Thursday, April 28, 2016

पुनर्निर्माणमा खटिए १३४६ इन्जिनियर

पीडितसमक्ष ‘देवदूत’ का रूपमा काम गर्न प्रधानमन्त्रीको आह्वान

भीम गौतम / राजधानी
काठमाडौं, १५ वैशाख
भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले भूकम्प प्रभावित सबै गाविस र नगरपालिकामा १३ सय ४६ इन्जिनियर खटाएको छ । भूकम्प विशेष प्रभावित जिल्लाका ५ सय ७५ गाविस र २० नगरपालिकामा भूकम्पपीडितको व्यक्तिगत घरसहित अन्य पूर्वाधार निर्माणका लागि प्राविधिक सहयोग गर्न एकैपटक यति धेरै इन्जिनियर खटाइएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिरण र सहरी विकास मन्त्रालयको आयोजना तथा भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) र यूएसआईडीको सहयोगमा दुई दिनसम्म पुनर्निर्माणबारे विस्तृत जानकारी दिएर बुधबारबाट उनीहरूलाई पुनर्निर्माणको कार्यक्षेत्रमा खटाइएको हो ।
‘भूकम्प प्रभावित सबै गाविस र नगरपालिकामा इन्जिनियरहरू पुनर्निर्माणका लागि खटाएका छौं,’ सहरी विकास मन्त्रालयका सहसचिव शिवहरि शर्माले भने, ‘इन्जिनियरहरूले भूकम्पपीडित गाउँगाउँ पुगेर व्यक्तिगत आवासलगायतको निर्माणका लागि प्राविधिक सहयोग गर्नेछन् ।’ उनका अनुसार एक साताभित्र इन्जिनियरहरू भूकम्प प्रभावित गाउँ–गाउँमा पुग्नेछन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा दुईदिने तालिम समापन गरी भूकम्पपीडितको घर पुनर्निर्माणका लागि खटिएका इन्जिनियरहरू । तस्बिर : रासस
मन्त्रालयका अनुसार प्रत्येक गाविसमा एक÷एकजना इन्जिनियर र नगरपालिकामा तीन÷तीनजना इन्जिनियर पुनर्निर्माणका लागि खटाइएको छ भने सबइन्जिनियर, सामाजिक परिचालकलगायत गरी थप १३ सय परिचालन गर्ने मन्त्रालयको लक्ष्य छ । व्यक्तिगत घर निर्माणका लागि मन्त्रालयले भूकम्प प्रतिरोधी १७ नमुना घरको नक्सा तयार गरिसकेको छ । प्राविधिकहरूले ती नमुना नक्साहरू गाउँ–गाउँ पु¥याएर पुनर्निर्माणका लागि सहयोग गर्नेछन् । गत १२ वैशाखमा सरकारले ३ सय ८३ गाविसका ३ लाखभन्दा बढी भूकम्पपीडितको नाम सार्वजनिक गरी व्यक्तिगत आवास निर्माणका लागि अनुदान दिने प्रक्रिया अघि बढाइ सकिएको छ । पहिलो किस्ताका रूपमा ५० हजार रुपैयाँ दिएपछि यसको आधारमा सम्बन्धित पीडितले नक्सा पासलगायतका प्रारम्भिक प्रक्रिया अघि बढाएपछि दोस्रो र तेस्रो किस्तामा ७० र ८० हजार क्रमशः दिने नीति प्राधिकरणले लिएको छ ।
प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले पुनर्निर्माणका लागि खटिएका इन्जिनियरहरूले गाउँ–गाउँ पुगेर पुनर्निर्माणको नीतिअनुसार अभियान केही बढाउने बताए । ‘इन्जिनियरहरू गाउँ–गाउँ खटिएपछि यसले भूकम्पपीडित गाउँमा नयाँ माहोल सिर्जना गर्नेछ,’ उनले भने, ‘अनुदान वितरण कार्य पनि अघि बढेकोले अनुदान पाउने वित्तिक्कै पीडितहरू आफ्नो बनाउनका लागि सक्रिय हुनेछन्, प्राधिकरणले समन्वय र सहजीकरणको भूमिका खेल्नेछ ।’ प्राधिकरणले भूकम्प पीडितहरूलाई सहज बनाउनका लागि स्थानीय क्षेत्रमा स्रोत केन्द्रको स्थापना गरेको छ भने विभिन्न उपक्षेत्रीय कार्यालयहरू पनि स्थापना गरेको छ । १ सय ५९ स्रोत केन्द्र स्थापना गर्ने निर्णय भए पनि हालसम्म दोलखाको सिंगटीबाहेक अन्य क्षेत्रमा स्रोत केन्द्र स्थापना भइसकेको छैन ।
पुनर्निर्माणमा जान लागेका इन्जिनियरहरूलाई बिदाइ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणलाई दु्रतगतिमा अघि बढाउन सक्रियतासाथ लाग्न आह्वान गरे । उनले इन्जिनियरहरूसँगै राजनीतिक दलका कार्यकर्ताहरूलाई समेत प्रतिस्पर्धा गरी गाउँगाउँ पु¥याउन सके यसले पुनर्निर्माणमा ठूलो माहोल सिर्जना गर्ने बताए । ‘सबै दलले कहिलेदेखि कति कार्यकर्ता खटाउने त्यसमा हामी प्रतिस्पर्धा गरौं, नेपाल जुरुक्कै उठ्न सक्छ,’ प्रधानमन्त्रीले भने, ‘नयाँ जिम्मेवारीसहित खटिने इन्जिनियरलाई पीडितसमक्ष गएर ‘देवदूत’ का रूपमा काम गर्नुपर्छ ।’
नवनिर्माणको यस अभियानले मुलुकबाहिर रहेका युवालाई पनि स्वदेशमा फर्काएर काम दिन सरकारले पहल गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले पुनर्निर्माणले गाउँको मुहार फेर्ने भएकाले जनतालाई सहज हुने गरी अघि बढ्न आग्रह गरे । प्रधानमन्त्री ओलीले शहरमा बसेर कुरा काट्ने काम छाडेर अब जनताको काम गर्नका लागि तयार हुन पनि सबैलाई आह्वान गरेका छन् ।
http://rajdhani.com.np/article/0783728001461805247

No comments: