भीम गौतम / राजधानी
काठमाडौं, ११ वैशाख
काठमाडौं, ११ वैशाख
भूकम्पपछिको
पुनर्निर्माणका लागि सिंहदरबारभरि योजनै योजना छन् तर भूकम्प गएको एक वर्ष
बितिसक्दा पनि गाउँका पीडा भने उस्तै छ ।भूकम्पपछि बिचल्लीमा परेका
पीडितहरूका लागि सरकार संवेदनशील नहुँदा र राजनीतिक दलहरूले अनावश्यक
राजनीति गर्नाले भूकम्प गएको एक वर्षमा पनि गाउँबस्तीको पीडा ज्यूँका त्यूँ
छन् ।
गत १२ वैशाखमा भूकम्प गएपछि ६
असारमा ल्याएको पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी अध्यादेश समयमै पारित
नभएर निष्क्रिय हुनु तथा नयाँ ऐन ल्याउनमा पनि राजनीतिका स्वार्थले ढिलाइ
हुनुले पुनर्निर्माणमा ढिलाइ हुँदा हालसम्म भूकम्पपीडितले व्यक्तिगत आवास
बनाउन सकेका छैनन् । त्रास र आसमै बित्योे पीडितको एक वर्ष । राज्यको
उपस्थिति पनि कागजमै सीमित बनेभन्दा अन्यथा हुँदैन । जसलाई जनताले भोगेका
पीडा र बिजोगले नै पुष्टि गर्छ । पुनर्निर्माणमा राज्य यति सुस्त र
प्रक्रियामुखी भइदियो कि सरकारले अहिलेसम्म पीडितको पहिचानसम्म पनि गर्न
सकेन । लाजमर्दो कुरा त आÏनै कर्मचारीलाई आफूले तोकेको स्थान र काममा
लगाउन सकेन, सरकारले । प्राधिकरणमा कर्मचारी जान मानेनन् भनेर सिंहदरबारको
बागडोर सम्हालेका उच्च अधिकारीहरूकै रोइलो छ ।
पुनर्निर्माण खै ? गत १२ वैशाखको विनाशकारी भूकम्पपछि पुनर्निर्माणको बिम्ब बनाइएको धरहरा एक वर्षभरिमा भग्नावशेष हटाई जस्तापाताको बेरा लगाउनेबाहेक कुनै काम हुन सकेको छैन । तस्बिर ः सत्यन श्रेष्ठ÷राजधानी
एक
वर्षा र हिउँद अत्यन्त कष्टका साथ बिताएका भूकम्पपीडितको घर मुखैमा
आइसकेको वर्षायाममा पनि नबन्ने पक्का छ । भूकम्पपीडितले यस्तो बिजोग
सहनुपरेको एक वर्ष पुग्यो तर हालसम्म सरकारको अनुदानमा पीडितको एउटा घर पनि
बनेको छैन । पुनर्निर्माण अभियान (३० फागुन) सुरु भएको दोलखाको सिंगटी
बजार र त्यस आसपासमा सरकारले दिएको अनुदानबाट केही घर निर्माण कार्य सुरु
भए पनि कुनै पनि घर बनिसकेका छैनन् ।
अहिले
सिंहदरबारभित्रका अधिकांश सरकारी मन्त्रालय पुग्ने हो भने पुनर्निर्माणका
योजना देख्न पाइन्छ । तर, पुनर्निर्माणपछिको कार्यान्वयनको अवस्था भने
शून्य जस्तै छ । घर निर्माणका लागि अनुदान पाएका समेत भूकम्प प्रतिरोधी
डिजाइनका घरहरूको नक्सा अभाव सरकारले डकर्मी, सिकर्मी तालिम दिएर गाउँगाउँ
नखटाउँदा र २ लाख अनुदानबाहेक घर बनाउन लाग्ने अन्य रकमको हकमा समेत स्पष्ट
निर्णय नगर्दा अन्योलमा छन् । सामूहिक जमानीमा ३ लाख तथा काठमाडौंमा २५
लाख र जिल्ला सदरमुकाममा १५ लाख ऋण दिने कार्यविधि नबन्दा यस्तो अन्योलमा
परेका हुन् ।
राष्ट्रिय पुनर्निर्माण
प्राधिकरणले पूर्णता पाएको पनि साढे तीन महिना पुगिसकेको छ । यस अवधिमा
प्राधिकरण आफंैले र सहजीकरणमा भने दर्जनांै कानुन, नीति, कार्यविधि र
नियमावली बनेका छन् ।
प्राधिकरणको
समन्वय र सहजीकरणमा भएको यी कानुन, नीति, नियम, नियमावली र कार्यविधि
निर्माणलाई पुनर्निर्माणका लागि उपलब्धिका रूपमा मान्नुपर्ने तर्क
प्राधिकरणका अधिकारी बताउँछन् । गत फागुनमा पुनर्निर्माण तथा पुनःस्थापना
नीतिसमेत पारित भएको छ । पुनर्निर्माण अघि बढाउनका लागि राष्ट्रिय
पुनर्निर्माण परामर्श परिषद्, निर्देशक समिति र कार्यकारी समितिसमेत गठन
गरिएको छ । ‘भूकम्पपीडितलाई अनुदान वितरणका लागि सबै संरचना, नियम र
कार्यविधि तयार भइसकेका छन्,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील
ज्ञवालीले भने, ‘अब दु्रतगतिमा पुनर्निर्माणको काम अघि बढ्छ ।’
पुनर्निर्माणका
लागि एकीकृत बस्ती विकास नीति र ऋण प्राप्ति कार्यविधि तयार हुने क्रममा छ
। पुनर्निर्माण प्राधिकरणले पाँच वर्षीय कार्ययोजना तयारी पनि गरिरहेको छ ।
प्राधिकरणका अनुसार सरकारले घर
निर्माणका लागि घोषणा गरेको २ लाख अनुदानमध्ये पहिलो किस्तामा दिने ५० हजार
पाउने ७ सयजनाको हाराहारीमा छ । ‘करिब ७ सयजनाले अनुदानको पहिलो किस्ताको
रकम पाएका छन्, अहिले आठ जिल्लाका आठ गाविसमा पनि अघि बढेको छ,’ प्राधिकरण
प्रवक्ता राम थपलियाले भने । झन्डै ८ लाखमध्ये भूकम्प गएको एक वर्षमा जम्मा
७ सयले मात्र अनुदान पाउनुलाई एउटा लज्जाजनक अवस्थाका रूपमा लिनुपर्छ । अझ
विडम्बनाको कुरा त सरकारले चालू वर्षमा ९१ अर्ब रुपैयाँ बजेट छुट्याए पनि
हालसम्म १ अर्ब पनि खर्च भएको छैन । व्यक्तिगत आवासबाहेकका अन्य क्षेत्रमा
खासै खर्चसमेत हुन सकेको छैन ।
भूकम्प
गएको झन्डै साढे १० महिनापछि दोलखा जिल्लाको सिंगटी क्षेत्रबाट सुरु भएको
अनुदान वितरण सुरु भएको थियो तर अझै यसले गति लिन सकेको छैन । सिंगटी
क्षेत्रका २२ सय ९६ लाई वितरण गर्नुपर्नेमा ८ सय ४१ जनाले मात्र अनुदानका
लागि सम्झौता गरेका छन् । पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवाली अब
दु्रतगतिमा अघि बढ्ने र वैशाखभरिमा ८० प्रतिशत भूकम्प पीडितलाई राहत वितरण
भइसक्ने बताउँछन् । ‘भूकम्प गएको एक वर्षको अवधिभित्रै हामी अधिकांश
भूकम्पपीडितको नाम सार्वजनिक गरेर अनुदान वितरण अघि बढाउँछांै ।’
भूकम्पबाट
पाएको पीडामा तत्काल राहत तथा उद्धारका लागि जुन किसिमको उत्साह थियो ।
त्यो निरन्तरता भएको भए आजसम्म पुनर्निर्माण यति कमजोर र सुस्त हुने थिएन ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. स्वर्णिम वाग्लेको भनाइमा राहत र
उद्धारमा बढेको गतिलाई राजनीतिक उत्तर चढावले रोकिदियो र अहिले यो गतिले अझ
तीव्रता ल्याउन सकेको छैन । ‘पुनर्निर्माणमा धेरै पैसा परिचालन हुने
देखिएपछि राजनीति घुस्यो, बखेडा भयो, यसले पुनर्निर्माण सुस्ताउँदै गयो,
सीईओ नियुक्ति ढिलाइ भएपछि सेलाउँदै गयो र अहिले पहिलाको गतिमा ल्याउन
गाह्रो भइरहेको छ,’ उनले भने ।
कर्मचारीतन्त्र
वा अन्य कतैबाट ढिलाइ भएमा त्यसलाई दबाब दिएर छिटो, छरितो भूकम्प पीडितलाई
राहत तथा घर दिनका लागि सबैभन्दा दबाब दिनुपर्ने हाम्रो राजनीतिले किन
भूकम्पपछिको गाम्भीयर्तालाई बुझेन ? यसको उत्तर अहिलेसम्म धेरै
भूकम्पपीडितले पाएका छैनन् । पुनर्निर्माण कानुनलाई आफ्नो राजनीतिक
स्वार्थमा झगडामा झन्डै सात महिना बिताएका राजनीतिक नेतृत्वले लाजै नमानी
सस्तो लोकप्रियताका लागि पीडितको पक्षमा भाषण गरिरहेका छन् तर त्यसले
पुनर्निर्माणमा अझै ढिलाइ हुने आशंका बढाइरहेको छ ।
यसरी फस्यो राजनीतिक दलदलमा
भूकम्प
गएको डेढ महिनापछि नै तत्कालीन राष्ट्रिय योजना आयोगको नेतृत्वमा सरकारले
दातृ निकायलाई समेत संलग्न गराएर जेठको अन्तिम साता ‘विपद्पश्चात्को
आवश्यकता आँकलन’ पीडीएनए प्रतिवेदन तयार गरियो । भूकम्पका कारण ७ खर्ब ४
करोड असर परेको र त्यसका लागि पुनर्निर्माणका लागि ६ खर्ब ७० अर्बबराबर
आवश्यक रहेको प्रतिवेदनमा उल्लेख थियो । यो तयार गरेलगत्तै १० असारमा
पुनर्निर्माणका लागि सहयोग जुटाउन दाता सम्मेलनमा आयोजना गरियो । दाता
सम्मेलनमा ४ सय ४० अर्ब रुपैयाँको प्रतिबद्धता आएको तत्कालीन अवस्थामा
जानकारी दिइएको थियो तर अहिले त्यसलाई ४ सय १२ अर्ब मात्र भनिएको छ ।
६
असारमै सरकारले भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनाको अध्यादेश पनि
ल्यायो । साउनमा तत्कालीन सरकारले प्राधिकरणको सीईओमा तत्कालीन योजना
आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेललाई नियुक्त पनि ग¥यो । धेरैको
भनाइमा पुनर्निर्माणका लागि परिचालन गर्ने ६ सय ७० अर्ब रुपैयाँमा तत्कालीन
सत्ता साझेदार दलका नेताहरूको आँखा लाग्यो, यसले तत्कालीन अध्यादेश
निष्क्रिय पार्न मात्र काम गरेन, अर्को नयाँ ऐन ल्याउनका लागि पुससम्म समय
तन्कायो पनि । पुनर्निर्माणमा खर्च हुने रकम देखेपछि पीडितको पीडालाई
विर्सेर राजनीतिक दलहरूको आँखा पैसातिर सरेको विश्लेषण छ आयोगका
पूर्वसदस्य डा. वाग्लेको ।
तत्कालीन
सत्ता साझेदारको नेतृत्व गर्ने कांग्रेसको भाषामा तत्कालीन अर्को सत्ता
साझेदार एमालेले अध्यादेश पास गर्न नदिएर झेल ग¥यो । अहिलेको सत्ताको
नेतृत्व गर्ने एमालेको भाषामा अध्यादेश फेल भएपछि नयाँ ल्याइएको ऐनलाई
पारित गर्नका लागि कांग्रेस सीईओको लोभमा लामो समयसम्म अल्झाइरह्यो र ऐन
बनाउनमै समय लाग्यो । उनीहरूको दाउपेच र दाबी आ–आफ्नै रहे पनि चरम पीडामा
रहेका भूकम्पपीडितको भाषामा भने राजनीतिले आफ्नो पीडा चिनेन र
पुनर्निर्माणमा निरन्तर राजनीति गरिरह्यो, जो आजसम्म कायमै छ । १३ भदौदेखि
निष्क्रिय रहेको प्राधिकरण ५ पुसदेखि मात्र सक्रिय भयो । यस अवधिमा
पुनर्निर्माण अघि बढ्न सकेन ।
विवाद
यतिसम्म चुलियो कि कांग्रेसभित्र सत्तापक्षले ल्याएको अध्यादेश नै असफल
बनाउन एमाले लाग्यो भन्दै कांग्रेस आक्रोशित बन्यो र धेरैले सँगै संविधान
जारी गरेका कांग्रेस–एमाले गठबन्धन टुट्नुमा यसलाई कारण मान्छन् । यो
द्वन्द्वले कांग्रेस निकट मानिने पोखरेलको नियुक्तिलाई मात्र बदर गराएन,
त्यसपछि ल्याइएको पुनर्निर्माण प्राधिकरणको ऐन संसद्बाट पारित गराउनका लागि
पाँच महिना लाग्यो ।
पुनर्निर्माण
जस्तो विषयमा प्रमुख प्रतिपक्षी कांग्रेसले राजनीति नगर्नुपर्ने हो तर
अध्यादेश विफलताको प्रतिशोध कांग्रेसले साँच्न खोज्यो । कांग्रेसको कारण
विद्यायन समितिमै ऐन अड्कियो । बल्लबल्ल संसद्मा पुगेर ५ पुसमा मात्र ऐन
पारित भयो । १० पुसमा सरकारले एमाले निकट सुशील ज्ञवालीलाई प्राधिकरणको
सीईओ बनाइयो ।
पुनर्निर्माण
प्राधिकरणलाई पार्टीकरण गर्नका लागि प्रमुख राजनीतिक दलहरू यति धेरै सक्रिय
भए कि उनीहरूले भूकम्पको महापीडालाई बिर्सिदिए, पीडितका आँशु बिर्सिए र
भूकम्पपछिको पुनर्निर्माणमा बखेडा गरिरहे ।
चुनौतीका पहाड
पुनर्निर्माण
आफंैमा चुनौतीपूर्ण भए पनि असम्भव छैन । पुनर्निर्माणका लागि सबैभन्दा
चुनौती सरकारी निकायबीचकै समन्वयको अभाव हो । पुनर्निर्माणबारेका सम्पूर्ण
जानकारी भूकम्पपीडितसम्म पु¥याउन नसक्नु अर्को चुनौतीका रूपमा देखिएको छ । २
लाख अनुदानले भूकम्प प्रतिरोधी घर बनाउनका लागि जग्गा हाल्न पनि नपुग्ने
अवस्था छ । यस्तो अवस्थामा बैंकहरूले दिने सहुलियत ऋणबारे बैकहरू सकारात्मक
छैनन् । अझ कतिपय जिल्लामा राजनीतिक दलहरूले लोकप्रियताका नाममा सामूहिक
जमानीमा दिने ऋण तिर्नु नपर्ने भनेर सार्वजनिक भाषण गरिरहेका छन् । हालसम्म
प्राधिकरणले सरकारले स्वीकृत गरेको दरबन्दीअनुसारको कर्मचारी पाएको छैन
भने अन्य मन्त्रालय पनि त्यति खुसी देखिँदैनन् ।
व्यक्तिगत
आवास निर्माणको काम केही अघि बढे पनि अन्य भने खासै अघि बढेको छैन । यसको
अलावा स्थानीयस्तरमा जनप्रतिनिधि नभएकाले सबै दललाई चित्त बुझाएर
पुनर्निर्माण गर्न कठिन छ । भूकम्पले अधिकांशको लालपुर्जालगायतका विवरण
अभावले अनुदान पाउने कठिन देखिएको छ । तर, यसलाई सहज बनाउन छोटो बाटोमार्फत
लालपुर्जा दिन जग्गा प्राप्ति ऐन निर्माण गरेको छ । तालिम प्राप्त
सिकर्मी, डकर्मी नहुनु, भूकम्प प्रतिरोधी भवनका डिजाइनबारे जानकारी अभाव,
यस्ता भवनमा उपयोग गर्नका लागि आवश्यक सामग्रीको पहिचान र प्रयोग लगायतका
समस्या देखिएका छन् । हाल प्राधिकरणले भूकम्प प्रभावित समथरदेखि
हिमालसम्मका लागि एउटै कार्यविधि र मापदण्ड बनाए पनि यो प्रभावकारी नहुने
भएकाले भूगोल र भौगर्भिक समस्यालाई हेरेर बनाउनुपर्ने माग पनि आइरहेको छ ।
http://rajdhani.com.np/article/0496851001461459333
No comments:
Post a Comment