Thursday, November 3, 2016

उज्यालोसँगै आयआर्जन

     भीम गौतम  0 + -

तस्विर : कारोबार
काठमाडौं : ग्रामीण क्षेत्रका बासिन्दाको लागि नवीकरणीय ऊर्जाका प्रविधिहरू आयआर्जन गर्ने राम्रो माध्यम बन्न थालेका छन् ।
जनसंख्या तथा वातावरण मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गाउँगाउँमा लघु जलविद्युत्, सौर्य ऊर्जा (सोलार), वायोग्यास लगायतका नवीकरणीय ऊर्जाका प्रविधिहरू पु¥याएपछि ग्रामीण बासिन्दाका लागि यी माध्यमहरू आयआर्जनको राम्रो स्रोत बनेका हुन् ।
केन्द्रले नवीकरणीय ऊर्जाको प्रविधिहरूको विकासँगै यस मार्फत् व्यवसाय विकास र परिप्रयोगको प्रवद्र्धन गरेपछि गाउँमा स्थापना भएका साना तथा मझौला उद्योगहरू सञ्चालन गरेर ग्रामीण क्षेत्रका बासिन्दाले राम्रो आयआर्जन गर्न थालेका छन् । 
नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ग्रीड नपुगेका र तत्काल पुग्ने सम्भावना नभएका विकट गाउँहरूमा नवीकरणीय ऊर्जाका प्रविधिहरूले अँध्यारोलाई उज्यालोसँगै आयआर्जनका लागि सहज बनाएको छ ।
केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल ग्रामीण क्षेत्रमा १६ प्रतिशत जनताले नवीकरणीय ऊर्जामार्फत विजुली बाल्ने गरेको र यसले आयआर्जनमा समेत सहयोग पुगेको बताउँछन् ।
नवीकरणीय ऊर्जाको माध्यमबाट व्यवसाय विकास तथा परिप्रयोग प्रवद्र्धन गरी नवीकरणीय ऊर्जा आयोजनाको दीर्घकालीन विकास एवं समुदायको उद्यमशिलताको माध्यमबाट आयआर्जन वृद्धि गर्ने उद्देश्यले अघि बढाईएको कार्यक्रम अन्तर्गत १२ सयभन्दा बढी  साना तथा मझौला उद्योग स्थापना भैसकेको केन्द्रले जनाएको छ ।
सन् २०१२ को जुलाईदेखि सुरु भएको पाँच बर्षे व्यवसायिक कार्यक्रमअन्तर्गत हाल रहेका १३ सय साना तथा मझौला उद्योगहरूको स्तरोन्नति गर्ने, २ हजार ८ सय उद्योगहरूको स्थापना गर्ने लक्ष्य राखिएको छ ।
त्यसैगरी १५ हजार ३ सय घरधुरीलाई आयआर्जन कार्यक्रममा समावेश गर्ने लक्ष्य राखिएको छ । साना तथा मझौला उद्योग स्थापना तथा आयआर्जन कार्यक्रममार्फत १९ हजार थप रोजगारी सिर्जना गर्ने तथा उद्योग स्थापना गरेर ग्रामीण क्षेत्रमा २० प्रतिशत आम्दानी बढाउने लक्ष्य केन्द्रको छ ।
साना तथा मझौला उद्योगका लागि २५ करोड तथा आयआर्जनका कार्यक्रमका लागि १० करोड रुपैयाँ परिचालन हुने केन्द्रको लक्ष्य छ ।
केन्द्रका अनुसार, हालसम्म ग्रामिण क्षेत्रमा नवीकरणीय ऊर्जाका प्रविधिहरूको उपयोग गरेर कुखुरा, वंगुर, वाख्रापालनजस्ता आयआर्जनमूलक कार्यक्रमहरू सञ्चालनमा आईसकेका छन् भने ५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । हाल ३ सय ५३ साना तथा मझौला उद्योगहरू तथा ३ हजार १ सय ५१ आयआर्जनमूलक कार्यक्रम विकासको चरणमा रहेको केन्द्रले जनाएको छ । 
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले साना उद्योगको लागि अधिकतम एक लाख रुपैयाँसम्म, मध्यम उद्योगका लागि २ लाखसम्म तथा आयआर्जनका लागि १० हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्था पनि गरेको छ ।
हालसम्म स्थापना भएका साना तथा मझौला उद्योगमा २० प्रतिशत केन्द्रले अनुदान दिएको र ८० प्रतिशत समुदाय आफैले लगानी गरेर ग्रामीण क्षेत्रमा सञ्चालन भईरहेको केन्द्रले जनाएको छ ।
साना तथा मझौला उद्योगमा ४८ प्रतिशत जनजाती र ५ प्रतिशत दलित सहभागी रहेको केन्द्रले जनाएको छ । त्यसैगरी आयआर्जनमूलक कार्यक्रमका लागि ६४ प्रतिशत स्थानीय समुदायले लगानी गरेका छन् भने ३६ प्रतिशत केन्द्रले अनुदान दिएको छ ।
केन्द्रका अनुसार, स्थापना भएकामध्ये ३७ प्रतिशत मिल, २५ प्रतिशत सेवामूलक, ११ प्रतिशत उत्पादनमूलक उद्योग र सुचना प्रविधि, साना तथा मझौला उद्योगहरू, ८ प्रतिशत वनमा आधारित र ३ प्रतिशत दूग्धजन्य उत्पादनमा आधारित उद्योगहरू छन् ।
४३ प्रतिशत पशुपंक्षीमा आधारित ३४ प्रतिशत कृषिमा आधारित, ९ प्रतिशत सेवामूलक, ८ प्रतिशत परम्परागत, ५ प्रतिशत वनमा आधारित र १ प्रतिशत उत्पादनमा आधारित आयआर्जनमूलक कार्यक्रमहरू सञ्चालनमा रहेको केन्द्रले जनाएको छ । 
गाउँ गाउँमा परिवर्तन
काभ्रे सदरमुकाम धुलिखेलबाट दुई दिनमा पुगिने बिकट डाँडापारीको बनखु र घर्तिछापमा अझै मोटरबाटो पुगेको छैन । तर, २०६५ सालमा     यहाँ निर्माण भएको बनखु खोला लघु जलविद्युत्ले १७ वटा उद्योग सञ्चालनमा छन् ।
कफी प्रशोधन केन्द्र, दुध संकलन केन्द्र, ग्रील उद्योग, मोबाइल सेन्टर, सिलाई बुनाई, कुटानी पिसानी, कम्प्युटर इन्ष्टिच्यूट स्थापना भएर सञ्चालन भएको देख्दा यहाँ पुग्ने जोकोहीलाई पनि अचम्म लाग्छ । यहाँका ५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पनि पाएका छन् । लघु जलविद्युत आयोजनाले यहाँका बासिन्दाले राम्रो आयआर्जन पनि गरेका छन् । 
यस्तै, डडेल्धुराको परशुराम नगरपालिका–३ को कालीढुंगा गाउँमा सौर्य ऊर्जा (सोलार) को उपयोग गरेर निमाण भएको खानेपानीले ३२ घर लाभान्वित भएका छन् ।
पहिला परमशुराम गाविस रहेको यस गाउँमा बासिन्दाका लागि एक गाग्री पानीका लागि दुई घण्टाभन्दा बढी बिताउनुपर्ने अवस्था थियो । सौर्य ऊर्जाले उनीहरूलाई खानेपानीमा एकदम सहज पहुँच बनाएको छ । 
यी माथिका केही सफलताका उदाहरण भए । नवीकरणीय ऊर्जाको उपयोग गरेर नेपालका धेरै ग्रामीण क्षेत्रहरूमा साना तथा मझौला उद्योग स्थापना र आर्यआर्जनमूलक कार्यक्रमहरू सञ्चालन गरेर समुदाय मात्र होइन, धेरै ग्रामीण क्षेत्रका बासिन्दाको जीविकोपार्जन सहज भएको छ ।
धेरै आधारभूत विकासका आवश्यकता पुग्न नसकेका गाउँमा नवीकरणीय ऊर्जाका प्रविधिहरू पुगेपछि विकासले फड्को मार्न थालेका छन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका बरिष्ठ अधिकृत लक्ष्मण घिमिरे नवीकरण ऊर्जाको प्रविधिहरूमार्फत सञ्चालित साना तथा मझौला उद्योग र आयआर्जनमूलक कार्यक्रमहरूले गाउँमा आयआर्जनका लागि ठूलो सहयोग पुगेको र सफलता पनि प्राप्त भएको बताए ।
http://www.karobardaily.com/%E0%A4%89%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B2%E0%A5%8B%E0%A4%B8%E0%A4%81%E0%A4%97%E0%A5%88-%E0%A4%86%E0%A4%AF%E0%A4%86%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%A8

No comments: