Wednesday, April 20, 2016

लेखासमितिले ऊर्जा मन्त्रीलाई बोलायो

राजधानी समाचारदाता
काठमाडौं, ७ वैशाख
सार्वजनिक लेखा समितिले १ सय ३२ केभीको सोलु कोरिडोर प्रशारण लाइनबारे उपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीलाई बोलाएको छ । ठेक्कामा भएको ढिलाइको कारण नेपाल विद्युत् प्राधिकरणले कराडौं रुपैयाँ हर्जनास्वरूप तिर्नुपर्ने अवस्था आउन नदिन मंगलबार छलफल गरेको समितिले थप जानकारी लिन मन्त्री रायमाझीलाई बोलाउने निर्णय गरेको हो ।
मंगलबारको बैठकमा उर्जा सचिव सुमनप्रसाद शर्मालाई बोलाए पनि उपस्थित नभएपछि त्यसप्रति समितिले असन्तुष्टि प्रकटसमेत गरेको थियो । समयमै प्रशारण लाइन नबनाउँदा प्राधिकरण सोलु कोरिडोर क्षेत्रका जलविद्युत् आयोजनालाई ४५ प्रतिशतसम्म हर्जना तिर्नुपर्ने विद्युत् खरिद सम्झौता (पीपीए)मा उल्लेख छ । सोलु कोरिडोरको ठेक्का प्रकरणमा २७ करोड कम कबोलेको ठेकेदार कम्पनीलाई प्राधिकरण सञ्चालक समितिले दिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन उर्जामन्त्री राधा ज्ञवाली लगायतलाई कारबाही गर्न निर्देशन दिएको थियो । सोहीअनुसार तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उनलाई बर्खास्त गरेका थिए, तर यस प्रकरणमा हालै ज्ञवालीले सर्वोच्च अदालतबाट सफाई पाइसेकी छन् ।
लेखा समितिको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लले प्रसारण लाइन आयोजनाको निर्माण कार्य तोकिएको समयमा सम्पन्न नभएमा प्राधिकरणले विद्युत् उत्पादक कम्पनीलाई वार्षिक १ अर्ब ३८ करोड रुपैयाँ हर्जनास्वरूप तिर्नुपर्ने बताएका थिए । उनका अनुसार २०७५ सालको सुरुसम्ममा प्रसारण लाइन निर्माण पूरा गर्नुपर्नेछ ।
त्यसअघि, डडेल्धुराका दीपक बोहराले प्राधिकरणद्वारा कानुन उल्लंघन गरी सबैभन्दा न्यूनतम बोलपत्रदाताभन्दा २७ करोड बढी कबोल गर्ने कम्पनीलाई ठेक्का दिइएको भन्दै निवेदन दिएपछि त्यसैको आधारमा लेखा समितिले बैठक बोलाएको थियो । बैठकमा कार्यकारी निर्देशक काफ्लेले निर्माण प्रक्रिया कानुन अनुरूप भएको दाबी गरेका थिए ।
२ अर्ब २७ करोड कबोलेको मोहन इनर्जीलाई प्राधिकरण सञ्चालक समितिको बहुमत सदस्यको निर्णयको आधारमा ठेक्का दिने निर्णय गरेको थियो । यसप्रति तत्कालीन उर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीले असहमति प्रकट गरेका थिए । त्यसपछि अख्तियारसम्म पुगेको ठेक्का प्रकरणमा पछिल्लो समयमा प्राधिकरणले मोहन इनर्जीलाई ठेक्का दिइसकेको छ । यही विवादको कारण प्रशारण लाइन निर्माणमा ढिलाइ भएको थियो ।
प्राधिकरणका अनुसार, ९० किलोमिटर लामो सो प्रशारण सिरहा जिल्लाको मिर्चैयादेखि सुरु भएर सोलुखुम्बुको तंगालासम्म निर्माण गर्ने योजना छ । यस आयोजना निर्माणको लागि भारतीय निर्यातआयात बैंकले प्रदान गर्ने २९ मिलियन अमेरिकी डलर खर्च गर्ने योजना छ । सो आयोजना निर्माणका लागि प्राधिकरणले मोहन इनर्जी कर्पोरेसनसँग २३ चैतमा सम्झौता गरिसकेको छ । मोहन इनर्जीले २ करोड ३० लाख ७६ हजार ९ सय ५२ अमेरिकी डलरमा सो ठेक्का पाएको हो ।
http://rajdhani.com.np/article/0834523001461121294

No comments: