काठमाडांै\रास–
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले १० हजार मेगावाट
विद्युत् उत्पादन नभएसम्म ऊर्जा संकटकाल घोषणा गर्न माग गरेको छ ।सोमबार
उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई राष्ट्रिय ऊर्जा सुरक्षा
सम्बन्धमा श्वेतपत्र हस्तान्तरण गर्दै राष्ट्रमा देखिएको चरम ऊर्जा संकटलाई
मध्यनजर गर्दै स्वाभिमान, आत्मनिर्भर राष्ट्र निर्माणका लागि राष्ट्रिय
विद्युत् एवं ऊर्जा संकटकाल घोषणा गर्नुपर्ने माग गरेको हो ।
इप्पानका
अध्यक्ष खड्गबहादुर विष्टले बुझाएको श्वेतपत्रमा ऊर्जा संकटसम्बन्धी
कार्यविधि र राष्ट्रिय ऊर्जा सुरक्षा नीतिलगायतका लागि विभिन्न कदम अघि
बढाएर १० हजार मेगावाट विद्युत् उत्पादन नभएसम्म संकटकाल लगाउनुपर्ने
उल्लेख छ ।
हाल नेपालमा ७ सय ५०
मेगावाटको हाराहारीमा मात्र विद्युत् उत्पादन भएको छ । ०६७ साल चैतमा समेत
सरकारले साढे चार वर्षको ऊर्जा संकटकाल लगाए पनि योजनाअनुसार विद्युत्
उत्पादन नभइरहेको बेला फेरि इप्पानले ऊर्जा संकटकाल घोषणाको माग गरेको हो ।
श्वेतपत्रमा संकटको समयमा जग्गा
प्राप्ति ऐन, वातावरणीय ऐन आदि अधिकारको निलम्बन गर्नुका साथै सम्बन्धित
निकायले विशेषाधिकार प्रयोग गर्न दिनुपर्ने तथा आवश्यक कानुनी प्रावधान
तर्जुमा गर्नुपर्नेमा जोड दिइएको छ ।
पेट्रोलियम
आयातमा देशले कुल निर्यातको १ सय २० प्रतिशत खर्च गरिरहेकोमा त्यसलाई
विस्थापन हुने गरी ऊर्जा, जलविद्युत् र वैकल्पिक ऊर्जाको समेत राष्ट्रिय
नीति तयार गर्न माग गरिएको छ ।
पेट्रोलियम
आपूर्तिमा विविधता अपनाउने, सय दिनसम्म पुग्ने भण्डारण क्षमता
पु¥याउनेलगायत ऊर्जा सुरक्षामा जोड दिन पनि इप्पानले माग गरेको छ ।
श्वेतपत्रमा
जलविद्युत् विकाससम्बन्धी सबै प्रक्रिया एउटै ढोकाबाट गर्ने गरी एकल
स्वीकृति डेक्सको व्यवस्था गर्न, विद्युत् महसुल समायोजन गर्न तथा विद्युत्
खरिद सम्झौता (पीपीए) सञ्चालन गर्न, जलाशययुक्त आयोजना निर्माणलाई जोड
दिन, प्रसारण लाइनको निर्माण राष्ट्रले घोषणा गर्ने संकटकालको अवधारणा
अनुसार विकास गर्न, निर्माण तथा हस्तान्तरण विधिबाट प्रसारण लाइन विस्तार
गर्न तथा विद्युतीय यातायातका साधन आयातमा लाग्ने करमा तुरुन्तै भारी कटौती
गर्न माग गरिएको छ । श्वेतपत्र बुझ्दै उपप्रधान एवं ऊर्जामन्त्री
रायमाझीले जलविद्युत् क्षेत्रमा निर्णय र कार्यान्वयनमा ढिलाई नगर्ने
प्रतिबद्धता जनाएका छन् ।
http://rajdhani.com.np/article/0089902001446518917
No comments:
Post a Comment