काठमाडौं : आगामी हिउँदमा लोडसेडिङ न्यूनीकरणका लागि भारतकै भर पर्नुपर्ने देखिएको छ । उपत्यकालाई लोडसेडिङमुक्तको अवस्थामा कायम राखिराख्न पनि भारतमै भर पर्नुपर्ने स्थिति छ ।
अहिले भारतबाट २ सय ५० मेगावाट हाराहारीमा र गत हिउँदमा ३ सय ४७ मेगावाटसम्म आयात गरेको विद्युत् प्राधिकरणले आगामी हिउँदमा थप २ सय २० मेगावाट थप गर्ने लक्ष्य राखेको छ ।
प्राधिकरणले आगामी माघ र फागुनमा सबैभन्दा बढी १४ सय ७५ मेगावाट माग पुग्ने र यसका लागि भारतबाट आयातीत बिजुली ५ सय ५० मेगावाट पुग्ने प्रक्षेपण छ ।
लक्ष्यअनुसार नै भारतबाट विद्युत् आयात भएमा आगामी हिउँदमा नेपालको उत्पादन ४ सय ९० मेगावाटमात्र हुनेछ । भारतबाट ५ सय ५० सय मेगावाट आयात भए भारतबाट आयातीत बिजुलीको मूल्यमात्र चालू वर्षमा झण्डै ४० अर्ब नाघ्ने अनुमान प्राधिकरणको छ ।
गत वर्ष प्राधिकरणले १६ अर्बबराबरको विद्युत् आयात गरेको थियो भने चालू वर्षमा दोब्बरभन्दा बढी बिजुली आयात गर्ने योजना प्राधिकरणको छ ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भारतबाट थप २ सय २० मेगावाट ल्याउन सकियो भने अहिलेकै लोडसेडिङको अवस्थालाई निरन्तरता दिन सकिने बताए ।
“आगामी माघमा १४ सय ७५ मेगावाट माग पुग्ने र भारतबाट २ सय २० मेगावाट थप आयातीतसहित विद्युत् प्राधिकरण र निजी क्षेत्रबाट उत्पादित गरी ९ सय ४० मेगावाट आपूर्ति र ५ सय ३० मेगावाट लोडसेडिङ हुने अपेक्षा गरेका छौं,” उनले भने ।
उनका अनुसार भारतबाट थप ल्याउने भनेको २ सय २० मेगावाटको बिजुली आयातको ग्यारेन्टी नभई आशावादीमात्र बन्नुपरेकोले पनि नआएको खण्डमा उद्योग व्यवसायीहरूसँग रहेका क्याप्टिभ प्लान्टहरू सञ्चालन गर्नका लागि प्राधिकरणले प्रयास गरिरहेको छ ।
हालै विद्युत् प्राधिकरण र भारतीय नेपालले टनकपुरको सबस्टेसनमा हाल रहेको ५० एमभीएको ट्रान्सफर्मर स्तरोन्नति गरेर एक सय एमभीए बनाई थप ४० मेगावाट आयात बढाउन प्राविधिक अध्ययन अघि बढाउने विषयमा छलफल भएको थियो ।
लोडसेडिङ न्यूनीकरणका लागि महत्वपूर्ण ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रशारण लाइनबाट थप बिजुली ल्याउन आवश्यक देखिएको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गर्न केही ढिलाइ हुने देखिएको छ ।
त्यसकारण प्राधिकरणले विकल्पको रूपमा एक सय एमभीएको ट्रान्सफर्मर थप गरेर ८० मेगावाट बिजुली थप गर्न प्राविधिक अध्ययन गर्ने गृहकार्य गरिरहेको छ ।
समयमै ढल्केबर सबस्टेसन बन्न सक्ने अवस्था नदेखिएपछि थप एक सय एमभीएको ट्रान्सफर्मर राखेरै भए पनि बिजुली ल्याउने योजना प्राधिकरणले बनाएको एक उच्च अधिकारीले जानकारी दिए ।
त्यसैगरी आगामी डिसेम्बरभित्र प्रशारण लाइन निर्माण सम्पन्न गरेर १३२ केभीका कटैया–कुसाहा तथा रक्सौल–पवानीपुर प्रशारण लाइनबाट थप एक सय मेगावाट थप गर्ने योजना छ ।
यी सबै निर्माण र अध्ययनकै चरणमा रहेकाले प्राधिकरण थप २ सय २० मेगावाट आयात हुनेमा अझै पूर्ण ढुक्क छैन ।
“जुन माग पुग्ने अपेक्षा गरेका छौं, त्यसलाई घटाउन पिक आवर अर्थात् साँझको समयमा पानी तान्ने मेसिन, इन्भर्टर, हिटर, फ्रिजलगायत बढी बिजुली खपत गर्ने उपकरण प्रयोग नगर्न चेतना जगाउने अभियानमा छौं,” प्रवक्ता अधिकारीले भने, “माग घटाउनु उत्पादन बढाउनुसरह हो ।”
प्राधिकरणका अनुसार हाल कटैया–कुसाहाबाट १ सय १५ मेगावाट, ढल्केबर–मुजफ्फरपुरबाट ८० मेगावाट, महेन्द्रनगर–टनककपुरबाट २५ मेगावाटका साथै रामनगर नाकाबाट ४ मेगावाट, रक्सौलबाट ७ मेगावाट, जलेश्वरबाट ९ मेगावाट, नेपालगञ्जबाट १० मेगावाट, राजविराजबाट ४ मेगावाट र सिरहा नाकाबाट ४ मेगावाट विद्युत् आयात भइरहेको छ ।
http://www.karobardaily.com/%E0%A4%B2%E0%A5%8B%E0%A4%A1%E0%A4%B8%E0%A5%87%E0%A4%A1%E0%A4%BF%E0%A4%99-%E0%A4%98%E0%A4%9F%E0%A4%BE%E0%A4%89%E0%A4%A8-%E0%A4%AD%E0%A4%BE%E0%A4%B0%E0%A4%A4%E0%A4%95%E0%A5%88-%E0%A4%AD%E0%A4%B0-%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%81%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87
No comments:
Post a Comment