Saturday, November 26, 2016

विद्युत प्राधिकरणको वितरण निर्देशनालयको चालू सम्पत्ति २ अर्ब ३२ करोड

     भीम गौतम   0 + -

नेपाल विद्युत् प्राधिकरण
काठमाडौ :  नेपाल विद्युत् प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयको स्टक चालू सम्पत्ति २ अर्ब ३२ करोड पुगेको छ । अन्तरराष्ट्रिय मान्यताअनुसार एक प्रतिशतमात्र हुनुपर्ने चालू सम्पत्ति वितरण निर्र्र्देशनालयको ६.३९ प्रतिशत पुगेको हो ।
३६ अर्ब ४४ करोड १८ लाख कुल सम्पत्ति रहेको प्राधिकरणको एक प्रतिशत अर्थात् ३८ करोडभन्दा बढी हुनु हुँदैन, तर पछिल्लो वर्ष झन् बढ्दै गएको छ ।
आव २०७०/०७१ मा १ अर्ब ६८ करोड १२ लाख चालू स्टक सम्पत्ति रहेको प्राधिकरणको आव २०७१/०७२ मा २ अर्ब २६ करोड ९८ लाख पुगेको थियो । घट्दै जानुपर्नेमा गत वर्षसम्म बढेर २ अर्ब ३२ करोड ७० लाख रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ । 
कमिसनको लोभमा नयाँ–नयाँ सामानहरू किन्ने क्रम बढेर चालू सम्पत्ति बढ्दै गएपछि आव २०७०/०७१ सम्म वितरण निर्देशनालयले ३ प्रतिशतमा झार्ने योजना राखे पनि त्यो सफल भएन । त्यसपछि कार्यक्रम अघि बढेको छैन ।
प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराई चालू स्टक सम्पत्ति घटाउन पहल गरे पनि विशेष गरेर कार्यक्रम अघि बढाउन नसकिएको स्वीकार्छन् । “प्रयास त गरिरहेका छांै तर प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन,” उनले भने । 
तीन वर्षअघि वितरण निर्देशनालयले स्टक रहेका सामान किनेमा कर्मचारीलाई कारबाही गर्ने निर्णयसमेत गरेको थियो ।
निर्देशनालयले स्टक रहेकै अवस्थामा त्यो नपुगेर थप किन्नुपर्ने मनासिव कारण देखिएमा उपकार्यकारी निर्देशकको स्वीकृतिमा मात्र किन्न पाउने व्यवस्था गरे पनि कार्यान्वयन भएको छैन ।
पहिले निर्माणको ठेक्काबाहेक अन्य सामानहरू प्राधिकरण आफैंले किन्दा कमिसनको लोभमा अनावश्यक चालू सम्पत्ति थुप्रिन थालेको भन्दै प्राधिकरणले सम्बन्धित ठेकेदारमार्फत नै सामान खरिद गर्ने टर्न कि कन्ट्याक्ट अघि बढाएको थियो ।
प्राधिकरण स्रोतका अनुसार, सम्बन्धित कार्यालय प्रमुखहरू सरुवा र अवकाशका साथै आव सिद्धिने बेलामा अनावश्यक सामान किन्ने विकृतिसँगै चालू स्टक सामान बढेको हो । 
प्राधिकरणका अनुसार, चालू स्टक सम्पत्ति आठ क्षेत्रीय कार्यालयमध्ये सबैभन्दा बढी काठमाडौंको ३२ करोड ९८ लाख र ग्राहक तथा वितरण निर्देशनालय (डीसीएस) को ३० करोड ५ लाख छ ।
त्यसैगरी विराटनगर क्षेत्रीय कार्यालयको ३६ करोड १८ लाख, जनकपुरको २३ करोड ७३ लाख, हेटौंडाको २१ करोड ९२ लाख, पोखराको १६ करोड १६ लाख, बुटबलको २४ करोड ४७ लाख, नेपालगन्जको २८ करोड ५१ लाख र अत्तरियाको १८ करोड ६४ लाख स्टक चालू सम्पत्ति रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार, अघिल्लो वर्षभन्दा गतवर्ष पोखरा क्षेत्रीय कार्यालयको ३४.८८ र विराटनगरको २३.९१ प्रतिशत स्टक चालू सम्पत्ति बढेको छ भने प्राधिकरण वितरण निर्देशनालयले सबैभन्दा बढी २६.१७ प्रतिशत र अत्तरियाले ७.५४ प्रतिशत घटाएको छ ।
अन्य सबै क्षेत्रीय कार्यालयमा चालू स्टक सम्पत्ति बढेको छ । चालू स्टक सम्पत्ति बढ्दा प्राधिकरणलाई बढी घाटा हुने भए पनि नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउन सकेको छैन । 
http://www.karobardaily.com/%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%B0%E0%A4%A3%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A4%B0%E0%A4%A3-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%A8%E0%A4%BE%E0%A4%B2%E0%A4%AF%E0%A4%95%E0%A5%8B-%E0%A4%9A%E0%A4%BE%E0%A4%B2%E0%A5%82-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A4%BF-%E0%A5%A8-%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%AC-%E0%A5%A9%E0%A5%A8-%E0%A4%95%E0%A4%B0%E0%A5%8B%E0%A4%A1

No comments: