फाइल फोटो
काठमाडौ : १२ हजार भूकम्प प्रभावितले घर पुनर्निर्माण सुरु गरेका छन् । भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका ५ लाख ३१ हजार भूकम्प प्रभावितमध्ये ११ हजार ९८९ जनाले बल्ल घर पुनर्निर्माण सुरु गरेका हुन् ।
सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार, विस्तृत घरधुरी सर्भेक्षण गरिसकिएका भूकम्प अतिप्रभावित जिल्लामा पुनर्निर्माण सुरु भएको छ ।
सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइ प्रमुख शिवहरि शर्माले गाउँ–गाउँमा खटिएका इन्जिनियरको सहयोगमा पुनर्निर्माण भएका घरको तथ्यांक संकलन सुरु गरेको जानकारी दिए ।
कार्यान्वयन इकाइका अनुसार सिन्धुपाल्चोक, काभ्रे, गोरखा, रामेछाप, मकवानपुर, ओखलढुंगा र रसुवाबाट दोस्रो किस्ताको अनुदानका लागि निवदेन दिन पनि सुरु भइसकेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले निजी आवास पुनर्निर्माण कार्यविधि तयार भइसकेकाले त्यसका आधारमा इन्जिनियरले दोस्रो किस्ताका लागि सिफारिस गर्न सक्ने बताए ।
“पहिलो किस्ताको अनुदान रकम वितरण भइसकेकाले अब धेरैले घर निर्माण सुरु गर्नेछन्,” उनले भने । प्राधिकरण स्रोतका अनुसार, सरकारको अनुदान पाएर हालसम्म एउटा पनि घर पुनर्निर्माण भएको छैन ।
३० फागुनदेखि नै प्राधिकरणले पहिलो किस्ता वितरण गर्न सुरु गरेको थियो । अनुदान पाएको आठ महिनासम्म पनि प्रभावितले घर पुनर्निर्माण सुरु नगरेपछि प्राधिकरणप्रति असन्तुष्टि बढ्दै गएको छ ।
संघीय तथा स्थानीय विकास मन्त्रालयका अनुसार, हालसम्म ४ लाख ७० हजार ५२४ घरधनीसँग अनुदान सम्झौता भैसकेको छ भने ४ लाख ३२ हजार ७३८ घरधनीको पहिलो किस्ताको अनुदान रकम बैंक खातामा जम्मा भएको छ ।
वर्तमान सरकारले भूकम्प प्रभावितलाई तीन किस्तामा तीन लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेअनुसार प्राधिकरणले अनुदान कार्यविधि संशोधन गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको छ ।
नयाँ घोषणाअनुसार भूकम्प प्रभावितले पहिलो किस्तामा ५० हजार, जग हालिसकेपछि सहरी विकास मन्त्रालयले गाविस तथा नगरपालिकामा खटाएका इन्जिनियरको सिफारिसमा १ लाख ५० हजार र तेस्रो किस्ता १ लाख रुपैयाँ पाउनेछन् ।
प्राधिकरणका अनुसार दोस्रो र तेस्रो किस्ता प्राप्त गर्न भूकम्प प्रतिरोधी प्रविधिअनुसार घर पुनर्निर्माण गरेको हुनुपर्नेछ । उपत्यकामा अनुदान पाउने छनोट सूचीमा परेका काठमाडौंमा १६ हजार ४५९, भक्तपुरका ६ हजार २४ र ललितपुरमा ४ हजार ३२२ घरधनीसँग अनुदान सम्झौता भइसकेको छ ।
http://www.karobardaily.com/%E0%A4%AD%E0%A5%82%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AA-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AD%E0%A4%BE%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A4%A6%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%98%E0%A4%B0-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%BE%E0%A4%A3-%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A5%81
No comments:
Post a Comment