भीम गौतम/राजधानीकाठमाडौं, १२ वैशाख
भूकम्प
गएको एक वर्षपछि सरकारले पुनर्निर्माणको अनुभूति हुने गरी काम सुरु गरेको छ
। राजनीति खिचातानीमा फसेर भूकम्पपछिको पुनर्निर्माण कानुन निर्माणमै
ढिलाइ गर्दै गत पुसमा मात्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको
सरकारले आइतबारबाट भने पीडितले अनुभूति गर्ने गरी पुनर्निर्माण कार्य अघि
बढाएको हो ।
सिन्धुपाल्चोक चौतारा नगरपालिका–३ स्याङ्बो टोलका सर्बे तामाङको घर आइतबार शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।
तस्बिर : दिनेश थापा/राजधानी
पुनर्निर्माण सुरु भएको संकेतस्वरूप
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार भूकम्पको केन्द्रबिन्दु बारपाकमा
पुगेर स्थानीय गोपाल विकको घर शिलान्यास गरिन् । सो अवसरमा उनले जिल्ला
दैवी उद्धार समिति गोर्खाले उपलब्ध गराएको जग्गामा सहरी विकास मन्त्रालयले
तयार गरेको डिजाइनअनुसारको भूकम्प स्मारक पार्कको समेत शिलान्यास गरेकी छन्
।
यस्तै,
प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको चौतारामा पुगेर सर्बे
तामाङको घर निर्माणको शुभारम्भ गरे भने प्रधानमन्त्रीको उपस्थितमा स्थानीय
यदुमाया घोरासैनी र स्थानीय निकायका पदाधिकारीबीच अनुदान सम्झौतासमेत भएको छ
। गत ३० फागुनमा दोलखाको सिंगटीबाट नमुना रूपमा तथा चैत अन्तिम सातादेखि
आठ जिल्लाका आठ गाविसमा मात्र काम सुरु गरेको सरकारले १२ वैशाखको स्मृति
दिवसको अवसर पारेर एकैपटक विशेष प्रभावित ११ जिल्लाका ३ सय ८३ गाविसमा
पुनर्निर्माणको अभियान प्रक्रिया अघि बढाएको हो । ‘३ सय ८३ गाविसका ३
लाखभन्दा बढी भूकम्पपीडित अनुदान पाउन योग्य घरधनीहरूको सूची सार्वजनिक
गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइमार्फत सम्बन्धित जिल्ला विकास
समिति कार्यालयमा पठाइएको छ,’ प्राधिकरणका प्रवक्ता राम थपलियाले
राजधानीसँग भने, ‘एकैपटक विशेष प्रभावित क्षेत्रका अधिकांश क्षेत्रमा
पुनर्निर्माणको काम सुरुवात भएको छ ।’
प्राधिकरणका
अनुसार यसरी सार्वजनिक हुन लागेका अनुदान पाउनयोग्य भूकम्पपीडितमा
ओखलढुंगाका १५ हजार ५, सिन्धुलीका २१ हजार १ सय १४, रामेछापका ३० हजार ५ सय
१९, दोलखाका ४९ हजार ७ सय ५१, सिन्धुपाल्चोकका ३५ हजार ३ सय ८, काभ्रेका
४० हजार २ सय ६४, नुवाकोटका ३८ हजार २ सय ३५, रसुवाका ५ हजार ४ सय १२,
धादिङका २३ हजार ४ सय ४०, मकवानपुरका ७ हजार ४ सय १२ र गोर्खाका ३४ हजार ४
सय ९६ जना छन् । आइतबारदेखि नै रामेछापको अनुदान सम्झौतापछि १० घरको
पुनर्निर्माण गरिएको र विशेष प्रभावित जिल्लाका अधिकांश निर्वाचन क्षेत्रमा
यसको सुरुवात गरिएको प्राधिकरणले जनाएको छ । त्यसैगरी, भूकम्प स्मृति
दिवसको अवसरमा आइतबार बिहान धरहरा परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको
उपस्थितिमा भूकम्पमा परी दिवंगत भएकाप्रति श्रद्धाञ्जलीसहित पुष्पगुच्छा
अर्पण गरिएको थियो भने प्रभावित जिल्लाका सबै सदरमुकाममा पनि श्रद्धाञ्जली
कार्यक्रमको आयोजना गरिएको छ । त्यसैगरी, साँझ भूकम्पबाट निधन भएकाहरूको
सम्झनामा दीप प्रज्वलन गरिएको छ ।
प्राधिकरणका
अनुसार भूकम्प प्रभावित सर्वेक्षण सम्पन्न भएका गाविसहरूमध्ये प्रत्येक
निर्वाचन क्षेत्रमा कम्तीमा एक÷एक वटा गाविसमा निजी आवास अनुदान सम्झौता
प्रारम्भ गरिएको छ भने प्रभावित नौ जिल्लाका एक÷एकवटा गाविसमा निजी अवास
पुनर्निर्माण कार्यको शुभारम्भ गरिएको छ ।http://rajdhani.com.np/article/0746736001461550707
No comments:
Post a Comment