Tuesday, November 22, 2016

बेलायती दाताद्वारा विद्यालय निर्माण

     कारोबार संवाददाता    0 + -

तस्विर : कारोबार
काठमाडौं : दैवीप्रकोप र द्वन्द्वपछिको उद्धार तथा राहतका लागि खाल्सा एड यूकेले गोरखाको नाम्जुङ गाविस–१ रातमाटेमा विद्यालय निर्माण गरेको छ । 
नेपालमा भूकम्पपछिको राहत र उद्धारका लागि सक्रिय रहेको खाल्साले चिनोको रूपमा भन्दै नाम्जुङमा कालिका अमरज्योति प्राथमिक विद्यालयको ५ कोठे भवन निर्माण गरेको हो ।
“नेपाललगायतका १७ देशमा हुने कुनै पनि दैवीप्रकोप र द्वन्द्वपछिको उद्धार र राहतका लागि हामी सक्रिय रहने अन्तरराष्ट्रिय संस्था हौं तर भूकम्पबाट विद्यालय धेरै क्षति भएर विद्यार्थी चौरमा पढिरहेको तस्बिर हेरेपछि चिनोको रूपमा मात्र यो विद्यालय बनाएका हौं ।”
गोरखाका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीसँगै विद्यालय भवनको उद्घाटनपछि अमरप्रित सिंहले भने । उनका अनुसार, नेपालका साथै भारत, इराक, सिरिया, यामन, फिलिपिन्स, यूके, बंगलादेश, अस्ट्रेलिया, बर्मा, म्यानमार, अमेरिका, मलेसिया, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र लिबियामा खाल्साले उद्धार र राहतको काम गर्दै आएको छ । 
नेपालमा भूकम्प गएपछि राति २ बजे आएको खाल्साको स्वयंसेवक टोलीले तत्काल भूकम्प प्रभावितलाई २४ हजार बोत्तल खानेपानी वितरण गर्नुका साथै  सुन्दरीजल, नारायणहिटी, टुडिखेल, सितापाइला, छाउनीलगायतमा खानेपानी ट्यांकी स्थापना गरेको थियो ।
सिंहका अनुसार, प्रभावित क्षेत्रमा ४ हजार ५ सय जनालाई ब्लाङकेट, एक हजारलाई सोलार लाइन र १५ हजारलाई जस्तापाता समेत वितरण गरेको थियो ।
खाल्साले भूकम्पपछि टँुडिखेल र आसपासमा बसेका १० हजार प्रभावितलाई ५१ दिनसम्म निःशुल्क बिहान बेलुकाको खाना र खाजाको व्यवस्थासमेत गरेको थियो । 
विद्यालयमा विद्यार्थीहरू चौरमा पढिरहेको, कतिपय विद्यार्थीले विद्यालय छाडेको खबरपछि एनसीआईपी नेपालको सहकार्यमा १८ लाख ९४ हजारको लागतमा यो विद्यालय भवन बनेको खाल्साले जनाएको छ ।
दलित र लोपोन्मुख माझी समुदायका बालबालिकालाई विद्यालय निर्माणले ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । जिल्ला शिक्षा अधिकारी सुवेदीले विद्यालय भवन बनिसकेकाले अब बालमैत्री पठनपाठनमा ध्यान दिनुपर्ने बताए । 
भूकम्प गएलगत्तै चौरमा र पछि अस्थायी टहरामा बसेर पढेका विद्यार्थीहरू भवन निर्माणपछि खुसी भएका छन् । विद्यार्थी संगीता नेपालीले पहिला चौरमा बसेर पढे पनि अहिले विद्यालय बनेर धेरै सजिलो भएको बताइन् । 
विद्यालय भवन तीन महिनाअघि निर्माण सुरु गरिएको थियो । विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद काप्री दलित र माझी समुदायका बालबालिका पढ्ने विद्यालयलाई सहयोग पाएकोमा खुसी छन् । “विद्यालय बनेको छ, अब यस विद्यालयमा पुस्तकालय बनाउन सके अझ धेरै फाइदा हुने थियो” उनले भने । 
             http://www.karobardaily.com/%E0%A4%AC%E0%A5%87%E0%A4%B2%E0%A4%BE%E0%A4%AF%E0%A4%A4%E0%A5%80-%E0%A4%A6%E0%A4%BE%E0%A4%A4%E0%A4%BE%E0%A4%A6%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B2%E0%A4%AF-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%BE%E0%A4%A3

No comments: