प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । तस्विर : प्रधानमन्त्रीको निजी सचिवालय
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त गराउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटार बोलाएर उनले उपत्यकालाई लोडसेडिङमुक्त बनाउन निर्देशन दिएका हुन् ।
‘काठमाडौंलाई लोडसेडिङ मुक्त बनाउने’ योजनाको मूर्त खाका ल्याउन निर्देशन दिँदै उनले उपत्यकालाई तत्कालै लोडसेडिङमुक्त गर्ने आफ्नो संकल्प रहेकाले त्यसलाई पूरा गर्न निर्देशन दिएका हुन् ।
भेटमा प्रधानमन्त्रीले अभियानमा अफ्ठेरो परेमा सरकारसँग सहयोग माग्न र यसका लागि सरकार सबै किसिमको सहयोग गर्न तयार रहेको बताएका थिए ।
प्रधानमन्त्रीले देशलाई लोडसेडिङमुक्त गर्ने कार्य योजना तयार गर्न, विद्युत् चोरी, बक्यौता नतिर्नेजस्ता समस्यामा कठोर भएर लाग्न, ठूला आयोजना छिट्टै सम्पन्न हुने वातावरण निर्माण गर्न र नयाँ योजना सञ्चालनका लागि तयारी गर्न पनि घिसिङलाई निर्देशन दिएका थिए ।
भेटमा निर्देशक घिसिङले प्रधानमन्त्रीको यसअघिकै निर्देशनपछि विद्युत् प्राधिकरण उपत्यकामा लोडसेडिङ हटाउन लागेको र अध्ययनका लागि विज्ञसहितको समिति गठन प्रयास सुरु गरिसकेको जानकारी दिएका थिए ।
काठमाडौ उपत्यकाबाहिर लोडसेडिङ भए पनि तिहारपछि उपत्यकाभित्र लोडसेडिङ नभएपछि प्राधिकरण कार्यकारी निर्देशक घिसिङको प्रशंसा भएको छ ।
अघिल्लो वर्ष भूकम्पका कारण क्षति भएर केन्द्रीय ग्रिडमा नआएको ८० मेगावाट थपिएको, गत फागुनदेखि भारतबाट थप ८० मेगावाट आयात गरिरहेकोमा त्यसलाई निरन्तरता दिइएको, केन्द्रीय ग्रिडमा एक सय मेगावाट थपिएको तथा कुलेखानी जलाशय सञ्चालन गरिरहेका कारण अहिले उपत्यकामा लोडसेडिङ नभएको प्राधिकरणले जनाएको छ ।
गतवर्ष प्राधिकरणले जलाशय सञ्चालन गरेको थियो । प्राधिकरण स्रोतका अनुसार, आगामी मंसिरदेखि पानीको सतह घटेर उत्पादनमा कमी आउने तथा अन्तरदेशीय प्रसारण लाइनबाट ल्याउने बिजुलीका लागि ढल्केबर सबस्टेसन नबनेमा भने लोडसेडिङको समस्या भयावह रूपमा देखिने अवस्था छ ।
हिउँदमा पनि विशेषगरी पुसको दोस्रो साता बिजुलीको माग उच्च हुने गरेको छ । तर ढल्केबर सबस्टेसन दोस्रो साता आउने सम्भावना कम रहेको प्राधिकरणका अधिकारीहरूको भनाइ छ ।
http://www.karobardaily.com/%E0%A4%89%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%B2%E0%A5%8B%E0%A4%A1%E0%A4%B8%E0%A5%87%E0%A4%A1%E0%A4%BF%E0%A4%99%E0%A4%AE%E0%A5%81%E0%A4%95%E0%A5%8D%E0%A4%A4-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%A8
No comments:
Post a Comment