Thursday, April 28, 2016

पुनर्निर्माणमा खटिए १३४६ इन्जिनियर

पीडितसमक्ष ‘देवदूत’ का रूपमा काम गर्न प्रधानमन्त्रीको आह्वान

भीम गौतम / राजधानी
काठमाडौं, १५ वैशाख
भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले भूकम्प प्रभावित सबै गाविस र नगरपालिकामा १३ सय ४६ इन्जिनियर खटाएको छ । भूकम्प विशेष प्रभावित जिल्लाका ५ सय ७५ गाविस र २० नगरपालिकामा भूकम्पपीडितको व्यक्तिगत घरसहित अन्य पूर्वाधार निर्माणका लागि प्राविधिक सहयोग गर्न एकैपटक यति धेरै इन्जिनियर खटाइएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिरण र सहरी विकास मन्त्रालयको आयोजना तथा भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) र यूएसआईडीको सहयोगमा दुई दिनसम्म पुनर्निर्माणबारे विस्तृत जानकारी दिएर बुधबारबाट उनीहरूलाई पुनर्निर्माणको कार्यक्षेत्रमा खटाइएको हो ।
‘भूकम्प प्रभावित सबै गाविस र नगरपालिकामा इन्जिनियरहरू पुनर्निर्माणका लागि खटाएका छौं,’ सहरी विकास मन्त्रालयका सहसचिव शिवहरि शर्माले भने, ‘इन्जिनियरहरूले भूकम्पपीडित गाउँगाउँ पुगेर व्यक्तिगत आवासलगायतको निर्माणका लागि प्राविधिक सहयोग गर्नेछन् ।’ उनका अनुसार एक साताभित्र इन्जिनियरहरू भूकम्प प्रभावित गाउँ–गाउँमा पुग्नेछन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा दुईदिने तालिम समापन गरी भूकम्पपीडितको घर पुनर्निर्माणका लागि खटिएका इन्जिनियरहरू । तस्बिर : रासस
मन्त्रालयका अनुसार प्रत्येक गाविसमा एक÷एकजना इन्जिनियर र नगरपालिकामा तीन÷तीनजना इन्जिनियर पुनर्निर्माणका लागि खटाइएको छ भने सबइन्जिनियर, सामाजिक परिचालकलगायत गरी थप १३ सय परिचालन गर्ने मन्त्रालयको लक्ष्य छ । व्यक्तिगत घर निर्माणका लागि मन्त्रालयले भूकम्प प्रतिरोधी १७ नमुना घरको नक्सा तयार गरिसकेको छ । प्राविधिकहरूले ती नमुना नक्साहरू गाउँ–गाउँ पु¥याएर पुनर्निर्माणका लागि सहयोग गर्नेछन् । गत १२ वैशाखमा सरकारले ३ सय ८३ गाविसका ३ लाखभन्दा बढी भूकम्पपीडितको नाम सार्वजनिक गरी व्यक्तिगत आवास निर्माणका लागि अनुदान दिने प्रक्रिया अघि बढाइ सकिएको छ । पहिलो किस्ताका रूपमा ५० हजार रुपैयाँ दिएपछि यसको आधारमा सम्बन्धित पीडितले नक्सा पासलगायतका प्रारम्भिक प्रक्रिया अघि बढाएपछि दोस्रो र तेस्रो किस्तामा ७० र ८० हजार क्रमशः दिने नीति प्राधिकरणले लिएको छ ।
प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले पुनर्निर्माणका लागि खटिएका इन्जिनियरहरूले गाउँ–गाउँ पुगेर पुनर्निर्माणको नीतिअनुसार अभियान केही बढाउने बताए । ‘इन्जिनियरहरू गाउँ–गाउँ खटिएपछि यसले भूकम्पपीडित गाउँमा नयाँ माहोल सिर्जना गर्नेछ,’ उनले भने, ‘अनुदान वितरण कार्य पनि अघि बढेकोले अनुदान पाउने वित्तिक्कै पीडितहरू आफ्नो बनाउनका लागि सक्रिय हुनेछन्, प्राधिकरणले समन्वय र सहजीकरणको भूमिका खेल्नेछ ।’ प्राधिकरणले भूकम्प पीडितहरूलाई सहज बनाउनका लागि स्थानीय क्षेत्रमा स्रोत केन्द्रको स्थापना गरेको छ भने विभिन्न उपक्षेत्रीय कार्यालयहरू पनि स्थापना गरेको छ । १ सय ५९ स्रोत केन्द्र स्थापना गर्ने निर्णय भए पनि हालसम्म दोलखाको सिंगटीबाहेक अन्य क्षेत्रमा स्रोत केन्द्र स्थापना भइसकेको छैन ।
पुनर्निर्माणमा जान लागेका इन्जिनियरहरूलाई बिदाइ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणलाई दु्रतगतिमा अघि बढाउन सक्रियतासाथ लाग्न आह्वान गरे । उनले इन्जिनियरहरूसँगै राजनीतिक दलका कार्यकर्ताहरूलाई समेत प्रतिस्पर्धा गरी गाउँगाउँ पु¥याउन सके यसले पुनर्निर्माणमा ठूलो माहोल सिर्जना गर्ने बताए । ‘सबै दलले कहिलेदेखि कति कार्यकर्ता खटाउने त्यसमा हामी प्रतिस्पर्धा गरौं, नेपाल जुरुक्कै उठ्न सक्छ,’ प्रधानमन्त्रीले भने, ‘नयाँ जिम्मेवारीसहित खटिने इन्जिनियरलाई पीडितसमक्ष गएर ‘देवदूत’ का रूपमा काम गर्नुपर्छ ।’
नवनिर्माणको यस अभियानले मुलुकबाहिर रहेका युवालाई पनि स्वदेशमा फर्काएर काम दिन सरकारले पहल गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले पुनर्निर्माणले गाउँको मुहार फेर्ने भएकाले जनतालाई सहज हुने गरी अघि बढ्न आग्रह गरे । प्रधानमन्त्री ओलीले शहरमा बसेर कुरा काट्ने काम छाडेर अब जनताको काम गर्नका लागि तयार हुन पनि सबैलाई आह्वान गरेका छन् ।
http://rajdhani.com.np/article/0783728001461805247

Wednesday, April 27, 2016

नेपालको जलविद्युत् क्षमता कति ?

भीम गौतम / राजधानी
काठमाडौं, १४ वैशाख
नेपालमा जलविद्युत् उत्पादनको क्षमता कति छ ? जलविद्युत् उत्पादन सुरु भएको सय वर्ष नाघे पनि यसको स्पष्ट जवाफ ऊर्जा मन्त्रालयसँगै आजसम्म छैन । झन्डै ५० वर्षअघि हरिमान श्रेष्ठले आफ्नो विद्यावारिधिको थेसिस लेख्ने क्रममा तत्कालीन सीमित स्रोत साधनको उपयोग गरेर पत्ता लगाएको ८३ हजार मेगावाटलाई नै नेपालको क्षमताका रूपमा मानिँदै आएको छ । कुनै आधिकारिक अध्ययन नभए पनि यसमध्ये ४२ हजार मेगावाटलाई व्यावसायिक र प्राविधिक रूपमा उत्पादन भएको क्षमता मानिँदै आएको छ । यही कारण १९६८ सालमा ५ सय किलोवाटको फर्पिङ जलविद्युत् आयोजना बनाएर दक्षिण एसियाकै दोस्रो जलविद्युत् आयोजना निर्माण गर्ने मुलुक बनेको नेपालले यसको उत्तर दिन नसकेर शिर निहु¥याउनुपर्ने अवस्था छ । अब भने बल्ल सरकारले नेपालको जलविद्युत् उत्पादन पुनः सम्भाव्यता अध्ययन सुरु गरेको छ ।


जल तथा ऊर्जा आयोगमार्फत सिल्ड कन्सर्नलाई परामर्शदाताका रूपमा छनोट गरेर पुनः सम्भाव्यता अध्ययन सुरु गरिएको र २०७४ को असारसम्ममा नेपालको कुल क्षमता कति भन्ने स्पष्ट आइसक्नेछ । ‘अहिले नेपालको जलविद्युत्को क्षमता कति भनेर विदेशीले विभिन्न फोरमहरूमा धेरै प्रश्न गर्ने गरेका छन्, आधिकारिक अध्ययन नभएकाले भन्न सकेका छैनौं,’ आयोगका सहसचिव जिबछ मण्डलले राजधानीसँग भने, ‘वेसिनवाइज रूपमा अध्ययन अघि बढाएका छौं,’ गत अगष्टदेखि सुरु भएको सम्भाव्यता अध्ययनअन्तर्गत परामर्शदाताले प्रारम्भिक रूपमा १ लाख ३० हजार मेगावाटभन्दा बढी क्षमता हुने देखाइसकेको र अन्तिम प्रतिवेदन आएपछि यकिन रूपमा भन्न सकिने उनले जानकारी दिए । नेपालमा हाल ६ हजार नदीनाला रहेको र १० किलोमिटर स्क्वायरको लक्षित क्षेत्रभित्र रहेर गरिने विस्तृत अध्ययनका क्रममा विशेषगरी क्यु ४० मा यसको अध्ययन अघि बढाइएको छ । विशेष गरी कर्णाली, कोसी, गण्डकी र महाकाली वेसिनलाई आधार बनाएर अध्ययन अघि बढेको छ ।
हालसम्म आधुनिक प्रविधि र स्रोत साधनको उपयोग गरेर सरकारले यसबारे विस्तृत अध्ययन गरेको छैन । हरिमानबाहेक ईश्वर ब्रजाचार्यले विद्यावारिधिकै थेसिस गर्ने क्रममा गरेको नेपालको ऊर्जा सम्भाव्यता र यसको उत्पादन तथा विस्तारको प्रतिवेदनमा भने १ लाख ३ हजार ३ सय ४१ मेगावाट उत्पादन हुने उल्लेख छ । उनले अस्ट्रेलियाको भियना युनिभर्सिटी अफ टेक्नोलोजीबाट विद्यावारिधि गरेका थिए ।
भारतका विभिन्न निकायले गरेको अध्ययनले भने नेपालको पानीको अधिकतम उपयोग गर्दा २ लाख मेगावाटसम्म विद्युत् उत्पादन हुन सक्ने देखाइएको छ । पछिल्लो समयका सरकारी निकायबीच समन्वय नहुँदा तथा नदीनालाको छेउमा सडक निर्माणलगायतलाई जोड दिँदा कतिपय ठूला जलविद्युत् आयोजनाको सामाजिक तथा वातावरणीय पक्ष धेरै महँगो पर्ने देखिएको छ । यसतर्फ ध्यान दिइएको छैन, तर अब यस्ता क्षेत्रलाई पनि समेटेर अध्ययन अघि बढाइने आयोगले जनाएको छ । ‘जलविद्युत् क्षमताबारे आधुनिक तरिकाले अध्ययन अघि बढाउने हुनाले यसले नेपालको जलविद्युत्को स्पष्ट चित्र दिन्छ,’ सहसचिव मण्डलले भने ।
छरिएका रहेका अध्ययन अनुसन्धानलाई एकीकृत गरेर पुनः अध्ययन नगरेसम्म यस्ता अध्ययन तथ्यांकहरू मिथ्यांकका रूपमा परिणत हुने हुनाले हालको अध्ययनले जलविद्युत् क्षेत्रको विकासमा धेरै सहज बनाउने अपेक्षा गरिएको छ ।
हरिमान श्रेष्ठ ८३ हजार मेगावाट
ईश्वर बज्राचार्य १ लाख ३ हजार मेगावाट
भारतीय संस्थाको अध्ययन २ लाख मेगावाट
नेपालको आधिकारिक अध्ययन छैन
http://rajdhani.com.np/article/0716013001461717894

ऊर्जा संकटकाल कार्यान्वयनमा प्राधिकरण नै बाधक राजधानी समाचारदाता काठमाडौं, १४ वैशाख जलविद्युत् क्षेत्रलाई उथलपुथल गर्ने भन्दै सरकारले ल्याएको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणा पत्रसहितको कार्ययोजनामा नेपाल विद्युत् प्राधिकरण नै बाधक देखिएको छ । कार्ययोजना कार्यान्वयनका लागि सबैभन्दा महŒवपूर्ण मानिएको विद्युत् खरिद सम्झौता (पीपीए) टेक अर पेमा गर्नका लागि प्राधिकरण नै अवरोध देखिएको हो । १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने उद्देश्यसहित सरकारले ल्याएको कार्ययोजना कार्यान्वयनका लागि ८० प्रतिशत काम विद्युत् प्राधिकरणबाट मात्र सम्भव छ तर प्राधिकरणले टेक अर पेमा पीपीए गर्नका लागि विद्युत् माग प्रक्षेपणबारे थप अध्ययन गर्नुपर्ने सर्त राखेपछि ऊर्जा मन्त्रालयका अधिकारीलाई आजभोलि प्राधिकरणलाई फकाउँदा फकाउँदै फुर्सद छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र आधारभूत रूपमा र दुई वर्षभित्र पूर्ण रूपमा लोडसेडिङ अन्त्य घोषणाको मुख्य आधारको रूपमा कार्ययोजनालाई लिइएको छ । कार्ययोजना आएपछि उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले कार्ययोजनापछि ऊर्जा क्षेत्रमा उथलपुथल हुने बताउँदै आएका छन् तर प्राधिकरण र मन्त्रालयबीचमै कार्यन्वयनमा अन्योलता देखिएको छ । सोमबार मन्त्रालयले आयोजना गरेको कार्ययोजना कार्यान्वयनबारेको छलफलमा समेत उपप्रधान एवं ऊर्जामन्त्री रायमाझीदेखि अधिकांश अधिकारीहरुले प्राधिकरणलाई कार्यान्वयनमा अघि बढ्न आग्रह गरेका थिए । ‘ऊर्जा संकटकाल कार्ययोजना कार्यान्वयनको काममध्ये ८० प्रतिशत प्राधिकरणबाटै गर्नुपर्ने अवस्था छ तर प्राधिकरणले काम गरिरहेको छैन,’ प्राधिकरणका एक अधिकारीले भने, ‘अहिले मन्त्रीदेखि सचिवसम्मले कार्यान्वयनका लागि सक्रिय हुनुप¥यो भनेर फकाइरहनुपरेको छ, प्राधिकरणको सक्रियता देखिएको छैन ।’ प्राधिकरणले कार्ययोजना आउनुअघि सन् २०१९ पछि विद्युत् खेर जाने भन्दै निजी प्रवद्र्धकहरूसँग पीपीए टेक एन्कड पेमा गर्दै आएको थियो । कार्ययोजनाले पीपीए गर्न खुला गरे पनि प्राधिकरण यसमा असहमत छ । छलफलमा प्राधिरकणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलगायतका अधिकारीहरूले विद्युत् माग प्रक्षेपणबारे थप अध्ययन गर्नुपर्ने बताएका थिए । मन्त्री रायमाझीले भने मन्त्री परिषद्बाट पारित कार्ययोजना कार्यान्वयन गर्नुको विकल्प नभएको भन्दै यसका लागि सक्रिय हुन आग्रह गरेका थिए । १० हजार मेगावाटमध्ये ५० प्रतिशत जलाशययुक्त र ३० प्रतिशत नदीप्रवाहमा आधारित (आरओआर) तथा बाँकी पिकिङ आरओआर र वैकल्पिक स्रोतबाट उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसका लागि स्पष्ट समयसीमासहितको कार्ययोजनासमेत ल्याएको छ । जलविद्युत् उत्पादनको विषय पीपीएसँग जोडिने भएकोले कार्ययोजनाअनुसार धेरै संयन्त्र निर्माणका लागि ऊर्जा मन्त्रालय अघि बढे पनि प्राधिकरण भने तातिसकेको छैन । ऊर्जा मन्त्रालयका सह–प्रवक्ता गोकर्णराज पन्थले कार्ययोजना कार्यन्वयनका लागि मन्त्रालय र प्राधिकरणका अधिकारीहरुबीच छलफल भएको र प्राधिकरणलाई थप सक्रिय हुन आग्रह गरिएको बताउँछन् । कार्ययोजनामा निर्माणाधीन आयोजनालाई तथा प्रस्तावित आयोजनालाई दु्रतगतिमा अघि बढ्ने उल्लेख छ तर निर्माणाधीन कुलेखानी तेस्रो, चमेलिया लगायतका जलविद्युत आयोजनाको प्रगतिको गति सन्तोषजनक छैन ।

राजधानी समाचारदाता
काठमाडौं, १४ वैशाख
जलविद्युत् क्षेत्रलाई उथलपुथल गर्ने भन्दै सरकारले ल्याएको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणा पत्रसहितको कार्ययोजनामा नेपाल विद्युत् प्राधिकरण नै बाधक देखिएको छ ।
कार्ययोजना कार्यान्वयनका लागि सबैभन्दा महŒवपूर्ण मानिएको विद्युत् खरिद सम्झौता (पीपीए) टेक अर पेमा गर्नका लागि प्राधिकरण नै अवरोध देखिएको हो । १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने उद्देश्यसहित सरकारले ल्याएको कार्ययोजना कार्यान्वयनका लागि ८० प्रतिशत काम विद्युत् प्राधिकरणबाट मात्र सम्भव छ तर प्राधिकरणले टेक अर पेमा पीपीए गर्नका लागि विद्युत् माग प्रक्षेपणबारे थप अध्ययन गर्नुपर्ने सर्त राखेपछि ऊर्जा मन्त्रालयका अधिकारीलाई आजभोलि प्राधिकरणलाई फकाउँदा फकाउँदै फुर्सद छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र आधारभूत रूपमा र दुई वर्षभित्र पूर्ण रूपमा लोडसेडिङ अन्त्य घोषणाको मुख्य आधारको रूपमा कार्ययोजनालाई लिइएको छ । कार्ययोजना आएपछि उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले कार्ययोजनापछि ऊर्जा क्षेत्रमा उथलपुथल हुने बताउँदै आएका छन् तर प्राधिकरण र मन्त्रालयबीचमै कार्यन्वयनमा अन्योलता देखिएको छ ।
सोमबार मन्त्रालयले आयोजना गरेको कार्ययोजना कार्यान्वयनबारेको छलफलमा समेत उपप्रधान एवं ऊर्जामन्त्री रायमाझीदेखि अधिकांश अधिकारीहरुले प्राधिकरणलाई कार्यान्वयनमा अघि बढ्न आग्रह गरेका थिए । ‘ऊर्जा संकटकाल कार्ययोजना कार्यान्वयनको काममध्ये ८० प्रतिशत प्राधिकरणबाटै गर्नुपर्ने अवस्था छ तर प्राधिकरणले काम गरिरहेको छैन,’ प्राधिकरणका एक अधिकारीले भने,
‘अहिले मन्त्रीदेखि सचिवसम्मले कार्यान्वयनका लागि सक्रिय हुनुप¥यो भनेर फकाइरहनुपरेको छ, प्राधिकरणको सक्रियता देखिएको छैन ।’
प्राधिकरणले कार्ययोजना आउनुअघि सन् २०१९ पछि विद्युत् खेर जाने भन्दै निजी प्रवद्र्धकहरूसँग पीपीए टेक एन्कड पेमा गर्दै आएको थियो । कार्ययोजनाले पीपीए गर्न खुला गरे पनि प्राधिकरण यसमा असहमत छ । छलफलमा प्राधिरकणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलगायतका अधिकारीहरूले विद्युत् माग प्रक्षेपणबारे थप अध्ययन गर्नुपर्ने बताएका थिए । मन्त्री रायमाझीले भने मन्त्री परिषद्बाट पारित कार्ययोजना कार्यान्वयन गर्नुको विकल्प नभएको भन्दै यसका लागि सक्रिय हुन आग्रह गरेका थिए ।
१० हजार मेगावाटमध्ये ५० प्रतिशत जलाशययुक्त र ३० प्रतिशत नदीप्रवाहमा आधारित (आरओआर) तथा बाँकी पिकिङ आरओआर र वैकल्पिक स्रोतबाट उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसका लागि स्पष्ट समयसीमासहितको कार्ययोजनासमेत ल्याएको छ ।
जलविद्युत् उत्पादनको विषय पीपीएसँग जोडिने भएकोले कार्ययोजनाअनुसार धेरै संयन्त्र निर्माणका लागि ऊर्जा मन्त्रालय अघि बढे पनि प्राधिकरण भने तातिसकेको छैन । ऊर्जा मन्त्रालयका सह–प्रवक्ता गोकर्णराज पन्थले कार्ययोजना कार्यन्वयनका लागि मन्त्रालय र प्राधिकरणका अधिकारीहरुबीच छलफल भएको र प्राधिकरणलाई थप सक्रिय हुन आग्रह गरिएको बताउँछन् ।
कार्ययोजनामा निर्माणाधीन आयोजनालाई तथा प्रस्तावित आयोजनालाई दु्रतगतिमा अघि बढ्ने उल्लेख छ तर निर्माणाधीन कुलेखानी तेस्रो, चमेलिया लगायतका जलविद्युत आयोजनाको प्रगतिको गति सन्तोषजनक छैन ।
http://rajdhani.com.np/article/0537650001461727109

Monday, April 25, 2016

वर्ष बितेपछि पुनर्निर्माणको चटारो

भीम गौतम/राजधानीकाठमाडौं, १२ वैशाख
भूकम्प गएको एक वर्षपछि सरकारले पुनर्निर्माणको अनुभूति हुने गरी काम सुरु गरेको छ । राजनीति खिचातानीमा फसेर भूकम्पपछिको पुनर्निर्माण कानुन निर्माणमै ढिलाइ गर्दै गत पुसमा मात्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको सरकारले आइतबारबाट भने पीडितले अनुभूति गर्ने गरी पुनर्निर्माण कार्य अघि बढाएको हो ।

सिन्धुपाल्चोक चौतारा नगरपालिका–३ स्याङ्बो टोलका सर्बे तामाङको घर आइतबार शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।
तस्बिर : दिनेश थापा/राजधानी

पुनर्निर्माण सुरु भएको संकेतस्वरूप राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार भूकम्पको केन्द्रबिन्दु बारपाकमा पुगेर स्थानीय गोपाल विकको घर शिलान्यास गरिन् । सो अवसरमा उनले जिल्ला दैवी उद्धार समिति गोर्खाले उपलब्ध गराएको जग्गामा सहरी विकास मन्त्रालयले तयार गरेको डिजाइनअनुसारको भूकम्प स्मारक पार्कको समेत शिलान्यास गरेकी छन् ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको चौतारामा पुगेर सर्बे तामाङको घर निर्माणको शुभारम्भ गरे भने प्रधानमन्त्रीको उपस्थितमा स्थानीय यदुमाया घोरासैनी र स्थानीय निकायका पदाधिकारीबीच अनुदान सम्झौतासमेत भएको छ । गत ३० फागुनमा दोलखाको सिंगटीबाट नमुना रूपमा तथा चैत अन्तिम सातादेखि आठ जिल्लाका आठ गाविसमा मात्र काम सुरु गरेको सरकारले १२ वैशाखको स्मृति दिवसको अवसर पारेर एकैपटक विशेष प्रभावित ११ जिल्लाका ३ सय ८३ गाविसमा पुनर्निर्माणको अभियान प्रक्रिया अघि बढाएको हो । ‘३ सय ८३ गाविसका ३ लाखभन्दा बढी भूकम्पपीडित अनुदान पाउन योग्य घरधनीहरूको सूची सार्वजनिक गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइमार्फत सम्बन्धित जिल्ला विकास समिति कार्यालयमा पठाइएको छ,’ प्राधिकरणका प्रवक्ता राम थपलियाले राजधानीसँग भने, ‘एकैपटक विशेष प्रभावित क्षेत्रका अधिकांश क्षेत्रमा पुनर्निर्माणको काम सुरुवात भएको छ ।’
प्राधिकरणका अनुसार यसरी सार्वजनिक हुन लागेका अनुदान पाउनयोग्य भूकम्पपीडितमा ओखलढुंगाका १५ हजार ५, सिन्धुलीका २१ हजार १ सय १४, रामेछापका ३० हजार ५ सय १९, दोलखाका ४९ हजार ७ सय ५१, सिन्धुपाल्चोकका ३५ हजार ३ सय ८, काभ्रेका ४० हजार २ सय ६४, नुवाकोटका ३८ हजार २ सय ३५, रसुवाका ५ हजार ४ सय १२, धादिङका २३ हजार ४ सय ४०, मकवानपुरका ७ हजार ४ सय १२ र गोर्खाका ३४ हजार ४ सय ९६ जना छन् । आइतबारदेखि नै रामेछापको अनुदान सम्झौतापछि १० घरको पुनर्निर्माण गरिएको र विशेष प्रभावित जिल्लाका अधिकांश निर्वाचन क्षेत्रमा यसको सुरुवात गरिएको प्राधिकरणले जनाएको छ । त्यसैगरी, भूकम्प स्मृति दिवसको अवसरमा आइतबार बिहान धरहरा परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भूकम्पमा परी दिवंगत भएकाप्रति श्रद्धाञ्जलीसहित पुष्पगुच्छा अर्पण गरिएको थियो भने प्रभावित जिल्लाका सबै सदरमुकाममा पनि श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । त्यसैगरी, साँझ भूकम्पबाट निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।
प्राधिकरणका अनुसार भूकम्प प्रभावित सर्वेक्षण सम्पन्न भएका गाविसहरूमध्ये प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक÷एक वटा गाविसमा निजी आवास अनुदान सम्झौता प्रारम्भ गरिएको छ भने प्रभावित नौ जिल्लाका एक÷एकवटा गाविसमा निजी अवास पुनर्निर्माण कार्यको शुभारम्भ गरिएको छ ।
http://rajdhani.com.np/article/0746736001461550707

Sunday, April 24, 2016

सिंहदरबारभरि योजना, गाउँभरि पीडा

भीम गौतम / राजधानी
काठमाडौं, ११ वैशाख
भूकम्पपछिको पुनर्निर्माणका लागि सिंहदरबारभरि योजनै योजना छन् तर भूकम्प गएको एक वर्ष बितिसक्दा पनि गाउँका पीडा भने उस्तै छ ।भूकम्पपछि बिचल्लीमा परेका पीडितहरूका लागि सरकार संवेदनशील नहुँदा र राजनीतिक दलहरूले अनावश्यक राजनीति गर्नाले भूकम्प गएको एक वर्षमा पनि गाउँबस्तीको पीडा ज्यूँका त्यूँ छन् ।
गत १२ वैशाखमा भूकम्प गएपछि ६ असारमा ल्याएको पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी अध्यादेश समयमै पारित नभएर निष्क्रिय हुनु तथा नयाँ ऐन ल्याउनमा पनि राजनीतिका स्वार्थले ढिलाइ हुनुले पुनर्निर्माणमा ढिलाइ हुँदा हालसम्म भूकम्पपीडितले व्यक्तिगत आवास बनाउन सकेका छैनन् । त्रास र आसमै बित्योे पीडितको एक वर्ष । राज्यको उपस्थिति पनि कागजमै सीमित बनेभन्दा अन्यथा हुँदैन । जसलाई जनताले भोगेका पीडा र बिजोगले नै पुष्टि गर्छ । पुनर्निर्माणमा राज्य यति सुस्त र प्रक्रियामुखी भइदियो कि सरकारले अहिलेसम्म पीडितको पहिचानसम्म पनि गर्न सकेन । लाजमर्दो कुरा त आÏनै कर्मचारीलाई आफूले तोकेको स्थान र काममा लगाउन सकेन, सरकारले । प्राधिकरणमा कर्मचारी जान मानेनन् भनेर सिंहदरबारको बागडोर सम्हालेका उच्च अधिकारीहरूकै रोइलो छ ।

पुनर्निर्माण खै ? गत १२ वैशाखको विनाशकारी भूकम्पपछि पुनर्निर्माणको बिम्ब बनाइएको धरहरा एक वर्षभरिमा भग्नावशेष हटाई जस्तापाताको बेरा लगाउनेबाहेक कुनै काम हुन सकेको छैन । तस्बिर ः सत्यन श्रेष्ठ÷राजधानी
एक वर्षा र हिउँद अत्यन्त कष्टका साथ बिताएका भूकम्पपीडितको घर मुखैमा आइसकेको वर्षायाममा पनि नबन्ने पक्का छ । भूकम्पपीडितले यस्तो बिजोग सहनुपरेको एक वर्ष पुग्यो तर हालसम्म सरकारको अनुदानमा पीडितको एउटा घर पनि बनेको छैन । पुनर्निर्माण अभियान (३० फागुन) सुरु भएको दोलखाको सिंगटी बजार र त्यस आसपासमा सरकारले दिएको अनुदानबाट केही घर निर्माण कार्य सुरु भए पनि कुनै पनि घर बनिसकेका छैनन् ।
अहिले सिंहदरबारभित्रका अधिकांश सरकारी मन्त्रालय पुग्ने हो भने पुनर्निर्माणका योजना देख्न पाइन्छ । तर, पुनर्निर्माणपछिको कार्यान्वयनको अवस्था भने शून्य जस्तै छ । घर निर्माणका लागि अनुदान पाएका समेत भूकम्प प्रतिरोधी डिजाइनका घरहरूको नक्सा अभाव सरकारले डकर्मी, सिकर्मी तालिम दिएर गाउँगाउँ नखटाउँदा र २ लाख अनुदानबाहेक घर बनाउन लाग्ने अन्य रकमको हकमा समेत स्पष्ट निर्णय नगर्दा अन्योलमा छन् । सामूहिक जमानीमा ३ लाख तथा काठमाडौंमा २५ लाख र जिल्ला सदरमुकाममा १५ लाख ऋण दिने कार्यविधि नबन्दा यस्तो अन्योलमा परेका हुन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पूर्णता पाएको पनि साढे तीन महिना पुगिसकेको छ । यस अवधिमा प्राधिकरण आफंैले र सहजीकरणमा भने दर्जनांै कानुन, नीति, कार्यविधि र नियमावली बनेका छन् ।
प्राधिकरणको समन्वय र सहजीकरणमा भएको यी कानुन, नीति, नियम, नियमावली र कार्यविधि निर्माणलाई पुनर्निर्माणका लागि उपलब्धिका रूपमा मान्नुपर्ने तर्क प्राधिकरणका अधिकारी बताउँछन् । गत फागुनमा पुनर्निर्माण तथा पुनःस्थापना नीतिसमेत पारित भएको छ । पुनर्निर्माण अघि बढाउनका लागि राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्, निर्देशक समिति र कार्यकारी समितिसमेत गठन गरिएको छ । ‘भूकम्पपीडितलाई अनुदान वितरणका लागि सबै संरचना, नियम र कार्यविधि तयार भइसकेका छन्,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, ‘अब दु्रतगतिमा पुनर्निर्माणको काम अघि बढ्छ ।’
पुनर्निर्माणका लागि एकीकृत बस्ती विकास नीति र ऋण प्राप्ति कार्यविधि तयार हुने क्रममा छ । पुनर्निर्माण प्राधिकरणले पाँच वर्षीय कार्ययोजना तयारी पनि गरिरहेको छ ।
प्राधिकरणका अनुसार सरकारले घर निर्माणका लागि घोषणा गरेको २ लाख अनुदानमध्ये पहिलो किस्तामा दिने ५० हजार पाउने ७ सयजनाको हाराहारीमा छ । ‘करिब ७ सयजनाले अनुदानको पहिलो किस्ताको रकम पाएका छन्, अहिले आठ जिल्लाका आठ गाविसमा पनि अघि बढेको छ,’ प्राधिकरण प्रवक्ता राम थपलियाले भने । झन्डै ८ लाखमध्ये भूकम्प गएको एक वर्षमा जम्मा ७ सयले मात्र अनुदान पाउनुलाई एउटा लज्जाजनक अवस्थाका रूपमा लिनुपर्छ । अझ विडम्बनाको कुरा त सरकारले चालू वर्षमा ९१ अर्ब रुपैयाँ बजेट छुट्याए पनि हालसम्म १ अर्ब पनि खर्च भएको छैन । व्यक्तिगत आवासबाहेकका अन्य क्षेत्रमा खासै खर्चसमेत हुन सकेको छैन ।
भूकम्प गएको झन्डै साढे १० महिनापछि दोलखा जिल्लाको सिंगटी क्षेत्रबाट सुरु भएको अनुदान वितरण सुरु भएको थियो तर अझै यसले गति लिन सकेको छैन । सिंगटी क्षेत्रका २२ सय ९६ लाई वितरण गर्नुपर्नेमा ८ सय ४१ जनाले मात्र अनुदानका लागि सम्झौता गरेका छन् । पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवाली अब दु्रतगतिमा अघि बढ्ने र वैशाखभरिमा ८० प्रतिशत भूकम्प पीडितलाई राहत वितरण भइसक्ने बताउँछन् । ‘भूकम्प गएको एक वर्षको अवधिभित्रै हामी अधिकांश भूकम्पपीडितको नाम सार्वजनिक गरेर अनुदान वितरण अघि बढाउँछांै ।’
भूकम्पबाट पाएको पीडामा तत्काल राहत तथा उद्धारका लागि जुन किसिमको उत्साह थियो । त्यो निरन्तरता भएको भए आजसम्म पुनर्निर्माण यति कमजोर र सुस्त हुने थिएन । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. स्वर्णिम वाग्लेको भनाइमा राहत र उद्धारमा बढेको गतिलाई राजनीतिक उत्तर चढावले रोकिदियो र अहिले यो गतिले अझ तीव्रता ल्याउन सकेको छैन । ‘पुनर्निर्माणमा धेरै पैसा परिचालन हुने देखिएपछि राजनीति घुस्यो, बखेडा भयो, यसले पुनर्निर्माण सुस्ताउँदै गयो, सीईओ नियुक्ति ढिलाइ भएपछि सेलाउँदै गयो र अहिले पहिलाको गतिमा ल्याउन गाह्रो भइरहेको छ,’ उनले भने ।
कर्मचारीतन्त्र वा अन्य कतैबाट ढिलाइ भएमा त्यसलाई दबाब दिएर छिटो, छरितो भूकम्प पीडितलाई राहत तथा घर दिनका लागि सबैभन्दा दबाब दिनुपर्ने हाम्रो राजनीतिले किन भूकम्पपछिको गाम्भीयर्तालाई बुझेन ? यसको उत्तर अहिलेसम्म धेरै भूकम्पपीडितले पाएका छैनन् । पुनर्निर्माण कानुनलाई आफ्नो राजनीतिक स्वार्थमा झगडामा झन्डै सात महिना बिताएका राजनीतिक नेतृत्वले लाजै नमानी सस्तो लोकप्रियताका लागि पीडितको पक्षमा भाषण गरिरहेका छन् तर त्यसले पुनर्निर्माणमा अझै ढिलाइ हुने आशंका बढाइरहेको छ ।

यसरी फस्यो राजनीतिक दलदलमा

भूकम्प गएको डेढ महिनापछि नै तत्कालीन राष्ट्रिय योजना आयोगको नेतृत्वमा सरकारले दातृ निकायलाई समेत संलग्न गराएर जेठको अन्तिम साता ‘विपद्पश्चात्को आवश्यकता आँकलन’ पीडीएनए प्रतिवेदन तयार गरियो । भूकम्पका कारण ७ खर्ब ४ करोड असर परेको र त्यसका लागि पुनर्निर्माणका लागि ६ खर्ब ७० अर्बबराबर आवश्यक रहेको प्रतिवेदनमा उल्लेख थियो । यो तयार गरेलगत्तै १० असारमा पुनर्निर्माणका लागि सहयोग जुटाउन दाता सम्मेलनमा आयोजना गरियो । दाता सम्मेलनमा ४ सय ४० अर्ब रुपैयाँको प्रतिबद्धता आएको तत्कालीन अवस्थामा जानकारी दिइएको थियो तर अहिले त्यसलाई ४ सय १२ अर्ब मात्र भनिएको छ ।
६ असारमै सरकारले भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनाको अध्यादेश पनि ल्यायो । साउनमा तत्कालीन सरकारले प्राधिकरणको सीईओमा तत्कालीन योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेललाई नियुक्त पनि ग¥यो । धेरैको भनाइमा पुनर्निर्माणका लागि परिचालन गर्ने ६ सय ७० अर्ब रुपैयाँमा तत्कालीन सत्ता साझेदार दलका नेताहरूको आँखा लाग्यो, यसले तत्कालीन अध्यादेश निष्क्रिय पार्न मात्र काम गरेन, अर्को नयाँ ऐन ल्याउनका लागि पुससम्म समय तन्कायो पनि । पुनर्निर्माणमा खर्च हुने रकम देखेपछि पीडितको पीडालाई विर्सेर राजनीतिक दलहरूको आँखा पैसातिर सरेको विश्लेषण छ आयोगका पूर्वसदस्य डा. वाग्लेको ।
तत्कालीन सत्ता साझेदारको नेतृत्व गर्ने कांग्रेसको भाषामा तत्कालीन अर्को सत्ता साझेदार एमालेले अध्यादेश पास गर्न नदिएर झेल ग¥यो । अहिलेको सत्ताको नेतृत्व गर्ने एमालेको भाषामा अध्यादेश फेल भएपछि नयाँ ल्याइएको ऐनलाई पारित गर्नका लागि कांग्रेस सीईओको लोभमा लामो समयसम्म अल्झाइरह्यो र ऐन बनाउनमै समय लाग्यो । उनीहरूको दाउपेच र दाबी आ–आफ्नै रहे पनि चरम पीडामा रहेका भूकम्पपीडितको भाषामा भने राजनीतिले आफ्नो पीडा चिनेन र पुनर्निर्माणमा निरन्तर राजनीति गरिरह्यो, जो आजसम्म कायमै छ । १३ भदौदेखि निष्क्रिय रहेको प्राधिकरण ५ पुसदेखि मात्र सक्रिय भयो । यस अवधिमा पुनर्निर्माण अघि बढ्न सकेन ।
विवाद यतिसम्म चुलियो कि कांग्रेसभित्र सत्तापक्षले ल्याएको अध्यादेश नै असफल बनाउन एमाले लाग्यो भन्दै कांग्रेस आक्रोशित बन्यो र धेरैले सँगै संविधान जारी गरेका कांग्रेस–एमाले गठबन्धन टुट्नुमा यसलाई कारण मान्छन् । यो द्वन्द्वले कांग्रेस निकट मानिने पोखरेलको नियुक्तिलाई मात्र बदर गराएन, त्यसपछि ल्याइएको पुनर्निर्माण प्राधिकरणको ऐन संसद्बाट पारित गराउनका लागि पाँच महिना लाग्यो ।
पुनर्निर्माण जस्तो विषयमा प्रमुख प्रतिपक्षी कांग्रेसले राजनीति नगर्नुपर्ने हो तर अध्यादेश विफलताको प्रतिशोध कांग्रेसले साँच्न खोज्यो । कांग्रेसको कारण विद्यायन समितिमै ऐन अड्कियो । बल्लबल्ल संसद्मा पुगेर ५ पुसमा मात्र ऐन पारित भयो । १० पुसमा सरकारले एमाले निकट सुशील ज्ञवालीलाई प्राधिकरणको सीईओ बनाइयो ।
पुनर्निर्माण प्राधिकरणलाई पार्टीकरण गर्नका लागि प्रमुख राजनीतिक दलहरू यति धेरै सक्रिय भए कि उनीहरूले भूकम्पको महापीडालाई बिर्सिदिए, पीडितका आँशु बिर्सिए र भूकम्पपछिको पुनर्निर्माणमा बखेडा गरिरहे ।

चुनौतीका पहाड

पुनर्निर्माण आफंैमा चुनौतीपूर्ण भए पनि असम्भव छैन । पुनर्निर्माणका लागि सबैभन्दा चुनौती सरकारी निकायबीचकै समन्वयको अभाव हो । पुनर्निर्माणबारेका सम्पूर्ण जानकारी भूकम्पपीडितसम्म पु¥याउन नसक्नु अर्को चुनौतीका रूपमा देखिएको छ । २ लाख अनुदानले भूकम्प प्रतिरोधी घर बनाउनका लागि जग्गा हाल्न पनि नपुग्ने अवस्था छ । यस्तो अवस्थामा बैंकहरूले दिने सहुलियत ऋणबारे बैकहरू सकारात्मक छैनन् । अझ कतिपय जिल्लामा राजनीतिक दलहरूले लोकप्रियताका नाममा सामूहिक जमानीमा दिने ऋण तिर्नु नपर्ने भनेर सार्वजनिक भाषण गरिरहेका छन् । हालसम्म प्राधिकरणले सरकारले स्वीकृत गरेको दरबन्दीअनुसारको कर्मचारी पाएको छैन भने अन्य मन्त्रालय पनि त्यति खुसी देखिँदैनन् ।
व्यक्तिगत आवास निर्माणको काम केही अघि बढे पनि अन्य भने खासै अघि बढेको छैन । यसको अलावा स्थानीयस्तरमा जनप्रतिनिधि नभएकाले सबै दललाई चित्त बुझाएर पुनर्निर्माण गर्न कठिन छ । भूकम्पले अधिकांशको लालपुर्जालगायतका विवरण अभावले अनुदान पाउने कठिन देखिएको छ । तर, यसलाई सहज बनाउन छोटो बाटोमार्फत लालपुर्जा दिन जग्गा प्राप्ति ऐन निर्माण गरेको छ । तालिम प्राप्त सिकर्मी, डकर्मी नहुनु, भूकम्प प्रतिरोधी भवनका डिजाइनबारे जानकारी अभाव, यस्ता भवनमा उपयोग गर्नका लागि आवश्यक सामग्रीको पहिचान र प्रयोग लगायतका समस्या देखिएका छन् । हाल प्राधिकरणले भूकम्प प्रभावित समथरदेखि हिमालसम्मका लागि एउटै कार्यविधि र मापदण्ड बनाए पनि यो प्रभावकारी नहुने भएकाले भूगोल र भौगर्भिक समस्यालाई हेरेर बनाउनुपर्ने माग पनि आइरहेको छ । 
http://rajdhani.com.np/article/0496851001461459333

Saturday, April 23, 2016

सोलु कोरिडोरमा लेखा समितिको चासो

मन्त्रीले भने– प्रगति प्रतिवेदन बनाउँदैमा मन्त्रालय हैरान

काठमाडौं÷रास– संसद्को सार्वजनिक लेखा समितिले १ सय ३२ केभीको सोलु कोरिडोर प्रसारण लाइनको ठेक्का प्रक्रियाबारे चासो दिँदै छानबिन प्रक्रिया अघिबढाएको छ । गत भदौमा ठेक्का दिएर यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिँदै ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै छानबिन गरेपछि सर्वोच्च अदालतमा पुगिसकेको यस प्रकरणबारे फेरि लेखा समितिले छानबिन अघि बढाएको हो ।
अदालतले तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीलगायतलाई यस प्रकरणमा सफाइ दिएको छ । समयमै प्रसारण लाइन नबनेमा ४५ प्रतिशतसम्म क्षतिपूर्ति दिनुपर्ने भए पनि लेखा समितिले यसबारे विषय उठान गरेर फेरि ठेकेदार छनोट प्रक्रियाबारे नै छानबिन अघि बढाएको छ ।
बिहीबार उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उर्जा सचिव सुमनप्रसाद शर्मा, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई बोलाएर जानकारी लिएको थियो । बैठकले तत्कालीन अवस्थामा प्राधिकरण बोर्ड बैठकमा ठेक्का प्रक्रियामा असहमति जनाउने तत्कालीन ऊर्जा सचिव राजेन्द्रकिशोर क्षत्रीलाई आज शुक्रबार बोलाएर जानकारी लिने निर्णय गरेको छ ।
बैठकमा उपप्रधान एवं ऊर्जामन्त्री रायमाझीले काम नरोक्ने गरी छानबिन प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । ‘अनियमितता भएको भए छानबिन गर्नुस् तर आयोजनाको काम रोक्ने काम नगर्नुस्,’ उनले भने, ‘जलविद्युत्मा समस्यै समस्या थुप्रिएकाले यसलाई समाधान गरी सहकार्य गर्नुपर्ने अवस्था छ ।’ उनले मन्त्रालय आफ्नो काम नगरी अख्तियारदेखि लेखा समिति, कृषि तथा जलस्रोत, प्रधानमन्त्री कार्यालयलगायतमा प्रगति वितरण बनाउनमै केन्द्रित हुनुपरेको बताउँदै यो हैरानीको अन्त्य हुनुपर्नेमाजोड दिए ।
समयमै प्रसारण लाइन नबनाउँदा प्राधिकरण सोलु कोरिडोर क्षेत्रका जलविद्युत् आयोजनालाई ४५ प्रतिशतसम्म हर्जना तिर्नुपर्ने विद्युत् खरिद सम्झौता (पीपीए)मा उल्लेख छ । सोलु कोरिडोरको ठेक्का प्रकरणमा २७ करोड कम कबोलेको ठेकेदार कम्पनीलाई प्राधिकरण सञ्चालक समितिले दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीलगायतलाई कारबाही गर्न निर्देशन दिएको थियो । सोहीअनुसार तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उनलाई बर्खास्त गरेका थिए, तर यस प्रकरणमा हालै ज्ञवालीले सर्वोच्च अदालतबाट सफाइ पाइसकेकी छन् ।
http://rajdhani.com.np/article/0132770001461284807

Thursday, April 21, 2016

वैशाखमै ८० प्रतिशत भूकम्प प्रभावित क्षेत्रमा अनुदान दिन्छौं

पाल्पाको कुसुमखोलामा जन्मिएका सुशील ज्ञवाली अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत छन् । भवानी माविबाट एसएलसी र इन्जिनियरिङ अध्ययन संस्थाबाट स्नात्तक तह पूरा गरेका ज्ञवालीसँग परामर्शता कम्पनी, जिल्ला विकास समिति रूपन्देहीमा सहभागिता जिल्ला विकास कार्यक्रम, लुम्बिनी विकास कोषमा परियोजना प्रमुख, बुटवल नपामा प्राविधिक सल्लाहकार र योजना प्रमुख, नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक, नगर विकास कोषको कार्यकारी निर्देशक लगायतका काम गरेको अनुभव छ । भूकम्पपछिको पुनर्निर्माणका लागि गठित प्राधिकरणले अहिले पीडितलाई घर निर्माणका लागि अनुदान वितरण अघि बढाइरहेको छ तर यसमा ढिलाइ भइरहेको भनेर भूकम्पपीडित असन्तुष्ट छन् । पुनर्निर्माण, यसका अवसर र चुनौतीबारे ४४ वर्षीय ज्ञवालीसँग राजधानीका लागि भीम गौतमले गरेको कुराकानी :


भूकम्प गएको एक वर्ष पुग्न लागेको छ तर भूकम्पपीडितले अझै आवास पाएका छैनन् । कहिलेसम्म उनीहरूलाई सरकारले दिने अनुदान दिइसक्छौं र नयाँ आवास बनाउन पाउलान् ?
भूकम्प गएको एक वर्ष पुग्न लागेको साँचो हो । जनताले चाँडै घर बनाउन पाए हुन्थ्यो भन्ने अपेक्षा गर्नु पनि स्वाभाविक हो । तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन भएको र काम सम्हालेको समय हेर्ने हो भने भर्खर साढे तीन महिना मात्र पुगेको छ । काम सुरु गरेपछिको गतिलाई हेर्ने हो भने हामीले अब छिट्टै अनुदान वितरण गर्न सक्छौ । वर्षाअघि नै अनुदान पाएर जनताले घर बनाइसक्ने अवस्था सिर्जना हुन्छ ।
भूकम्पपीडितले किन यति लामो समय कुर्नुप¥यो, अनुदानका लागि ? यसमा कसको दोष छ ?
सबैलाई थाहा छ, पुनर्निर्माणका लागि जुन संस्थागत संरचना निर्माण हुनुपर्ने थियो, राजनीतिलगायतका विविध कारणले ढिला भयो । भूकम्प गएलगत्तै वर्षा सुरु भयो । त्यसपछि इन्धन आपूर्तिको समस्यालगायतले जटिलता थपियो । त्यसपछि मधेसमा भएको आन्दोलन र आपूर्तिमा आएको समस्याले पनि केही काम ग¥यो । पुनर्निर्माण प्राधिकरण गठन भएपछि मात्र पुनर्निर्माणले गति लिन सकेको हो ।
भूकम्प गएपछि सरकारले घर बनाउनलाई पैसा, प्रविधिलगायत धेरै दिन्छु भन्यो तर अझसम्म नदिएर थप पीडित बनाइयो भन्ने गुनासो छ नि ?
हो, सरकारले २ लाख अनुदान दिने भनेको छ, प्राविधिक सहयोग पनि गर्ने भनेको छ, भूकम्पपीडितलाई । भन्नै बित्तिक्कै काम भइहाल्ने अवस्था त होइन नि । हामीले हाम्रो सीमालाई कहीँ न कहीँ बुझ्नु जरुरी छ । हामी अहिले थोरै संख्याको घरको कुरा गर्दै छैनांै । ८ लाखको संख्यामा घरको पुनर्निर्माणको कुरा गर्दै छाै । विगतमा यस्तै भूकम्प गएको भारतको गुजरात, पाकिस्तानको कास्मिर, जापान वा चीनकोे गतिलाई हेर्रांै, तत्काल एकैसाथ बनेको अवस्था छैन । अझ नेपालमा त दुर्गम खालको अवस्था, यातायात सञ्जाललगायतको समस्या छ । यसले केही समय लिन्छ नै । यसका साथै योबीचमा हामीले विस्तृत सर्वेक्षण दातृ निकायसँग भएको सम्झौताअनुसार गर्नु जरुरी थियो । अहिलेसम्म ११ जिल्लामा ८० प्रतिशतभन्दा बढी सर्वेक्षण काम सम्पन्न गरिसकेका छौं । अब लाभग्राहीको सूची प्रकाशित गर्ने अवस्थामा पुगेका छांै । हामीले सिंगटीमा नमुनाका रूपमा काम सुरु ग¥यौ । अहिले थप ९ जिल्लामा एक÷एक गाविसमा नमुना रूपमा अनुदान वितरण अघि बढाइसकेका छांै । आउने १२ वैशाख अर्थात् एक वर्षभित्र ३ सय गाविसमा अनुदान वितरण गर्न सक्ने अवस्थामा पुगिसकेका छौं । पुनर्निर्माणका लागि पूर्वतयारीका काम दु्रतगतिमा अघि बढेको अवस्था हो । अब यसको परिणाम र प्रतिफल चाँडै देखिनेछ ।
साढे तीन महिनामा धेरै काम भएका छन् त भन्नुभयो, के–के ग¥यो त प्राधिकरणले ?
म प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत भएर आउँदा एक थान ऐन तथा एकजना सचिव र एकजना नायब सुब्बाबाहेक कोही थिएन । कुर्सी र टेलब पनि थिएन । यसको व्यवस्थापन गरेर प्रवेश गरेको हो । यो साढे तीन महिनाको बीचमा थुप्रै कानुन निर्माण गरिसकेका छौं । खरिद, वातावरण, वन, जग्गा प्राप्ति, जग्गा दर्तालगायतका विभिन्न कार्यविधि तयार भएर मन्त्रिपरिषद्बाट पारित गरिसकेका छौं । दातृ निकाय, गैरसरकारी संस्था तथा सरकारी निकायभित्र पनि पुनर्निर्माणसम्बन्धी फरक फरक बुझाइरहेकामा एउटै बिन्दुमा ल्याएर राष्ट्रिय पुनर्निर्माण तथा पुनःस्थापना नीतिलाई ल्याउन सफल भएका छौं । कार्यान्वयन गर्ने संरचनालाई अन्तिम रूप दिएका छौं । गैरसरकारी संघसंस्थालाई परिचालन गर्ने कार्यविधि आइसकेको छ । केन्द्रदेखि गाउँतह र टोलसम्मको संरचना कस्तो बनाउने भन्ने पनि स्पष्ट पारिसकेका छौं । यसरी हेर्दा कानुनी, संरचनागत, नीतिगत हिसाबले धेरै आधार बनाएर अघि बढेका छौं ।
पुनर्निर्माणमा सरकारले राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थालाई बढी प्रश्रय दियो र यसले धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएर झन् झन्झटिलो र जटिल भयो भनेर आरोप लगाइरहेका छन् नि ?
मैले त उल्टो पो सुनिरहेको छु त । राष्ट्रिय÷अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थालाई प्राधिकरणले काम गर्न दिएको छैन भनेर सुनिरहेको छु, त । हामीलाई सबै कुरा दिनुपर्छ भनेको दिएन भनेर गुनासो छ । विभिन्नखालका सोच र विचार छन्, पुनर्निर्माणमा यस्तो आउनु स्वाभाविक हो तर हामीले राष्ट्रिय÷अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थालाई निश्चित प्रक्रिया र विधिको आधारमा अघि बढ्नका लागि र काम गर्ने क्षेत्रलाई स्पष्ट पार्नका लागि कार्यविधि बनाएका छौं । कसरी प्रस्ताव लिने र स्वीकृति गर्ने भन्ने स्पष्ट व्यवस्था छ । राष्ट्रिय÷अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले जथाभावी छाडा ढंगले छोड्ने होइन, निश्चित कार्यविधिका आधारमा नियमन गरेर पुनर्निर्माणमा लगाउने कुरा अघि बढाएका छौं । राष्ट्रिय÷अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थालाई कार्यविधि नभएसम्मका लागि रोक लगाएका थियौं, कार्यविधि ल्याएर अघि बढाउनका लागि बाटो खुला गर्दैछौं ।
गैरसरकारी संघसंस्थालाई जथाभावी रूपमा काम गर्न नदिने बताइरहेका बेला उनीहरूले विभिन्न क्षेत्रका घर बनाएर हस्तान्तरण गरिरहेको सार्वजनिक भइरहेको छ । यो कसरी सम्भव भयो ?
प्राधिकरण गठन हुनुअघि सरकारका विभिन्न निकायले यस क्षेत्रसँग सम्झौता गरेर काम अघि बढाएको थिए । विभिन्न संघसंस्थालाई अस्थायी आवास, संक्रमणकालीन आवास बनाउनका लागि अनुमति दिएको अवस्था थियो, त्यसलाई हामीले रोकेनांै । अघि बढ्न दियौं तर नयाँ काम गर्न रोक लगायाै । गैरसरकारी संघसंस्था र निजी क्षेत्रलाई प्रश्रय दिने नीति हाम्रो छैन । निजी क्षेत्रको सामाजिक उत्तरदायित्वको आधारमा गरेका केही काममा हाम्रो सहयोग भने रहनेनै भयो । एउटा दिशा निर्देश र नियमन गरेर मात्र अघि बढ्छाै ।
तराई, पहाड र हिमालको भूगोल र माटोको अवस्था फरक छ, अनि पहाडमा पाइने काठ पनि त्यति गुणस्तरीय छैन । दोलखाको उच्च पहाड र समथर क्षेत्रमा फरक फरक अवस्था छ तर प्राधिकरणले यसलाई बेवास्ता गरेर होलसेलमा नीति बनाएको भनेर आरोप छ, के भन्नुहुन्छ ?
कहाँ त्यस्तो हुनु, बरु हामीले नीतिलाई विकेन्द्रित गरेका छांै । नीतिमा प्रस्टसँग घरको निर्माण भनेको त्यसको प्रकृति र संस्कृति सुहाउँदो हुनुपर्नेछ भनेका छौं । प्रकृति भनेको विपद्बाट सुरक्षित हुनुपर्नेछ । सांस्कृतिक हिसाबले त्यहाँको रहनसहन र संस्कृतिसँग मिल्दोजुल्दो हुनुपर्ने उल्लेख छ । यसकारण हामीले पहिला जुन १७ वटा डिजाइन दिएका थियौं, यसलाई संशोधन गरेर खुला गरेका छांै । कुनै पनि डिजाइन आउँछ भने प्राधिकरणभित्र एउटा प्राविधिक समूह निर्माण भएको छ, नयाँ डिजाइन आउने बित्तिकै अध्ययन गरेर स्वीकृति दिन्छांै । अनुदान कार्यविधिले यसलाई प्रस्ट पारिसकेको छ ।
पहाडमा बढी पाइने सल्लो त त्यति उपयुक्त छैन, साल छैन कसरी व्यवस्थापन गर्छौं त, यो ठूलो समस्या बन्दै छ ?
पहाडका भएका कतिपय काठहरूको उपयोग गर्दा पनि बलियो घर बनाउन सकिन्छ । यसलाई बलियो बनाउने प्रविधि पनि छन् । वनका काठ उपयोग गर्ने कुरामा केही खुकुलो बनाएका छौं, जथाभावी रूपमा होइन कि व्यवस्थित रूपमा काठ उपलब्ध गराउने व्यवस्था गरेका छौं । कानुनी रूपमै यो व्यवस्था गरेका छौं । साल, सल्लो मात्र बलियो हुन्छ भन्ने कुरा होइन, स्थानीय क्षेत्रमा पाइने विभिन्न काठहरूलाई उपयोग गर्न सकिन्छ । प्राविधिक समूहले कुन क्षेत्रमा कस्तो काठ उपयोग गर्दा उपयुक्त हुन्छ भनेर सिफारिस गर्छ । जनतालाई यसबारे चाँडै सूचित गर्नेछांै ।
बैंकमार्फत अनुदान दिने र थोरै संख्याका पीडितले मात्र खाता खोलेमा बैकहरू नजाने अवस्था छ, यसले दुर्गमका पीडितलाई समस्या पारेको छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
दातृ निकायको बैंकिङ माध्यमबाट अनुदान वितरण गर्नुपर्ने प्रावधानको कारणले यो सुरुवात गरेका हौं । यसमार्फत दिँदा पुनर्निर्माणमा पनि सहज हुन्छ । बंैकहरूका जति शाखा छन्, सकेसम्म उनीहरूलाई उपयोग गर्छौं । जहाँसम्म दुर्गम क्षेत्रका जनता छन्, यहाँ शाखारहित बैंकिङ सेवा अवलम्बन गरेका छांै । शाखामा आउन सक्ने अवस्था रहेमा नियमित रूपमा आएर पैसा लैजाने अनि नआउने अवस्था रहेमा निश्चित समयमा गाउँको स्रोत केन्द्रमा पु¥याउने व्यवस्था गरेका छौं । दुवै प्रक्रिया अवलम्बन गरेर सहज बनाउन अघि बढेका छौं । यसका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक छलफलको चरणमा छाै ।
सरकारले दिएको २ लाख अनुदानले जग हाल्न पनि नपुग्ने अनि सामूहिक जमानीमा दिने ३ लाख र धिताको आधारमा सहुलियत ब्याजदरमा दिइने १५÷२५ लाख पाउने अत्तोपत्तो छैन भनेर पीडितले गुनासो गरिरहेका छन् । प्राधिकरणले पनि अनुदानमै बढी केन्द्रित भएको छ, बैंकहरूले पनि यसमा खास चासो दिएनन्, के उनीहरूले थप ऋण पाउने सम्भावना छ त ?
घर बल्ल निर्माणको चरणमा छन्, सर्भे भर्खर पूरा भएको छ, काम सुरु भइसकेको छैन । अनुदानको कार्यविधिमा ऋण दिने व्यवस्था पनि राखेका छौं । सामूहिक जमानी तथा सहुलियत ऋणबारे राष्ट्र बंैकले पनि कार्यविधि तयार पारिसकेको छ । यसको आधारमा बैंकहरूले पैसा वितरण गर्छन् । बैकबाट समयमै उपलब्ध गराउनका लागि हामी सहजीकरण गर्छौं । छिटो छरितो रूपमा उपलब्ध गराउनका लागि सक्रिय भएका छौं ।
पीडितले अनुभूति गर्ने गरी अनुदान पाएर ढुक्कसँग आफ्नो घर बनाउन पाउने अवस्था आउँछ ?
यसमा प्रस्टसँग के भन्न सक्ने नेपालमा पहिलो पटक डिजिटल प्रविधिबाट १६ सयभन्दा बढी इन्जिनियर खटाएर ११ जिल्लामा सर्वेक्षण गरिएको छ । अहिले जुन गतिमा प्राधिकरणले काम अघि बढाएको छ, अर्को देशको तुलनामा धेरै अघि बढेको छ । जनताको तहसम्म पुनर्निर्माण पु¥याउनका लागि आगामी १२ वैशाखको सेरोफेरोमा ८० प्रतिशत पीडितको सूची सार्वजनिक गरिसक्नेछांै । त्यसको एक सातासम्मलाई गुनासो सुनुवाइको अवसर दिनेछांै । यसपछि जनताले खाता खोलेर पैसा पाउने अवस्था सिर्जना हुन्छ ।
उसो भए पीडितले यो वर्षा अगाडि पक्की घर बनाउन नपाउने भए ?
दुईवटा कुरा म प्रस्टसँग भन्न चाहन्छु । घर निर्माण गरिदिने भनेको सरकारले होइन, जनता आफंैले आफ्नो आवश्यकता अनुसार आफंैले बनाउने हो । सरकारले होइन, भूकम्पपीडित आफैंले घर बनाउने हो । आफ्नो रहन, सहन र संस्कृतिअनुसार आफैंले बनाउने हो । हामीले जनतालाई बलियो घर कसरी बनाउने भनेर प्रविधि दिने हो । सरकारले लाग्ने सबै पैसा दिने पनि होइन, सहायता मात्र गर्ने हो । हामी अहिले ८ लाख घर बनाउने कुरा गर्दैछौ । तीन÷चार महिनामा यति धेरै घर बनाउन सक्छौं भनेर कसरी अनुमान गर्न सक्छौं र यसबारे वास्तविकता बुझ्नु जरुरी छ । यसमा म के संवेदनशील छु भनेर जो जनता अस्थायी टेन्टमा बसेको छ, अस्थायी आवासमा बस्दा पनि समस्या छ । उनीहरूका लागि विशेष व्यवस्थापन गर्ने भनेर प्रधानमन्त्रीले पनि भनिसक्नुभएको छ । यसको वैकल्पिक व्यवस्थामा पनि हामी जाँदैछांै । पक्की भवन नबनाउन्जेलसम्म २÷३ वर्षसम्मका लागि अस्थायीमा बस्नुपर्नेछ र योबीचमा अझ राम्रो र बलियो घर बनाउनेछांै । यसमा अनुगमनमा केही न केही कमजोर भएको छ । यसले गर्दा कतिपयले अनुदान लगेर पनि बनाउन नसकेको अवस्था छ । सामूहिक अस्थायी आवास बनाउनका लागि सहरी विकास मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको छ । यसका लागि टेन्डको प्रक्रिया अघि बढ्न लागेको छ ।
विगतमा लोकप्रियताका लागि कतै भूकम्पपीडितलाई सबै कुरा दिन्छु भनेर आश्वासन बढी नै दिएजस्तो देखिन्छ, यसमा पनि कमजोरी भयो जस्तो लाग्छ कि लाग्दैन ?
कमजोरी नै भएको अवस्था त छैन तर जनतालाई बढी आशामुखी बनाउने काम र परनिर्भर बनाउने काम ग¥यौं कि भनेर पुनर्निर्माण गर्नुपर्ने अवस्थाचाहिँ छ । खाद्य वितरणलगायतका कुराले पनि यस्ता कुरा आए, हामीले भूकम्पपीडितलाई परनिर्भर होइन, स्वावलम्बी बनाउने हो । जनतालाई प्रविधि र अनुदान हामीले दिने हो, जनता आफंैले घर बनाउने हो । वैशाख महिनाभित्र गाउँगाउँमा इन्जिनियर पुग्ने छन् ।
भूकम्प गएको वर्ष दिन अर्थात् १२ वैशाख आउँदै छ, यस अवसरमा पीडितलाई खुसी हुने गरी कुनै कामको सुरुवात गर्दै छौं र ?
एकदम गर्दछांै । सर्वेक्षण सम्पन्न भएको सबै ठाउँमा अनुदान प्रक्रिया आरम्भ गर्नेछांै । त्यो नै जनताका निम्ति सबैभन्दा चाहिएको कुरा हो । सर्वेक्षण सकिएको सबै क्षेत्रमा लाभग्राहीको सूची सार्वजनिक गर्नेछांै । केही गाविसमा अनुदान वितरणको प्रक्रिया सुरु गर्नेछांै । सबै निर्वाचन क्षेत्रमा अनुदान प्रक्रिया आरम्भ गर्ने गरी तयारी अघि बढाएका छौं । प्रत्येक जिल्लामा निर्माणका काम नै सुरु गर्ने गरी कार्ययोजना बनाइरहेका छौं । १२ वैशाखभित्र जनताले अनुभूत गर्ने गरी काम अघि बढ्नेछ । २० वैशाखभित्र गाउँगाउँमा इन्जिनियर पुगेका हुनेछन् । सर्वेक्षण सकिएको वैशाखमै भूकम्प प्रभावित ८० प्रतिशत क्षेत्रमा अनुदान वितरण सुरु हुन्छ ।
पुनर्निर्माणमा धेरै सम्भावनाको कुरा गर्नुभयो, चुनौती र समस्या चाहिँ के देख्नुभएको छ ?
विगतमा धेरै किसिमका वाचा जनतामाझ गरेर काम नभएको कारण हुन सक्छ, समाजमा नकारात्मक साचको भावना बढेको छ । नयाँ कुरा अघि बढे पनि हुँदैन, कहाँ हुन सक्छ र जस्ता सोचमा वृद्धि भएको छ । यसलाई भविष्यप्रतिको आशावादी र विश्वास जगाउने कुरा अहिलेको सबैभन्दा ठूलो चुनौतीपूर्ण काम हो । यो कुरा बोलेर होइन, गरेर देखाउनुपर्नेछ । अनुदान पाउने थालेपछि समग्र जनतामा एउटा विश्वासको वातावरण बन्छ । यसले पुनर्निर्माणलाई गति दिनेछ ।
गरेर देखाउन सक्नुहुन्छ त ?
म गरेरै देखाउन चाहन्छु, अहिलेको आवश्यकता पनियही हो ।पुनर्निर्माणको बजेट पाउनका लागि प्राधिकरणले धेरै समय कुर्नुप¥यो । अन्य सरकारी संयन्त्रले पनि प्राधिकरणलाई त्यति सहयोग गरेको देखिँदैन, किन यस्तो अवस्था आयो होला ?
पुनर्निर्माणलाई सबैले एउटा मानवीय संवेदनाको विषयको हिसाबले हेरेर क्रमशः सहमतिको अवस्था बन्दै पनि जानेछ । यसलाई बुझ्दै जाने कुरामा पनि कतै फरकपन आएको हुन सक्छ । पुनर्निर्माणको काम नेपालमा पहिलो हो, प्राधिकरण संस्था पनि पहिलो हो । विगतमा विभिन्न मन्त्रालयले आफ्नो ढंगले काम गरेको अवस्था थियो । प्राधिकरणले छिटो ढंगले काम अघि बढाउनका लागि विभिन्न कानुन र नीति बनाइसकेका छाै । तर, यसमा बुझ्ने कुरामा केही कमिकमजोरी भएको हुन सक्छ । केही पहिला अलमल भएको हुन सक्छ तर प्राधिकरण कसरी काम गर्ने भनेर प्रस्ट छ ।
जहाँसम्म कर्मचारीको सम्बन्धमा छ, कर्मचारी तन्त्रमा एउटा मान्यता छ । कुनै कुरा अघि बढाउन खोज्दा त्यसले तत्काल परिवर्तनलाई स्वीकार गरेर छिटो लिएर जाने सक्ने अवस्था हुँदैन । राजनीतिक निर्देशनले मात्र कर्मचारीतन्त्रलाई अघि बढाउने हो । यो त एउटा संसारभर रहेका कर्मचारीको प्रवृत्ति हो । कर्मचारी सकेसम्म सुविधामा चाहन्छन् । प्राधिकरणमा तत्काल कुनै पूर्वाधार र धेरै सुविधा नभएकाले यस्तो भएको हुन सक्छ । अब कर्मचारीको व्यवस्थापन छिट्टै हुनेछ ।

छिट्टै भनेको कहिले ? सरकारले असहयोग गरेको हो ?
नियमावली आउँदै छ । यो आएपछि एक महिनाभित्र सरकारले कर्मचारी व्यवस्थापन गर्न नसके प्राधिकरण आफंैले करारमा राख्न सक्नेछ । आउँला, नआए प्रक्रिया अघि बढ्नेछ । यसमा सरकारले असहयोग गरेको भन्न मिल्दैन । हाम्रो सरकारी निकायमा रहेको दरबन्दी हेर्ने हो भने धेरै कम छ । अझ प्राविधिक कर्मचारी त धेरै कम छ । नियमित कामका लागि समेत जनशक्ति कम देखिन्छ ।
पाँच वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने कुरा छ, यसपछि नेपाल कस्तो हुनेछ ?
जब पुनर्निर्माणले गति लिनेछ, जनतामा आशा बढ्ने छ । जब जनतालाई विकास निर्माणमा सहभागिता गराउँदै जानेछांै । त्यसपछि गाउँगाउँमा विकासका लहर चल्नेछ । नेपाली जनता लामो समयदेखि संक्रमणकालीन राजनीतिमा गुजँ्रदै आएको अवस्था हो, यसकारण विकासप्रति लालयित छन् । जनतामा आत्मविश्वास जगाआंै भने सुन्दर नेपाल, सुन्दर गाउँ बस्ती बन्ने छन् । मेरो पनि परिकल्पना के छ भने गाउँगाउँमा जनतामा विश्वास जागेर विकास लहर आउनेछ । पाँच वर्षभित्र देशमा विकासको नयाँ मोडेल तयार हुनेछ ।
प्रस्टस“ग के भन्न सकिन्छ भने नेपालमा पहिलो पटक डिजिटल प्रविधिबाट १६ सयभन्दा बढी इन्जिनियर खटाएर ११ जिल्लामा सर्वेक्षण गरिएको छ । अहिले जुन गतिमा प्राधिकरणले काम अघि बढाएको छ, अर्को देशको तुलनामा धेरै अघि बढेको छ । जनताको तहसम्म पुनर्निर्माण पु¥याउनका लागि आगामी १२ वैशाखको सेरोफेरोमा ८० प्रतिशत पीडितको सूची सार्वजनिक गरिसक्नेछांै । त्यसको एक सातासम्मलाई गुनासो सुनुवाइको अवसर दिनेछांै । यसपछि जनताले खाता खोलेर पैसा पाउने अवस्था सिर्जना हुन्छ ।
घर निर्माण गरिदिने भनेको सरकारले होइन, जनता आफंैले आफ्नो आवश्यकताअनुसार आफंैले बनाउने हो । सरकारले होइन, भूकम्पपीडित आफैंले घर बनाउने हो । आफ्नो रहन, सहन र संस्कृतिअनुसार आफैंले बनाउने हो । हामीले जनतालाई बलियो घर कसरी बनाउने भनेर प्रविधि दिने हो । सरकारले लाग्ने सबै पैसा दिने पनि होइन, सहायता मात्र गर्ने हो । हामी अहिले ८ लाख घर बनाउने कुरा गर्दैछौ । 
http://rajdhani.com.np/article/0098508001460856174

ऊर्जा संकटकाल विधेयक बनाउन स्वीकृति

काठमाडौं÷रास— सरकारको निर्णयअनुसार अबको २७ दिनभित्र ऊर्जा संकटसम्बन्धी विधेयक बनाइसक्नु पर्नेछ, तर त्यसका लागि मन्त्रीपरिषद्ले बल्ल बुधबार ऊर्जा मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ । ६ फागुनमा मन्त्रीपरिषद्ले पारित गरेको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दसकको अवधारणासहितको कार्ययोजनामा तीन महिनाभित्र संकटकाल विधेयक बनाइसक्नुपर्ने भएपनि बल्ल मन्त्रीपरिषद्ले स्वीकृति दिएको हो । संसद्मा जाने कुनै पनि विधेयक तयार गर्न मन्त्रीपरिषद्को स्वीकृति चाहिन्छ ।
एक वर्षभित्र आधारभूत र दुई वर्षभित्र पूर्णरूपमा लोडसेडिङ अन्त्य गर्ने उद्देश्यसहित १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको कार्ययोजना पारित गर्ने बेलामै ऊर्जा मन्त्रालयले स्वीकृतिका लागि अनुरोध गरेको थियो, तर मन्त्रीपरिषद्ले पछि भन्दै गरेको थियो । त्यसपछि १५ दिनअघि ऊर्जा मन्त्रालयले प्रस्ताव गरेकोमा ढिलो गरी बल्ल सैद्धान्तिक स्वीकृति गरेको हो । विधेयकको मस्यौदा तयार गरिसक्नुपर्ने बेलामा बल्ल स्वीकृति दिएपछि प्रधानमन्त्री एवं ऊर्जा मन्त्रीले संकटकालको कार्ययोजनामा दु्रतगतिमा हुने भनाइ र गराइमा फरक देखिएको छ ।
ऊर्जा मन्त्रालयका अधिकारी भने मन्त्रीपरिषद्ले विधेयक स्वीकृति नदिएपनि त्यसका लागि मन्त्रालयले आन्तरिक तयारी भने अघि बढाएको जनाएको छ । मन्त्रालयका अनुसार, विधेयक तयार गर्न ऊर्जा मन्त्रालयका सहसचिव कौशलचन्द्र सुवेदीको संयोजकत्वमा समिति गठन गरिसकिएको छ ।
http://rajdhani.com.np/article/0842994001461198262

Wednesday, April 20, 2016

लेखासमितिले ऊर्जा मन्त्रीलाई बोलायो

राजधानी समाचारदाता
काठमाडौं, ७ वैशाख
सार्वजनिक लेखा समितिले १ सय ३२ केभीको सोलु कोरिडोर प्रशारण लाइनबारे उपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीलाई बोलाएको छ । ठेक्कामा भएको ढिलाइको कारण नेपाल विद्युत् प्राधिकरणले कराडौं रुपैयाँ हर्जनास्वरूप तिर्नुपर्ने अवस्था आउन नदिन मंगलबार छलफल गरेको समितिले थप जानकारी लिन मन्त्री रायमाझीलाई बोलाउने निर्णय गरेको हो ।
मंगलबारको बैठकमा उर्जा सचिव सुमनप्रसाद शर्मालाई बोलाए पनि उपस्थित नभएपछि त्यसप्रति समितिले असन्तुष्टि प्रकटसमेत गरेको थियो । समयमै प्रशारण लाइन नबनाउँदा प्राधिकरण सोलु कोरिडोर क्षेत्रका जलविद्युत् आयोजनालाई ४५ प्रतिशतसम्म हर्जना तिर्नुपर्ने विद्युत् खरिद सम्झौता (पीपीए)मा उल्लेख छ । सोलु कोरिडोरको ठेक्का प्रकरणमा २७ करोड कम कबोलेको ठेकेदार कम्पनीलाई प्राधिकरण सञ्चालक समितिले दिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन उर्जामन्त्री राधा ज्ञवाली लगायतलाई कारबाही गर्न निर्देशन दिएको थियो । सोहीअनुसार तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उनलाई बर्खास्त गरेका थिए, तर यस प्रकरणमा हालै ज्ञवालीले सर्वोच्च अदालतबाट सफाई पाइसेकी छन् ।
लेखा समितिको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लले प्रसारण लाइन आयोजनाको निर्माण कार्य तोकिएको समयमा सम्पन्न नभएमा प्राधिकरणले विद्युत् उत्पादक कम्पनीलाई वार्षिक १ अर्ब ३८ करोड रुपैयाँ हर्जनास्वरूप तिर्नुपर्ने बताएका थिए । उनका अनुसार २०७५ सालको सुरुसम्ममा प्रसारण लाइन निर्माण पूरा गर्नुपर्नेछ ।
त्यसअघि, डडेल्धुराका दीपक बोहराले प्राधिकरणद्वारा कानुन उल्लंघन गरी सबैभन्दा न्यूनतम बोलपत्रदाताभन्दा २७ करोड बढी कबोल गर्ने कम्पनीलाई ठेक्का दिइएको भन्दै निवेदन दिएपछि त्यसैको आधारमा लेखा समितिले बैठक बोलाएको थियो । बैठकमा कार्यकारी निर्देशक काफ्लेले निर्माण प्रक्रिया कानुन अनुरूप भएको दाबी गरेका थिए ।
२ अर्ब २७ करोड कबोलेको मोहन इनर्जीलाई प्राधिकरण सञ्चालक समितिको बहुमत सदस्यको निर्णयको आधारमा ठेक्का दिने निर्णय गरेको थियो । यसप्रति तत्कालीन उर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीले असहमति प्रकट गरेका थिए । त्यसपछि अख्तियारसम्म पुगेको ठेक्का प्रकरणमा पछिल्लो समयमा प्राधिकरणले मोहन इनर्जीलाई ठेक्का दिइसकेको छ । यही विवादको कारण प्रशारण लाइन निर्माणमा ढिलाइ भएको थियो ।
प्राधिकरणका अनुसार, ९० किलोमिटर लामो सो प्रशारण सिरहा जिल्लाको मिर्चैयादेखि सुरु भएर सोलुखुम्बुको तंगालासम्म निर्माण गर्ने योजना छ । यस आयोजना निर्माणको लागि भारतीय निर्यातआयात बैंकले प्रदान गर्ने २९ मिलियन अमेरिकी डलर खर्च गर्ने योजना छ । सो आयोजना निर्माणका लागि प्राधिकरणले मोहन इनर्जी कर्पोरेसनसँग २३ चैतमा सम्झौता गरिसकेको छ । मोहन इनर्जीले २ करोड ३० लाख ७६ हजार ९ सय ५२ अमेरिकी डलरमा सो ठेक्का पाएको हो ।
http://rajdhani.com.np/article/0834523001461121294

विनातयारी भूकम्प दिवस मनाइँदै

एक\एक सामुदायिक भवन, विद्यालय, स्वास्थ्य चौकी र पा“च पुरातात्विक सम्पदा १२ वैशाखमै सुरुवात गर्ने निर्णय भूकम्पबाट निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलित गरिने

भीम गौतम / राजधानी
काठमाडौं, ७ वैशाख
भूकम्प गएको एक वर्ष पुगेको दिनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १२ र १३ वैशाखलाई भूकम्प स्मृति दिवस मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको प्राधिकरण निर्देशक समिति बैठकले स्मृति दिवस मनाउने निर्णय गरेको हो ।
व्यक्तिगत आवासका लागि अनुदान वितरणको सुरुवात गरे पनि अन्य पूर्वाधारमा खासै तयारी र प्रक्रिया अघि नबढाइएको बेला भूकम्प स्मृति दिवस मनाउन लागिएको छ । तर, मंगलबार बसेको प्राधिकरण निर्देशक समितिले भने केही पूर्वाधार निर्माणका कार्य सुरु गरेर दुईदिने स्मृति दिवस मनाउने निर्णय गरेको हो । व्यक्तिगत आवास निर्माणका लागि विशेष प्रभावित क्षेत्रमा भर्खर अनुदान वितरण सुरु गरेको र अन्य क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि खासै काम नगरेको भन्दै आलोचना खेपिरहेको प्राधिकरणले यस्ता कार्यक्रम ल्याएको हो ।
प्रत्येक जिल्लामा कम्तीमा एक÷एकवटा सामुदायिक आवास भवनहरूको निर्माण कार्य शुभारम्भ गर्ने निर्णय गरे पनि यसका लागि सम्भाव्यता अध्ययन, डिजाइनलगायतका अधिकांश पूर्वतयारीको काम गरिएको छैन । त्यसैगरी, प्रत्येक जिल्लामा कम्तीमा एक÷एकवटा विद्यालय भवनको पुनर्निर्माण कार्यको शुभारम्भ शिक्षा मन्त्रालयले गर्ने तथा प्रत्येक जिल्लामा कम्तीमा एक÷एकवटा स्वास्थ्य संस्था भवनको पुनर्निर्माणको शुभारम्भ स्वास्थ्य मन्त्रालयले गर्ने निर्णय निर्देशक समितिले गरेको छ । तर, आयोजना छनोटदेखि यसको पूर्वतयारी खासै नभएको मन्त्रालय स्रोतले जनाएको छ । सामुदायिक आवास सहरी, विद्यालय शिक्षा, स्वास्थ्य चौकी स्वास्थ्य, अनुदान स्थानीय विकास र पर्यटकीय सम्पदाको पुनर्निर्माण संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गर्नुपर्ने हुन्छ ।
काठमाडौं उपत्यकाभित्रका ऐतिहासिक एवं पुरातात्विक महŒवका सम्पदाको पुनर्निर्माण कार्यको पुरातŒव विभागको आयोजनामा शुभारम्भ गर्ने निर्णय पनि निर्देशक समितिले गरेको छ । खड्ग योगिनी मन्दिर साँखु, अनन्तपुर, स्वयंभूनाथ, वंश गोपाल मन्दिर, हनुमान ढोका, फसी देग, भक्तपुर र मणिमण्डप, ललितपुरबाट १३ वैशाखदेखि पुनर्निर्माण सुरुवात गर्ने निर्णय निर्देशक समितिले गरेको छ । यी अधिकांश पुराताŒिवक आयोजनाको विस्तृत अध्ययनलगायतका कार्य भएको छैन ।
बैठकले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि अन्य कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । विगत एक वर्षसम्म भूकम्प पीडितले खासै राहत पाउन नसकेको र प्राधिकरणले पनि बढी व्यक्तिगत आवासका लागि जोड दिएकाले अन्यमा खासै चासो दिएको थिएन । पुनर्निर्माणका लागि आवश्यक सामग्रीदेखि डिजाइन कस्तो हुने भन्ने स्पष्ट नभइरहेका बेला प्राधिकरणले भने भूकम्प स्मृति दिवसको अवसर पारेर भूकम्प प्रभावित क्षेत्रका क्षतिग्रस्त संरचनाको पुनर्निमाण गर्ने निर्णय गरेको हो ।
प्राधिकरणका प्रवक्ता राम थपलियाका अनुसार भूकम्प अतिप्रभावित ११ जिल्लामा सर्वेक्षण सम्पन्न भएका गाविसमा आवास अनुदान प्राप्त गर्न योग्य लाभग्राहीको सूची जिल्ला समन्वय समिति वा उपसमितिको संयोजन र व्यवस्थापनमा सम्बन्धित जिविस, गाविस तथा नगरपालिकामा प्रकाशन गर्ने निर्णय गरेको छ । प्राधिकरणका अनुसार उपत्यकाबाहेकका ११ जिल्लामा ९० प्रतिशत डिजिटल सर्भेको काम सकिएको छ । केन्द्रीय आयोजना कार्यान्वयन एकाइमार्फत जिविसमा पठाइएका गाविस तथा नगरपालिकाको लाभग्राहीको सूची यथाशक्य सार्वजनिक गरी १२ वैशाखबाटै अनुदान सम्झौता प्रक्रिया अघि बढाउने निर्णय पनि समितिले गरेको छ । हाल केन्द्रीय तथ्यांक विभागले गरेको डिजिटल सर्वेको क्रममा ३ सय ८६ गाविसमा ६ लाख ५० हजार घरधुरीको कार्य सम्पन्न भइसकेको छ । उनीहरूलाई अनुदान वितरण प्रक्रिया अघि बढाउने निर्णय पनि प्राधिकरणले गरेको छ ।
गृह मन्त्रालयको आयोजनामा १२ वैशाखमा भूकम्पमा परी दिवंगत भएकाप्रति धरहरा परिसरमा बिहान ८ बजे श्रद्धाञ्जलीसहित पुष्पगुच्छा अर्पण र भूकम्प प्रभावित जिल्लामा जिल्ला समन्वय सीमित वा उपसमितिको निर्णयअनुसार श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय गरेको छ । बेलुका माइतीघर मण्डलामा भूकम्पमा परी दिवंगत भएकाप्रति श्रद्धासुमन अर्पण गर्न मैनबत्ती बाल्ने तथा सम्बन्धित जिल्ला एवं स्थानीय स्तरमा पनि जिल्ला विकास समितिको व्यवस्थापनमा भूकम्पमा परी दिवंगत भएकाप्रति मैनबत्ती बाली श्रद्धासुमन अर्पण गर्ने निर्णय पनि प्राधिकरणले गरेको छ ।
http://rajdhani.com.np/article/0564967001461111259

Thursday, April 14, 2016

विद्युत् चुहावट नियन्त्रणमा विशेष अभियान

भीम गौतम / राजधानी
काठमाडौं, १ वैशाख
विद्युत् चुहावटले थलिएको नेपाल विद्युत् प्राधिकरणले नयाँ वर्षको अवसर पारेर चुहावट नियन्त्रण विशेष अभियान सुरु गरेको छ । प्राविधिक र अप्राविधिक चुहावट गरी वर्षको ८ अर्बभन्दा बढी रुपैयाँ घाटा बेहोर्दै आएको प्राधिकरणले मातहतका आठओटै क्षेत्रीय कार्यालय र त्यसमातहतका ९४ वितरण केन्द्रहरूमा एकसाथ विशेष अभियान सुरु गरेको हो ।
हिउँदमा १३ घन्टासम्म लोडसेडिङको चरम समस्या भोगिरहेको बेला एक मेगावाट समेतको भूमिका महŒवपूर्ण छ, तर विद्युत् प्राधिकरणका अनुसार कुल ७ सय ५० मेगावाटमध्ये १ सय ८० मेगावाटबराबरको विद्युत् चुहावट हुने गरेको छ । प्राविधिक रूपमा चुहावट पूर्ण रूपमा अन्त्य असम्भव भए पनि चोरी चुहावट घटाउन सके र प्राविधिक चुहावट १० प्रतिशतमा झार्न सके ३ देखि ४ घन्टा लोडसेडिङ घट्ने प्राधिकरणको अनुमान छ । २५ प्रतिशत चुहावट रहेको प्राधिकरणमा १५ प्रतिशत प्राविधिक र १० प्रतिशत चोरी चुहावट छ । सबै वितरण केन्द्रले जिल्लास्थित सुरक्षा निकायसँग समन्वय गरी चुहावट नियन्त्रण अभियान अघि बढाएको प्राधिकरणले जनाएको छ ।
‘विद्युत् प्राधिकरणले चुहावट नियन्त्रणका लागि नयाँ वर्षको अवसर पारेर विशेष अभियान सुरु गरेका छौं,’ विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले राजधानीसँग भने, ‘वैशाख महिनाभर विद्युत् चोरी गर्नेको लाइन काट्ने, नचोर्न जनचेतना जगाउनेलगायतका कार्यक्रम तय गरेका छांै ।’ विद्युत् प्राधिकरणले विद्युत् नियन्त्रण कार्ययोजना कार्यान्वयनका लागि भन्दै वितरण केन्द्रमा परिपत्र गर्दै प्रत्येक दिनको प्रगति कार्यकारी निर्देशकलाई, सम्बन्धित क्षेत्रीय कार्यालय र ग्राहक तथा वितरण निर्देशनालयलाई बुझाउन निर्देशन दिइसकेको छ ।

‘सबै वितरण केन्द्रका कर्मचारीहरूलाई बिदा बस्न कडाइ गर्दै कार्यकारी निर्देशकबाट स्वीकृति गरेपछि मात्र बस्न तथा प्रत्येक वितरण केन्द्रहरूलाई विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएका छौं,’ प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका कायममुकायम उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईले भने । प्राधिकरणले अभियानको प्रगति समीक्षा हेरी सम्बन्धित कार्यालय प्रमुख÷क्षेत्रीय प्रमुखको कार्य सम्पादन मूल्यांकन हुने व्यवस्थासमेत गरेको छ । चुहावट घटाउन २०६८ सालमा पञ्चवर्Èीय रणनीति बनाइएको थियो । जसमा त्यतिबेला रहेको २८ दशमलव ३५ प्रतिशतबाट २० प्रतिशतमा झार्ने लक्ष्य राखिएको थियो । तर, पाँच वर्ष पुग्न लाग्दासमेत अझै चुहावट २५ प्रतिशत छ । चुहावट नियन्त्रण अभियानमा असफल भएको प्राधिकरणले वर्षभरि नै विशेष अभियान सञ्चालन गर्नुपर्ने भए पनि वैशाख एक महिनाका लागि मात्र यस्तो अभियान अघि बढाउन लागेको छ ।
यो वर्ष १ प्रतिशत चुहावट घटाउने लक्ष्य प्राधिकरणको छ । १ प्रतिशत चुहावट घटाउनु ७ मेगावाट उत्पादन बढाउनु भए पनि सरकारले चुहावट नियन्त्रणलाई खासै प्राथमिकता दिएको छैन । वितरण निर्देशनालयले हालै विद्युत् चुहावट नियन्त्रणबारे नमुनाका रूपमा हेटौंडा क्षेत्रीय कार्यालय र यसअन्तर्गतको बारास्थित कलैया वितरण केन्द्र तथा भक्तपुर र काभ्रे वितरण केन्द्रहरूमा गरिएको अध्ययनले चुहावट न्यूनीकरण अभियान सफल बनाउन नागरिक समाज, राजनीतिक दल, सञ्चारमाध्यम र सञ्चारकर्मीहरूलाई सहभागी गराउनुपर्ने देखाएको छ । अहिले सञ्चालन गर्ने अभियानमा सुरक्षा निकायसँगै विद्युत् प्राधिकरणभित्रका ट्रेड युनियनहरूसँग समन्वय गर्ने उल्लेख भए पनि अन्य समुदायलाई परिचालन गर्ने खासै नीति प्राधिकरणको देखिँदैन ।
अध्ययनले चुहावट गर्नेलाई चोरीसरहको अपराध मानेर फौजदारी मुद्दा बनाउन सकेको खण्डमा नियन्त्रण हुन सक्ने र यसको अधिकार वितरण केन्द्रलाई दिनुपर्ने देखाएको छ । ती क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखहरूका अनुसार चुहावट नियन्त्रणका लागि कर्मचारी अभाव, भौतिक साधन सुविधा र बजेटको अभावसमेत देखिएको छ प्राविधिक चुहावट बढ्नुमा पुराना ट्रान्सफर्मर तथा वितरण लाइनलाई क्षमतायोग्य र व्यवस्थित बनाउन नसक्नु पनि कारण देखिएको छ । अध्ययनले अप्राविधिक चुहावट हुनुको प्रमुख कारण जनचेतनाकै कमी देखिएकाले यसका लागि विशेष अभियान तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने, प्राथमिक तहदेखि नै पाठयक्रममा चुहावट विषय समावेश गर्नुपर्ने सुझाव दिएको छ ।
यसैगरी चुहावट न्यूनीकरण अभियान सफल बनाउन नागरिक समाज, राजनीतिक दल, सञ्चारमाध्यम र सञ्चारकर्मीहरूलाई सहभागी गराएर विशेष फोकस गरी नियमित रूपमा अभिमुखीकरण, अन्तक्र्रियासहितका कार्यक्रम गर्नुपर्ने र राजनीतिक दलका भ्रातृ संगठनहरूलाई पनि यसमा परिचालन गर्नुपर्ने देखाएको छ । चोरी चुहावटमा कसैले साथ नदिने अवस्था सिर्जना गर्ने वातावरण निर्माण गर्नुपर्ने, हाल बिजुली चोरी गर्नेलाई ३ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था अपर्याप्त देखिएकाले चुहावट गर्नेलाई दण्ड र सजायको कडा कानुनी व्यवस्था गर्नुपर्ने, चुहावट गर्नेलाई चोरीसरहको अपराध मानेर फौजदारी मुद्दा लगाउन सक्नुपर्ने सुझाव छ ।
वन जोगाउन वन मन्त्रालयले वनरक्षकलाई दिएको जस्तो अधिकार वितरण केन्द्रका प्रमुख वा क्षेत्रीय प्रमुखहरूलाई दिन सक्नुपर्नेलगायतका सुझाव पनि अध्ययन कार्यदलको छ । विद्युत् उत्पादन बढाउन सरकारले दिएको महत्वजस्तै चुहावट नियन्त्रणलाई पनि दिनुपर्ने, चुहावट नियन्त्रणलाई विशेष प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम बनाउनुपर्ने र चुहावट नियन्त्रणका लागि कर्मचारी अभाव, भौतिक साधन सुविधा र बजेटको अभाव नहुने व्यवस्था नेपाल विद्युत् प्राधिकरणले गर्नुपर्ने सुझाव अध्ययनले दिए पनि विद्युत् प्राधिकरणले यसतर्फ ध्यान दिएको छैन ।
http://rajdhani.com.np/article/0453123001460604595

Wednesday, April 13, 2016

विद्युत् प्रणाली ध्वस्तदेखि ऊर्जामन्त्रीको बर्खास्तीसम्म

भीम गौतम/राजधानीकाठमाडौं, ३० चैत
ऊर्जा क्षेत्रको इतिहासमै २०७२ सबैभन्दा बढी चर्चित र विवादस्पद रह्यो । यही वर्ष भूकम्पको कारणले विद्युत् प्रणाली पूरै ध्वस्त भएको थियो भने जलविद्युत् ऊर्जामन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्ती गरेका थिए । यद्यपि, वर्षको अन्त्यतिर ऊर्जामन्त्री राधा ज्ञवालीले अनियमितताको आरोपबाट अदालतबाटै सफाइ पाइन् । जे भए पनि नेपालको जलविद्युत् इतिहासका लागि यी दुवै घटना महŒवपूर्ण छन् ।

उत्पादनको हिसाबले वर्षभरि एकदम कम भयो । जम्मा १६ मेगावाट मात्र उत्पादन भएको प्राधिकरणको तथ्यांकले देखाउँछ । विद्युत् प्राधिकरणका अनुसार ८ दशमलव ५ मेगावाटको नौगाढ खोला, ९ सय ९८ किलोवाटको सुष्मा बुखरी, ७ मेगावाटको माई क्यासकेट र २ मेगावाटको छ्यादी मात्र निर्माण सम्पन्न भए भने विद्युत् माग भने झन्डै १ सय मेगावाट बढ्यो । चालु आर्थिक वर्ष २०७२÷०७३ भित्र १ सय २० मेगावाट उत्पादन गर्ने लक्ष्य थियो तर हालसम्म २० मेगावाटको उत्पादनले मुस्किलले ५० मेगावाट पनि ननाघ्ने अवस्था छ । यदि कार्यान्वयन भए ऊर्जा मन्त्रालयले ल्याएको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्ययोजनासहितको अवधारणा २०७२ लाई एउटा महŒवपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने हुन्छ । ऊर्जा सचिव सुमनप्रसाद शर्मा अवधारणा र कार्ययोजना आउनु र यसमा प्रतिबद्धता जनाउनुलगायतका भारतबाट विद्युत् आयात हुनु, नेपाल र भारतबीच भएको ऊर्जा व्यापार सम्झौता (पीटीए) कार्यान्वयनका लागि दुई देशबीच बैठक बसेर अघि बढ्नु, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मस्यौदा तयार हुनु, बूढीगण्डकी जलाशययुक्त आयोजनाको डीपीआर तयार भएर जग्गा प्राप्तिलाई प्रक्रिया अघि बढ्नुलाई उपलब्धिका रूपमा लिन्छन् । बूढीगण्डकीको डीपीआर तयार भए पनि यसको वित्तिय व्यवस्थापनलगायतका कस्तो मोडालिटीमा अघि बढाउने भन्ने ऊर्जा मन्त्रालयले विगतको वर्ष २०७२ मा स्पष्ट निर्णय लिन सकेन । जुन धेरै ढिला भइसकेको छ ।
विगत लामो समयदेखि अघि बढ्न नसकेको २२० केभीको नेपालकै पहिलो खिम्ती–ढल्केबर प्रसारण लाइनको निर्माण कार्य सुरु भएको छ भने अन्य केही प्रसारण लाइन अघि बढ्न सकेनन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले भूकम्पको कारण बितेको वर्ष देशकै लागि नराम्रो भएको र नेपालको विद्युत् प्रणाली ध्वस्त भए पनि त्यसलाई ६ घन्टाभित्रै पुनःस्थापित गर्न सक्नु धेरै उपलब्धिपूर्ण रहेको बताउँछन् । ‘भूकम्पपछि ध्वस्त भएको विद्युत् प्रणाली ६ घन्टाभित्रै पुनःस्थापित गर्न सक्नु ठूलो उपलब्धि हो, भारतबाट थप ८० मेगावाट विद्युत् आयात गर्न सक्नुलाई पनि उपलब्धि मान्नुपर्छ,’ उनले भने, ‘नेपाल र भारतबीचको अन्तरदेशीय प्रसारण लाइन सम्पन्न हुनुका साथै हेटौंडा–ढल्केबर–दुहबी, काबेलीलगायतका आयोजना अघि बढ्नु पनि उपलब्धिपूर्ण नै मान्नुपर्छ ।’ परिणाम देख्ने गरी खासै उपलब्धि नभए पनि केही उपलब्धि भएका छन् तर जलविद्युत् क्षेत्रका लागि सबैभन्दा महŒवपूर्ण मानिएको चुहावट घटाउने र उत्पादन वृद्धि धेरै कमजोर रह्यो । ४४ मेगावाट विद्युत् उत्पादन विद्युत् प्राधिकरणमार्फत मात्र थप्ने लक्ष्य राखिएकोमा थपिएन । यीसहित समग्र ऊर्जा क्षेत्रमा चालू वर्षमा भएका प्रगति र आशाजनक कार्यहरू यसप्रकार छन् ।
ऊर्जामन्त्री बर्खास्ती र सफाइ
सोलु कोरिडोरको प्रसारण लाइन ठेक्का विवादमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीलाई असोजमा बर्खास्त गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोपको आधारमा बर्खास्तीमा परेकी मन्त्री ज्ञवालीले हालै सर्वोच्च अदालतबाट सफाइ भने पाएकी छिन् । ठेकेदार कम्पनीका एजेन्टहरूको बढ्दो सक्रियताले उनलाई बर्खास्तीसम्म पु¥याएको थियो । गत ४ भदौमा बसेको प्राधिकरण बोर्ड बैठकले भारतको मोहन इनर्जी नामक कम्पनीलाई २ अर्ब २६ करोड रुपैयाँमा ठेक्का दिने निर्णय गरेको थियो । विद्युत् प्राधिकरणले भारतको ज्वागुवार कम्पनीलाई अयोग्य ठह¥याएको थियो । तर, यो कम्पनीले मोहनभन्दा झन्डै २६ करोड कममा टेन्डर आह्वान हालेको थियो । ज्वागुवारका कागजपत्र मापदण्डअनुसार नभएको भन्दै प्राधिकरण सञ्चालक समितिले मोहन इनर्जीलाई दिएको थियो तर यसप्रति तत्कालीन ऊर्जासचिव राजेन्द्र किशोर क्षेत्रीले अहसहमति जनाएका थिए । यही कारण सुमधुर सम्बन्ध रहेका मन्त्री–सचिव विवाद चुलिएको थियो । हाल प्राधिकरणले मोहन इनर्जीलाई नै निर्माणको ठेक्का दिइसकेको छ ।
भूकम्पले विद्युत् प्रणाली ध्वस्त
१२ वैशाख २०७२ मा गएको भूकम्पका कारणले नेपालभरको विद्युत् प्रणाली पूर्ण रूपमा ध्वस्त भएको थियो । ध्वस्त भएलगत्तै विद्युत् प्राधिकरणको व्यवस्थापन र प्राविधिक कर्मचारीले ६ घन्टाभित्रै सिंहदरबार, अस्पताललगायतका महŒवपूर्ण ठाउँमा विद्युत् सेवा पुनःस्थापित गरिएको थियो । यसका लागि विद्युत् प्राधिकरणको देशभित्र र बाहिरबाट पनि राम्रो प्रशंसा भएको थियो । जसले भूकम्पमा परी घाइतेको उपचारका लागि सहयोग पुगेको थियो । पछि क्रमशः देशभर विद्युत् सेवा पुनःस्थापित गरिएको छ ।
प्राधिकरणको मुटु मानिने भार प्रेषण केन्द्र (एलडीसी) मा रहेको मुख्य नियन्त्रण गर्ने मोनिटर र मुख्य सर्भर ढलेर काम नलाग्ने भएपनि केन्द्रमा ‘ब्याक अप’ को रूपमा रहेको एउटा विकास सर्भर क्षति हुनबाट जोगिएपछि ६ घन्टामै पुनःस्थापित सम्भव भएको थियो । भूकम्पको कारणले १४ जलविद्युत् आयोजनाको विद्युत् विच्छेद भएकामा अझै ७० मेगावाट पुनःस्थापित हुन बाँकी छ ।
पञ्चेश्वरको डीपीआर र सीईओ नियुक्त
गत जेठमा बहुचर्चित पञ्चेश्वर विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नेपालका महेन्द्र गुरुङलाई नियुक्त भएका छन् । गुरुङ नेपाल इन्जिनियर्स एसोसियसनका पूर्वअध्यक्ष तथा सिँचाइ विभाग र विद्युत् विकास विभागका पूर्वमहानिर्देशक हुन् । ६ असोज २०७१ मा नेपाल र भारतबीच भएको प्राधिकण गभर्नेन्स काउन्सिलको पहिलो बैठकले नयाँ विद्यान पारित गर्दै कार्यकारिणी समितिमा नेपालको पहिलो प्रमुख कार्यकारी अधिकृत राख्ने व्यवस्था गरेको थियो । २०५२ साल माघमा नेपाल र भारतबीच महाकाली सन्धिको क्रममा ६ महिनाभित्रै डीपीआर टुंगो लगाउने उल्लेख भए पनि १९ वर्षपछि साउन २०७१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा कार्यादेश (टीओआर) पारित भएको थियो । ६४ सय ८० मेगावाट विद्युत् उत्पादन गरिने लक्ष्य राखिएकामा नेपालले आधा अर्थात् ३२ सय ४० मेगावाट विद्युत् पाउनेछ । यही वर्ष भारतीय परामर्शदाता वाकपोसले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) को प्रस्ताव तयार गरेको छ । यसलाई पनि महŒवपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
तनहुँ परामर्शदाताबीच सम्झौता
परामर्शदाता छनोटकै क्रममा ठूलो विवादमा परेको १ सय ४० मेगावाटको तनहुँ (माथिल्लो सेती) जलविद्युत् आयोजना र परामर्शदाताबीच गत साउनमा बल्ल सम्झौता भएको छ । परामर्शदाता छनोटको जिम्मा पाएको एसियाली विकास बैंक (एडीबी)ले छनोट गरेको परामर्शदातालाई ऊर्जा मन्त्रालयले अस्वीकार गरेपछि मन्त्री परिषद्बाटै ठूलो विवादबीच ल्याहमेर र मनितोबा क्यानडाको संयुक्त कम्पनीलाई छनोट गरिएको थियो । एडीबीले ल्याहमेरलाई छनोट गरेकामा त्यसप्रति असन्तुष्ट जनाउँदै ८ असोजमा ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले सो छनोटलाई रद्द गरेकी थिइन् । त्यसपछि एडीबीले आयोजनाबाट हातसमेत झिक्ने चेतावनी दिएपछि १७ पुस २०७१ मा मन्त्रिपरिषद्ले ऊर्जामन्त्रीको निर्णय उल्टाएर ल्याहमेरलाई दिने निर्णय गरेको थियो ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी
तत्कालीन प्रधानमन्त्री झलनाथ खनालका पाँच वर्षअघि निर्णय भएको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी बल्ल गत असारमा कम्पनी रजिस्टार कार्यालयमा दर्ता भएको छ । लामो प्रयास र विवादकाबिच नेपाल विद्युत् प्राधिकरणको संस्थागत उपस्थितिविना ग्रिड कम्पनी दर्ता भएको हो । सरकारले विद्युत् प्राधिकरणलाई पनि कम्पनी दर्ताको क्रममा सहभागी बनाए पनि पछि प्राधिकरणका युनियनहरूले विरोध गरेपछि सहभागी नगराई ऊर्जा मन्त्रालयले कम्पनी दर्ता गरेको छ तर अझै कम्पनी पूर्ण रूपमा सक्रिय भएको छैन ।
सोलार नै धितो राखेर ऋण
गत साउनमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सहरमा सोलार प्रणाली जडान गर्न अनुदानसहित सहुलियत ऋणको व्यवस्था गरेको छ । सहरमा घरायसी तथा व्यावसायिक रूपमा सोलार प्रणाली जडान गर्न चाहने उपभोक्ताका लागि सो सोलार प्रणालीलाई धितोको रूपमा राखी १५ हजार रुपैयाँ अनुदानसहितको सहुलियत ऋणको व्यवस्था गरिएको हो । सहरी सौर्य ऊर्जा प्रणाली अनुदान तथा कर्जा परिचालन निर्देशिका ०७२ अनुसार सहरी क्षेत्रमा सोलार प्रणाली राख्न चाहेमा अनुदानबाहेक घरायसी उपभोक्ताले ब्याजमा ७५ प्रतिशत र व्यावसायिक उपभोक्ताले ब्याजमा ५० प्रतिशत अनुदान पाउनेछन् ।
विद्युत् निर्यात गुरुयोजना
छिमेकी राष्ट्र भारतबाट वर्षको ३ सय मेगावाटभन्दा बढी विद्युत् आयात गरिरहेको नेपालले आगामी २० वर्षभित्र २६ हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी गुरुयोजनाको मस्यौदा तयार गरेको छ । आगामी २० वर्ष (सन् २०३५) भित्र नेपाल र भारतबिच ऊर्जा क्षेत्रको सहकार्यका लागि बनेको संयुक्त प्राविधिक समूहले सो गुरुयोजना तयार गरेको हो । गुरुयोजनामा विभिन्न ६ नाका हुँदै अन्तरदेशीय प्रसारण लाइन (क्रस बोर्डर ट्रान्समिसन लाइन) बनाएर समूहले तिन ठुला आयोजना पञ्चेश्वर, कर्णाली चिसापानी र सप्तकोसी बुहउद्देश्यीय आयोजनाबाहेक २ सय ८१ आयोजनाबाट विद्युत् निर्यात गर्न सकिने उल्लेख गरेको छ ।
प्रसारण लाइन गुरुयोजना
भविष्यलाई बेवास्ता गरी तत्कालीन आवश्यकताको आधारमा जथाभावी रूपमा प्रसारण लाइन बनाइरहेको नेपाल विद्युत् प्राधिकरणले देशभरलाई समेटेर गत साउनमा प्रसारण लाइन प्रणाली गुरुयोजना तयार गरेको छ । २० वर्षका लागि तयार गुरुयोजनामा बेसिनवाइज प्रसारण लाइन निर्माणलाई जोड दिइएको छ । २३ हजार मेगावाट बिजुली उत्पादनका लागि ८ हजार किलोमिटर प्रसारण लाइन बनाउने उल्लेख गुरुयोजनामा उल्लेख छ । सोका लागि करिब ५ अर्ब लगानी आवश्यक पर्ने अनुमान गरिएको छ ।
लाइसेन्स खारेज–ब्युँताउने
लामो विवादपछि मन्त्रिपरिषद्ले भौतिक प्रगति हेरेर जलविद्युत् आयोजनाको अनुमति पत्र (लाइसेन्स) नवीकरण गर्ने निर्णय गरेका पाँच जलविद्युत् आयोजनाको लाइसेन्स तत्कालीन ऊर्जासचिव राजेन्द्रकिशोर क्षेत्रीले खारेज गरेका छन् तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवाली पाँचओटै जलविद्युत् आयोजनाको लाइसेन्स ब्युँताउने पक्षमा भए पनि सचिव क्षत्रीले आफूले पाएको अधिकार प्रयोग गरी गत असोजमा सबै लाइसेन्स खारेज गरेका हुन् । तीमध्ये दुई जलविद्युत् आयोजना टोपबहादुर रायमाझी आएपछि ब्युँझाइएको छ । अख्तियारले दिएको निर्देशनअनुसार पहिला १४ आयोजनामा खारेज गरेकोमा मन्त्री ज्ञवालीले ब्युँताउन मन्त्रिपरिषद्मा लगेकी थिइन् ।
उच्च विद्युत् माग
२०७२ मा सबैभन्दा बढी विद्युत्को माग लक्ष्मी पूजाका दिन १३ सय ८२ मेगावाट पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणले १३ सय ९६ मेगावाट पुग्ने अनुमान गरेकामा १३ सय ८२ मेगावाट पुगेको हो ।
नाकाबन्दीले ट्रान्सफर्मर जले
गत असोजबाट भारतले अघोषित नाकाबन्दी गरेपछि विद्युत्को भार थेग्न नसकेर ५ सयभन्दा बढी ट्रान्सफर्मर जल्नुका साथै तार, कन्डक्टरलगायत जलेका थिए । क्षमताभन्दा बढी विद्युत्को चाप (ओभरलोड) को कारण यति धेरै ट्रान्सफर्मर जलेका हुन् ।
साढे दुई महिनापछि प्राधिकरणमा ऊर्जामन्त्री
१ कात्तिकमा ऊर्जामन्त्री नियुक्त भएका उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी साढे दुई महिनापछि बल्ल विद्युत् प्राधिकरण पुगे । प्राधिकरणको ब्रिफिङ सुन्नका लागि सामान्यतयाः ऊर्जामन्त्री एक साताभित्रै विद्युत् प्राधिकरण पुग्ने चलन छ । जलविद्युत् आयोजनाहरू बनाउनका लागि सहजीकरण गर्नुपर्ने र अभिभावकत्व ग्रहण गर्नुपर्ने ऊर्जा मन्त्रालय र कार्यान्वयन गर्नुपर्ने प्राधिकरणबिच देखिएको द्वन्द्वका कारण यस्तो अवस्था आएको हो । यही कारण साढे दुई महिनासम्म प्राधिकरण सञ्चालक समितिको बैठक समेत बसेन ।
तामाकोसी–३ बाट नर्बेली कम्पनीले हात झिक्यो
गत पुसमा बिजुली बजारको सुनिश्चित नभएपछि नर्बेली कम्पनी स्ट्याटक्राटले ६ सय ५० मेगावाटको तामाकोसी जलविद्युत् कम्पनीबाट हात झिकेको छ । भारतीय बजारमा विद्युत्मा आएको गिरावट तथा नेपालमा विद्युत् बिक्रीका लागि पर्याप्त पूर्वाधार नभएको भन्दै तामाकोसी तेस्रोबाट नर्वेली कम्पनीले हात झिकेको हो । वार्षिक रूपमा २ दशमलव ४३ टेराबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाको १ खर्ब ५० अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको थियो । आयोजना अघि बढाउन सो कम्पनीले १ अर्ब १० करोड रुपैयाँ खर्च गरिसकेको थियो ।
८० मेगावाट विद्युत् आयात
गत फागुनमा ढल्केबर–मुजफरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने बिजुलीको प्रधानमन्त्री केपी शर्मा ओेली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रिमोर्टमार्फत स्विच थिचेर शुभारम्भ गरेका थिए । दुवै प्रधानमन्त्रीले नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा एक समारोहमा बिजुलीको स्विच अन गरी शुभारम्भ गरेपछि नेपालमा भारतबाट आयात विद्युत् ३ सय मेगावाट नाघेको छ । सन् २०१६ को अक्टोबरसम्म २ सय मेगावाट र २०१७ को डिसेम्बरबाट ६ सय मेगावाट पु¥याइने सम्झौता पनि सो क्रममा भएको छ ।
ऊर्जा संकटकालको अवधारणा र कार्ययोजना
६ फागुनमा मन्त्रिपरिषद्ले १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने उद्देश्यसहित सरकारले राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणा ल्याएको छ । कार्ययोजना र कार्यतालिकासहित ल्याएको सो अवधारणालाई यो वर्षको महŒवपूर्ण उपलब्धिका रूपमा लिइएको छ । अवधारणामा जलविद्युत्मा देखिएका समस्या समाधान गरी अघि बढ्ने स्पष्ट समय तालिकासहित उल्लेख छ । कार्ययोजना सकारात्मक भए पनि यसको कार्यान्वयनबारे भने अझै यस क्षेत्रका विज्ञहरू विश्वस्थ हुन सकेका छैनन् ।
खिम्ती–ढल्केबर प्रसारण लाइन
पाँच वर्षदेखि निरन्तर अवरोध खेपिरहेको नेपालकै पहिलो २ सय २० केभीको खिम्ती–ढल्केबर प्रसारण लाइनको निर्माण कार्य चैतको अनितम सातादेखि सुरु भएको छ । ६० पटकभन्दा बढी स्थानीय अवरोध खेपेको ७५ किलोमिटर लामो खिम्ती–ढल्केबर प्रसारण लाइनको काम आइतबारदेखि सुरक्षाकर्मी परिचालन गरी सुरु भएको हो । विद्युत् आदानप्रदानका लागि महŒवपूर्ण मानिएको सो प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरणले सन् २००७ देखि सुरु गरेर दुई वर्षभित्र पूरा गर्ने लक्ष्य राखेको थियो । तर, सिन्धुलीको कमलामाई नगरपालिका क्षेत्रमा स्थानीयवासीले अवरोध गर्दै विभिन्न निकायमा उजुरी गरेका थिए । सन् २०११ देखि नै पटकपटक सुरक्षाकर्मीसमेत परिचालन गरेर सुरु गर्ने लक्ष्य राखे पनि प्राधिकरण असफल हुँदै आएको थियो ।
http://rajdhani.com.np/article/0032194001460518629

Monday, April 11, 2016

लालपुर्जा नहुनेलाई सर्जिमिनबाट अनुदान

  • सर्तसहित गैरसरकारी संस्थालाई निजी घर बनाउन खुला
  • सिन्धुपाल्चोकमा विशेष सम्पर्क कार्यालय
  • जानकारी दिन छुट्टै निःशुल्क टोल फ्री नम्बर
भीम गौतम/राजधानीकाठमाडौं, २८ चैत
लालपुर्जा नभएका भूकम्पपीडितले सर्जिमिनका आधारमा घर बनाउन सरकारले दिने अनुदान पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेकोराष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको तेस्रो बैठकले सर्जिमिनका आधारमा २ लाख अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले ग्रामीण आवास अनुदान मापदण्ड परिमार्जन गर्दै समितिले आफ्नो नाममा लालपुर्जा नभए पनि केन्द्रीय तथ्यांक विभागद्वारा संकलित तथ्यांकमा परेका, भिन्नै बसेका र नामसारी हुन बाँकी रहेका परिवारलाई सर्जिमिनका आधारमा अनुदान वितरण गर्ने निर्णय गरेको छ ।
गत १२ वैशाख अगावै सम्बन्धित मालपोत कार्यालयमा अंशबन्डा कागज पारित गरेका घर परिवारलाई छुट्टै घर परिवारमा गणना गरी अनुदान उपलब्ध गराइने निर्णय भएको प्राधिकरणका प्रवक्ता राम थपलियाले जानकारी दिए । उनका अनुसार अंशबन्डा कागज अड्डाबाट पारित नगरेको भए तापनि १२ वैशाखअगावै मानो छुट्टिई छुट्टै घर बनाइबसेको र तथ्यांक विभागद्वारा संकलित तथ्यांकमा परेका भूकम्पपीडितले पनि सरकारी अनुदान पाउनेछन् । छुटभिन्न भई अलगअलग घरमा बसोबास गरेको अवस्थामा स्थानीय गाविस र नगरपालिकाका प्रमुख वा निजले तोकेको कर्मचारीको रोहवरमा हुने सर्जिमिनका आधारमा सर्त तोकी पुष्टि भए त्यस्तो भूकम्प प्रभावित व्यक्तिलाई समेत छुट्टै घ™प™िवारमा गणना गरी अनुदान उपलब्ध गराउने निर्णय निर्देशक समितिले गरेको हो । त्यसैगरी, साबिक जग्गाधनीको मृत्यु भई हकवालामा नामसारी हुन बाँकी रहेको अवस्थामा मृतकको हकवालाहरूको संयुक्त वा निजहरूको मञ्जुरीमा हकवालामध्ये सम्बन्धित निकायमा मृत्यु दर्ताको प्रमाणपत्र पेस गरी सम्पर्क गर्न आए एकजनाको नाममा अनुदान दिन सक्ने निर्णय पनि समितिले गरेको छ ।
त्यस्तै, सम्झौताअगावै घर बनाइएका वा बनाउन सुरु गरेकाले पनि २ लाख रुपैयाँ अनुदान पाउने भएका छन् । तथ्यांक विभागद्वारा संकलित भूकम्प प्रभावित लगत कार्यक्रमअन्तर्गत संकलन गरिएको तथ्यांकमा नाम समावेश भएका तर अनुदान सम्झौता हुनुअगावै घरधनी स्वयंले घर निर्माण कार्य प्रराम्भ गरिसकेका घरधनी लाभग्राहीको हकमा निर्मित वा निर्माणाधीन उक्त घर तोकेका प्राविधिकहरूले चेकजाँच गर्दा भूकम्पप्रतिरोधी भए अनुदान उपलब्ध गराउन सकिने निर्णय पनि भएको प्रवक्ता थपलियाले बताए ।
साथै, बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ÷संस्था (एनजीओ÷आईएनजीओ)लाई सर्तसहित निजी घर बनाउन खुला गरेको छ । पुनर्निर्माण र पुनःस्थापनाका लागि गैरसरकारी संस्था परिचालनसम्बन्धी कार्यविधि २०७२ परिमार्जनसहित पारित गर्दै सर्तसहित घर बनाउन खुला गरेको हो । एनजीओलाई प्राधिकरणले उपलब्ध गराएको लाभग्राही रहेको क्षेत्रमा न्यूनतम ५० घर तथा आईएनजीओलाई न्यूनतम २ सय ५० घरधुरी बनाउनुपर्ने सर्तसहित निजी आवास बनाउन खुला ग™िएको प्राधिकरणका प्रवक्ता थपलियाले जानकारी दिए ।
‘अनुदान वितरण सम्बन्धी कार्यविधि २०७२ को आधारमा प्राधिकरणले उपलब्ध गराएको लाभग्राही सुचीको आधारमा एनजिओलाई न्यूनत्तम ५० घरधुरी र आईएनजिओलाई न्यूनत्तम २ सय ५० नीजि घरधुरी बनाउन नयाँ कार्यविधिले बाटो खुल्ला गरेको छ,’ उनले राजधानीसँग भने, ‘अब यो कार्यविधिसँगै अन्य कुनै सरकारी निकायले एनजिओ÷आइएनजिओसँग सम्झौता गर्न पाउनेछैनन्, प्राधिकरणको एकलद्धारमार्फत मात्र पुनर्निर्माण हुनेछ ।’ एनजिओ÷आइएनजिओले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा समेत प्राधिकरणसँग समन्वय गरेर सहयोग गर्न सक्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।
यसअघि गत फागुनमा प्राधिकरणले एनजिओ÷आइएनजिओलाई नीजि घर बनाउन रोक लगाएको थियो । कार्यविधि स्वीकृतिले क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण साथै विभिन्न कार्यक्रमहरु एकीकृत रुपमा सञ्चालन गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समन्वयलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा प्राधिकरणको छ । यस्तै यी संस्थाहरु मार्फत सञ्चालन हुने कृयाकलापहरुलाई सरल, सहज, पारदर्शी एवं प्रभावकारी ढंगले परिचालनको अवसर दिने पनि कार्यविधिमा उल्लेख छ ।
बैठकले सिन्धुपाल्चोक भूकम्पबाट अत्यधिक प्रभावित जिल्ला भएको हुँदा सो जिल्लामा पुनर्निर्माणको कामलाई समन्वय गर्न पुनर्निर्माण प्राधिकरणको मौजुदा दरबन्दीबाटै व्यवस्थापन गर्ने गरी छुट्टै विशेष सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । यसैगरी पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणबारे जानकारी दिन नोटिस बोर्ड सुरु गरेको छ । पैसा नलाग्ने टोल फ्रि १६१८०१४२११४६५ नम्बरमा डायल गरेपछि निजी आवास पुनर्निर्माण अनुदान सम्बन्धी जानकारी पाउन सकिने प्राधिकरणले जनाएको छ ।
http://rajdhani.com.np/article/0786724001460340869

पाँच वर्ष अवरोधपछि बल्ल निर्माण सुरु

खिम्ती–ढल्केबर प्रसारण लाइन

राजधानी समाचारदाताकाठमाडौं, २८ चैत
पाँच वर्षदेखी निरन्तर अवरोध खेपिरहेको नेपालकै पहिलो २ सय २० केभीको खिम्ती–ढल्केबर प्रसारण लाइनको निर्माण कार्य सुरु भएको छ । ६० पटकभन्दा बढी स्थानीय अवरोध खेपेको ७५ किलोमिटर लामो खिम्ती– ढल्केबर प्रसारण लाइनको काम आइतबारदेखि सुरक्षाकर्मी परिचालन गरी सुरु भएको हो ।


विद्युत् आदानप्रदानका लागि महŒवपूर्ण मानिएको सो प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरणले सन् २००७ देखि सुरु गरेर दुई वर्षभित्र पूरा गर्ने लक्ष्य राखेको थियो । तर, सिन्धुलीको कमलामाई नगरपालिका क्षेत्रमा स्थानीयवासीले अवरोध गर्दै विभिन्न निकायमा उजुरी गरेका थिए । सन् २०११ देखि नै पटकपटक सुरक्षाकर्मीसमेत परिचालन गरेर सुरु गर्ने लक्ष्य राखे पनि प्राधिकरण असफल हुँदै आएको थियो ।
‘नेपालकै लागि महŒवपूर्ण मानिएको नेपालकै पहिलो खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माण लामो अवरोधपछि सुरु भएको छ,’ विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले राजधानीसँग भने, ‘अबको पाँच महिनाभित्र प्रसारण लाइन निर्माणको कार्य सम्पन्न हुन्छ ।’
आयोजना अघि बढाउँदा स्थानीयवासीको अधिकार हनन हुनेलगायतका कारण जनाउँदै केही स्थानीयवासीले विश्व बैंकदेखि राष्ट्रिय मानव अधिकार आयोगसम्मलाई गुहारेका थिए । विश्व बैंकको केन्द्रीय कार्यालयमा उजुरी गरेपछि बैंकले उजुरी सम्बन्धमा छानबिन गर्न टोली नै खटाएको थियो । सो टोलीले प्रतिवेदन दिनै झन्डै साढे दुई वर्ष लगाएको थियो ।
गत भदौमा विश्व बैंक सञ्चालक समितिले स्थानीयलाई सूचना दिनुपर्नेलगायतका केही निर्देशनसहित उजुरीका आधारमा काम रोक्नुनपर्ने निर्णय गरेको थियो । त्यसपछि पनि अवरोध गरेपछि सरकारले सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेकोमा पुनः स्थानीयवासीले अवरोध गरेका थिए ।
सुरक्षाकर्मी परिचालन नगर्न माग गर्दै स्थानीयवासीले चार महिनाअघि मानवअधिकार आयोगमा उजुरी गरेका थिए । १० दिनअघि अर्थात १८ चैतमा आयोगले प्रसारण लाइन बनाउँदा
मानव अधिकारको हनन नहुने भन्दै काम अघि बढाउन बाटो खुला गरेको थियो । आयोगको यो निर्णयसँगै आइतबार ठेकेदारसहितको प्राधिकरण टोली सुरक्षाकर्मी लिएर कमलामाई नगरपालिका–७ ठूलीटार पुगेको थियो ।
केही स्थानीयवासी अवरोध गर्न आएपछि उनीहरूसँग छलफल गरेर काम अघि बढाइएको प्रसारण लाइन आयोजना प्रमुख श्यामकुमार यादवले जानकारी दिए । ‘आज प्रसारण लाइनको टावरहरूको बिन्दु पहिचान गरिएको छ, अब भोलि सोमबारदेखि खन्ने काम सुरु हुन्छ,’ यादवले भने ।
सन् २०११ मै ९५ प्रतिशत काम सम्पन्न भए पनि सिन्धुली र आसपासका क्षेत्रमा ६ टावर निर्माण र तीन टावर ठड्याउन बाँकी छ । यस्तै, १९ किलोमिटर तार तान्न बाँकी छ । खिम्ती–ढल्केबर प्रसारण लाइन नबनेका कारण अहिले यस Ôेत्रमा उत्पादित विद्युत् काठमाडांै, चितवन हु“दै करिब २ सय ५० किलोमिटर पार गरी लैजानुपर्ने अवस्था छ । तर, यो प्रसारण लाइन बनेपछि ७५ किलोमिटरमै ढल्केबर पु¥याउन सकिने प्राधिकरणले जनाएको छ । यही कारण अहिले दैनिक १० मेगावाट विद्युत् चुहावट भएको छ भने प्राधिकरणले वर्षको एक अर्बबराबर घाटा बेहोर्नुपरेको छ ।
प्रसारण लाइन नबन्दा बर्खामा सिप्रिङखोला जलविद्युत् आयोजनालगायतमार्फत उत्पादित विद्युत् खेर जाने गरेको प्राधिकरणले जनाएको छ । यही कारण बहुचर्चित ४ सय ५६ मेगावाटको दोलखाको निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् यो प्रसारण लाइनको अभावमा खेर जाने भन्दै चिन्ता प्रकट भइरहेको बेला निर्माण सुरु हुनुले सकारात्मक सन्देश दिएको छ ।
प्रसारण लाइन बनेमा सिन्धुपाल्चोक, दोलखा र रामेछापलगायतका  जलविद्युत् आयोजनामार्फत १ हजार मेगावाट विद्युत् सजिलै ओहोरदोहोर हुनेछ । नेपाल र भारतबीच हालै सम्झौता भएअनुसार ८० मेगावाट विद्युत् नेपाल आए पनि प्रसारण लाइनको अभावमा काठमाडौं आउन सकेको छैन । तर, प्रसारण लाइन बनेपछि यी प्रसारण लाइनको खिम्ती–लामोसाँघु हुँदै काठमाडांैमा विद्युत् ल्याउन सकिने प्राधिकरण प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक कन्हैया मानन्धरले जानकारी दिए ।
‘यो प्रसारण लाइन बनेपछि भारतबाट आयात गर्ने विद्युत् काठमाडांै ल्याउन बाटो खुल्नेछ,’ उनले भने, ‘विगतमा स्थानीय प्रशासनलगायतको सहयोगमा पटकपटक खुलाउने प्रयास भए पनि अहिले आएर सम्भव भएको छ, यो एकदम खुसीको कुरा हो, अब यस क्षेत्रमा उत्पादित विद्युत् ओहोरदोहोर गर्न धेरै सहज भएको छ,’ आयोजनाका अनुसार हालसम्म सन् २०११ पछि मात्र ६० पटकभन्दा बढी अवरोध भइसकेको छ ।
http://rajdhani.com.np/article/0749499001460342106

Sunday, April 10, 2016

बूढीगण्डकीमा विश्वकै तेस्रो उच्च बाँध

भीम गौतम / राजधानी
काठमाडौं, २७ चैत
बहुचर्चित १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनामा विश्वकै तेस्रो ठूलो उच्च बाँध ‘डब्बल कर्भेचर आर्च ड्याम’ बन्ने भएको छ । सरकारले उच्च प्राथमिकता दिएर आगामी वर्षदेखि निर्माण अघि बढाउन लागेको बूढीगण्डकी आयोजनामा विश्वकै तेस्रो र दक्षिण एसियाकै पहिलो डबल कर्भेचर आर्च ड्याम बन्न लागेको हो ।
परामर्शदाता कम्पनी ट्राकवेलाले तयार गरेको बूढीगण्डकीको अन्तिम विस्तृत डिजाइन प्रतिवेदन (डीडीआर) अनुसार, नेपालमा २ सय ६३ मिटर उचाइ भएको यस्तो ड्याम बन्न लागेको छ । विश्वमा चीनको थाङलोन नदीमा निर्माण भएको ३ सय ५ मिटर उचाइको जेङपिङ–१ जलविद्युत् हालसम्मकै सबैभन्दा अग्लो डबल कर्भेचर आर्च ड्याम हो । यस्तै, टर्कीको कोरु नदीमा २ सय ७० मिटर उचाइ रहेको युसुफेली बाँध निर्माणाधीन छ । ‘बूढीगण्डकीमा २ सय ६३ मिटरको डबल कर्भेचर आर्च ड्याम बन्दै छ, यो हालसम्मको चीनमा निर्माण सम्पन्न भइसकेको र टर्कीमा निर्माण भइरहेको भन्दा तेस्रो ठूलो बाँध हो,’ बूढीगण्डकी जलविद्युत ्विकास समितिका अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाले राजधानीसँग भने, ‘आगामी बर्षदेखि निर्माण सुरु गर्ने लक्ष्य राखिएको यो आयोजनाको ठूलो बाँध संसारकै लागि आकर्षण बन्न सक्छ ।’

सिंगलमा एकातिर मात्र भकुन्डोजस्तो आर्च रहनेमा डबल कर्भेचर आर्च ड्याममा भने दाँयाबायाँ, तलमाथि दुवैतिर आर्च रहन्छ । बूढीगण्डकीमा बनाइने ड्यामबाट स्पेल वे भएर बहने पानीबाट ६ झर्ना आउने गरी डिजाइन गरिएको छ । यी झर्नाले धेरै पर्यटकलाई आकर्षण गर्न सक्ने गरी डिजाइन गरिएको छ । ‘डबल कर्वेचर आर्क ड्याम भएको जलाशययुक्त आयोजना एसियामै छैन, यसले धेरै पर्यटकलाई आकर्षण गर्न सक्छ,’ इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका सहप्राध्यापक डा. भोला घिमिरेले भने, ‘यस्ता झर्ना भएको जलाशययुक्त आयोजना अमेरिकाको नियाग्राफलमा पनि छ, चीनमा पनि छ, यहाँ विश्वकै सबैभन्दा बढी पर्यटक जान्छन् ।’
सरकारले बूढीगण्डकी आयोजनालाई कुन मोडेलमा जाने र लगानी कसरी जुटाउने भन्नेबारे पनि हालसम्म निर्णय गरिसकेको छैन । हाल विकास समितिमार्फत अघि बढाउने गरी समितिले काम गरिरहेको भएपनि सरकारले हालै सार्वजनिक गरेको ऊर्जासंकट निवारण दशकको अवधारणा र कार्ययोजनामा यसलाई क्रमशः कम्पनीमार्फत अघि बढाउने उल्लेख छ ।
२ खर्ब ५९ अर्बबराबरको लागत अनुमान गरिएको आयोजनाको वित्तीय व्यवस्थापन गर्नेबारे समेत सरकारले निर्णय गरिसकेको छैन । तर, आयोजनाको डीडीआर र टेन्डर विवरण भने तयार भइसकेको छ । ‘तत्काल निर्णय भएमा आयोजना अघि बढाउन सक्ने अवस्था छ, विस्तृत डिजाइन र टेन्डर डकुमेन्ट पनि तयार छ,’ विकास समितिका अध्यक्ष डा. लक्ष्मी देवकोटाले भने, ‘हालसम्म कसरी अघि बढ्ने भन्ने सरकारले निर्णय गरिसकेको छैन ।’ समितिका अनुसार, निर्माण सुरु भएपछि आयोजना सम्पन्न गर्न कम्तीमा साढे ६ वर्ष लाग्छ ।

विद्युत् उत्पादन बढ्ने

१२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बढ्ने भएको छ । पहिला आरुघाटमा पानीको बहाव मापन गरेकामा पछिल्लो समयमा प्रस्तावित कल्लेरीको बाँधस्थित बहाव मापन केन्द्रमार्फत गरिएको अध्ययनले विद्युत् उत्पादन बढ्ने देखिएको हो ।
पहिले ३३ सय ८२ जिगावाट आवर (जीडब्लूएच) विद्युत् उत्पादन गर्ने प्रक्षेपण गरेकामा आयोजनाको पछिल्लो विस्तृत डिजाइन प्रतिवेदन (डीडीआर) ले ४२ सय ५० जीडब्लुएच विद्युत् उत्पादन पुग्ने देखिएको बूढीगण्डकी जलविद्युत् विकास समितिका अध्यक्ष डा. लक्ष्मी देवकोटाले जानकारी दिए । ‘पहिले ३ सय ४० करोड युनिट उत्पादन गर्ने लक्ष्य राखिएकामा बढेर ४ सय २५ करोड युनिट पुगेको छ, ८५ करोड युनिट थपिएको पहिला ३ सय ४० करोड युनिट उत्पादन गर्ने लक्ष्य राखिएकामा बढेर ४ सय २५ करोड युनिट पुगेको छ,’ उनले भने, ‘प्रतिसेकेन्ड पानीको बहाव पहिला २ सय २२ घनमिटर रहेकामा कल्लेरीमा गरेको अध्ययनले २६ प्रतिशत बढेको देखिएको छ ।’
http://rajdhani.com.np/article/0349580001460294243

Saturday, April 9, 2016

गाविस सचिवको असहयोगले पुनर्निर्माण अलपत्र

भीम गौतम / राजधानी
काठमाडौं, २५ चैत
गाउँ विकास समितिका सचिवको असहयोगले सरकारले ढिलो गरी सुरु गरेको व्यक्तिगत आवास अनुदान वितरण कार्यक्रम पनि अलपत्र पर्ने अवस्थामा पुगेको छ । भूकम्पछि पुनर्निर्माणको क्रममा दोलखाको सिंगटी क्षेत्रबाट व्यक्तिगत आवास निर्माणका लागि अनुदान वितरण सुरु गरिए पनि सरकारले प्रभावकारी रूपमा आफ्ना संयन्त्र परिचालन गर्न नसक्दा र गाविस सचिवले असहयोग गर्दा अलपत्र पर्ने अवस्थामा पुगेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्प गएको लामो समयपछि ३० फागुनदेखि दोलखाको सिंगटीबाट अनुदान वितरण सुरु गरेकामा १२ चैतदेखि गाविस सचिवकै असहयोगको कारण रोकिएको छ । भूकम्पबाट अति क्षतिग्रस्त सिंगटी क्षेत्रको पाँच गाविसलाई बाँड्ने लक्ष्यसहित सुरु गरेको अनुदान वितरण दोलखाको लामिडाँडा र लादुकका ६ सय ४१ जना भूकम्पपीडितलाई वितरण गरेपछि रोकिएको हो । तर, प्राधिकरणले आगामी २८ चैतदेखि आठ जिल्लाका आठ गाविसमा अनुदान वितरण गर्न लागेको छ । गाविस सचिवले अवरोध कायमै राखे थप जिल्लाको अनुदान वितरणसमेत अलपत्र पर्ने अवस्थामा पुगेको पुनर्निर्माण प्राधिकरणकै एक अधिकारी बताउँछन् ।
‘गाविस सचिवले काम नगर्ने हो भने कसरी अनुदान वितरण हुन्छ ? सरकारी निकायले असहयोग गर्ने हो भने पुनर्निर्माण अलपत्र पर्छ, प्रधानमन्त्री÷मन्त्रीले जति दु्रतगतिमा अनुदान वितरण भने पनि त्यो व्यवहारमा कार्यान्वयन हुन सक्दैन, गफमै सीमित हुन्छ,’ उनले राजधानीसँग भने । गाविस सचिवलाई कामको बोझ बढी भएकाले शतप्रतिशत भत्ता दिनुपर्ने मागसहित १२ चैतदेखि भूकम्पपीडितलाई वितरण गरिने राहतसमेत रोकेका छन् । गाविस सचिव हकहित केन्द्रका अध्यक्ष दामोदर रिजालले गत साउनदेखि गाविस सचिवको बोझ हेरेर शत प्रतिशतसम्म प्रोत्साहन रकम (भत्ता) प्रतिवेदन कार्यान्वयन नभएकाले पुनर्निर्माणमा सहभागी नभएको बताए ।
‘प्रोत्साहन रकम नपाएसम्मका लागि पुनर्निर्माणको काममा सहभागी हुँदैन,’ २८ गतेदेखि प्राधिरकरणले वितरण गर्न लागेको अनुदानमा पनि सहयोग गर्ने नगर्ने उल्लेख गर्दै उनले भने, ‘प्रोत्साहन रकम दिने निर्णय नभएसम्म पुनर्निर्माणमा सहभागी हुँदैनौं ।’ गाविस सचिवविना पुनर्निर्माणको अनुदान वितरण असम्भव छ । तर, प्राधिकरणका अधिकारी भने २८ चैत अघिसम्म समस्या समाधान भएर भूकम्पपीडितसँग अनुदान सम्झौताको काम अघि बढ्ने विश्वासमा छन् । ‘गाविस सचिवविना अनुदान वितरण असम्भव छ, पुनर्निर्माणको कार्यान्वयनका लागि सबैभन्दा अगाडि सचिव हुनै पर्छ,’ पुनर्निर्माण प्राधिकरणका प्रवक्ता राम थपलियाले भने, ‘संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग गाविस सचिवले आफ्ना मागबारे छलफल गरिरहेको हुनाले प्राधिकरणले अघि बढाउन लागेको अनुदान वितरणमा कुनै अवरोध नआउँला ।’
गाविस सचिवहरूलाई प्रोत्साहन दिनका लागि स्थानीय विकास मन्त्रालयले अर्थ मन्त्रालयमा प्रस्ताव गरिसकेको छ तर निर्णय भइसकेको छैन । ठूलो आर्थिक व्ययभार थपिने हुनाले अर्थले समेत यसबारे परामर्श गरिरहेको छ । आज (शुक्रबार) सम्म पनि निर्णय नभएमा आगामी आइतबार अर्थात् २८ चैतदेखिको अनुदान वितरण प्रभावित हुनसक्ने देखिएको छ । यद्यपि, स्थानीय विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता पूर्णचन्द्र भट्टराई सचिवको मर्कालाई सकारात्मक तरिकाले व्यवस्थापन गर्न लागेको बताउँछन् ।
‘सचिवहरूको मर्काप्रति सकारात्मक छौं, राज्यको कर्मचारीले सेवा गर्दिनँ नभन्लान्, भन्न मिल्ला र ?’ उनले प्रश्न गरे । आगामी २८ चैतदेखि सिन्धुलीको झागाझोलीका ११ सय ७८, काभ्रेको रविओपीका ९ सय ७०, नुवाकोटको खरानीटारका ४ सय ८, रामेछापको ओख्रेनीका ७ सय ५९, ओखलढुंगाको रुम्झाटारका ४७, रसुवाको ब्रिदिमका १ सय ९३, धादिङको मार्पाकका १ हजार ३ र गोर्खाको हंसपुर गाविसका ९ सय ४४ जना भूकम्पपीडितलाई अनुदान वितरण गर्ने योजना बनाएको छ । तर, वितरण हुने÷नहुने अन्योल कायमै छ ।
लालपुर्जा नहुनेलाई विशेष व्यवस्था
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण लालपुर्जा नभएर अनुदानबाट वञ्चित भएका भूकम्पपीडितलाई विशेष व्यवस्था गरेको छ । विगतमा रहेको अनुदान वितरणका लागि लालपुर्जा उपलब्ध गराउनुपर्ने व्यवस्थालाई कायमै राख्दै सम्बन्धित क्षेत्रमा तत्काल घरका लागि दु्रतगतिमा जग्गा पारित गरेर पीडितले लालपुर्जा पाउने व्यवस्था गरेको हो ।
‘मन्त्रिपरिषद्बाट पारित भएको जग्गा दर्तासम्बन्धी कार्यविधिमा पूरा कित्ताभन्दा पनि तत्काल भूकम्पपीडितले घर बनाउन सक्ने गरी सम्बन्धित जग्गाको कित्ता दर्ता गर्ने व्यवस्था गरिएको छ,’ प्राधिकरणका प्रवक्ता राम थपलियाले भने, ‘प्राधिकरणले लालपुर्जाविना पनि अनुदान दिने व्यवस्था गरेको छैन, खालि दु्रतगतिमा जग्गा दर्ताको व्यवस्था गरिएको हो ।’ उनका अनुसार दु्रतगतिमा लालपुर्जा पाएपछि सम्बन्धित पीडितलाई राहत वितरण गरिने र कार्यविधिमा रैकर, गाउँ प्लट, सहर प्लटलगायतका सबै क्षेत्रको जग्गा दर्तालाई सरलीकरण गरिएको छ ।
कार्यविधिमा जग्गा दर्तामा विवाद नआओस् भनेर विशेष संयन्त्रको व्यवस्थासमेत गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री र सचिवसहितको हालैको बैठकले आवास अनुदान सहयोग सम्बन्धमा लाभग्राहीको छनोट एवं अनुदान सम्झौता गर्दा घरधनीको नाममा जग्गा हुनुपर्ने र सोका लागि बन्डापत्र तथा जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) सम्बन्धी कागजातको अनिवार्य व्यवस्था गर्दा अधिकांश वास्तविक भूकम्पपीडित अनुदान सहयोग प्राप्त गर्नबाट वञ्चित हुन सक्ने देखिएकाले यससम्बन्धी वैकल्पिक व्यवस्था गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।
भत्ता नभएसम्म सहयोग हुँदैन ः सचिव
सचिवविना वितरण असम्भव ः प्राधिकरण
कर्मचारीले सेवा गर्दिन भन्न मिल्छ ? ः मन्त्रालय
http://rajdhani.com.np/article/0317053001460175264

Thursday, April 7, 2016

जलविद्युत् उत्पादनमा सरकारी निकायपिच्छेका लक्ष्य

भीम गौतम / राजधानी
काठमाडौं, २४ चैत
सबैभन्दा चर्को लोडसेडिङ भोगिरहेको नेपालमा सरकारी निकाय पिच्छेनै फरकफरक जलविद्युत्को उत्पादन लक्ष्य निर्धारण गरेको पाइएको छ । सबै सरकारी निकायबीचको आपसी समन्वय, सहकार्य र सहजीकरणबाट मात्र जलविद्युत् उत्पादन हुन सक्ने भन्दै सरकारी अधिकारीले बताइरहेका बेला राष्ट्रिय योजना आयोग र ऊर्जा मन्त्रालयले नै जलविद्युत् उत्पादनको लक्ष्य फरकफरक निर्धारण गरेको पाइएको हो ।
६ फागुनमा मन्त्रिपरिषद्ले पारित गरेको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक २०७२ मा १० वर्षभित्र अर्थात सन् २०२५ भित्र १० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ तर आयोगले सन् २०१६ देखि २०३० सम्मको दिगो विकास लक्ष्य (एसडीजी) मा सन् २०२५ भित्र ६ हजार मेगावाट मात्र विद्युत उत्पादन थप्न सक्ने लक्ष्य राखेको छ । यसैगरी नेपाल विद्युत् प्राधिकरणले भने सन् २०२५ मा झन्डै ३ हजार मेगावाट मात्र विद्युत्को पुग्ने प्रक्षेपण गरेको छ । यसप्रति असन्तुष्टि जनाएर योजना आयोगले नै जलविद्युत् मागबारे अध्ययन गरिरहेको छ ।
‘सरकारी निकायमा पनि लक्ष्य फरक फरक हुन सक्छन्,’ ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोर्णराज पन्थले भने, ‘यी सबै लक्ष्यहरू ससर्त हुन्, निसर्त होइनन् ।’
आयोगले हालै सार्वजनिक गरेको लक्ष्यमा हाल विद्युत् उत्पादन ८ सय १८ मेगावाट रहेकामा सन् २०१७ भित्र १ हजार मेगावाट, सन् २०२० भित्र ३४ सय र सन् २०२२ भित्र ५ हजार मेगावाट पु¥याउने लक्ष्य राखिएको छ । जबकि सन् २०१७ भित्र सरकारले जलविद्युत्मार्फत पूर्ण रूपमा लोडसेडिङ अन्त्य गर्ने लक्ष्य राखेको छ । यस अवधिमा १ हजार मेगावाट उत्पादन थपिने कार्ययोजनामा उल्लेख भए पनि आयोगको लक्ष्यमा भने २ सय मेगावाट थप हुने जनाएको छ ।
कार्ययोजनामा भने निर्माणाधीन अवस्थाका आयोजनाबाट २५ सय ८७ मेगावाट उत्पादन गरिसक्ने तथा प्रस्तावित ११ जलाशययुक्त आयोजनाबाट ५३ सय ७३ मेगावाट, प्रस्तावित पिकिङ रअ अफ दिन दिभर (आरओआर) आयोजनाबाट १९ सय ७५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । सरकारका दुई निकायबीचमै कति जलविद्युत् उत्पादन गर्ने भनेर एकिन नहुँदा र फरक फरक हुँदा यसले जलविद्युत् उत्पादनप्रति सरकारी निकायको समन्वय र सहजीकरणबारे भने प्रश्न उब्जाएको छ । ऊर्जा मन्त्रालय वा आयोगको फरकफरक लक्ष्य निर्धारण गरेपछि एक वर्षभित्र आधारभूत र दुई वर्षभित्र जलविद्युत्मार्फत लोडसेडिङ हुने हुने कुरामा विश्वस्थ रहेका धेरै उपभोक्ताहरू भने अन्योलमा
परेका छन् ।
योजना आयोगले हाल प्रतिव्यक्ति विद्युत् खपत ८० किलोवाट रहेकामा सन् २०३० भित्र ६ सय ३० किलोवाट पु¥याउने, विद्युत्को पहुँच भएका जनसंख्या ७४ प्रतिशतबाट ९९ प्रतिशत पु¥याउने, परम्परागत इन्धनको हिस्सा हाल ७४ दशमलव ७ प्रतिशत रहेकामा १० प्रतिशतमा झार्ने, हाल ११ दशमलव ९ प्रतिशत रहेको नवीकरणीय ऊर्जाको हिस्सालाई ५० प्रतिशत पु¥याउने, हाल सोलार ग्रिडमा शून्य दशमलव १ मेगावाट मात्र जडान भएकामा २ सय मेगावाट पु¥याउने लक्ष्य राखेको छ । 
http://rajdhani.com.np/article/0515547001460000058

Tuesday, April 5, 2016

भूकम्पपीडितलाई अनुदान दिन कार्यविधि नै बाधक

दोलखा सिंगटी क्षेत्रका ७२ प्रतिशतले पाएनन् राहत

भीम गौतम / राजधानी
काठमाडौं, २२ चैत
भूकम्पपीडितलाई राहत वितरण गर्न सरकारले बनाएको अनुदान वितरण कार्यविधि नै बाधक देखिएको छ । गत १२ वैशाखमा गएको भूकम्पबाट क्षतिग्रस्त भएका निजी आवास पुनर्निर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि २०७२ पीडितका लागि बाधक देखिएको हो ।
ढिलो गरी सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि भन्दै भूकम्पपीडितहरूलाई वितरण गर्न लागेको अनुदानका लागि नागरिकता, जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) र केन्द्रीय तथ्यांक विभागबाट भूकम्प प्रभावित आवास पुनर्निर्माण लगत संकलन कार्यक्रमअन्तर्गत संकलनकै क्रममा दिइएको निस्साका कागजपत्र संलग्न हुनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको थियो । तर, भूकम्पले घर क्षतिग्रस्त हुँदा लालपुर्जालगायतका कागजपत्र पुरिएका कारण भूकम्पपीडितहरू अनुदानबाटै वञ्चित भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दोलखाको सिंगटी क्षेत्रमा नमुनाका रूपमा सुरु गरेको अनुदान वितरणका क्रममा अनिवार्य लालपुर्जालगायतका कारणले झन्डै ७१ दशमलव ९८ प्रतिशत भूकम्पपीडितले राहत
नै पाएनन् ।
पाँच गाविसमा बा“ड्ने भने पनि गाविस सचिवको असहयोग तथा अनुदान वितरणका क्रममा आएको समस्याका कारण लादुक र लामीडाँडा गाविसमा मात्रै अनुदान वितरण गरिएको थियो । सर्वेक्षणअनुसार लामीडाँडाका १२ सय ६१ र लादुकका १ हजार २५ घरधुरीले अनुदान पाउनुपर्ने थियो । यस क्षेत्रमा ६ सय ४१ जना भूकम्पपीडितले मात्र अनुदान पाएको प्राधिकरणले जनाएको छ । फागुनको दोस्रो साता मात्र स्वीकृत भएको कार्यविधि नै बाधक देखिएपछि सरकारले भूकम्पपीडितहरूलाई दिइने भनिएको दुई लाखमध्ये पहिलो किस्ताका रूपमा दिइने ५० हजार अनुदान रकम वितरणमै समस्या परेको सहरी विकास मन्त्रालयका एक अधिकारीले बताए । ‘तथ्यांक विभागले घर नै क्षतिग्रस्त भएको भनेर प्रमाणको निस्सा दिए पनि लालपुर्जालगायत अन्य कागजात नहुँदा पीडितले अनुदान नै नपाउने अवस्था सिर्जना भएको छ,’ ती अधिकारीले राजधानीसँग भने, ‘कार्यविधि संशोधन नगर्ने हो भने अनुदान वितरण ठूलो झगडाको बीउ बन्ने अवस्था छ ।’
लालपुर्जासँगै अंशबन्डा, लालपुर्जाधनी विदेशमा हुनुलगायतका समस्या पनि सिंगटीमा लालपुर्जा वितरणका क्रममा देखिएको छ । अंशबन्डा नगरेरै छोराहरू भिन्न भएर बसेको अवस्थामा सम्बन्धित छुट्टाछुट्टै घरको लालपुर्जा नहुनु पनि अनुदान वितरणका लागि प्रमुख समस्या देखिएको छ । त्यसैगरी, रोजगारीको सिलसिलामा जग्गाधनीको पुर्जा रहेका श्रीमान् वा घरमुली विदेश रहेका भूकम्पपीडितहरूले समेत अनुदान पाउन सकेका छैनन् । सरकारले भूकम्पपीडितहरूको यस्तो वास्तविकतालाई नबुझेर कार्यविधि बनाउँदा अनुदान पाएर छिटो घर बनाउने तरखरमा रहेका भूकम्पपीडितहरू थप समस्यामा परेका छन् । उनीहरूको वर्षाअघि जसरी भए पनि घर बनाउने योजनामा समेत कार्यविधि तगारोका रूपमा देखिएको छ ।
भूकम्प गएको ११ महिनापछि बल्ल अनुदान वितरण सुरु गरिएकोमा त्यसमा पनि समस्या उत्पन्न भएपछि झन् पुनर्निर्माण ढिला हुने भएको छ । यही कारण जनाउँदै पुनर्निर्माण प्राधिकरणले कार्यविधि संशोधनका प्रक्रिया सुरु गरिसकेको जनाएको छ । ‘प्राधिकरणको निर्देशक समितिमा छलफल गरेर सिंगटीमा देखिएको पुनर्निर्माणको अनुदान वितरणमा आएको समस्यालाई दृष्टिगत गरी कार्यविधिमै संशोधन गर्ने प्रक्रिया अघि बढाएका छौं,’ पुनर्निर्माण प्राधिकरणका प्रवक्ता राम थपलियाले राजधानीसँग भने, ‘अनुदानमा
सहजता अपनाउन यसको आवश्यकता देखिएको छ ।’ भर्खर कार्यविधि संशोधन सुरु गरिएकाले कति समयसम्म भइसक्ने भन्ने टुंगो छैन । प्राधिकरणका अधिकारीहरू भने छिट्टै संशोधन गरिसक्ने बताउँछन् । भूकम्पपीडितहरूलाई अनुदान वितरणमा समस्या देखिएपछि पुनर्निर्माण प्राधिकरणले आइतबार प्रभावित १० जिल्लामा विज्ञ खटाएको छ ।
आगामी दिनमा निजी आवास पुनर्निर्माणको कामलाई थप प्रभावकारी बनाउन र जिल्लाका स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूसँग समन्वय र अन्तक्र्रियाका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ सदस्यहरूलाई खटाए पनि कार्यविधिमा भएको कानुनी व्यवस्थाले सहज बनाउन पनि कठिनाइ देखिएको छ । प्राधिकरणले भने कार्यविधि संशोधन प्रक्रिया पनि अघि बढाउने र यससँगै आगामी २८ चैतदेखि वितरण गर्ने भनिएको अनुदान वितरणमा थप सहज बनाउन विज्ञ खटाएको जनाएको छ ।
प्राधिकरणले विज्ञका रूपमा रसुवा, नुवाकोट र धादिङमा ध्रुव शर्मा, रामेछाप, ओखलढुंगा र सिन्धुलीमा डा. चन्द्रबहादुर श्रेष्ठ, गोर्खा र मकवानपुरमा डा. हरिराम पराजुली तथा काभ्रे र सिन्धुपाल्चोकमा डा. विष्णुबहादुर भण्डारीलाई खटाएको छ ।
http://rajdhani.com.np/article/0289201001459827168