउँदै नाकाबन्दीको आर्थिक असरबारे अध्ययन भइरहेको जानकारी दिए ।
http://rajdhani.com.np/article/0627579001448344073

अब राहदानीमा प्रत्यक्ष दर्ता प्रणाली

नयाँ प्रणालीबाट उपप्रधानमन्त्रीलाई राहदानी 

हस्तलिखित हुनेलाई अस्थायी राहदानी

भीम गौतम /राजधानी
काठमाडौं, ७ मंसिर
सरकारले सोमबारदेखि राहदानीमा प्रत्यक्ष दर्ता (लाइभ इनरोलमेन्ट) प्रणाली सुरु गरेको छ । परराष्ट्र मन्त्रालयको राहदानी विभागले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई थप व्यवस्थित बनाउन र सहज वितरणका लागि लाइभ इनरोलमेन्ट प्रणाली सुरु गरेको हो ।
आवेदनकर्ता आफ्नो सक्कल नागरिकता र पुरानो पासपोर्ट लिएर लाइभ इनरोलमेन्ट केन्द्रमा पुगेपछि कम्युटरद्वारा नै सबै प्रक्रिया पूरा हुने यस प्रणालीअनुसार कम्प्युटरबाट सिधै फोटो खिचेपछि फाराम पनि त्यहीं बसेर भर्ने र इलेक्ट्रोनिक हस्ताक्षर तथा औंठाछाप दिन सकिन्छ । ‘सोमबार शुभारम्भ गरिएको प्रत्यक्ष प्रणाली आज (मंगलबार)बाट कूटनीतिक र एक साताभित्र सबैका लागि सुरु गर्दै छौं,’ राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले भने, ‘आगामी डिसेम्बरदेखि विदेशस्थित नियोगहरूमा प्रणालीका केन्द्रबाट समेत यो प्रणाली सुरुआत गर्न लागेका छौं ।’
मन्त्रालयका अनुसार आगामी १५ जनवरीसम्म प्रत्यक्ष प्रणाली र अहिलेकै फाराम भर्ने प्रणाली रहने भए पनि त्यसपछि पूर्ण रूपमा प्रत्यक्ष प्रणाली गर्ने लक्ष्य राखिएको छ ।
सरकारले मन्त्रिपरिषद्बाट नै पारित गरेर फ्रान्सेली कम्पनी ओर्वथरलाई २५ लाख राहदानी छाप्ने र लाइभ इनरोलमेन्ट प्रणाली प्रयोग गर्ने जिम्मा दिएको थियो ।
यो प्रणालीअन्तर्गत अनलाइनमार्फत फाराम भरेपछि तत्काल सम्बन्धितको इमेलमा आवेदन स्वीकृत भए÷नभएको तत्काल जानकारी दिनेछ । यसले केही महँगो तिरेर कुनै निजी कार्यालयमा गएर फोटो खिच्ने, फाराम भर्ने अवस्थाको अन्त्य भएको छ । ई–पासपोर्टमा जान सरकारले तयारीको रूपमा यो प्रणालीलाई लिएको छ ।
सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले कूटनीतिक पासपोर्ट लाइभ इनरोलमेन्ट प्रणालीको शुभारम्भ गरे । कार्यक्रममै थापाले उपप्रधानमन्त्रीको स्तरबाट कूटनीतिक राहदानीका लागि तत्काल फाराम र फोटो खिचाएर पहिलो कूटनीतिक राहदानी लिई यसको शुभारम्भ गरेका थिए ।
शुभारम्भ कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री थापाले प्रत्यक्ष प्रणालीमार्फत राहदानी वितरण कार्य इतिहासमा कोसेढुंगा सावित भएको बताए । ‘प्रत्यक्ष प्रणालीले राहदानी वितरणमा सहजता र दु्रतता ल्याउनेछ,’ उनले भने । उनले हाल तत्काल बनाउनुपर्ने राहदानीको समय सात दिन रहेकोमा पाँच दिनभित्र, जिल्लाबाट आवेदन दिनेलाई १५ दिन रहेकोमा १० दिनभित्र र विदेशस्थित नियोगको हकमा सात दिनलाई घटाएर पाँच दिनभित्र दिने व्यवस्था गरिएको जानकारी दिए ।
मन्त्री थापाले ई–पासपोर्ट लागू गर्नका लागि मन्त्रालयले राहदानी विभागका महानिर्देशक थापाको नेतृत्वमा समिति गठन गरिएको जानकारी दिए ।
परराष्ट्र मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को बाध्यकारी नियमअनुसार हस्तलिखित पासपोर्ट विश्वभर नचल्ने भएको छ । यसका लागि सरकारले पाँच वर्षअघि एमआरपी सुरु गरेको थियो । पाँच वर्षको अवधिमा ३८ लाखले एमआरपी लिएको र यस अवधिमा १७ लाख हस्तलिखित राहदानी प्रतिस्थापन भएको विभागका महानिर्देशक थापाले जानकारी दिए ।
मन्त्रालयका अनुसार अझै ५० हजार हस्तलिखित राहदानी आउन बाँकी छ भने ती राहदानीकर्ताका लागि सरकारले नौमहिने अस्थायी राहदानी वितरण गर्ने व्यवस्था गरेको छ । हस्तलिखित पासपोर्ट बोकेर नयाँ स्थानमा जान नपाइने भए पनि पुरानै हस्तलिखित राहदानी भएर एमआरपी नबनाएकालाई तत्काल फर्कन समस्या नपर्ने महानिर्देशक थापाले बताए ।
http://rajdhani.com.np/article/0490113001448341300

Sunday, November 22, 2015

कुलेखानी जलाशयमाथि २५ मेगावाटको सोलार

भीम गौतम\राजधानी
काठमाडौं, ५ मंसीर । नेपालकै एक मात्र जलाशययुक्त कुलेखानी जलविद्युत आयोजनाको तालमाथि सौर्य उर्जा (सोलार) निर्माण गर्ने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले उर्जा संकट न्यूनीकरणका लागि भन्दै कुलेखानी जलाशयमाथि सोलार निर्माण गर्ने भएको हो । विदेशमा धेरै मुलुकमा जलाशययुक्त आयोजनामाथि सोलार बनाए पनि नेपालमा भने पहिलोपटक बनाउन लागिएको सो २५ मेगावाटको सोलारको लागत ३५ मिलियन डलर लाग्ने अनुमान विद्युत विद्युत प्राधिकरण ग्राहक तथा वितरण सेवा निर्देशानालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिए ।
‘कुलेखानी जलाशयमाथि र वरिपरिका डाँडामा २५ मेगावाटको सोलार आयोजना निर्माण गर्न लागेका छौ ।’–उपकार्यकारी निर्देशक पाण्डेले भने–‘यसका लागि विश्व बैकलाई आग्रह समेत गरिसकेका छौ ।’ उनका अनुसार, तीन महिनाभित्र प्रारम्भिक अध्ययन सकाएर यसका लागि विद्युत प्राधिकरणले विश्व बैकलाई सहयोगको लागि औपचारिक पत्र पठाउनेछ । उपकार्यकारी पाण्डेले विश्व बैक नेपाल–वंगलादेशका प्रतिनीधि जिताङलाई भने यसबारे जानकारी गराईसकेका छन् ।
विश्व बैककै सहयोगमा नुवाकोटको त्रिशुली देवीघाट जलविद्युत आयोजनाको खाली जमीनमा सोलार बन्न लागेको छ तर सो सोलारका लागि वोलपत्र आह्वान गर्दा २८ मिलियनको मात्र ठेकेदार आवेदन दिएपछि ४८ मिलियनमध्ये बाँक २८ मिलियन कुलेखानी जलाशयमा खर्च गर्ने प्राधिकरणको योजना छ ।
जलाशययुक्त आयोजना नजिक सोलार बनाउँदा प्रशारण लाइन र मिश्रित उर्जा प्रणालीमा सहयोग पुग्ने आशा गरिएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष खड्गबहादुर विष्ट उर्जाको विविधता र संयोजनमा जलाशययुक्त आयोजनामाथि बनाइने सोलारले ठूलो सहयोग पुर्याउने बताउँछन् । ‘जलाशययुक्त आयोजनाकै क्षेत्रमा सोलार बनाउँदा प्रणालमिा पनि सहयोग पुग्छ, विद्युत प्राधिकरणले विभिन्न आयोजनाहरु बनाउँदा खरिद गरेर खाली रहेका जग्गामा बनाउँदा राम्रो हुन्छ ।’–उनले भने–‘विदेशमा समेत यस्तो देखिएको हुन्छ, जलाशययुक्त आयोजनामा बनाउँदा त झन विद्युत आपुर्तिमा सहजता हुन्छ ।’
विद्युत प्राधिकरणले गण्डक जलविद्युत केन्द्रको जग्गामा समेत सोलार निर्माणबारे अध्ययन अघि बढाएको जनाएको छ । सरकारले मिश्रित उर्जा प्रणालीमा जाने निर्णयका आधारमा नुवाकोटमा विद्युत प्राधिकरणले २५ मेगावाटको सोलार निर्माण कार्य अघि बढाएको छ ।
प्राधिकरणले डिजेल प्लान्टबाट उत्पादन गर्दा प्रतियुनिट चुहावटसहित ४० रुपिया“ पर्ने र सोलार निर्माण गर्दा प्रतियुनिट १५÷१६ रुपिया“मा आउने भएकाले प्राधिकरणले अहिलेको ऊर्जा संकटको न्यूनीकरणका लागि वैकल्पिक ऊर्जा प्रणलीका रुपमा लिइने सोलारलाई महत्व दिइएको बताउँदै आएको छ । सोलारबाट उत्पादित विद्युत केन्द्रीय ग्रिडमा जोडिने भएकोले यसले हिउँदको लोडसेडिङ घटाउन सहयोग पुग्ने आशा प्राधिकरणको छ ।

Saturday, November 21, 2015

पुनर्निर्माणको अधिकांश काम अब आयोगमार्फत

भीम गौतम/राजधानी
काठमाडौं, ३ मंसिर
राजनीतिक खिचातानीका कारण ऐन नआएर भूकम्पपछिको पुनर्निर्माणको काम ठप्प भएपछि सरकारले यसको जिम्मा राष्ट्रिय योजना आयोगलाई दिएको छ । पुनर्निर्माण अध्यादेश पारित नभएर गठित पुनर्निर्माण प्राधिकरण खारेज भएपछि ठप्प भएको पुनर्निर्माणको अधिकांश कामको जिम्मा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगलाई दिएको हो । अध्यादेशमा प्राधिकरण गठन नभएसम्म यसको काम अर्थ मन्त्रालयलाई दिएकोमा बिचमै अलपत्र परेपछि सरकारले आयोगलाई जिम्मा दिएको हो ।
१२ वैशाखमा गएको महाभूकम्पको आठ महिना बितिसक्दा पनि पुनर्निर्माण ऐन पारित र प्राधिकरण गठनमा ढिलाइ हुँदा पुनर्निर्माणको काम अलपत्र छ ।
सरकारले आयोगलाई पुनर्निर्माणका लागि सम्बन्धित मन्त्रालयको बजेटको सीमा निर्धारण गर्ने, विभिन्न मन्त्रालयले पठाएका कार्यक्रम स्वीकृति र कार्यान्वयन गर्न लगाउने तथा पुनर्निर्माणसम्बन्धी सम्बन्धित मन्त्रालयबाट सम्पादित कामको अनुगमन र समन्वय गर्ने जिम्मेवारी आयोगलाई दिएको सह–सचिव गोपी मैनालीले जानकारी दिए ।
‘पुनर्निर्माणको अधिकांश कामको जिम्मा सरकारलाई आयोगले दिएको छ, त्यसमा पनि तिन मुख्य काम छन्,’ आयोग सह–सचिव मैनालीले भने, ‘पुनर्निर्माणका कार्यक्रम अघि बढाउनका लागि आवश्यक नीति र कार्यक्रम पनि आयोगले बनाउनुपर्ने आवश्यकता छ ।’ प्राधिकरण गठन भएपछि आयोगले गरेका पुनर्निर्माणसम्बन्धी सबै काम हस्तान्तरण गर्नेछ ।
सरकारले चालु वर्षको बजेटमा पुनर्निर्माण प्राधिकरणमार्फत ७४ अर्ब रुपैयाँ परिचालन गर्ने उल्लेख छ तर अध्यादेश खारेज र नयाँ पुनर्निर्माण ऐनसमेत सत्ता पक्ष र प्रतिपक्षको खिचातानीका कारण पारित नभएपछि चार महिना बितिसक्दा पनि खर्च हुन सकेको छैन । साथै, सरकारले एकीकृत रूपमा कार्यक्रम पनि बनाउन सकेको छैन । आयोगका अनुसार हालसम्म केही मन्त्रालयले मात्र पुनर्निर्माणसम्बन्धी कार्यक्रम तयार पारेका छन् ।
पुनर्निर्माण गठन नहुँदा पुनर्निर्माणसम्बन्धी मुख्य नीति तथा भूकम्पबाट भएका क्षतिग्रस्त क्षेत्रहरूको छुट्टाछुट्टै कार्यक्रम बन्न सकेको छैन । भूकम्पपछिको क्षति आँकलन प्रतिवेदन (पीडीएनए) ले झन्डै २१ क्षेत्रमा ७ खर्ब रुपैयाँबराबरको क्षति पुगेको सार्वजनिक गरेको थियो । यस अवधिमा २ लाख रुपैयाँ दिने सरकारको घोषणाअनुसार अनुदान कार्यविधि तथा भवन संहिता भने बनिसकेको छ । पुनर्निर्माण नीति र योजना निर्माणमा समय लाग्ने भएकाले आयोगले पुनर्निर्माणका कामसमेत अघि बढाउँदै नीति र योजना पनि अघि बढाउने लक्ष्य राखेको छ ।
प्राधिकरण नहुँदा पुनर्निर्माणका लागि १० असारमा सरकारले गरेको दाता सम्मेलनबाट विदेशी दाता तथा साझेदारहरूले घोषणा गरेको ४ सय ४० अर्ब रुपैयाँबराबरको सहयोगको प्रतिबद्धताबारे थप छलफल गरेर टुंगो लगाउन सकेको छैन । दाताहरूसँग छलफल गरेर सहायताको टुंगो लगाउन कम्तीमा ६ महिना लाग्ने भएकाले चालु आर्थिक वर्षभित्र पुनर्निर्माणका लागि सहायता प्राप्त गर्न कठिन रहेको आयोगका एक अधिकारीले जानकारी दिए ।
http://rajdhani.com.np/article/0778846001447977083

Thursday, November 19, 2015

सोलार योजना तिन वर्षदेखि अलपत्र

भीम गौतम /राजधानी
काठमाडौं, २ मंसिर
नेपाल विद्युत् प्राधिकरणले तिन वर्ष अघिदेखि सुरु गरेको २५ मेगावाटको सौर्य ऊर्जा (सोलार) निर्माण कार्य अझै सुरु हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र २ सय मेगावाटको सोलार आयोजना बनाउने घोषणा गरिरहेका बेला तिन वर्षअघि नै विद्युत् प्राधिकरणले सुरु गरेको २५ मेगावाटको सोलार आयोजना अझै अघि बढ्न नसकेको हो ।

तत्कालीन ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले समेत ६ महिनाभित्र सोलार आयोजना बनाइसक्ने घोषणा गरेकी थिइन् । तर, विद्युत् प्राधिकरणको कार्यतालिकाअनुसार २५ मेगावाटको सो सोलार आयोजना कुनै अवरोध नभएमा बल्ल आगामी वर्षको ४ वैशाखबाट मात्रै सुरु हुनेछ । ‘प्राधिकरणको कार्यतालिकाअनुसार २०७४ को वैशाखसम्ममा बनाउने योजना छ,’ प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले राजधानीसँग भने, ‘अहिले ठेकेदार छनोटको काम भइरहेको छ ।’ आगामी माघसम्मबाट विद्युत् प्राधिकरण बोर्ड र विश्व बंैकबाट स्वीकृति भई ठेकेदार छनोट हुने तथा फागुनमा ठेकेदारसँग सम्झौता भई वैशाखदेखि काम सुरु गर्ने लक्ष्य राखिएको छ । सबै प्रक्रिया पूरा गरेपछि २५ मेगावाटको सोलार बनाउन मात्र एक वर्ष लाग्नेछ ।
विद्युत् प्राधिकरणले ऊर्जा संकट न्यूनीकरणका लागि भन्दै सन् २०१२ मै विश्व बंैकलाई सहुलियत ऋणका लागि पत्र लेखेको थियो । तर, प्राधिकरणभित्रको कर्मचारी युनियनहरूको विरोध तथा समयमै विभिन्न प्रक्रिया पूरा नहुँदा गत जेठमा मात्र निर्माणका लागि बोलपत्र आह्वान भएको थियो । जलविद्युत् आयोजना निर्माणमा सीमित प्राधिकरणले सोलार बनाउन लागेको भन्दै आलोचना भए पनि प्राधिकरण ऊर्जा न्यूनीकरणका लागि जलविद्युत्को तुलनामा तत्काल बढाउन सक्ने र डिजेल प्लान्टका तुलनामा सोलार सस्तो हुने भन्दै सोलार बनाउने निर्णय गरेको थियो ।
सोलार आयोजनाका लागि विश्व बैंकले ४८ मिलियन डलर सहुलियत ऋण दिएको छ । सो सोलार नुवाकोटास्थित त्रिशूली देवीघाट जलविद्युत् आयोजनाको जग्गामा निर्माण हुन लागेको छ । प्राविधिकका अनुसार एक मेगावाट सोलार आयोजना बनाउनका लागि ८ देखि १० हजार स्वाक्यर मिटर जमिन
आवश्यक पर्छ ।
प्राधिकरणले डिजेल प्लान्टबाट उत्पादन गर्दा प्रतियुनिट चुहावटसहित ४० रुपैया“ पर्ने र सोलार निर्माण गर्दा प्रतियुनिट १५÷१६ रुपैया“मा आउने भएकाले प्राधिकरणले अहिलेको ऊर्जा संकटको न्यूनीकरणका लागि वैकल्पिक ऊर्जा प्रणालीका रूपमा लिइने सोलारलाई महŒव दिइएको बताउँदै आएको छ ।
सोलारबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोडिने भएकाले यसले हिउँदको लोडसेडिङ घटाउन सहयोग पुग्ने विश्वास प्राधिकरणको छ । तर, प्राधिकरणका एक अधिकारी दिउँसो मात्र काम दिने सोलार उत्पादन गर्दा दिउँसै सूर्यको ताप घट्दै गएमा उत्पादन कम हुने हुँदा सन्तुलित विद्युत् वितरणमा समस्या पर्ने बताउँछन् ।
‘प्रधानमन्त्रीले २ सय मेगावाट सोलारमार्फत उत्पादन गर्ने लक्ष्य राख्नुभएको छ तर जग्गाको उपलब्धता तथा विविध कारणले एक वर्षभित्र असम्भव छ,’ ती अधिकारीले भने, ‘ग्रिडसँग प्राविधिक रूपमा तालमेल मिलाउन समस्या हुने भएकाले जलाशययुक्त आयोजनाहरू बढी भएपछि मात्र सोलारको बिजुली सहज रूपमा व्यवस्थापन गर्न सकिन्छ ।’
हाल ९२ मेगावाट मात्र जलाशययुक्त आयोजना छ भने सोलारले उत्पादन गरेको बिजुली दिउँसो मात्र काम दिने तथा बिहान–बेलुकाको पिक आवरमा योगदान दिन नसक्ने भएकाले केही प्राविधिकहरू जलविद्युत्मै बढी जोड दिँदै आएका छन् । हालसम्म प्राधिकरणले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डद्वारा सुन्दरीघाट Ôेत्रमा निर्मित सौर्य ऊर्जा प्रणाली आयोजनाबिच विद्युत् खरिद सम्झौता (पीपीए) गरेर ६८० दशमलव ४ किलोवाट सोलार ग्रिडमा जोडिसकेको छ ।

छैन सोलारको पीपीए रेट

काठमाडौं÷रास– सरकारी र निजी क्षेत्रलाई उपयोग गरेर एक वर्षभित्र २ सय मेगावाट सोलार उत्पादन गर्ने लक्ष्य राखिए पनि हालसम्म सोलारको विद्युत् खरिद सम्झौता (पीपीए) दररेट कायम गरिएको छैन । जलविद्युत्को तुलनामा महँगो पर्ने सोलारमार्फत उत्पादित बिजुलीबारे सरकारले हालसम्म पीपीए दररेट नै कायम नगर्दा तत्काल निजी क्षेत्रले बनाउन कठिन छ ।
पीपीए निर्धारण सरकारद्वारा गठित विद्युत् महसुल निर्धारण आयोगले गर्नुपर्ने भए पनि हालसम्म ऊर्जा मन्त्रालयले यसबारे कुनै प्रक्रिया अघि नबढाएको मन्त्रालयका एक अधिकारीले बताए । ‘सरकारले जग्गा उपलब्ध गराएको र नगराएको सोलार आयोजनाका लागि छुट्टाछुट्टै पीपीए दर कायम गर्नुपर्छ, अहिलेसम्म कुनै प्रक्रिया नै सुरु भएको छैन, यस्तो अवस्थामा २ सय मेगावाट उत्पादन गर्न कठिन छ,’ उनले भने । उनका अनुसार सबै प्रक्रिया पूरा गरेमा २५ मेगावाटको सोलार आयोजना बनाउन कम्तीमा एक वर्ष लाग्छ भने ठुला आयोजना बनाउन अझ बढी समय लाग्छ ।
http://rajdhani.com.np/article/0040757001447892723

Wednesday, November 18, 2015

मन्त्रालय–प्राधिकरण विवादले जलविद्युत् आयोजना ठप्प

भीम गौतम /राजधानी
काठमाडौं, १ मंसिर
मुलुकले चरम ऊर्जा संकट बेहोरिरहेका बेला जलविद्युत् विकास गर्ने दुई निकायबिचको द्वन्द्वले नेपाल विद्युत् प्राधिकरणमार्फत गरिने सबै जलविद्युत्सम्बन्धी आयोजनाका काम ठप्प भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरिरहेकै बेला जलविद्युत् उत्पादन गर्ने नेपालको प्रमुख निकायको रूपमा रहेको ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबिचको द्वन्द्वका कारण जलविद्युत् आयोजनाहरू ठप्प भएका हुन् ।
दु्रत गतिमा विकास गर्नुपर्ने बेलामा हालसम्म सरकारले चालु आर्थिक वर्षको बजेटमा सार्वजनिक गरेको कुनै पनि कार्यक्रम चार महिना बितिसक्दासमेत स्वीकृत भएर प्राधिकरण पुग्न सकेको छैन । विद्युत् प्राधिकरणका अनुसार सरकारले तोकेको पहिलो चौमासिक सकिँदा विद्युत् प्राधिकरणको चौमासिक प्रगति शून्य छ ।
आर्थिक वर्ष २०७२÷०७३ को लागि सरकारले ऊर्जा क्षेत्रमा ३८ अर्ब रुपैयाँबराबरको बजेट छुट्ट्याए पनि ऊर्जा सचिव राजेन्द्रकिशोर क्षत्री र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेबिचको द्वन्द्वका कारण चौमासिक खर्च प्रगति शून्य बनेको हो । ऊर्जा संकट गहिरिँदै गएका बेला जलविद्युत् विकासका लागि सक्रिय हुनुपर्ने प्राधिकरणका कार्यक्रम चार महिनासम्म स्वीकृत भएर नआउनुलाई ऊर्जा क्षेत्रमा विडम्बनाको रूपमा लिइएको छ । ‘प्राधिकरणले झन्डै साढे दुई महिनाअघि कार्यक्रम स्वीकृतिका लागि पठाएको थियो तर अहिलेसम्म कुनै कार्यक्रम स्वीकृत भएर आएको छैन,’ प्राधिकरणका एक उच्च अधिकारीले भने ।
प्राधिकरणले कार्यकारी निर्देशकको हस्ताक्षरसहित मन्त्रालयमा कार्यक्रम स्वीकृतिका लागि पठाए पनि मन्त्रालयले आफूले तोकेको निमित्त कार्यकारी निर्देशकको हस्ताक्षर गरेर ल्याउन भनेपछि कार्यक्रम अघि बढ्न नसकेको दाबी गरेको छ । तर, ऊर्जा मन्त्रालयले भने १ सय २० कार्यक्रममध्ये ५० प्रतिशत राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएर आइसकेको र केही स्वीकृतिको चरणमा रहेको दाबी गरेको छ । ‘केही कार्यक्रम आयोगबाट स्वीकृत भएर आइसकेका छन्, कुनै स्वीकृतिको चरणमा छन्,’ ऊर्जा सचिव क्षत्री भन्छन्, ‘केही कार्यक्रम नमिलेर फकाइएको हो ।’
प्राधिकरणका अनुसार सरकारले सार्वजनिक गरेको चालु वर्षको बजेटमा करिब १ सय २० कार्यक्रम छन् । प्रसारण लाइनका लागि मात्र १२ अर्ब ७३ करोड छुट्ट्याइएको छ । सोलु कोरिडोरको ठेक्काको विषयमा मत बाझिएपछि प्राधिकरणमा कार्यकारी निर्देशक काफ्लेलाई गैरकानुनी रूपमा मन्त्रालयमा सरुवा गरेर सचिव क्षत्रीले निमित्त कार्यकारी निर्देशकको पत्र रामचन्द्र पाण्डेलाई दिएका थिए ।
१७ असोजमा पत्र पाएपछि कार्यकारी निर्देशक काफ्ले भने आफूलाई मन्त्रालयमा सरुवा गर्नु गैरकानुनी भन्दै मन्त्रालयमा हाजिर भएका छैनन् भने उनले यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । हाल नियमित रूपमा प्राधिकरण आइरहेका काफ्लेले नै कार्यकारी निर्देशकको काम गरिरहेका छन् । तर, अतिरिक्त समूहमा परेर अन्यत्रै सरुवाको तयारीमा रहेका सचिव क्षत्रीले काफ्लेको हस्ताक्षर मान्दिनँ भन्दै फर्काएका छन् । ऊर्जा मन्त्रालयका एक अधिकारीले भने केही कार्यक्रम काफ्लेले हस्ताक्षर गरेर पठाएकै कारण फर्काइएको स्वीकार गरे । ‘मन्त्रालयले दिएका निमित्त कार्यकारी निर्देशकको हस्ताक्षर नआएकाले फर्काइएको साँचो हो, सचिव–एमडी झगडा के छ थाहा छैन,’ उनले भने ।
प्राधिकरणका अधिकारीहरू भने चार महिना बित्दा पनि कुनै कार्यक्रम स्वीकृत भएर नआएकाले प्रगति शून्य भएको बताउँछन् । ‘कार्यकारी निर्देशक र सचिवको द्वन्द्व के छ थाहा छैन तर त्यो झगडाको नाममा ऊर्जा मन्त्रालयले भारतले नेपाललाई लगाएको नाकाबन्दीभन्दा पनि कडा नाकाबन्दी लगाउन थालेको छ,’ ती अधिकारीले भने,
‘लिखित रूपमा नदिई मन्त्रालयले अधिकारीले मौखिक रूपमा कार्यकारी निर्देशक काफ्लेको हस्ताक्षर मान्दैनौं भन्छन्, यो त ऊर्जा क्षेत्रकै लागि विडम्बना हो ।’
ऊर्जा मन्त्रालयले कार्यक्रम नै स्वीकृत नगरेपछि प्राधिकरण अन्योलमा छ । प्राधिकरणले मन्त्रालयले असहयोग जारी राखे चालु वर्षको बजेट तथा कार्यक्रमको टेन्डर आह्वानसमेत नभ्याइने भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक काफ्ले भने कार्यक्रम स्वीकृत÷अस्वीकृतबारे अनभिज्ञता प्रकट गर्छन् । ‘कार्यक्रम स्वीकृत नभएर आएको हो भने जसले निर्देशन दिएको हो, यसबाट संस्थालाई भएको क्षतिको जिम्मेवार पनि उसैले लिनुपर्छ,’ उनले भने ।
http://rajdhani.com.np/article/0448056001447806492

Sunday, November 15, 2015

लक्ष्मी पूजामा १३ सय ८२ मेगावाट विद्युत् माग

काठमाडौ÷रास– विद्युत्को माग लक्ष्मी पूजाका दिन १३ सय ८२ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले १३ सय ९६ मेगावाट पुग्ने अनुमान गरेकामा १३ सय ८२ मेगावाट पुगेको हो । लक्ष्मी पूजाका दिन वर्षकै सबैभन्दा बढी माग हुने अनुमान छ । लक्ष्मी पूजाको दिन खुसियालीका रूपमा दीप प्रज्वलन गरिने कारण विद्युत्को माग सबैभन्दा अधिकतम हुने गर्छ । गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत्को माग १२ सय ९१ पुगेको थियो । ‘लक्ष्मी पूजाका दिन १३ सय ८२ मेगावाट विद्युत् माग पुगेको छ ।’ प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवन क्षत्रीले भने, ‘सामान्यता लक्ष्मीपूजाका दिन वर्षको सबैभन्दा बढी माग हुन्छ, कहिलेकाहीँ हिउँदमा पनि योभन्दा बढी हुन सक्छ ।’ 
प्रकाशित मिति: २०१५-११-१५ 
http://www.erajdhani.com/article/0717046001447553606

नाकाबन्दीले अत्यावश्यक विद्युतीय सामान अलपत्र

बिजुली मिटरको चरम अभाव

भीम गौतम /राजधानी
काठमाडौं, २८ कात्तिक
तराई क्षेत्रमा भएको आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीका कारण विद्युतीकरणका लागि अत्यावश्यक सामान आपूर्ति हुन नसकेर अलपत्र परेका छन् ।

नाकाबन्दीका कारण ट्रान्सफर्मर, मिटर, पोल, इन्सुलेटरलगायतका अत्यावश्यक विद्युत्का सामानहरू अलपत्र परेका हुन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार, ट्रान्सफर्मर, मिटर र इन्सुलेटर भारतको कलकत्तामा अलपत्र परेको छ भने पोल सुरक्षाका कारणले ल्याउन नसकेपछि सिमरामा अलपत्र परेको हो । १ लाख ३० हजार बिजुली मिटर, विभिन्नथरीका २ लाख इन्सुलेटर र २ सय ५० ट्रान्सफर्मर तथा २३ हजार स्टिल पोल अलपत्र परेको प्राधिकरणले जनाएको छ । कलकत्तामा अलपत्र परेपछि बिजुली मिटरको चरम अभाव देखिएको छ । अधिकांश विद्युत्प्राधिकरणका वितरण केन्द्रहरूले सार्वजनिक सूचना टाँसेर बिजुली मिटरको अभाव रहेको बताएका छन् । ‘ल्याउन नसकेर सामान अलपत्र परेपछि बिजुलीको मिटर नै छैन ।’ विद्युत् प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले भने, ‘केही पुराना मिटर मर्मतसम्भार गरेर अत्यावश्यक देखिएकामा पहिलो प्राथमिकताका आधारमा दिइरहेका छाँै ।’ उनका अनुसार तत्काल ६० हजार बिजुली मिटरको माग छ ।
श्रीलंकन कम्पनी सीपीएल होल्डिङ कम्पनीमार्फत खरिद गरिएको ट्रान्सफर्मर तथा चाइना मिडिल साउथ कम्पनीमार्फत खरिद गरिएको बिजुली मिटर कलकत्ता आएर अलपत्र परेको हो । त्यसैगरी, भरटिन्डा सेमारिक्स कम्पनीमार्फत खरिद गरिएका विभिन्नथरीकोइन्सुलेटर पनि भारतमै अलपत्र परेको छ । सुरक्षाका कारण सिमराको जगदम्बा इन्टरप्राइजेटमार्फत खरिद गरिएका पोलसमेत तराईमा जारी आन्दोलनका कारण ल्याउन नसकिएको प्राधिकरणले जनाएको छ । ‘नेपालमा पूरै समस्या छ तर ल्याउन सकिएको छैन ।’ प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयअन्र्तगतको जिन्सी व्यवस्थापन सहायक प्रबन्धक विजय चौधरीले भने ।
मिटर अभाव भएपछि नयाँ घर बनाउने तथा विभिन्न कारणले मिटर बिग्रेर उज्यालोका लागि मिटर कुरिरहेका सर्वसाधारण ग्राहकले बिजुली मिटर पाउन सकेका छैनन् । बिजुलीको मिटर चरम अभाव भएपछि अहिले एउटा मिटरका लागि उच्चपदस्थ व्यक्तिहरूको सोर्सफोर्ससमेत आउन थालेको छ ।
‘उच्चपदस्थ व्यक्तिहरूले एउटा बिजुली मिटरका लागि फोन गर्नुहुन्छ तर नभएकाले दिन सक्ने अवस्था छैन,’ प्राधिकरणका एक अधिकारीले भने । प्रत्येक वर्È २ लाख मिटर माग रहे पनि प्राधिकरणभित्र चर्केको ट्रान्सफर्मर प्रकरणसँगै प्राधिकरणले मिटर नकिन्दा विगत दुई वर्षदेखि नै प्राधिकरणले आवश्यक मात्रामा मिटर वितरण गर्न सकेको छैन । प्राधिकरण अधिकारीका अनुसार मिटर नहु“दा बिजुली चोरी बढेको छ भने चोरी नियन्त्रण अभियानमा समेत असर परेको थियो ।
प्राधिकरणका अनुसार, अहिले प्राधिकरणमा पर्याप्त मात्रामा ट्रान्सफर्मर पनि छैन । भूकम्पपछि छिमेकी राष्ट्र भारतले दिएको ८ सय ५० ट्रान्सफर्मरको उपयोग गरेर पूर्ण रूपमा अभाव हुन नदिएको प्राधिकरणका उपकार्यकारी निर्देशक पाण्डेले जानकारी दिए । त्यसैगरी, इन्सुलेटर र पोलको अभावका कारणले प्राधिकरणले विद्युतीकरण गर्न समस्या परेको छ । 
http://www.erajdhani.com/article/0553676001447553571

Tuesday, November 10, 2015

आकस्मिक योजनामार्फत चीन जोड्ने तिन सडक

भीम गौतम /राजधानी
काठमाडौं, २३ कात्तिक
भारतको अघोषित नाकाबन्दीले इन्धनलगायतका अत्याश्यक वस्तु अभाव भएपछि सरकारले चीनसँगको चालु तिन नाकालाई इमर्जेन्सी (आकस्मिक) घोषणा गरी अघि बढाउने भएको छ । भविष्यमा पनि संकट आउन नदिनका लागि सरकारले सो गृहकार्य अघि बढाएको हो ।

गल्छी–त्रिशूली–वेत्रावती–धुन्चे स्याफ्रुबेंसी हुँदै पुग्ने रसुवागढी नाकालाई पहिलो प्राथमिकतामा राखेर सरकारले तिनओटा चालु नाकालाई इमर्जेन्सी आयोजनाको रूपमा अघि बढाउने भएको हो । चालु रसुवागढीसहित काठमाडांै–लामोसाँघु–कोदारी हुँदै जाने तातोपानी नाका तथा मालढुंगा–बेनी–जोमसोम हुँदै जाने कोरला नाकालाई द्रुतगतिमा निर्माण गर्ने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले योजना बनाएको सडक विभागमा महानिर्देशक माधव कार्कीले जानकारी दिए । ‘तिन नाकाका सडक आयोजनालाई इमर्जेन्सी परियोजनाको रूपमा घोषणा गरी अघि बढाउन लागेका छांै,’ महानिर्देशक कार्कीले भने, ‘सरकारले सबै राजमार्ग कम्तीमा दुई लेन हुने गरी बनाउने योजना छ ।
मन्त्रालयले सोमबार व्यवस्थापिका संसद्को विकास समिति बैठकमा दिएको जानकारीअनुसार चालु नाकामध्ये तातोपानीको बाह्रबिसे–कोदारी खण्ड समस्याग्रस्त रहेकाले यसका लागि चीन सरकारलाई अनुरोध गरेकोमा स्वीकार गरी नेपालमा कार्यरत ठेकेदार कम्पनीमार्फत छिटो बनाउन लागिएको छ । नेपालका लागि सीमा नाकाबाट सबैभन्दा कम १ सय १४ किलोमिटर तातोपानी नाका पर्छ । रसुवागढी नाका पुग्नका लागि काठमाडांैबाट १ सय ६० किलोमिटर लाग्ने भए पनि यो नाका जानका लागि वैकल्पिक मार्गको रूपमा वेत्रावती–मैलुङ–हाकुबेंसी–स्याफ्रुबेंसी जाने सडक बनाउँदा २२ किलोमिटर कम हुने मन्त्रालयले जनाएको छ । सो वैकल्पिक ३६ किलोमिटरको निर्माण पूरा गर्न तथा दुई लेन कालोपत्रे गर्नका लागि सामान्यतया साढे तिन वर्षसम्म लाग्ने भए पनि इमर्जेन्सी परियोजनाको रूपमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सरकारले राखेको छ ।
त्यस्तै, कोरला नाकासम्म पुग्न ४ सय ५७ किलोमिटर लाग्छ । यो नाकाको दुई लेनमा कालोपत्रेलगायतका स्तरोन्नति गर्नका लागि सामान्यतया साढे दुई वर्ष लाग्ने भए पनि इमर्जेन्सी रूपमा आयोजना अघि बढाई साढे एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सरकारको छ ।
जुरे पहिरो र भूकम्पपछि तातोपानी नाका ठप्प रहेको छ भने कोरला नाका पनि चालु छैन । रसुवागढी नाका हालै मात्र सञ्चालनमा आएको हो । कोरला र तातोपानी नाका १२ महिना चल्ने भए पनि हिउँ पर्ने कारण रसुवागढी नाका भने सञ्चालन हुँदैन । तातोपानी जाने नाकाको रडक रक कमजोरको कारण सरकारले रसुवागढीलाई पहिलो प्राथमिकता राखेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले सम्भाव्यताको आधारमा रसुवागढीलाई पहिलो प्राथमिकता, तातोपानीलाई दोस्रो र कोरलालाई तेस्रोमा राखेर दु्रतगतिमा निर्माण अघि बढाइने जानकारी दिए ।
बैठकमा छिमेकी दुई राष्ट्रबिचको व्यापार सन्तुलनलाई कायम राख्न र एकल परनिर्भरता अन्त्यका लागि ताप्लेजुङ–ओलाङचुङगोला, खाँदबारी–किमाथान्का, दोलखा–सिंगटी–लामाबगर, हिल्सा–सिमीकोट, बेनीघाट–आरुघाट–लार्के तथा गमगढी–लाग्ना–न्याक्चे नाका निर्माणलाई समेत तीव्रता दिएको मन्त्रालयले जनाएको छ । बैठकमा सभासद्हरूले इन्धनलगायतका अत्यावश्यक वस्तुहरूको दीर्घकालीन सहज आपूर्तिका चीनका नाकाहरू तुरुन्तै खुलाउन र योजनाभन्दा कार्यान्वयनमा जोड दिन माग गरेका थिए । सभासद्हरू रामचन्द्र पोखरेल, जीवनबहादुर शाही, सीतादेवी यादव, कर्णबहादुर विक, सीता गिरी, प्रकाश शर्मा, रञ्जना सरकारलगायतले सम्भावित नाकाहरूलाई ध्यान दिएर निर्माण अघि बढाउन आग्रह गरेका थिए ।
बैठकमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले आपूर्तिलाई सहज बनाउन सरकारले सबै विकल्पका लागि पूर्वाधार निर्माणमा जोड दिने बताए । बैठकले विद्यमान यातायात नीतिअनुसार उत्तर–दक्षिण व्यापारिक नाकाहरू खोल्न तथा उत्तरी सीमाहरू जोड्ने सम्पूर्ण नाकामा सडक सञ्जाल विस्तार गर्न निर्देशन दिएको सभापति रवीन्द्र अधिकारीले जानकारी दिए । समितिले दीर्घकालीन रूपमा आपूर्तिलाई सहज हुने गरी केरुङ जोड्ने रेलमार्गबारे सम्भाव्यता अध्ययन कार्य तत्काल प्रारम्भ गर्न पनि निर्देशन दिएको छ । समितिले ठुला सवारीसाधन, ट्रोल बस, विद्युतीय सवारीसाधनको प्रवद्र्धन गर्नसमेत सरकारलाई निर्देशन दिएको छ ।

छठपछि मात्रै पुनर्निर्माण ऐन

प्रमुख प्रतिपक्ष कांग्रेस सभासद्को विरोधका कारण संसद्को विधायन समितिमा पुगेको पुनर्निर्माण ऐन छठपछि मात्र संसद्मा टेबल हुने भएको छ । सोमबार विधायन समितिबाट पारित गर्नका लागि छलफल भए पनि प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभासद्हरूले राष्ट्रिय सहमतिका आधारमा विधेयक अघि बढाउनुपर्ने तर्क गर्दै रोकेपछि छठपछि मात्र थप छलफल गरेर संसद्मा टेबल हुने भएको हो ।
समितिको बैठक आगामी २ मंसिरका लागि तय गरिएको समितिले जनाएको छ । १८ असोजमा विधेयकबारे पाँच दिनभित्र अन्तिम टुंगो लगाउने गरी संसद्को विधायन समितिले उपसमिति गठन गरेकोमा विवादलगायतका कारणले एक महिना ढिलो गरी शुक्रबार मात्र समितिलाई प्रतिवेदन बुझाएको थियो ।
http://rajdhani.com.np/article/0413321001447119461

Monday, November 9, 2015

कांग्रेसको अवरोधपछि रोकियो पुनर्निर्माण विधेयक

पुनर्निर्माणमा अझै ढिलाइ हुने

भीम गौतम /राजधानी
काठमाडौं, २२ कात्तिक
व्यवस्थापिका संसद््को विधायन समितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि बहुप्रतीक्षित भूकम्पपछिको पुनर्निर्माण विधेयक रोकिएको छ । आइतबार विधायनसमितिबाट पारित गरेर संसद्मा प्रस्तुत गर्ने कार्यतालिका भए पनि प्रमुख प्रतिपक्ष दल कांग्रेस लगायतका सभासद्हरूले राष्ट्रिय सहमतिका आधारमा विधेयक अघि बढाउनुपर्ने र विधेयकबारे उपसमितिले बनाएको प्रतिवेदन थप अध्ययनका लागि समय दिनुपर्ने बताएपछि समितिमै रोकिएको हो ।प्रतिवेदन समितिमै रोकिएपछि आइतबार नै संसद्मा टेबल गर्ने समय तालिका पनि रोकिएको छ । 
समितिकै सभापति गंगा चौधरीले विधेयकबारे छलफल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बताउँदै दलहरूबिच सहमतिपछि मात्रै निर्णय हुने बताइन् । ‘पुनर्निर्माण विधेयकमा राजनीतिकरण नहोस्, यसबारे राजनीतिक सहमति भने आवश्यक छ,’ उनले भनिन्, ‘यसमा राजनीतिक सहमति खोज्ने प्रयास गर्नुस् ।’ यद्यपि, सत्तारूढ दलले कांग्रेसलाई सहमतिमा लिएर आज (सोमबार) पुनः छलफल गर्ने गृहकार्य अघि बढाएको छ । गत १८ असोजमा विधेयकबारे पाँच
दिनभित्र अन्तिम टुंगो लगाउने गरी संसद्को विधायन समितिले उपसमिति गठन गरेकोमा विवाद लगायतका कारण एक महिना ढिलो गरी शुक्रबार मात्र प्रतिवेदन बुझाएको थियो । प्रतिपक्ष सभासद्हरूले उपसमितिको प्रतिवेदन थप अध्ययनका लागि समय माग गरेपछि आइतबारको बैठकमा उपस्थित कानुनमन्त्री अग्नि खरेलले संसद्को आइतबारको बैठकमा विधेयक प्रस्तुत गर्ने कार्यक्रम राखिए पनि सरकार सबैसँग छलफल गरेर अघि बढ्ने मनस्थितिमा रहेकाले थप समय दिन सकिने बताए । प्रतिपक्षका सबै सभासद्ले समितिबाट आइतबार नै विधेयक अघि बढाउन नहुने तथा पुरानो नियुक्ति लगायतलाई लिएर थप स्पष्ट हुनुपर्ने भन्दै विरोध जनाएका थिए । त्यसपछि कानुन मन्त्री खरेलले पहिला अध्यादेश खारेजबारे आफूहरूलाई थाहा नभएको बताउँदै सरकार अविलम्ब विधेयक अघि बढाउने पक्षमा रहेको र प्रमुख प्रतिपक्ष दलका नेतासँग प्रधानमन्त्रीले छलफल अघि बढाइसकेको बताएका थिए ।
बैठकमा सत्ता पक्षका सभासद्हरूले पुनर्निर्माण प्राधिकरण गठनमा ढिलाइ भएको भन्दै तुरुन्तै अघि बढाउनुपर्ने
बताएका थिए भने प्रतिपक्षहरूले सहमतिका साथ विधेयक अघि नबढाए पारित गर्न नदिने पक्षमा देखिएका थिए । बैठकमा कांग्रेस सभासद्हरू नवीन्द्रराज जोशी, कञ्चनचन्द्र वादे, मोहनबहादुर बस्नेत, इन्द्र बानियाँ, राजेन्द्र केसी, बहादुरसिंह लामा, उदयशमशेर राणा लगायतले पहिला सहमतिका लागि संसद्बाट विधायन समितिमा आएको भन्दै साझा सहमतिमा मात्र अघि बढ्नुपर्ने बताएका थिए । सभासद् राधेश्याम अधिकारीले पहिलाको विधेयकबाट केही दफा हटाउँदा सावधानी नअपनाएको बताए । सत्तारूढ दलका सभासद्हरू रेवणीरमण सुवेदी, कर्ण थापा, प्रेमबहादुर सिंह लगायतले भूकम्प पछिको पुनर्निर्माण धेरै ढिलाइ भएको भन्दै तुरुन्तै अघि बढाउनुपर्नेबताएका थिए । केही संशोधनसहित समितिमा पठाइएको विधेयकबारे सत्ता पक्ष र प्रतिपक्ष दलका सभासद्हरूको फरक मत देखिएपछि पुनर्निर्माण विधेयक अन्योलमा परेको हो ।
अघिल्लो विधेयकमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्व सरकारले गरेको नियुक्तिलाई बचाउ गर्ने गरी प्रस्ताव गरिएको थियो । तर, नयाँ विधेयकमा सो पुरानो व्यवस्था रहेको दफा ३३ खारेज गरेर नयाँ राखिएको छ । संशोधनमा अध्यादेशअनुसार गठित प्राधिकरणले गरेको खर्च, बैंक खाता र पत्राचारलाई मात्र वैधानिकता दिई नयाँ विधेयक अघि बढाउन लागिएपछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायतलाई पनि निरन्तरता दिनुपर्ने पक्षमा कांग्रेस सभासद् देखिएका हुन् । संशोधनमा राष्ट्रिय परामर्श समितिमा प्रमुख प्रतिपक्ष दललाई उपाध्यक्ष र निर्देशक समितिमा प्रमुख प्रतिपक्ष दलका नेता वा निजले तोकेको पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री वा उपनेतामध्ये एकलाई राख्न सक्ने गरी प्रावधान अघि बढाइएको छ । कांग्रेससँगको सहमतिमै सो व्यवस्था गरिएको सभासद् रेवतीरमण भण्डारीले बताएका छन् ।
पुनर्निर्माणसम्बन्धी सबै काम गर्ने निकायका रूपमा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ऐनकै अभावमा निष्क्रिय भएपछि पुनर्निर्माणको काम अनिश्चितजस्तै बनेको छ । सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि १० असारमा आयोजना गर्न लागेको दाता सम्मेलनका लागि ६ असारमा सो अध्यादेश ल्याएको थियो । त्यसपछि १५ असारमा सुरु भएको संसद्् अधिवेशनको दुई महिनाभित्र पारित गर्नुपर्ने अध्यादेश पारित हुन नसकेपछि स्वतः निष्क्रिय भएको थियो । अध्यादेशअनुसार गठित पुनर्निर्माण प्राधिकरण पनि स्वतः खारेज भएको थियो ।
गत १० असारमा सरकारले गरेको दाता सम्मेलनमा भूकम्पपछिको पुनर्निर्माणका लागि झन्डै ४ खर्ब ४० अर्ब बराबर सहयोगको प्रतिबद्धता जनाएका विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) लगायत प्रतिनिधिहरू पुनर्निर्माण प्राधिकरण कानुनको अभावमा स्वतः निष्क्रिय भएपछि सरकारी अधिकारीलाई भेटेर असन्तुष्टि पोखिसकेका छन् । ऐनसमेत ढिलाइ हुने भएपछि भूकम्पपीडितले तिहारलगत्तै स्थायी घर बनाउने योजनामा समेत असर पर्ने देखिएको छ । यद्यपि, सत्तारूढ प्रमुख प्रतिपक्ष भने जनताको समस्या समाधानभन्दा आफ्नो मानिस सीईओ बनाउने खेलमा लागेका छन् । 
http://rajdhani.com.np/article/0364086001447031643

Sunday, November 8, 2015

विवादमा फस्दै पुनर्निर्माण विधेयक

भीम गौतम /राजधानी
काठमाडौं, २१ कात्तिक
भूकम्पपछिको पुनर्निर्माण विधेयक सत्तारूढ र प्रतिपक्ष दलको स्वार्थ विवादमा फसेको छ । नयाँ रूपमा पुनर्निर्माण विधेयकलाई अघि बढाउनुपर्ने सत्तारूढको प्रस्ताव रहे पनि प्रमुख प्रतिपक्ष दलले पुरानो अध्यादेशलाई नै निरन्तरता दिनुपर्ने अडानसँगै विधेयक विवादमा फसेको हो ।

भूकम्प गएको सात महिनापछि समेत पुनर्निर्माण विधेयक नल्याउँदा दाता तथा विकास साझेदारहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै पुनर्निर्माण छिटो अघि बढाउन दबाब दिएका छन् । तर, संसदीय समितिभित्रै विवाद देखिएपछि पुनर्निर्माण विधेयक संसद्मा टेबल हुनै ढिलाइ हुने देखिएको छ । गत १८ असोजमा विधेयकबारे पाँत दिनभित्र अन्तिम टुंगो लगाउने गरी संसद्को विधायन समितिले उपसमिति गठन गरेकोमा विवादलगायतका कारणले एक महिना ढिलो गरी शुक्रबार मात्र समितिलाई प्रतिवेदन बुझाएको छ । आज (आइतबार) बस्ने विधायन समितिमा समेत सत्तारूढ सभासद् र विपक्षी दलका सभासद्हरूबिच विवाद देखिएर संसद्मा टेबल हुने सम्भावना न्यून रहेको एक सभासद्ले जानकारी दिए । उनका अनुसार आइतबार नै संसद्को विधायन समितिबाट पारित गरेर संसद्मा टेबल गर्ने कार्यक्रम छ ।
केही संशोधनसहित समितिमा पठाइएको विधेयकबारे सत्ता पक्ष र प्रतिपक्ष दलका सभासद्मा फरक मत देखिएको छ । एमाले सभासद् रेवतीरमण भण्डारीले पुरानो पुनर्निर्माण प्राधिकरणले गरेको खर्च, बैंक खाता र पत्राचारलाई मात्र वैधानिकता दिई नयाँ विधेयक अघि बढाउन लागिएको बताए । ‘यो प्रतिस्थापन विधेयक होइन, नयाँ विधेयक हो, अध्यादेश खारेज भइसकेपछि अब नयाँ प्रक्रियाले अघि बढ्छ,’ उनले भने । कांग्रेस सभासद् नवीन्द्रराज जोशीले भने अघिल्लो सरकारले भूकम्पपीडित जनताका लागि गरेको कार्यलाई निरन्तरता दिँदै सहमतिको आधारमा अघि बढ्नुपर्ने बताए । ‘पहिलाको सरकारले पुनर्निर्माण विधेयकमा उल्लेख गरेका धेरै कुरालाई निरन्तरता दिएर जानुपर्छ, भूकम्पपीडित जनताका लागि गरेका कार्यलाई छोडेर पुरै नयाँ गर्नुपर्छ भन्नु गलत हुन्छ, सहमतिकै आधारमा अघि बढ्नुपर्छ,’ उनले भने, ‘पुरानो सरकारले गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायतको नियुक्तिलाई निरन्तरता दिनुपर्छ ।’
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तिन दलको बैठकमा समेत कांग्रेस सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले पुरानै सीईओलाई कायम राख्न माग गरेका थिए । तर, सो प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अस्वीकार गर्दै सरकारमा सहभागी भए स्वीकार्य हुने जनाएका थिए । एमाले सभासद् भण्डारीले पनि पुरानो सीईओ नियुक्तिलाई निरन्तरता दिन नसकिने बताए । उनका अनुसार विधेयक आइतबार नै संसद्मा टेबल गर्ने कार्यक्रम छ ।
प्रस्तावित विधेयकको संशोधनमा सार्वजनिक खरिद ऐनको सिद्धान्तविपरीत कार्यविधि नबनाइने उल्लेख छ । अघिल्लो विधेयकमा यसलाई निष्क्रिय पारिने उल्लेख थियो । संशोधनमा राष्ट्रिय परामर्श समितिमा प्रमुख प्रतिपक्ष दललाई उपाध्यक्ष र निर्देशक समितिमा प्रमुख प्रतिपक्ष दलका नेता वा निजले तोकेको वा पूर्वप्रधानमन्त्रीलाई उपाध्यक्ष राख्न प्रस्ताव गरिएको छ । पहिलाको विधेयकमा पूर्वप्रधानमन्त्री कोइराला नेतृत्व सरकारले गरेको नियुक्तिलाई बचाउ गर्ने गरी प्रस्ताव गरिएकोमा सो पुरानो दफा ३३ खारेज गरेर नयाँ राखिएको छ । जसअनुसार यो नयाँ विधेयक हो तर पुरानोलाई प्रतिस्थापन गरी निरन्तरता दिनुपर्ने पक्षमा कांग्रेस सभासद्हरू छन् । संशोधनमा प्रभावित क्षेत्रका सभासद्हरूलाई समेत सहभागी गर्ने गरी अधिकारसम्पन्न अनुगमन समितिको व्यवस्था गरिएको छ ।
पूर्वप्रधानमन्त्री कोइरालाले सार्वजनिक रूपमै पुनर्निर्माण विधेयक पारित गर्न तत्काल सत्ता साझेदार दल एमालेले असहयोग गरेको आरोप लगाइसकेका छन् । यही आधारमा कांग्रेससमेत सीईओलगायतको निरन्तरताको पक्षमा रहेको र यसबारे निर्णय नभए विरोधमा उत्रने सम्भावना रहेको एक सभासद्ले बताए । पुनर्निर्माणसम्बन्धी सबै काम गर्ने निकायको रूपमा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ऐनकै अभावमा निष्क्रिय भएपछि पुनर्निर्माणको काम अनिश्चितसमेत बनेको छ । ६ असारमा सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि १० असारमा आयोजना गर्न लागेको दाता सम्मेलनका लागि अध्यादेश ल्याएको थियो । त्यसपछि १५ असारमा सुरु भएको संसद् अधिवेशनको दुई महिनाभित्र पारित गर्नुपर्नेमा नभई स्वतः निष्क्रिय भएको थियो ।
साउन अन्तिम साता प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. गोविन्दराज पोखरेल नियुक्त भएका थिए । तर, अध्यादेश पारित नभएपछि उनको नियुक्ति पनि स्वतः खारेज भएको थियो । अध्यादेशअनुसार गठित पुनर्निर्माण प्राधिकरण पनि अहिले पुरै निष्क्रिय भएको छ ।गत १० असारमा सरकारले गरेको दाता सम्मेलनमा भूकम्पपछिको पुनर्निर्माणका लागि झन्डै ४ खर्ब ४० अर्ब बराबर सहयोगको प्रतिबद्धता जनाएका विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) लगायत प्रतिनिधिहरू पुनर्निर्माण प्राधिकरण कानुनको अभावमा स्वतः निष्क्रिय भएपछि सरकारी अधिकारीलाई भेटेर असन्तुष्टि पोखिसकेका छन् । ऐनसमेत ढिलाइ हुने भएपछि भूकम्पपीडितले तिहारलगत्तै स्थायी घर बनाउने योजनामा समेत असर पर्ने देखिएको छ ।
पुनर्निर्माण प्राधिकरणलाई सक्रिय नबनाएमा पुनर्निर्माणका लागि छुट्ट्याएको ९१ अर्ब रकम खर्चमासमेत समस्या पर्ने देखिएको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले पुनर्निर्माण कोषका लागि ७४ अर्ब तथा सम्बन्धित मन्त्रालयलाई १७ अर्ब बजेट विनियोजन गरेको छ । प्राधिकरणको अन्योल र यसबारे आवश्यक नीतिको अभावमा पुनर्निर्माणको बजेट अझै खर्च हुन सकेको छैन । प्राधिकरण सक्रिय भएर पुनर्निर्माणका लागि आवश्यक सबै नीति तथा योजनाहरू बनाउनुपर्ने भए पनि सबै काम ठप्प बनेका हुन् ।
http://rajdhani.com.np/article/0328216001446942778

१० हजार मेगावाट विद्युत् उत्पादन नभएसम्म संकटकाल घोषणा गर्न माग

काठमाडांै\रास– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले १० हजार मेगावाट विद्युत् उत्पादन नभएसम्म ऊर्जा संकटकाल घोषणा गर्न माग गरेको छ ।सोमबार उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई राष्ट्रिय ऊर्जा सुरक्षा सम्बन्धमा श्वेतपत्र हस्तान्तरण गर्दै राष्ट्रमा देखिएको चरम ऊर्जा संकटलाई मध्यनजर गर्दै स्वाभिमान, आत्मनिर्भर राष्ट्र निर्माणका लागि राष्ट्रिय विद्युत् एवं ऊर्जा संकटकाल घोषणा गर्नुपर्ने माग गरेको हो ।
इप्पानका अध्यक्ष खड्गबहादुर विष्टले बुझाएको श्वेतपत्रमा ऊर्जा संकटसम्बन्धी कार्यविधि र राष्ट्रिय ऊर्जा सुरक्षा नीतिलगायतका लागि विभिन्न कदम अघि बढाएर १० हजार मेगावाट विद्युत् उत्पादन नभएसम्म संकटकाल लगाउनुपर्ने उल्लेख छ ।
हाल नेपालमा ७ सय ५० मेगावाटको हाराहारीमा मात्र विद्युत् उत्पादन भएको छ । ०६७ साल चैतमा समेत सरकारले साढे चार वर्षको ऊर्जा संकटकाल लगाए पनि योजनाअनुसार विद्युत् उत्पादन नभइरहेको बेला फेरि इप्पानले ऊर्जा संकटकाल घोषणाको माग गरेको हो ।
श्वेतपत्रमा संकटको समयमा जग्गा प्राप्ति ऐन, वातावरणीय ऐन आदि अधिकारको निलम्बन गर्नुका साथै सम्बन्धित निकायले विशेषाधिकार प्रयोग गर्न दिनुपर्ने तथा आवश्यक कानुनी प्रावधान तर्जुमा गर्नुपर्नेमा जोड दिइएको छ ।
पेट्रोलियम आयातमा देशले कुल निर्यातको १ सय २० प्रतिशत खर्च गरिरहेकोमा त्यसलाई विस्थापन हुने गरी ऊर्जा, जलविद्युत् र वैकल्पिक ऊर्जाको समेत राष्ट्रिय नीति तयार गर्न माग गरिएको छ ।
पेट्रोलियम आपूर्तिमा विविधता अपनाउने, सय दिनसम्म पुग्ने भण्डारण क्षमता पु¥याउनेलगायत ऊर्जा सुरक्षामा जोड दिन पनि इप्पानले माग गरेको छ ।
श्वेतपत्रमा जलविद्युत् विकाससम्बन्धी सबै प्रक्रिया एउटै ढोकाबाट गर्ने गरी एकल स्वीकृति डेक्सको व्यवस्था गर्न, विद्युत् महसुल समायोजन गर्न तथा विद्युत् खरिद सम्झौता (पीपीए) सञ्चालन गर्न, जलाशययुक्त आयोजना निर्माणलाई जोड दिन, प्रसारण लाइनको निर्माण राष्ट्रले घोषणा गर्ने संकटकालको अवधारणा अनुसार विकास गर्न, निर्माण तथा हस्तान्तरण विधिबाट प्रसारण लाइन विस्तार गर्न तथा विद्युतीय यातायातका साधन आयातमा लाग्ने करमा तुरुन्तै भारी कटौती गर्न माग गरिएको छ । श्वेतपत्र बुझ्दै उपप्रधान एवं ऊर्जामन्त्री रायमाझीले जलविद्युत् क्षेत्रमा निर्णय र कार्यान्वयनमा ढिलाई नगर्ने प्रतिबद्धता जनाएका छन् । 
http://rajdhani.com.np/article/0089902001446518917

Monday, November 2, 2015

बुढीगण्डकी समिति निर्माणको मोडेलमै अन्योल


राजधानी समाचारदाता
काठमाडौं, १५ कात्तिक
स्वदेशी उत्पादनमै नेपालको लोडसेडिङ हटाउने आयोजनाका रूपमा लिइएको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना कुन मोडेलमा बनाउने भन्ने अन्योल देखिएको छ ।
हाल विकास समिति बनाएर अघि बढेको आयोजना निर्माण कम्पनीमार्फत वा विकास समितिमार्फत नै बनाउने भन्नेमा अन्योल देखिएको हो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा बुढीगण्डकी र नलसिंहगाढ विकास समिति गाठन गरेर अघि बढाइएको आयोजना कम्पनीमार्फत बनाउनुपर्ने पक्षमा ऊर्जा सचिव राजेन्द्रकिशोर क्षत्री देखिएपछि कुन मोडेलमा बनाउने भन्ने अन्योल देखिएको हो ।
आइतबार संसद्को कृषि तथा जलस्रोत समितिको बैठकमा विकास समितिका तर्फबाट अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटा र कार्यकारी निर्देशक गोपाल बस्नेतले समितिमार्फत आयोजना बनाउनका लागि भइरहेका पहलबारे जानकारी गराएका थिए । बैठकमा ऊर्जा सचिव क्षत्रीले भने ऊर्जा मन्त्रालयले अघि सारेको सार्वजनिक उत्पादन कम्पनीअन्तर्गत बुढीगण्डकीलाई राखेर अघि बढ्नुपर्ने बताएका थिए । बैठकमा उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले थप छलफल गरेर छिट्टै स्पष्ट मोडालिटी तय गरिने बताए ।
आयोजनाको परामर्शदाता ट्राकबेलले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को अन्तिम मस्यौदा दिइसक्दा पनि हालसम्म सरकारले कुन मोडालिटीमा आयोजना बनाउने भन्ने निक्र्योल गरेको छैन । विकास समितिका कार्यकारी निर्देशक बस्नेतले आयोजना विकासको मोडालिटी, फन्डिङ मेकानिज्मबारे निक्र्योल भइनसकेको बताएका थिए ।
कार्यक्रममा अवधारणा प्रस्तुत गर्दै जलस्रोत समितिका सभापति गगन थापाले स्वदेशी लगानीमै बुढीगण्डकी आयोजना अघि बढाउन सक्ने उल्लेख गरेका थिए । उनले नागरिक लगानी कोषमा रकम राख्दा ३ लाखसम्मलाई करमुक्त बनाइएको ४ लाख पु¥याई १ लाख बुढीगण्डकी गण्डकीमा लगानी गर्ने वातावरण बनाउने, नेपाल टेलिकमको भ्याटमा एक रुपैयाँ थप गरी सर्वसाधारणको सेयरका रूपमा लगानीका लागि उपयोग गर्ने र दूरसञ्चार कोषको रकम लगानी गर्ने, सर्वसाधारणलाई सेयर दिनेजस्ता मोडेललाई अपनाउँदा आयोजना बनाउन आवश्यक लगानी स्वदेशमै जम्मा गर्न सकिने अवधारणा प्रस्तुत गरेका थिए ।
नागरिक लगानी कोषबाट स्किम सञ्चालन गरी ७५ अर्ब, टेलिकमबाट स्किम सञ्चालन गरी ५० अर्ब, संस्थागत लगानीकर्ताबाट २५ अर्ब, नेपाल सरकारको इक्विडिटी ६० अर्ब, सर्वसाधारण सेयर जारी गरी १० अर्ब, वाणिज्य बैंकहरूबाट १० अर्ब, सार्वजनिक संस्थानबाट १५ अर्ब, अर्थमन्त्रालय तथा अन्यबाट ५ अर्ब रुपैयाँ संकलन गरी आयोजना निर्माण गर्न सकिने थापाको अवधारणामा उल्लेख छ ।
नेपालको लोडसेडिङका लागि बुढीगण्डकी महŒवपूर्ण आयोजना भएको उल्लेख गर्दै विकास समितिका अध्यक्ष देवकोटाले सरकार, आयोजना प्रभावित क्षेत्रका बासिन्दा, स्थानीय निकाय र नेपालका वित्तिय संघसंस्थामार्फत नै आयोजना बनाउन सकिने बताए । उनका अनुसार बुढीगण्डकी बनेपछि हाल नेपालमा आयात भएको एलपी ग्याँसलाई पूरै विस्थापित गर्छ भने आयातीत डिजेलमा एक तिहाई विस्थापित गर्नेछ । देवकोटाले आयोजनासँगै सो क्षेत्रमा करिडोर स्थापना गरी बहुउपयोगी बनाउनुपर्ने अवधारणा पनि अघि सारेका छन् । कृषि समितिको बैठकले नेपालको आन्तरिक स्रोत परिचालन गरी बुढीगण्डकी आयोजना अघि बढाउन निर्देशन दिएको छ ।
बैठकमा समितिले ३१ जुलाई २०१५ मा आयोजनाको डीपीआर सम्पन्न गर्नुपर्नेमा ३१ अक्टोबरसम्म म्याद थपिएको परामर्शदाताले आगामी फ्रेबु्रअरीसम्मका लागि म्याद थप माग गरेको जानकारी दिइएको थियो । २ खर्ब ५० अर्ब लागत रहेको आयोजनाबाट ८ हजार १ सय १७ घरधुरीका साथै ४४ हजार ६ सय ४३ जनसंख्या विस्थापित हुने तथा ६७ हजार निजीसहित १ लाख ३० हजार ५ सय २३ रोपनी जग्गा डुबानमा पर्ने परामर्शदाताले दिएको प्रतिवेदनमा उल्लेख छ । आयोजनाका लागि आवश्यक जग्गा खरिदका लागि भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयले जग्गाको यकीन गर्ने कार्य गरिरहेको र सोपछि मात्र जग्गा अधिग्रहण अघि बढ्ने आयोजनाले जनाएको छ । गोर्खा र र धादिङको सिमानामा २ सय ६३ मिटर अग्लो बाँध बन्ने आयोजना विश्वकै कम अग्लो बाँधमध्येको एक भएको बैठकमा जानकारी दिइएको थियो ।
सन् २०२२ सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना बन्न कम्तीमा आठ वर्ष लाग्ने अनुमान गरिएको छ तर हालसम्म निर्माण कार्य अघि बढ्न सकेको छैन । तत्कालीन डा. भट्टराईको पालामा सरकारले २०७० मंसिरमा विकास समिति गठन गरेकामा अहिले समिति वा कम्पनी कुनमार्फत अघि बढ्ने भन्ने अन्योल छ ।
http://www.rajdhani.com.np/article/0592624001446427880